Time Travel / Sabina Sindhu

No votes yet
Time Travel
प्रयोगशालामा धेरै वस्तुमाथि प्रयोग र परिक्षण गरिसकेपछि डा. एस डी नयाँ अनुसन्धानमा लागेका थिए । उनी चाहान्थे वर्तमान समयबाट बिगतमा फर्किन सकियोस् । सदियौं पहिलेका ब्यक्तिहरुसँग प्रत्यक्ष भेटघाट होस् । त्यस्तै पँचासौं वर्ष पछिको आफ्नो प्रतिरुप र त्यस बेलाको परिवर्तनलाई आफैंले भेटेर पुनः आफ्नो युगमा फर्किन सकियोस् । डा. शर्मा उनको प्रयोगहरुमाथि साथ दिन बसेका थिए । प्रयोगशालामा अन्य कर्मचारी र सहयोगीहरुको समेत उपस्थिति हुन्थ्यो । उनीहरुले विज्ञानको क्षेत्रमा गरेका धेरै प्रयोगहरु सफल समेत भएका थिए । वास्तवमा उनीहरु विश्वमा नाम कहलिएका वैज्ञानिकहरु थिए ।

“टाइम ट्रावल मेसिनलाई घडिको आकारमा निर्माण गरे ठिक होला ।”, डा. शर्माले सुझाव दिँदै भने ।

–“हैन डा.शर्मा, बरु क्यालेण्डरको रुपमा विकास गरे ठिक हुन्छ ।”, डा एस डी ले मनको कुरा बताए ।

तर दुबै वैज्ञानिक आफ्नो भनाईमा अडिग थिए ।

“मेसिनको स्वरुप जस्तो भए पनि त्यसबाट समय यात्रा गर्न सकियोस् । ”, सहयोगी कर्मचारीले तटस्थ हुँदै आफ्नो विचार ब्यक्त गरे ।

हुन पनि हो । आफ्नो लक्ष्यमा पुग्न डा एस डी र डा. शर्माले धेरै परिश्रम गरेका थिए । उनीहरुले बनाएको ह्युमनाईड रोबोटले देश विदेशमा तहल्का मच्चाईसकेको थियो । साधारण मानिसले असम्भव ठानेका कतिपय विषयवस्तुहरु माथि, उनीहरुको आविष्कार मानिसका लागि चमत्कार साबित हुने गरेको थियो । डा. एस डीले फलाम, स्टिल, तार, सिलिकन कार्बाइड र अन्य तत्वहरुको प्रयोग गरेर टाइम मेसिनका भित्रि पार्टपूर्जाहरु निर्माण गर्दै थिए । त्यस मेसिनका लागि उनीहरुले विभिन्न केमिकललाई रियाक्सन गराएर नयाँ केमिकलको निर्माण गरे । जसलाई मेसिनमा सहयोगी पदार्थको रुपमा प्रयोग गर्न सकिन्थ्यो । डा. एस डी र डा. शर्माको सहमतीमा त्यस पर्दाथलाई ‘निम्स’ नामांकरण गरियो । निम्सलाई स्फियर आकारको घेरामा बन्द गरियो । त्यस्ता निम्सका घेराहरु थुपै्र बनाए । टाइम मेसिनलाई ब्याट्रि वा ईलेक्ट्रिसिटिबाट चार्ज गर्न सकिन बनाउन दुबै वैज्ञानिक जोड तोडले लागि परेका थिए । अब टाइम मेसिन क्यालेण्डरकै स्वरुपमा बन्ने भयो तर त्यस मेसिन भित्र गोलो घडीको आकारको पार्टपूर्जा समेत क्यालेण्डरको पछाडिपट्टी बनाईने भयो ।

त्यसमा घडीमा घण्टा, मिनेट र सेकेन्डका सुईहरुजस्तै सुईहरु समेत थिए । गोलो घडीको एक छेउमा साल, महिना र गते इन्टर गर्न सकिने सानो तेर्सो भाग थियो । क्यालेण्डरको माथिल्लो भागमा स्टिल र फलामबाट बनेका तर निकै पातलो गरी बनाईएका पल्टाउन मिल्न पानाहरु थिए । ती पानाहरु कमिकलको प्रयोगले कागजको क्यालेन्डर झैं बिना झन्झट सजिलै पल्टाउन सकिन्थ्यो । ती पानाहरु स्टिल र फलामका केमिकल मिसाएर पातला पारिएका हुन् भन्ने कुरा पत्याउनै मुस्किल थियो । क्यालेण्डरको साझा भागमा दबाउन मिल्ने बटनहरु पनि थिए । ती पानाहरुमा बाह्र महिना थिए । साल र गते इन्प्युट गर्नु पर्ने हुन्थ्यो । समयको ‘इन्प्युट’ हाल्नको लागि साझा भागमा साल, महिना र गते इन्टर गर्नु पथ्र्यो । बुढी औंलाले त्यस रेड बटनमा दबाएपछि क्यालेण्डरको साझा भागमा भएको घडीको सुई आफैं घुम्थ्यो र अर्को पटक ‘रेड बटन’ दबाउँदा इन्टर गरिएको समय अर्थात वर्तमान समयबाट भूतकाल वा भविष्यकालमा पुग्न सकिन्थ्यो । तर उक्त ब्यक्तिले आफ्नो हातमा अर्को घडी आकारको सानो मेसिन बाँध्न जरुरी थियो । जसको तेर्सो भागमा साल महिना र गते इन्टर गर्न सकिन्थ्यो । बटन थिचेर घडीमा समय इन्टर गर्न सकिने गरी बनाईएको थियो । उक्त ब्यक्ति अन्य समयमा टाईम ट्रावल गर्न सक्थ्यो वा पूनः पहिलेकै समयमा फिर्ता आउन सक्थ्यो । वैज्ञानिकहरुले आफ्नो अनुसन्धान सफल हुने ठाने ।

“टाइम ट्रावल सम्भव छ । समय माथि हामीले विजय हाँसिल गर्‍र्यौं ।”, डा. एस डी खुशीले चिच्याए ।

डा. शर्माको पनि खुशीको सिमा थिएन यस खुशीलई ब्यक्त गर्न डा. शर्माले प्रयोगशालाका सहयोगी कर्मचारीहरुसँग अङ्कमाल गरे । यस सफलतालाई संसारले अलौकिक वरदान मान्ने छ र जिवन र जगतका लागि फलदायी साबित हुनेछ ।

“अब हामी एउटा समयबाट अर्को समयसम्म यात्रा गर्न सक्नेछौं । तर यसको सुरुवात कुन ब्यक्तिबाट गर्ने ?”, डा. एस डीले कन्फ्युज हुँदै भने । डा. शर्मा भने अलिकति हिच्किचाए । उनी यो ‘रिक्स’ मोल्न तयार थिएनन् । तर डा. एस डी अत्यन्त उत्साहित थिए टाईम ट्रावल अर्थात समय यात्रामा निस्किन । उनले क्यालिण्डरमा इन्प्युट भागमा दुई शताब्दि पछिको समय इन्टर गरे – साल, महिना र गते । समय यात्राबाट फर्किन सजिलो होस् भनेर उनले ‘समय –घडी’ बाँधिसकेका थिए ।

भविष्यको शताब्दिमा पुग्दा पनि रुखहरु हरियानै थिए। तर तिनमा पहेँलो रङ्ग अलि बढी भएर फिक्का तर उज्यालो हरियो देखिएका थिए । सडमा सँगै प्लाष्टिकका जस्ता देखिने बोट बिरुवा समेत थिए । सडक अत्यन्त सफा थियो । फोहोर मैलाको नामोनिसाना थिएन । मानिसका आँखाहरु गुच्चा झैं गोलो आकारका थिए । मानिसले लगाएका पोशाकका डिजाइनहरु निकै फरक थिए । सडकको माथि ‘स्काई –ब्रिज’ तला–तला गरि बनाईएको थियो । जहाँ गाडीहरु ब्यबस्थित रुपले गुड्थे । अधिकांश मानिसको हातमा बैजनी रङ्गको पट्टी थियो । जसमा केही बटनहरु थिए । निकै बेर यात्रा गरिसकेपछि डा. एस डी ले ‘फ्रि फुड सर्भिसिङ्ग जोन लेखेको ठूलो बोर्ड देखे । भोकले ब्याकुल भएका उनी त्यस भवन भित्र छिरे र खाना खानको लागि बसे । मानिसहरुले अँग्रेजीनै बोले पनि उनीहरुको टोन फरक थियो । उनलाई नयाँ शताब्दीमा घुलमिल हुन कही समय लाथ्यो। यस शताब्दीमा खान र बस्नको लागि अभाव नहुँदो रहेछ । कोही गरिब नहुँदा रहेछन् । समय यात्रामा निस्केका डा. एस डी त्यहीँको वातावरणमा घुलमिल हुन थाले अत्याधुनिक मेसिनहरुले डा. एस डी लाई मोहित तुल्यायो । खान र बस्नको लागि ब्यबस्था भएको हुँदा उनलाई त्यस शताब्दीमा विभिन्न शहरहरु घुम्न र आनन्द लिन कुनै समस्या भएन । उनले आफू वैज्ञानिक भएको र आफ्नो समयबाट भविष्यको समयमा आएको कुरा बिर्से ।

त्यस शताब्दीमा वृद्ध ब्यक्तिहरु थिएनन् । बालकहरु अत्याधुुनिक प्रविधिबाट जन्माईन्थे । उनीहरु हुर्किँदै युवा अबस्थाबाट अझ ‘परिपक्व युवा’ नै बन्थे । युवा अवस्थाको अन्तिम बिन्दुमा पुगेछि फेरी मानव जिवनको ‘रि– साइकल’ प्रोसेसमा जान सक्थे र फेरी बालकको रुपमा पूनः जन्माईन सक्थे । युवालाई युवा अबस्थामै रहन पनि छुट थियो । यसका लागि औषधि र इन्जेक्सनहरु बनेका थिए मानव रिसाइकल प्रविधिले गर्दा जनसंख्या नियन्त्रित थियो । सरसफाइका काममा रोबोटहरुको प्रयोग हुन्थ्यो । मानिस मेसिनमा आश्रित थियो । त्यस ठाउँमा अरु ब्यक्तिहरु झैं डा. एस डी जवान थिए । उनले बाँधेकको ‘समय–घडी’ पनि त्यति पूरानो देखिन्नथ्यो । बर्षौं बर्ष पछि डा एस डीले पूरानो समयमा फर्किनुु पर्ने कुरा सम्झिए । उनलाई परिवारको याद आयो । घडीको निश्चित बटन दबाए । अनि साल महिना र गते इन्टर गरे । तर यसरी समयलाई परिवर्तन गर्दा उनले मिस्टेक इन्प्युट गरेछन् । डा एस डीले आफूलाई त्यही प्रयोगशालामा पाए । तर त्यहाँ डा. शर्मा थिएनन् । प्रयोगशालाका उनका सहयोगीहरु उमेर खाएका बुढा झैं देखिन्थे । सहयोगीहरु अहिले वरिष्ठ अथवा विज्ञ भईसकेका थिए । उनीहरुले नै उक्त प्रयोगशाला चलाईरहेका थिए । डा. एस डीलाई उही अबस्थाको देख्दा उनीहरु छक्क परे ।

उनी घर पुग्दा त्यहाँ उनको पूरानो सानो घर थिएन । बरु ठूलो बिल्डिङ्ग थियो । त्यहाँबाट एक महिला निस्किइन । उनको कपाल फुलेको थियो । राम्री देखिएपनि अनुहारको भागमा चाउरी प्रष्ट देखिन्थ्यो । डा. एस डी भने भर्खरका देखिन्थे । उनले ३५ वर्ष समय यात्रामा बिताएका रहेछन् । उनको छोरो निकै परिपक्व देखिएको थियो । उनले आफ्नै हातमा चिमोटे र बर्बराए, ‘कतै यो सपना त होइन ।’
Author: 
Segments: 

Comments

Recent Comments

About Online Sahitya


Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

© Online Sahitya Digital Library, All rights reserved. Online Sahitya is a digital library dedicated to Nepali Art and Nepali Literature.
For further details contact: onlinesahitya@gmail.com.