Deutetoli / Mohanraj Sharma

No votes yet
द्यौतेटोली / मोहनराज शर्मा

जटाशङ्करले कोर्रा उचालेर हावामा घुमायो र स्वाट्टै हान्यो । त्यहाँ खुम्चिएको समुच्चा वातावरणले मानव सुस्केराको गहिरो पीडाराग अलाप्यो । कोर्राले चुटिएको विकलाङ्ग केटो पिठ्यूँको छाला उप्केर रगतपच्छे भई दुखाइ खप्न नसकाले भुँइमा लडिबुडी गर्दै थियो । निर्मम कोर्रालाई हावामा नचाएर जटाशङ्कर दैत्यझैँ त्रास फिँजाउँदै अघि बढ्यो । उसको रङ्ग रूप, चालढाल, बोलचाल, बानीबेहोरा अत्यन्त क्रूर, नृशंस र भयोत्पादक थियो । उसको कडा उर्र्दी थियो, बिहान पाँच बजे जो उठ्दैन, त्यसले कोर्रा खान्छ । ऊ रोजै पाँच बजे को उठ्यो र को उठेन भनेर हेर्दै हिँड्थ्यो र नउठ्नेमाथि कोर्राको प्रलय खन्याउँथ्यो । उठ्नेहरू साढे पाँचसम्म नित्यकर्म सकेर देवीदेउताको सिँगारपटार गरी द्यौतेटोलीका रूपमा ढोकाबाहिर ट्रक आउने ठाउँमा उभिसक्नुपथ्र्याे । नउभिए सर्पको जिब्रोझैँ लपलपाउँदो कोर्राको सामना गर्नुपथ्र्याे । निर्दयी जीव जटाशङ्करले कोर्राबाहेक अरू भाषा नजानेको हुँदा जो पनि उसबाट तर्किन्थ्यो । तर्किने अर्को कारण के थियो भने ऊ अत्यन्त कामुकखालको उभयचर थियो । 

केटा वा केटी जो भेट्यो उसैलाई चीलले छोपेको चल्लाझैँ आफ्ना कक्षमा हुलेर यौनशोषण गथ्र्यो । ऊ त्यहाँको बलशाली सिंह थियो र अरू सबै निमुखा भेडाबाख्रा । उसले बेचल्तीको एउटा भत्केबिग्रेको धर्मशालामा कब्जा जमाएको थियो । यात्रुहरूले बस्न छोडेको त्यस जीर्णशीर्ण धर्मशालामा थोर–बहुत मर्मत गराएर उसले बस्न हुनेसम्म बनाएको थियो । त्यहाँ कोठा थिएन, कोठाका नाममा एउटा कार्यालय कक्षमात्र थियो, जसमा जटाशङ्कर बस्थ्यो । त्यस धर्मशालाको मुख्य भवन भनेकै ठूलो आँगन र त्यसका चारैतिर चार हातजति अग्लो पारेर बनाइएको बरन्डा थियो । 

पहिला बरन्डामा यात्रुहरूका लागि खाट ओछ्याइएका थिए तर जटाशङ्करले खाटको प्रयोग भान्सामा इनधनका रूपमा गरी त्यहाँ डम्म सुकुल ओछ्याएको थियो । बरन्डामा ओछ्याइएको सुकुलमा तीसजनाजति विकलाङ्गहरू लहरै सुत्थे, सुकुलबाहेक न अरू केही ओछ्याएर न अरू केही ओढेर । तिनीहरू विभिन्न लिङ्ग, उमेर र प्रकारका अपाङ्गहरू थिए । अन्धा, लाटा, बहिरा, लुला, लङ्गडा, बाङ्गा, खोरन्डा, डुँडा, पुड्का आदि लावरिसहरूलाई उसले सडकबाट ल्याएर खान–बस्न दिई आफ्ना देखरेखमा राखेको थियो । अनि तिनैबाट उसले नयाँ धन्धा सुरु गरेको थियो, देवीदेउताहरूलाई दरिद्रझैँ हात थापेर भीक माग्न लगाउने धन्धा । यस धन्धाबाट ऊ केही वर्षमै मालामाल भएको थियो । 

ऊ तिथिपर्व विचार गरेर मगन्ते देवीदेउतालाई मन्दिरमा माग्न खटाउँथ्यो । पशुपतिनाथको मन्दिरमा तिनलाई भीक माग्न तैनाथ गर्दा आकर्षणका लागि सबैभन्दा बामपुड्के केटालाई शिव, त्यस्तै लाटी केटीलाई पार्वती र शेष विकलाङ्गमध्ये पुरुषलाई नन्दीभृङ्गी तथा नारीलाई डाकिनीशाकिनी बनाएर पठाउँथ्यो । बूढानीलकण्ठमा भिखारीका रूपमा बसाउँदा खोच्याएर हिँड्ने तन्नेरीलाई विष्णु, हात काटिएकी थसुल्ली केटीलाई लक्ष्मी र अरू सबैलाई वैष्णव टीका लगाएका भक्तजन बनाएर पठाउँथ्यो । त्यस्तै श्रीराम मन्दिरमा खटाउँदा तीन ठाउँमा जिउ बाङ्गिएका केटालाई राम, कान नसुन्ने बहिरी केटीलाई सीता र अरू सबैलाई प्रजा बनाएर पठाउँथ्यो । अनि कृष्णमन्दिरमा भीक माग्न लगाउँदा दमले थलिएको एउटा मरनच्याँसे अधबैंशेलाई कृष्ण, एउटा आँखामा फुलो परे पनि राम्रै काँटकी केटीलाई राधा र अरूहरूलाई गोपीगोपिनी बनाएर पठाउँथ्यो । 

परैबाट हर्न बजाउँदै एउटा ट्रक आएर धर्मशालाको ढोकामा रोकियो । जटाशङ्करले इसारा गर्नासाथ विकलाङ्गहरूको द्यौतेटोली हुरुरुरु ट्रकका पछाडि कोचिए । अनि घन्चङमन्चङ गर्दै ट्रक कृष्णमन्दिरतिर लाग्यो । त्यस दिन कृष्ण जन्माष्टमीको पावन पर्व परेको हुँदा त्यहाँ माग्न बस्ने भिखारीले कुस्त कमाउँथे । ट्रकबाट तल ओर्लेर कृष्णमन्दिरबाहिर राधाकृष्णसहित गोपीगोपिनी बनेका पूरै विकलाङ्गहरूको टोली भीक माग्न बस्यो । माग्नाका लागि तीमध्ये केहीले हातमा सिलाबरको कचौरा समातेका थिए र केहीले लुगाको फेर पक्रेर थापेका थिए भने लँगौटीमात्र लगाएका साना बालबालिकाले चाहिँ रित्तोहात थापेका थिए । ती सबै कृष्णका प्रिय गोपी र गोपिनीहरू थिए । दमले च्यापेर अलिअलि स्वाँस्वाँ गर्दाे मरनच्याँसे कृष्णले निधारमा पहेँलो टालो बाँधेर त्यसमा मुजुरको प्वाँख सिउरेको थियो । अनि पीताम्बरको धोतीमाथि उसले सेतो पटुकी कसेको थियो । पटुकीमा उसले बाँसको मुरली छड्के पारेर छिराएको थियो । आँखा फुलो परेकी १६÷१७ वर्षे ठिटी राधा बनेर उभिएकी थी । उसले फुलबुट्टे कढाइ गरेको लहँगा र छोटो चोली लगाएकी थी । मुखमा उसले बाक्लै पाउडर थोपरेकी थी भने ओठमा सस्तो लाली र आँखामा गाजल पोतरेकी थी । उसको टाउकामा सुनौला रङ्गको झिलझिले कागत टाँसेको कुटको मुकुट बाँधिएको थियो । उसको सुलुत्त परेको नाकमा ठूलो नत्थी झुन्डिएको थियो । दर्शन गर्न मन्दिरतिर आउन लागेका मान्छे देखेर पूरै टोली सतर्क भयो । कृष्णले स्वाँस्वाँ गर्दै ओठमा मुरली जोड्यो । राधाले पँधेरातिर लस्किने तर्खर गर्दै कम्मरमा माटाको गाग्री राखी । टोलीका अरूहरूमध्ये कोही कचौरा अघि सारेर, कोही लुगाको फेर थापेर अनि कोही हात पसारेर माग्न तयार भए । 

टोलीबाट पुरुष स्वर घन्कियो, ‘कृष्ण भगवान्का नाममा भीक दिनोस् हजुर, चिताएको पुग्नेछ !’
अनि नारी स्वर पनि गुञ्जियो, ‘राधा रानीका नाममा भीक दिनोस् हजुर, चिताएको पूरा हुनेछ । ’

दीनहीनसमान दयाका पात्र बनेर तिनले मागेका हुँदा केहीले पैसा दिए भने केहीचाहिँ पैसा नदिई मुख बिगारेर हिँडे । त्यसपछि पूरै टोली गोपीगोपिनी बनेर गोलाकार वृत्तमा र राधा तथा कृष्ण त्यस वृत्तका बीचमा रही युगल जोडीका मुद्रामा उभिएर रासनृत्य गर्न लागे । रास हेरेर कति दर्शनार्थीले भक्तिविह्वल भई नोट चढाए भने कतिचाहिँ साधारण तमासा हेरेझैँ त्यत्तिकै हिँडे । रास सकिने बेलामा टोलीको सबैभन्दा पाको व्यक्तिले रसिदको बुङ निकालेर भन्यो, ‘भक्तजन, छाडा छाडिएका गाई, बहर र साँढेको संरक्षणका लागि ‘गोवर्धन गौशाला’ को धमाधम निर्माण हुँदै छ, यथाशक्य दान दिनोस् र मूक प्राणीहरूमा करुणा गरी आफ्नो जीवन सार्थक बनाउनोस् । पाँच सय वा बढी दिने दानवीरको नाम सेतो सिङ्गमर्मरमा खोपेर राखिनेछ । ’

केही भक्तजन आफ्नो नाम लेखाई अर्धकट्टी लिएर गए भने केही भक्तजन अलिकति पैसा त्यत्तिकै छरेर गए । मध्याह्नपछि दर्शनार्र्थीहरूको आवतजावत एकदमै घटेर गयो । दिउँसो केही समय मन्दिर बन्द हुने हुँदा त्यहाँको भीडभाड छाँटिएर परिसर सुनसानजस्तै हुन पुग्यो । त्यही मौकामा गोपीगोपिनी रूपधारी विकलाङ्गहरू पनि छरिएर कोही दिसापिसाब गर्न र कोही खैनीचुरोट खान हिँडे भने कोही चिसामा कुँजिएको आङ तान्दै घाम लागेको खुला ठाउँतिर लागे । बिचराहरू बिहान एक गिलास फिक्का चिया खाएर हिँडेका हुँदा पेट भोकले कुइँकुइँ गरे पनि सहेर बस्थे किनभने खाना दिनको एकपटक बेलुकामात्र पाइन्थ्यो र त्यो पनि खस्रोमोटो चामलको भात र मेची–महाकालीको बाढी बगेको झोलिलो साग । 

सबै यताउति गएपछि शिव, विष्णु, राम र कृष्ण गरी चतुर्देव बन्ने चारजनाचाहिँ गोलमेजमा विराजमान भएझैँ बाटुलिएर त्यहीँ बसे । तिनीहरू गम्भीर छलफलमा लाग्ने सुरसार कस्दै थिए । चिसामा दमले दपेटे पनि स्वाँस्वाँ गर्दै सर्वप्रथम कृष्ण बनिराखेको अधबैंशेले मुख उघा¥यो । कृष्णझैँ ऊ चिप्लो बोली बोल्यो, ‘हे देवताहरू, म देवकीनन्दनलगायत हामी चारै देव विगत लामै समयदेखि विचार–विमर्शमा लागेका छौँ तर उपाय पत्तो लगाउन नसकेर असहायजस्तै भएका छौँ । अब त त्यस जटाशङ्कर भन्ने दुराचारी कंशको अन्याय पनि चुल्लिएर पोखिन थालेको छ । के भनौँ देवहरू, हिजो पनि त्यस अत्याचारीले बलात्कार गरेर देवी राधालाई मरणासन्न तुल्यायो । मैले रोक्न खोज्दा त्यस पापिष्टले कोर्राको निर्मम प्रहार गरी मेरा पिठ्यूँको सबै छाला काढ्यो । ’

डमरु नभए पनि डमरु बजाएझैँ हावामा हात नचाउँदै शिव बन्ने बामपुड्केले फुत्कार ग¥यो, ‘म कैलाशवासी देवाधिदेव महादेव, मैले तेस्रो आँखा खोल्दा सम्पूर्ण चराचर डढेर भष्म हुन्थ्यो । अचेल मेरो त्यो आँखा कचेरा भरिएर खुल्दैखुल्दैन, के गरौँ ! हे देव, त्यस जटाशङ्कर भन्ने भष्मासुरले मलाई पनि पिर्नु पिरिसक्यो । कहिले देवी पार्वतीको अपहरण गर्छ अनि कहिले कुमार र गणेशलाई कोर्रा हानी घाइते पार्छ । देवता हो, त्यस दुष्टलाई सखाप पार्ने जुक्ति नखोजी भएन !’

विष्णु बन्ने खोरन्डो केटो बुरुक्क उफ्रेर कुल्र्यो, ‘म शेषसायी विष्णु, मैले गदायुद्धमा कतिकति दैत्यलाई परास्त गरेको छु । अचेल मेरो पराक्रमी कौमुदकी गदा पनि बेकम्मा भएको छ । कसैमाथि प्रहार गर्दा आफैँ दोब्रिन्छ र भाँचिन्छ । राक्षस मधुकैटभजस्तै दुर्दान्त त्यस जटाशङ्करले अस्ति राति देवी लक्ष्मीलाई घिच्च्याएर आफ्ना कोठातिर लैजाँदा मैले के था पाएँ भने त्यसको शक्ति भनेको त्यस कोर्रामा रहेछ । हे देवताहरू, हामीले उन्मुक्तिका लागि त्यसबाट त्यो कोर्रा खोसेर लिने उद्योग रच्नुपर्छ । ’ 

सबैभन्दा पछि तीन ठाउँमा जिउ बाङ्गिएको राम बन्ने केटो भक्भकायो, ‘म मर्यादापुरुषोत्तम राम, अहिले मेरो अमोघ धनुर्वाण पनि कुँजो भएको छ । त्यो रावणभन्दा दोब्बर दुष्ट जटाशङ्कर बेलाबेला देवी सीताको यौनशोषण गर्न उसलाई सबैका माझबाट तान्दै लैजान्छ तर कोही पनि चुँसम्म बोल्दैनन् । हामी एक–अर्कासँग जुटेर होइन, फुटेर रहेका हुँदा त्यसले हामीमाथि थिचोमिचो गरिरहन्छ । हे देवगण, अब हामीहरू एकताको सूत्रमा बाँधिनुपर्यो । ’

यस्तै छलफलमा लागेर समय बितेकाले परपर छरिएका गोपीगोपिनीहरू बिस्तारै फर्किन लागेका हुँदा सभा सक्ने सङ्केत दिँदै कृष्णले दमफेटिएको आवाज निकाल्यो, ‘हे सदाशिव, हाम्रा कुरामाथि गौड गरी हाम्रो उन्मुक्तिको मार्ग सुझाउनोस् । ’

एकछिन ध्यानस्थ भएपछि शिवले गम्भीर भएर भन्यो, ‘हे देवताहरू, हामीले आफ्ना र अरू सबैका उन्मुक्तिका लागि दुईवटा काम गर्नुपर्छ । सर्वप्रथम त्यस दुष्टका कोठामा गएर उसको शक्तिको पुञ्ज कोर्रामा कब्जा गर्नुपर्छ, त्यसपछि हामी सबै एकताबद्ध भई त्यसमाथि जाइलाग्नुपर्छ । ल त, यी दुवै काम आज राति नै गरौँ, सबैको भलो होस् ।’

त्यसपछि सबै देवीदेउता फेरि भीक माग्न बसे । हात थापेर भीक माग्नेदेखि अर्धकट्टी दिनेसम्मको क्रम बेलुकासम्म चलिरह्यो । साँझको अँध्याराले बिस्तारै छोप्दै लगेकाले भक्तहरूको आवागमन बन्दजस्तै भएको हुँदा थकित टोली पनि ट्रक पर्खेर आरामसाथ बसेको थियो । त्यस्तैमा मस्किँदैमस्किँदै आई एउटा युवकले राधा बन्ने फुलो परेकी केटीको हात फ्याट्टै समायो । त्यस केटाको रङ्ग रूप अनौठो थियो । त्यसले लगाएको फुल प्यान्ट घुँडातिर धस्केर प्वालैप्वाल भएका डिजाइनमा बनेको थियो । कपालको अघिल्लो पाटो सेतो रङ्गाएर कुखुराको सिउरझैँ उचालेको थियो । देब्रे कानमा स्टिलको मोटो मुन्द्रा झुन्ड्याएको थियो । त्यसले फुलो परेकी केटीको हात तान्दै भारी स्वर निकाल्यो, ‘हिँड ! आत्तिँदै केटीले सोधी,’ काँ ?
‘त्याँ लजमा । ’
‘किन ?,’ कोठा लिएको छु, मोज गर्न । 
गुहार, गुहार ! मलाई बचाऊ, ए कृष्ण ! त्यति सुन्नासाथ कृष्ण मुखको थुक उफारेर गज्र्यो, ‘ए दुष्ट, राधालाई छोड् । ’

टेढा आँखाले हेर्दै युवक फन्क्यो, ‘धम्की देको तैँले, छोड्दिनँ जा । ’ चोरऔँलामा कुटको चक्र घुमाउँदै कृष्ण सन्क्यो, ‘यस सुदर्शनले शिशुपालको घाँटी काटेको थिएँ, आज तँ पापीको घाँटी सेर्छु । ’

यस्ता मुला सुदर्शन चक्र भन्दै युवकले सुदर्शन खोस्यो र कृष्णलाई मुड्की हानेर थुचुक्कै बसायो । अघि चन्दाको रसिद काट्ने टोलीको पाको सदस्य करायो, ‘पख् पाजी, अहिले ट्रकमा जटाशङ्कर आएर तेरो लेथ्नो काढ्छ, अनि था पाउँछस् । ’ 
‘ओहो, जटाशङ्करको धाक, उसलाई त दिउँसै प्रहरीले पक्रेर थुनामा जाकिसक्यो युवकले । 

अखबारको सन्ध्याकालीन संस्करणमा छापिएको गिरफ्तारीको समाचार र नेल–हत्कडीमा जटाशङ्करको फोटो देखायो । 

त्यो देखेर पूरै टोली खुसीले नाच्न र उफ्रिन थाल्यो । जटाशङ्करको कोर्रा र अत्याचारबाट सहजै उन्मुक्त भएको सोचेर तिनीहरू उत्तेजनाको चुलीमा पुगेका थिए । त्यही उत्तेजनामा युवकमाथि एकैचोटि खनिएर पिटपाट गर्दै सबैले उसलाई धपाए । अनि राधा बन्ने फुलो परेकी केटीलाई बुरुक्क उचालेर मुक्तिको नारा लगाउँदै मगन्तेहरूको त्यो द्यौतेटोली हिँडेरै बासस्थानतिर लागे ।

साभार गोरखापत्र
Segments: 

Comments

Recent Comments

About Online Sahitya


Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

© Online Sahitya Digital Library, All rights reserved. Online Sahitya is a digital library dedicated to Nepali Art and Nepali Literature.
For further details contact: onlinesahitya@gmail.com.