Aarubarima Phuleka Vikalka Sapana

No votes yet
Ramesh Vikal Pratisthan

आरुबारीमा फुलेका विकलका सपना

‘दाइ, आरुबारी कता हो ?’
पासाङ ल्हामु शेर्पाको शालिकलाई दाहिने पारेर चुच्चेपाटीबाट अगाडि बढेपछि सोध्दैखोज्दै आरुबारी पुगेँ । ‘आरुबारी’ भन्नेबित्तिकै मान्छेहरूले रमेश विकल सम्झँदारहेछन् । अनि रमेश विकल भन्नासाथ ‘अविरल बग्दछ इन्द्रावती’ बुझ्दारहेछन् । साँच्चै, रमेश विकलको अर्को नाम पो रहेछ– आरुबारी ।
‘रमेश विकल प्रतिष्ठान कता हो ?’ आरुबारी मेडिकलमा रोकिएर सोधेँ ।
‘थोरै अगाडि जानुस्, घुम्ती कटेपछि सूचना पाटी देख्नुहुन्छ । ’
त्यसपछि विकल प्रतिष्ठानको स्थायी ठेगाना कसैलाई सोध्नुपरेन । बुधबारको बिहान पर्खिरहनुभएको थियो, विजय चालिसे । जो, नेपाली पत्रकारिता, साहित्य र बालसाहित्यको शब्दकोशमा धेरै खोजिने नाम हो ।

रमेश विकल साहित्य प्रतिष्ठान, जुन भवनभित्र विकललाई खोज्न र बुझ्न सकिन्छ । उहाँको व्यक्तित्वका विविध पाटोलाई केलाउन सकिन्छ । सङ्ग्रहालयभित्र छिर्दै गर्दा वरिष्ठ पत्रकार तथा साहित्यकार चालिसेले भन्नुभयो, “यो बाबाको इच्छा र परिवारको सहयोगले ठडिएको हो । राज्यको लगानीले यो स्वरूप दिएको छ । ”

नेपाली साहित्यमा दुर्लभ घटना भन्नुपर्छ, जुन प्रतिष्ठान साहित्यकारकै जीवनकालमा स्थापना भयो । अनि आफ्ना सम्पूर्ण साहित्यिक कृति, त्यसबापत प्राप्त हुने राजस्व र घरसमेत प्रतिष्ठानलाई लिखित रूपमा सुम्पिनुभयो । गोकर्णेश्वर नगरपालिका–९ आरुबारीस्थित कित्ता नम्बर ४९ मा दुःख गरेर पाँच आनामा बनाएको घर प्रतिष्ठानलाई दिनुभयो । विकलले २०६३ सालमा रमेश विकल साहित्य प्रतिष्ठान स्थापना गर्नुभएको थियो । ०६५ सालमा विकलको निधनपछि विधिवत् रूपमा २०६७ सालमा परिवारबाट प्रतिष्ठानलाई सो घर–जग्गा हस्तान्तरण भएको थियो । भुइँचालोले त्यो घर भत्किएपछि सरकारी सहयोगमा अढाइतले भवन निर्माण भएको छ । त्यो भवनभित्रको एउटा कोठामा पेन्टिङ गर्दागर्दै अपुरो छाडेका दुई क्यानभास भेटेँ । आश्चर्यमा परेँ । ‘के विकल कुशल चित्रकार पनि थिए ?’
‘ऊ यी भित्तामा टाँगिएका चित्रकला सबै बाबाले नै बनाउनुभएको हो,’ चालिसेले बताउनुभयो । उहाँ चित्रकारिताचाहिँ रवि चालिसेको नामबाट गर्नुहुन्थ्यो । रवि अर्थात् रमेश विकल ।

सिसाको ‘सोकेस’ मा सजाइएको थियो, पानी रङका असरल्ल ट्युब, ब्रस, प्यालेट अनि विकलको मोटो चश्मा । छेउमै थियो, ठडिएको इजोलमा राखिएको अधुरो क्यानभास । प्रतिष्ठानका महासचिव चालिसेले भन्नुभयो, “चित्रकलामात्र होइन, बाबाले माटो र काष्ठकलाको काम पनि गर्नुभयो । तर, ती अहिले हामीसँग उपलब्ध छैनन् । ”

उहाँका अनुसार, २०७१ सालमा रविका ५५ वटा चित्रकलाको ‘हिडेन ट्यालेन्ट’ एकल प्रदर्शनीसमेत गरिएको थियो । ती सबै चित्रकला सङ्ग्रहालयमा सजाइएका छन् । मुहारचित्र र भूदृश्यलाई विकलले क्यानभासमा उतारेको पाइन्छ । उहाँले जीवनकालमा एक सयजति चित्रकला बताउनुभएको महासचिव चालिसेले जानकारी दिनुभयो । विकल कलाकारका रूपमा मात्र होइन, प्रेरणा स्रोतका रूपमा पनि देखिनुभएको छ । वरिष्ठ कलाकार मनुजबाबु मिश्रले २०७१ को विकल स्मारिकामा भन्नुभएको छ, “उहाँ (विकल) मेरो कलाको पहिलो गुरु हो । मैले कला क्षेत्रमा प्राथमिक प्रेरणा उहाँबाटै पाएको हुँ, उहाँबाटै प्रेरित भएर म कलाकार भएको हुँ । ’

छेउमै मैन निर्मित विकलको प्रतिरूप । बाँसुरी, भायलिन, तबला र हार्मोनियम । विकलमा सङ्गीतप्रति गहिरो रुचि थियो । साहित्यकार चालिसेका अनुसार, विकल सङ्गीतमा रमाउनुहुन्थ्यो । ग्राम निर्माण बन्धु मण्डल क्लबबाट सरदार भक्ति थापा, दानवीर कर्णलगायत चारवटा नाटक लेखन, निर्देशन र अभिनयसमेत विकलले गर्नुभएको थियो । अर्को कोठामा थियो, पुस्तकालय । जहाँ विकलका सम्पूर्ण साहित्य अध्ययन गर्न सकिन्छ । शिक्षा तथा सामाजिक सेवाका साथै कला, साहित्य, संस्कृति, सङ्गीतका विविध क्षेत्रमा योगदान पु¥याउनुभएका विकलका एक दर्जनभन्दा बढी कृति मरणोपरान्त प्रकाशित भइसकेको छ । केही प्रकाशनको तयारीमा समेत रहेको महासचिव चालिसेले जानकारी दिनुभयो ।

पहिलो तलामा विकलको निजी कोठा छ । उहाँले प्रयोग गरेको खाट, ओढ्ने, ओछ्याउने, थाल, कचौरा र एउटा बूढो हुक्का । अनि भित्तामा झुन्ड्याइएका छन्, विकलले बनाउनुभएको परिवार र पितापुर्खाका पोट्रेट । उहाँका अनुसार, विकलले अधिकांश साहित्यिक रचना सङ्ग्रहालय रहेको घरमा नै बसेर गर्नुभयो । त्यसैले यो घरलाई पवित्र सिर्जना सङ्ग्रहालयका रूपमा विकास गर्न लागिएको हो । विकलका साहित्यिक रचनाहरूको खोजी र प्रकाशन गर्ने कार्यसमेत जारी राखिएको जानकारी दिँदै महासचिव चालिसेले भन्नुभयो, “सङ्ग्रहालयमा विकलले प्रयोग गरेका सामान, रचना, सिर्जनाको खोजी गरिराखिएको छ । यसको अध्ययन र अनुसन्धान गर्न चाहनेले सङ्ग्रहालयमा जुनसुकै बेला आएर सेवा लिन सक्छ । ”

सङ्ग्रहालयको दीर्घकालीन व्यवस्थापनका लागि स्थानीय सरकारले पहल गर्नुपर्ने र साहित्यिक पर्यटकीय केन्द्रका रूपमा विकास गरिनुपर्ने उहाँको धारणा छ । २००६ सालमा ‘शारदा’ पत्रिकामा ‘गरिब’ कथा प्रकाशन गरी सार्वजनिक साहित्यिक यात्रा प्रारम्भ गर्नुभएका विकलको छ दशक लामो साहित्यिक यात्राका रचना अध्ययन, उहाँका कृतिमाथि बनेका श्रव्य दृश्य सामग्री र साहित्यसम्बन्धी विचारलाई श्रव्य दृश्यको माध्यमबाट हेर्ने सुविधासमेत सङ्ग्रहालयमा छ ।

सङ्ग्रहालय घुम्दाघुम्दै दुई घण्टा बितेछ । कौसीमा निस्कँदै गर्दा साहित्यकार चालिसेले योजना सुनाउनुभयो, “यहाँ ट्रस्ट हालेर अवलोकनकर्तालाई आरामस्थल बनाउने । यहाँबाट आरुबारीको रमाइलो दृश्य पनि देख्न सकिन्छ । ”

First appeared in Gorkhapatra.

About Personality: 

Comments

Recent Comments

About Online Sahitya


Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

© Online Sahitya Digital Library, All rights reserved. Online Sahitya is a digital library dedicated to Nepali Art and Nepali Literature.
For further details contact: onlinesahitya@gmail.com.