संघर्षको ऐलान गर्ने कवि अहिले लज्जावती झार जस्तै झोक्राउनु भएको छ

Your rating: None Average: 5 (1 vote)
Banira Giri

औंला चुसी हाँसिरहेको नानी
नतर्सियोस् आवाजले - बन्दुकको
यहाँ सैनिकको नैतिकता जिम्मेवारी बन्दछ।
यी नेपालका
वन, जंगल, बगैंचाबगैचामा फुलेका फूल
कोमल माटोमा झर्न पुगुन्
कि नेपाल–आमाको ढुकढुकी सुन्नलाई
अनि झरे तापनि नैतिकता सार्थक बन्दछ
यो एक झोला–
नुन, तेल, दाल, चामलमा
खर्च भइरहेको एउटा जिन्दगी
ढुंगा र माटोसित खेलिरहेका दुई ओटा हात
कलम र कागजसित जिस्किरहेका दाहिनो हात
एउटा नैतिकतापूर्ण आधार चाहन्छ
एउटा अग्लो धरहरा चाहन्छ
कि, उक्लन सकोस् मास्तिर
झुट र मिथ्याको जालवाट
विश्व–नैतिकता चियाउनलाई।

कवि वानीरा गिरीले लेखेको ‘नैतिकता’ शीर्षकको यो कविता तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले २०२२ सालमा पहिलो पटक आयोजना गरेको कविता महोत्सवमा द्वितीय स्थान प्राप्त गरी पुरस्कृत भएको थियो। कविता महोत्सवमा लागि यो शीर्षक राजा महेन्द्रले दिएका थिए। हो, यही कविता हो, जसले वानीरा गिरीको जीवनलाई नयाँ मोड र नयाँ सन्दर्भ दियो।

मलाई जानकारी भएसम्म कविता महोत्सवमा पुरस्कार थाप्न उनी पहिलो पटक दार्जिलिङको खर्साङबाट २०२२ असारमा काठमाडौं आइन्। त्यसबेला उनले भारतमा नै मानविकी विषयमा स्नातक तहको अध्ययन पूरा गरिसकेकी थिइन्। मानविकी विषयमै स्नातकोत्तर गर्ने उनको इच्छा थियो। संयोग मिल्यो– कविता महोत्सवको पुरस्कार ग्रहण गर्दैगर्दा उनले राजा महेन्द्रलाई नेपाली विषयमा स्नातकोत्तर गर्ने इच्छा रहेको तर भारतमा त्यो सम्भव नभएको परिस्थिति बताइन्। राजाले उनका कुरा सुने। पुरस्कार थापेर खर्साङ फर्केको केही समयपछि नै नेपाली विषयमा स्नातकोत्तर तहमा अध्ययनका लागि छात्रवृत्ति प्राप्त भएको जानकारी नेपालबाट गयो। त्यसपछि लगत्तै उनी काठमाडौं आइन् र त्रिभुवन विश्वविद्यालयमा भर्ना भएर पढ्न थालिन्।

पढाइ चल्दै थियो। तत्कालीन सोभियत संघबाट इन्जिनियरिङको अध्ययन सकेर नेपाल फर्केका जनकपुर निवासी शंकर गिरीसँग २०२३ सालमा उनको भेट भयो। त्यो भेट, भेटघाटमा मात्रै सीमित रहेन। त्यही वर्ष शंकर गिरी र वानीरा वैवाहिक सम्बन्धमा बा“धिए। नेपाल अब उनको आफ्नो देश भयो। मन र कर्मले मात्र होइन कानुनअनुसार पनि अब उनी नेपाली भइन्।

०००

‘एउटा जिउँदो जंगबहादुर’, ‘जीवनः थामहरू’, ‘मेरो अविष्कार र काठमाडौं’ शीर्षकका कविता संग्रह उनका प्रकाशित छन्। त्यस्तै ‘कारागार’, ‘निर्बन्ध’ र ‘शब्दातीत शान्तनु’ शीर्षकका उपन्यास तथा ‘पर्वतको अर्को नाम पार्वती र जंगल’ शीर्षकका निबन्धसंग्रह प्रकाशित छन्। ‘रोकिनेले आकार दिन सक्दैन’ शीर्षकको यात्रा – संस्मरणसमेत लेखेकी उनका ''The prison, My Discovery, From The Lake, Love / From The Other End'' शीर्षकमा कविता र उपन्यासका कृतिहरू पनि अंग्रेजी भाषामा अनुवाद भई प्रकाशनमा आएका छन्। फुटकर रूपमा अन्य धेरै भाषामा उनका अनुवाद–सिर्जनाहरू छापिएका छन्।

राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चहरूमा उत्तिकै प्रभावकारी प्रस्तुतिका साथ उभिने वानीरा गिरी धेरैका लागी प्रिय सर्जक हुन्। उपन्यास र निबन्धमा पनि समानरूपमा साहित्य सिर्जना गरे पनि यी सर्जक मूलतः कविकै हैसियतमा आफूलाई उभ्याउँछिन्।

०००

सधैं साहित्यिक कर्ममा व्यस्त रहने एक छोरी र एक छोराकी आमा उनी अहिले डिमेन्सिया (बिर्सने रोग वा समस्या) बाट पीडित हुनुहुन्छ। सेवानिवृत्त उहाँका पति इन्जिनियर शंकर गिरी अहोरात्र उहाँका सेवा–सु श्रुषामा व्यस्त हुनुहुन्छ। कवि हुनु आफ्नो ठाउँमा छ। कविताकै कारण जोडिएको हो– उहाँसँगका मेरो सम्बन्ध। तर जहिलेदेखि यो सम्बन्ध जोडियो त्यही दिनदेखि उहाँ मेरी दिदी हुनुभयो। अहिले पनि म उहाँलाई वानीरा दिदी नै भन्छु। दिदी नै मान्छु।

०००

दिदी बिरामी हुनुहुन्छ भन्ने थाहा पाउँदापाउँदै र बत्तीसपुतली र मीनभवन टाढा नहुँदा नहुँदै पनि विविध कारणले उहाँलाई भेट्न जान सकेको थिइन। गएको पुस २९ गते भने जबर्जस्ती निर्णय गरेँ– अनुमति पाएँ भने भोलि जसैगरी पनि दिदीलाई भेट्न जान्छु। यही निश्चयका साथ दिदीको घरको नम्बरमा फोन गरेँ र फोनमा उहाँका पति शंकर गिरीसँग कुरा गरेँ। उहाँले हार्दिकताका साथ मेरो आग्रहलाई स्वीकार गरेर ११ बजेपछिको समय दिनु भयो। म, ३० पुस, २०७५ का दिन निर्धारित समयमा मीनभवनस्थित उहाँको निवासमा पुगेँ। म पुगेपछि ३० वर्षदेखिका उहाँका सहयोगीहरू भीम र विभाले वानीरा दिदीलाई म र शंकरजी बसिरहेकै बैठक कोठामा ल्याए। दिदीले मलाई हेर्नुभयो र मुस्कुराउनु पनि भयो। तर बोल्नु भएन। सम्भवतः चिन्नु पनि भएन। शंकर गिरी भन्दै हुनुहुन्थ्यो, ‘बोली नआए पनि तपाईंसँगको हार्दिकताको द्योतक हो उनका मुस्कान ! बोल्न त अचेल सक्तिनन् उनी।’ मसँग पनि ‘एस’ र ‘नो’ मा मात्र कुरा हुन्छ। भीम र विभाले खाना ख्वाउँछन् र समयको अनुमान गरेर दिसा—पिसाब गराउँछन्। विगत तीन÷चार वर्षदेखि समय यसरी नै बितिरहेछ। अहिले उहाँका लागि छुट्टै कोठाको व्यवस्था गरिएको छ। त्यो कोठामा टेलिभिजन राखिएको छ। बुझे पनि नबुझे पनि उनी टीभी हेर्छिन्। समय बिताउन यसले पनि सघाउ पुर्‍याएको छ।

आगो जस्तै ज्वाजल्यवान् र अत्यन्तै क्रियाशील दिदी अहिले केही सम्झनु हुन्न। धन्य छ, सारा कुरा बिर्सिएर पनि आफ्ना पति शंकर गिरीलाई भने अभैm चिन्नुहुन्छ। त्यसको ठीक विपरीत म भने दिदीलाई आफ्नै विगतसँगै सम्झिने कोसिस गरिरहेको छु।

दिदीसँग मेरो चिनजान वा भेटघाट कहिले र कहाँ भएको थियो भन्नेबारे म यकिन गर्न सक्तिनँ। यत्ति चाहिँ निश्चित रूपमा सम्झन्छु — मेरो पहिलो कवितासंग्रह ‘अन्तरका छिटाहरू’ को विमोचन १ वैशाख, २०३७ मा बागबजारस्थित पद्मकन्या क्याम्पसको हलमा भएको थियो र मेरो इच्छाअनुसार दिदी त्यस कार्यक्रममा मेरा कविताबारे बोल्नु पनि भएको थियो। विमोचनका तयारी हुँदै गर्दा — अहिले सौरभको नामबाट विशेष परिचित दिनेश सत्याल (परस्परमा हामी एक अर्कालाई मीतज्यूबाट सम्बोधन गर्छांै ) ले विमोचनमा ककसलाई बोलाउने भनेर सल्लाह गर्नु हुँदा मैले अरू जजसलाई बोलाए पनि वानीरा दिदीलाई निम्त्याउन नबिर्सनु भनेको थिँए र दिनेशजीले मेरो त्यही आग्रहअनुसार दिदीलाई निम्त्याउनु भएको थियो।

हो, त्यही दिनदेखि हो— वानीरा दिदीसँग मेरो उठबस सुरु भएको। यसको मतलव यो होइन कि — दिदी र मेरो बीचमा असाध्यै धेरै भेटघाट हुन्थ्यो। पछिल्लो पटक अर्थात् ३० पुसमा भेट भएभन्दा अगाडि दुई पटक मैले उहाँकै निवासमा भेटेको छु। एकपटक एक्लै गएथेँ र दोस्रो पटक कवि मञ्जुलका साथ। फेरि पनि हार्दिकता दृष्टिले भने हामी— अलि नजिक नै थियौं जस्तो लाग्छ।

अहिले सम्झन्छु, प्रतिनिधि कवितासंग्रह प्रकाशनका लागि दिदीका पाँचवटा कविता लिन चाहिरहेका थिए, एकजना प्रकाशकले। तर दिदीसँग भेट भइरहेको थिएन। ती प्रकाशकसँग त्यसबेला मैले भनेको थिएँ, ‘दिदीलाई भेटेर सहमति लिनु राम्रो हुन्छ। तर उहाँसँग भेट भएन भनेँ यी पाँचवटा कविताहरू संग्रहमा समावेश गरे पनि फरक पर्दैन।’ त्यसपछि मैले नै दिदीका पाँचवटा कविताका शीर्षक टिपाएँ। पछि दिदीसँग उनको सम्पर्क भएछ र पाँचवटा कविता माग्दा मैले टिपाएको शीर्षकका पाँचवटै कविताहरू नै दिदीले पनि टिपाउनु भएछ। पछिल्लो भेटमा उनले भन्दै थिए, ‘कविका रूपमा तपार्इंले साँच्चे नै वानीरा गिरीलाई चिन्नु भएको रहेछ।’

काठमाडौंमा ९ मंसिर, २०६४ गते साझा प्रकाशनले बृहत् पुस्तक प्रदर्शनी आयोजना गर्‍यो। साझा पुरस्कारद्वारा सम्मानित स्रष्टाहरूलाई हस्ताक्षरका लागि निम्त्याएको थियो र त्यसदिन निम्त्याउनेमा वानीरा दिदी र म पनि थियौं। बिक्री भएका आ—आफ्ना किताबमा हस्ताक्षर त गर्‍यौं नै। करिब चार÷पाँच घण्टाको त्यो बसाइमा कविता र बदलिँदो राजनैतिक परिस्थितिका बारेमा कुरा गर्‍यौं। केही ठट्टा रमाइलो पनि गर्‍र्यौं। फोटो पनि खिचायौं।

१४ असोज, २०६८ को दिन थियो– त्यो। बडादसैंको महानवमीको पर्व ! कान्तिपुर टेलिभिजनले बडादसंै विशेष कार्यक्रम बनाएको थियो। समाचारको बीचमा पारेर करिब २०/२५ मिनेट कवि वानीरा गिरी र मसँग रूपेश श्रेष्ठले कुराकानी गर्नुभएको थियो। एउटै सोफामा बसेर दिदी र मैले कुराकानी मात्र गरेनौं दुई/दुई वटा कविता पनि पढ्यौं। दिदीले भर्खरै छापिएको आफ्नो कवितासंग्रह ‘काठमाडौं काठमाडौं’ बाट ‘सपनै सपनाको सिम्फोनी : काठमाडौं र सोमदत्त जबाफ देऊ’ शीर्षकका कविताहरू वाचन गर्नुभएको थियो।

कार्यक्रममा जाने सहमति जनाउनु अघि ‘अर्काे कवि को हो ’ भनेर रूपेशजीलाई निक्कै खेर्नु भएको रहेछ। भन्नुभयो रे, ‘अर्काे कवि’ का बारेमा जानकारी पाएपछि मात्रै मेरो सहभागिता हुने, नहुने बारेमा टुंगो गर्छु। रूपेशजी भन्दै हुनुहुन्थ्यो – एक किसिमको सकस जस्तो अनुभव भइरहेथ्यो त्यसबेला। तर तपाईंको नाम लिएपछि भने तुरुन्तै जवाफ दिनुभयो—दिनेश भाइ भए त म आइहाल्छु नि ! सुनेर म पनि खुसी भएँ— कविको हैसियतमा दिदीको स्नेह पाएकै रहेछु !

पछिल्लो पटक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बर्सेनि प्रदान गर्दै आएको ‘महाकवि देवकोटा पुरस्कार’ का लागि प्रतिभा छनोट गर्ने समितिमा म पनि सम्मिलित थिएँ। कविताका लागि डा. वानीरा गिरीको नाम प्रस्ताव गर्नेबित्तिकै सबैजना सहमत भयौं। पुरस्कार घोषणा गर्नुअघि सम्बन्धित स्रष्टाको स्वीकृति प्राप्त गर्ने चलनअनुसार सो प्रयोजनका लागि दिदीसँग कुरा गर्ने जिम्मा पनि मलाई नै लगाइयो। दिदीको खरो स्वभावसँग हामी सबैजसो परिचित थियौं। सम्झना छ, २३ मंसिर, २०७३ का दिन मैले उहाँको घरको नम्बरमा फोन गरेँ। शंकर गिरीले फोन उठाउनुभयो। मैले आफ्नो कुरो भनेँ। यसअघि उहाँसँग मेरो दोहोरो कुराकानी भएको थिएन। उहाँले भन्नुभयो— वानीराले तपाईंको कुरा गरिरहन्थिन्। तपाईंमाथि उनलाई विश्वास छ। तर बिरामी भएको कारणले उनी अहिले आफैं कुरा गर्ने अवस्थामा छैनन् र पुरस्कार लिन पनि आउन सक्तिनन् भन्दै तपाईंसमेत सम्मिलित भई निर्णय गरिएको हो भने उनले त्यसलाई इन्कार गर्दिनन्– त्यसको जिम्मा भने म लिन्छु।’

उहाँको कुरा सुनेर म दोहोरो खुसी भएँ। पहिलो, उहाँलाई पुरस्कार समर्पण गर्न सकिने भो ! दोस्रो, घरमा पनि यदाकदा मेरो कुरा हुँदोरहेछ र दिदीले ममाथि ‘विश्वास’ गर्नु हुँदोरहेछ।खरो र स्वाभिमानी स्वभाव हो उहाँको। कसैले ‘कवयत्री’भनेको उहाँलाई पच्दैनथ्यो र भन्नुहुन्थ्यो— प्रतिभाको लिंग हुँदैन। कविता लेख्ने मान्छे कवि हो। खरो र स्वाभिमानी स्वभावका कारण उहाँको घुलमिल कमैसँग थियो भन्दा हुन्छ। मलाई सम्झना छ, पछि गएर आत्मीयताका साथ जति पनि फोटो खिच्न अनुमति दिने उहाँले सुरुमा फोटो खिच्न गएका फोटोग्राफर भाइ (जसलाई फोटो—कवि पनि भनिन्छ) कुमार आलेलाई रित्तै हात फर्काउनु भएको थियो।

०००

पहिले चुल्बुले परी जस्तै लाग्ने वानीरा दिदी अहिले पोखरी जस्तै शान्त हुनुहुन्छ। ‘दाग चारैतिरबाट गोली नै गोली, बर्साउ चारैतिरबाट आगो नै आगो, तर पक्का हो – कान फारेर सुन चोट ! तिम्रो भण्डार रित्तिएला म रित्तिन्न’ भनेर संघर्षको ऐलान गर्ने कवि अहिले लज्जावती झार जस्तै झोक्राउनु भएको छ। महत्त्वपूर्ण— राष्ट्रिय र अन्तर्राष्ट्रिय सभा सम्मेलनमा मात्र होइन, पत्रपत्रिकामा स्तम्भ लेखनमा पनि अत्यन्तै सक्रिय रहने उहाँ अहिले ती सबैबाट बेखबर हुनुहुन्छ। जो गए पनि चुपचाप हेर्नुहुन्छ, एकाध वाक्य बोलाउन पनि हम्मेहम्मे पर्छ। अहिले आफ्नै लागि विस्मृतिमा पुगेको छ– उहाँको आफ्नै जीवन।

दिदीलाई हेर्दै, दिक्क मान्दै र स्नेहले घरिघरि उहाँको हात सुमसुम्याउँदै, करिब दुई घण्टाको समय बिताएर फर्कंदै गर्दा बाटोभरि मैले दिदीलाई नै सम्झिरहेँ। मेरो सम्झना त मसँग सीमित हुने नै भयो ! म, उहाँकै छेउमा बसेर उहाँलाई हेरिरहेको यथार्थबाट पनि दिदी बेखबर हुनुहुन्थ्यो – जसरी, डा. वानीरा गिरीको साहित्यक योगदान र उहाँको अवस्थाका बारेमा सरकार बेखबर छ।

साभार: अन्नपूर्ण पोष्ट

About Personality: 

Comments

Recent Comments

About Online Sahitya


Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

© Online Sahitya Digital Library, All rights reserved. Online Sahitya is a digital library dedicated to Nepali Art and Nepali Literature.
For further details contact: onlinesahitya@gmail.com.