Loading

अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा राबतले मारे बाजी [पुरस्कृत कवितासहित]

Poet Rabatअमेरिकामा आयोजित अन्तर्राष्ट्रिय नेपाली कविता प्रतियोगितामा नुवाकोटका रामबहादुर तामाङ (राबत) ले प्रथम स्थान हासिल गरेका छन् । उनको 'सम्बोधन' शीर्षकको कविताले प्रथम पुरस्कार जितेको हो । विश्वभरिबाट प्राप्त दुई सयभन्दा बढी कविताहरुमा अन्तिम छनोट भएका ३० वटा कवितामध्ये राबतको कविता सर्वोत्कृष्ट भएको हो । 

उत्तर अमेरिकास्थित नेपाली साहित्य प्रतिष्ठानले वर्षेनि आयोजना गर्ने कविता महोत्सवअन्तर्गतको पुरस्कार नेपाली साहित्यमा फुटकर रचनातर्फ दिइने सर्वाधिक राशिको हो । राबतले एक हजार डलरको हेम-सरिता पाठक भानुभक्त काव्य पुरस्कार पाउनेछन् । 'चराहरु' शीर्षकको कविताका लागि दोस्रो भएकी क्यानाडा मिसिसांगाकी भावना पोखरेलले तीन सय डलरको शर्मा मुठभरि मोतीराम काव्य पुरस्कार पाउनेछिन् । यसैगरी पोखराका शरण आँसुको 'असमय' शीर्षकको कविताले बसुन्धरा गणेश रोका देवकोटा काव्य पुरस्कार पाएको छ । 

उत्तर अमेरिकाको भर्जिनियामा आयोजित महोत्सवमा गत वर्षको प्रतियोगितामा प्रथम भएका कवि उमेश राई अकिन्चनको 'मोनालिसा र मार्च ८' कवितासंग्रह विमोचन गरिएको थियो । प्रथम पुरस्कार पाउने कविको एउटा कवितासंग्रह प्रतिष्ठानका तर्फबाट प्रकाशन गरिन्छ ।
------------------------------------------------------------- 

यस वर्ष प्रथम हुन सफल राबतको सम्बोधन शीर्षकको कविता यहाँ प्रस्तुत छ :-

  • सम्बोधन

जसरी
छोडेर गएका थियौ

खाँदाखाँदैको आधा गाँस
गोड्दागोड्दैको आधा पाखो
रुँदारुँदैको आधा आँसु
हो त्यहीँबाट
सम्बोधन गरिरहेछु तिमीलाई ।

सायद
मेरो पत्र बोकी जाने विमान
हराई जाला धमिलो आकाशमा
मलाई छोएर जाने हावाहरु
थुनिएलान् नयाँ ग्याँस च्याम्बरमा

म समुद्र नदेखेको मान्छे

त्यता कतै 
बालकको हातमा
कागजको जहाज देख्यौ भने
सम्झनू
पत्र सकुशल तिम्रो हातमा पर्‍यो 
त्यता कोही
रोइहाल्यो भने मान्छेको मायाले
सम्झनू
त्यो आँसुको केही हिस्सा मेरो हो
त्यता कतै
आकाशमा चरा नाचेको देख्यौ भने
सम्झनू
म विलकुल सन्चो छु ।

जसरी
छोडेर गएका थियौ
हाँस्दाहाँस्दैको आधा मुस्कान
देख्दादेख्दैको आधा सपना
गाउँगाउँदैको आधा गीत
हो त्यहीँबाट
सम्बोधन गरिरहेछु तिमीलाई ।

सायद
मेरो प्रार्थना
बोकी जाने ईश्वरहरु
आत्मघाती दंगामा पर्लान्
मैले पुज्दै गरेका ढुंगाहरु
कुनै निधारको भागीदार बन्लान् 

म ईश्वर नदेखेको मान्छे

त्यता कतै 
भोकाको हातमा
रोटी देखिहाल्यौ भने
सम्झनू
मेरो ईश्वर खुसी छन् 

जसरी
छोडेर गएका थियौ
झोलुंगोमा निदाइरहेको बच्चा
आधा मात्र उघ्रिएको हिमाल
हिंड्दाहिंड्दैको आधा बाटो
हो त्यहीँबाट 
सम्बोधन गरिरहेछु तिमीलाई ।

सायद
यो आविष्कारको युगले 
सात फन्को मारेर ब्रह्माण्ड
घोषणा गरिदेला रोबोटहरुको साम्राज्य
मेटाइदेला हरेक छातीबाट
पानको पात जस्तो मुटु हुनुको निशानी 

म रकेट नदेखेको मान्छे

त्यता कतै धुलोमा
औंलाले
पृथ्वीको चित्र कोरिरहेको देख्यौ भने
सम्झनू
त्यही भूगोलको
सबभन्दा अग्लो चुचुरोमा बसेर

तिमीले छोडेको
बाँकी काम गरिरहेछु ।

Segments: 

Comments