Loading

पूर्व छापामार / स्वप्निल स्मृति

१६ वर्षको हुँदा
पहिलो पल्ट पुग्यो ऊ सदरमुकाम
र थर्थरी काँप्दै लियो नागरिकता

२० वर्षको उमेरमा 
आफूलाई अनागरिक घोषणा गर्‍यो
र युद्धमा आफूलाई होमिदियो


युद्धमा कब्जा हुँदा सदरमुकाम
उसले फस्ट एसल्टको जिम्मेवारी निभाएको थियो
सिडिओ कार्यालयको प्रवेशद्वार छिचोल्ने बेला
घाइते भएपछि
सहयोद्धाहरुले उसलाई उडाएका थिए डोकोको जहाजमा
हेडक्वाटरले उक्त युद्धलाई यसरी संश्लेषण गरेको थियो-
'हारे-हारेजस्तो जीत
जिते-जितेजस्तो हार
कामरेडहरु ! समग्रमा जित नै हो .'

आज ३० वर्षको उमेरमा
फेरि ऊ आइपुगेको छ सदरमुकाम
युद्धमा जलेको नागरिकता बनाउन
अयोग्य भनेर शिविरबाट निकालिएको योग्यताले
नभरिने भएपछि पेट
अब राहदानी बनाएर जानु छ अरबतिर उँट चराउन

पल्टेको छ ऊ सदरमुकामको सस्तो गेस्ट हाउसमा
लगातार बम विस्फोट भइरहेछ उसको निशस्त्र छापामार मस्तिष्कमा
कि कमाण्डरले युद्ध रोकिएपछि खोलेको 'मेनपावर'मा
तुरुन्तै राहदानी बुझाउनु
उस्को तत्कालीन कार्यनीति छ
गाउँकै धूले स्कुलमा भए'नि छोराछोरी पढाउने
उसको दीर्घकालीन योजना छ

यसरी ऊ आफूउपर पहिलो खेप सोच्न थालेको छ

सिडिओ सरुवा-बढुवाको लागि 
राजधानी गएको छ
एक हप्ता भइसक्यो आगोले अवरुद्ध छ राजमार्ग
गोली विझेको लडाकू झै दायाँ पल्टिन्छ बायाँ पल्टिन्छ
दायाँ-बायाँ उसको निधारमा
फेरि दुःखले ल्याप्चे लगाएको छ

स्वप्नको बारुदले पोलिरहेछ भर्‍याक भर्‍याक रातभर
भोकाहरुले फेला पारेर हारालुछ चोक्टा-चोक्टा चुँडिखाएको
अन्जान रोटीजस्तो
पश्चिम आकाशमा एकचोक्टा जून खिस्सखिस्स मुस्कुराइरहेछ .

उसको दिमागमा जो छिरेको थियो विचारको लार्भा
त्यो आज झुसिल्किरा भएको छ
उड्दापक्षी खैनीले एकदम विझाइरहेछ उसको गिजा
जुरुक्क उठेर झ्याल बाहिर थुक्दछ -थुक्क !

Segments: 

Comments