नियति/ कृष्णप्रसाद भण्डारी

लाग्यो बादल अन्धकार हुन गो पूर्वीय आकाशमा
सारा वैभव, एकता सहमति स्वाहा भयो भासमा ।
गर्छौं नाटक संविधान रचना फोस्रा भए भाषण
कुर्सी खेलमहाँ बित्यो समय नै सिन्को नभाँचिकन ।।
स्वार्थी भाव थियो थिएन जनता स्वाधीनता बिर्सियौ
सत्तामोह हुँदा गरेर झगडा लुछाचुँडी बल्झियो ।
गर्लान् काम नयाँ भनेर जनता विश्वस्त थे दिन्दिन
धोका मात्र दियो अडान हठले गन्तव्यमा छिन् छिन ।।
कालो दम्भ नपाल चित्त बीचमा छाती ठूलो लौ गर
फाली कल्मष देशको हर घडी नेपाल चिन्ता गर ।
सानो त्याग गरे रहन्छ जनता राष्ट्रियता बाँच्दछ
सत्ता बन्दुकको कडा जहरले नेपाल के हाँस्दछ ।।
भाषा, जाति अनेकको चहकिलो यो बाटिका सुन्दर
पेसा, धर्म अनेकता छ यसमा भूगोल झन् सुन्दर ।
यस्तो दिव्य मुहारको छ सपना सङ्घीय नेपालको
बाधा, बन्द , विरोधको नियति पो भोग्दैछ बेकारको ।।

Segments