Loading

निदाएँ जगदम्बा / नयनराज पाण्डे

उनलाई अचेल राम्ररी निद्रा पर्दैन। अनिद्राका रोगी भएका छन्। सुरुसुरुमा त उनले आफ्नो अनिद्रालाई सामान्य रूपमा लिएका थिए। तर पछि उनलाई यसले निकै दुःख देला जस्तो लाग्न थाल्यो। एक त राजनीति गर्ने मान्छे। त्यसै पनि सधैँ तनावग्रस्त, सधैँ चिन्ताग्रस्त भइरहनुपर्ने। आराम भनेको त्यही राति निदाउँदासम्मको हो। तर त्यही निद्रा नै हराएपछि स्वास्थ्यमा प्रतिकूल असर पर्ने नै भयो। यो कुरा उनले धेरैसम्म कसैलाई भनेका थिएनन्। साह्रै भएपछि एक दिन उनले आफ्नी श्रीमती जगदम्बालाई भने ‘जगदम्बा ! अचेल मलाई निद्रा पर्दैन।‘

जगदम्बा पनि चिन्तित भइन्। पतिको सुखदुःखकी साथी। चिन्ता त पर्ने नै भयो। यद्यपि उनले पतिलाई दुःखमा उतिसारो साथ दिनुपरेन। किनभने पतिले भूमिगत राजनीति गर्दा, उनको बिहे भएकै थिएन। बिहे त पति शरणकुमारले भूमिगत जीवन त्यागेर खुला राजनीति गर्न थालेपछि भएको हो। खुला राजनीति गर्न थालेपछि दुःख भन्ने नै कहाँ गयो र ? सुखैसुख। प्रजातन्त्र आउनासाथ माननीय पनि भए। मन्त्री पनि भए। गाउँबाट सहरमा बसाइँ सरियो। त्यसपछि राजधानीमै बिल्डिङ बन्यो। हाइसन्चो भइहाल्यो। त्यसैले राजनीति जगदम्बाको दृष्टिमा गजबको कुरा हो। लाभदायक। यसले नाम दिन्छ, दाम पनि दिन्छ।
तर पनि शरणकुमारले निद्रा पर्न छाड्यो भनेपछि उनी पनि चिन्तित भइन्। उनलाई देशको बिग्रँदो आर्थिक अवस्थाले चिन्तित पारेको हो र त्यसैले उनलाई अनिद्राको रोगी बनाएको हो।
तर शरणकुमारले त्यो कारण ‘होइन‘ भने।
‘देशमा फैलिएको हत्याहिंसाले गर्दा पो हो कि ?‘ जगदम्बाले सोधिन्।
‘हैन, हैन‘ शरणकुमारले जगदम्बालाई आश्वस्त पारे।
‘अनि किन त ?‘ जगदम्बाले करै गरेर सोधिन्।
र त्यसपछि अप्ठ्यारो मान्दै शरणकुमारले आफ्नी अर्धाङ्गिनी जगदम्बालाई कोठाको छेउमा रहेको दराजलाई देखाउँदै भने - ‘जगदम्बा ! मेरो अनिद्राको कारण, ऊ त्यही दराज हो।‘
‘किन डराउनुभएको, गहना, रुपियाँ पैसा त्यसमा कहाँ राखेकी छु र ? सबै बैङ्कको लकरमा राखेकी छु।‘ जगदम्बाले आश्वस्त पार्न खोजिन।
‘तर त्यसमा किताबहरू छन् जगदम्बा ! पुस्तकहरू छन्।‘

अनि त जगदम्बा पनि चिन्तित भइऩ्। उनले पतिको कुरा र चिन्ता दुवै बुझिन्। हो पनि अचेल स्थिति खराब छ। देशमा अशान्ति छ दिनदिनै मान्छे मर्ने, मारिने/समात्‍ने, समातिने/बेपत्ता हुने, बेपत्ता गराइने घटनाहरू भइरहेका छन्। घरघरमा सुरक्षाफौज पसेर खानतलासी गरिरहेका छन्। शङ्कास्पद कुरा फेला परेमा केरकार गर्न थाल्दछन्। बुझ्नु छ भनेर लिएर जान्छन्। र त्यसपछि त्यसरी ‘बुझ्नू छ‘ भनी लगेको व्यक्ति फर्किन्छ कि फर्किँदैन, कुनै ठेगान हुन्न।
‘जगदम्बा ! दराजमा माओका किताबहरू छन्। मार्क्स र एङ्गेल्सका किताबहरू छन्। विश्वका विभिन्न देशका राजनीतिक, आर्थिक, सामाजिक अनि सांस्कृतिक क्रान्तिका बारेमा लेखिएका किताबहरू छन्। बी.पी.का पुष्पलालका किताबहरू छन्। यी सबै मैले भूमिगतकालमा जम्मा गरेका र पढेका किताबहरू हुन्।
पतिले भनेपछि जगदम्बालाई पनि किताबप्रति अगाध स्नेह जाग्यो। हो पनि, कति माया गरेर, कति स्नेह गरेर, कति स्याहारेर राखेका छन् उनका पतिले ती किताबहरू। कतिमा आफैँले गाता र कभर पनि लगाएका छन्। यिनै किताबहरूका कारण उनका पति यति चर्चित बौद्धिक भएका हुन्. आफ्नो अध्ययन र त्यस अध्ययनबाट प्राप्त ज्ञानकै कारण उनी प्रतिभाशाली भएका हुन्। र, त्यही प्रतिभाका कारण उनी पार्टीका पोलिटब्युरो सदस्य पनि भए, केन्द्रीय सदस्य पनि भए। सांसद पनि भए। मन्त्री पनि भए।
तर कुनै दिन उनको घरमा पनि खानतलासी भयो र यी किताबहरू भेटिए भने सुरक्षाफौजले उनलाई पनि शङ्का गर्नसक्छ। यो त माओवादी रै‘छ भन्न सक्छ। बेपत्ता पार्न सक्छ।
जगदम्बाको मुटु हल्लियो। आत्तिइन् उनी। यस्तो हुननसक्ने कुरा पनि थिएन। फौजको अगाडि म यस्तो, म उस्तो भन्नुको के अर्थ ? उनीहरूलाई शङ्का लाग्यो, पुग्यो। अरू तर्क उनीहरूलाई काम लाग्दैन फेरि त्यसमाथि पनि यसै पनि कम्युनिस्ट। जगदम्बाले अनि हालसालै एउटा व्यक्तिले भनेको सम्झिन्। त्यस व्यक्तिको भनाइमा सबै कम्युनिस्ट उस्तै हुन्। कोही नरम, कोही कडा। कोही भूमिगत राजनीतिमा। कुनै संसद्लाई प्रयोग गरेर पनि गणतन्त्र प्राप्त गर्न सकिन्छ भन्ने, कुनै हतियारकै आधारमा मात्र सत्ता परिवर्तन हुनसक्छ भन्ने ठान्ने।
तर अनन्तः उद्देश्य उही गणतन्त्र। बस, बाटो फरक।

जगदम्बाको चिन्ता बढ्यो। शरणकुमारको अनिद्रा बढ्यो। अनि धेरै चिन्तन-मनन गरेपछि जगदम्बाले समस्याको समाधान सोचिन्।
‘यी किताबहरू कुनै पुस्तकालयलाई दान दिऊँ। किताबको सदुपयोग पनि हुन्छ, हाम्रो चिन्ता पनि हट्‍छ।‘
‘तर कसैले यी किताबहरू राख्‍ने मान्छे मै हुँ भनेर कुरा लगाइदियो भने ?‘ शरणकुमारले शङ्का व्यक्त गरे। चिन्ता फेरि यथावत् भयो। तर यस पटक शरणकुमारले नै समाधान निकाले।
‘यी किताबहरू बारीमा लगौँ र खाल्टो खनेर गाडिदिऔँ।‘
जगदम्बा पनि यस आइडियाबाट प्रभावित भइन्। अनि यो काम आजै राति सम्पन्न गर्ने सल्लाह भयो।

राति उनीहरू बारीमा गए। अँध्यारो थियो। अरूलाई शङ्का नहोस् भनेर बाहिरको बत्ती पनि बालेनन्। बस्, जगदम्बाले एउटा सानो टर्च बालिन्। र, त्यही टर्चको उज्यालोमा शरण आफैँले खाल्टो खन्न थाले। बेलाबेलामा माटो खोस्रिन जगदम्बाले सघाइन्। अन्त्यमा, खाल्टो तयार भयो। खाल्टो हेर्दा लाग्थ्यो शरणले कसैलाई गाड्नकै लागि खाल्टो तयार गरेका छन् र कुनै दाहसंस्कारको तयारी गर्दै छन्।
शरणकुमारले दराजभरिका किताबहरू बोरामा कोचेर बारीमा ल्याए।
‘केही त घरैका राख्दा पनि फरक पर्दैनन्।‘ शरणले यसो भनेपछि जगदम्बाले टर्च बालेर हरेक किताबको शीर्षक हेर्दै, छुट्याउँदै शरणलाई दिन थालिन्। शरण महोदयले तिनलाई एकएक गरी खाल्टोमा हाल्न थाले।

सुरुमा माओ, मार्क्स, एङ्गेल्सका किताबहरू खाल्टोमा हाले। त्यसपछि क्रान्तिकारीका जीवनीको किताब पनि खाल्टोमै हाले। विश्वका विभिन्न देशका क्रान्ति, जनक्रान्तिसम्बन्धी कृति पनि खाल्टोमा हाले।
‘यो त ‘गौरी‘ खण्डकाव्य रहेछ, के गर्ने ?‘ जगदम्बाले टर्चको उज्यालोमा किताबको शीर्षक हेर्दै सोधिन्।
‘त्यो राख, राष्ट्रकविको हो। उनको किताब घरमा राख्दा केही फरक पर्दैन।‘ शरणले भनेपछि जगदम्बाले मालतीमङ्गले, देवकोटाको मुनामदन, लेखनाथको तरुणतपसी, पिँजडाको सुगालाई पनि एक छेउमा राखिन् सजाउन काम लाग्छ सोचेर। भानुभक्तको रामायण, वरवधू शिक्षा, मोतिरामको गजलसङ्ग्रह पनि शरणले आफैँले छेउमा राखे। खाल्टोमा पर्न दिएनन्।
‘बी.पी. कोइरालाको त पूरै सिरिजै रैछ। के गरुँ ?‘ जगदम्बाले सोधिन्।
‘समय ठीक छैन यसलाई पनि खाल्टोमै पुरौँ।‘
त्यसपछि ‘तीन घुम्ती, सुम्‍निमा, नरेन्द्रदाइ, मोदिआइन, हिटलर र यहुदी, जेल जर्नल, आत्मबृत्तान्त‘ सबैलाई खाल्टोमै हालियो।
‘पारिजात दिदीको के गर्ने ?‘ जगदम्बाले फेरि सोधिन्।
‘आ.........के राख्‍नू ? ल्याऊ खाल्टोमै हालौँ।‘ शरणले पारिजातका कृतिहरू पनि खाल्टोमा हाले ‘शिरीषको फूल‘ बाहेक।
त्यसपछि उदयानन्द अर्ज्याल, खिलानाथ शास्त्री, कोमलनाथ अधिकारी, चक्रपाणि चालिसे, चाँदनी शाह, बालकृष्ण सम, भीमनिधि तिवारीका किताबहरू साइडमा राखेर युद्धप्रसाद मिश्र, सिद्धीचरण श्रेष्ठ, ध्रुवचन्द्र गौतम, ध.च. गोतामे, शैलेन्द्र साकार, नारायण ढकाल, विमल निभा, राजव, श्यामल, पूर्णविराम, पुरुषोत्तम सुवेदीका किताबहरू खाल्डोमा हाले। छिन्नलता, दैवज्ञराज नेउपाने, धरणीधर कोइराला, टुकराज पद्मराजका किताबहरू राखे र वासु शशी, कृष्णभक्त श्रेष्ठ, उपेन्द्र श्रेष्ठ, ध्रुव सापकोटा, मनु ब्राजाकी, भाउपन्थीका कृतिहरू खाल्टोमा फाले।
रुद्रराज पाण्डेको ‘रूपमती‘ राखे। लीलबहादुर क्षत्रीको ‘बसाइँ‘ राखे, लोकेन्द्रबहादुर चन्दका सबै किताब राखे। पृथ्वीनाराण शाहको ‘दिव्योपदेश‘ पनि राखे। मनुस्मृति, शुक्रनीति, चाणक्य नीति, पनि राखे तर भूपि शेरचन, गोपालप्रसाद रिमाल, शङ्कर लामिछानेलाई पनि खाल्टैमा हाले। गणेशमानको आत्मकथा फाले र बहादुर शाहको जीवनी राखे।
हंसराज गोल्छाको ‘कर्मवीरको अन्तिम यात्रा‘ भन्ने किताब रहेछ। शरणकुमारले त्यसलाई खाल्टोमा झन्डै हालेका, हत्तपत्त उठाए र भने- ‘यसलाई त गाता लगाएर राख्‍नुपर्छ जगदम्बा !‘
त्यसपछि क्षेत्रप्रताप अधिकारी, कञ्चन पुडासैनी, दैवज्ञराज नेउपाने, दिनेश अधिकारीलाई पनि जतनका साथ राखे। कमल दीक्षित, वासुदेव त्रिपाठी, वासुदेव लुइँटेललाई पनि उनले सम्हालेर एकछेउमा राखे। विक्रम सुब्बा, अशेष मल्ल, विष्णुविभु घिमिरे, ललिजन, रवि प्राञ्जल, राजेन्द्र पराजुली किताबहरू पनि खाल्टा मै हाले।
‘नरेन्द्रराज प्रसाई, इन्दिरा प्रसाईको पनि रहेछ नि !‘ जगदम्बाले अँध्यारोमा रङ्गीन र चिल्ला किताबहरू हेर्दै सोधिन्।
‘राख्‍ने, राख्‍ने।‘ शरण महोदयले हत्तपत्त भने। पत्‍नी जगदम्बाले पनि पतिको आज्ञा शिरोपर गर्दै ती किताबहरूलाई बैग्लै राखिन्। सम्मानपूर्वक। भीम खरेलको जी. शाहसम्बन्धी किताबसँगै अर्थात् पुस्तकहरूसँगै।
विमल कोइराला राखे, विष्णुप्रसाद धिताल राखे। श्रीधर खनाल, श्यामदास वैष्णव पनि राखे। मञ्जुलका नयाँ किताबहरू राखे, पुराना खाल्टोमा हाले। नरशमशेरको जीवनीलाई पनि सम्हालेरै राखे। रमेश विकल फाले, ऋषिराज बराल फाले। गणेश रसिकका गीतहरू राखे, रामेश, रायनका फाले। आहुति अग्निशिखा, अमर गिरी, अमर शाह फाले। र, राखे युधीर थापा, प्रकाश कोवि, वसन्त र सुवास। मनु ब्राजाकी फाले, म.वि.वि शाह राखे। सञ्जय थापा फाले। प्रदीप नेपाल राखे। मञ्जु, बेन्जु,माया ठकुरी, श्रेष्ठ प्रिया पत्थर, सङ्गीता स्वेच्छा, मेरिना स्मृति उषा लोहनी राखे। भुवन ढुङ्गाना फाले, जलेश्वरी श्रेष्ठ फाले। पुष्पलता राखे, कुन्ता शर्मा फाले।
समकालीन चिन्तन, सार्थक समालोचना र समकालीन राजनीतिका विश्लेषणलाई खाल्टोमा हाले। मनोरञ्जन, चुट्‌किला र कामशास्त्र राखे। प्रेरक जीवनी फाले, प्रायोजित इतिहास राखे। किताबले खाल्टो भरियो। त्यसमाथि माटो पुरेर खाल्टो पूरै छोपियो। अनि दुवैले खाल्टोमाथि माटो तह लगाएर मिलाए। अब त्यहाँ हेर्दा भर्खरै मात्र किताबहरूको दाहसंस्कार सम्पन्न गरिएको थियो जस्तै लाग्दैनथ्यो।
र त्यसमाथि जगदम्बा र शरणकुमारले रोपे, कपाली नर्सरीबाट हिजो भर्खर किनेर ल्याएको लालीगुँरासको बिरूवा।
‘यहाँ लालीगुराँस फुल्ला र ?‘ जगदम्बाले थोरै शङ्का व्यक्त गरिन्।
‘फुल्छ नि, किन नफुल्नु ? अब यहाँ लालीगुराँस नै फुल्छ।‘ शरणकुमारले धेरै आत्मविश्वासका साथ भने।

दराजको एक खण्डमा राख्‍न मिल्ने किताबहरू सजाएर राखिन् जगदम्बाले। त्यसभन्दा माथिको खण्डमा आफ्नो चोलो र पेटिकोट राखिन्। अर्को खण्डमा मेकअपका सामानहरू राखिन्। एउटा खण्डमा आफ्नो नयाँ साडी, शरणकुमारको नयाँ दौरा सुरुवाल, कोट राखिन् र भनिन् - ‘यसपालि यही नयाँ लुगा लगाएर दरबारमा दसैँको टीका थाप्‍न जानुपर्छ।‘

रात मजाले गाढा भयो। सिडीमा चाँदनी शाहका मधुर गीतहरू मधुरोमधुरो सुन्दै जगदम्बा र शरणकुमार फेरि सुत्‍ने तरखर गर्न थाले। दुवैलाई मीठो निद्राले छोप्‍न थाल्यो।
‘ए हजुर ! निदाइस्यो ?‘ जगदम्बाले सोधिन्।
‘निदाएँ जगदम्बा!‘ शरणले जबाफ दिए।

Segments: 

Comments