Loading

सन्त्रस्त आँखाहरू

    उनीहरू पिप्चाइ फेदीको सुनकोशी किनारनेर आइपुग्दा दिउँसोको करीब १२ बजेको थियो । पश्चिम उत्तरपट्टि रहेको भुङ्जु डाँडामाथिको आकाशमा बादलको सानो थेग्लो स्थिर भएर बसेको देखिन्थ्यो । यही ठाउँबाट उनीहरू सुनकोशीको गड्तिर छाडेर उकालो चढ्छन् । दशैं तिहारको मुखमा यो बाटोमा ढाकर बोक्नेहरूको ताँती जुलुस हिँडेजस्तै देखिन्छ । हिउँदका अरू महिनाहरू पनि यो बाटोमा ढाक्रेहरूको बाक्लै लाम भेटिन्छ । वर्षा लागेपछि यो बाटोमा मान्छेहरूको चाप स्वाट्टै घट्छ । बाटो हिँड्ने मान्छेहरू घटेपछि कोशी किनारका गाउँहरू स्वरूङ दोभान, निवुवाटार र कुनाइका मान्छेहरूको आयस्रोत पनि घट्छ । यही बाटोका कारण यी गाउँहरूमा खेतीबाट जीविकोपार्जन गर्नेहरू अत्यन्तै थोरै छन् । मूलबाटो भएको कारण व्यापार नै उनीहरूको प्रमुख आयस्रोत बन्यो ।
    सर्पझैं कुङलिङ पर्दै घुमेको पिप्चार्इ उकालोमा मध्य दिउँसोको चर्को घामले आँखालार्इ नै तिरमिरतिरमिर पार्ने गर्छ । पिप्चार्इ फेदीमा रहेको सिमलको रूखबाहेक हरियोको कतै नामनिशाना छैन । खडेरीले सबैडाँडाकाँडाहरू यतिबेला कोशी पारी राजदहको पहिरो झैं उजाड देखिन्छन् ।
    सुनकोशी नदीको कर्कश आवाज कतै नरोकिइकन एकनासले बजिरहेको छ ।
    आज त भात खाने बेला टरिसक्यो है माइला ! हाम्रो टाउकै माथि पो बसेको छ घाम । भारीमा टेको लाउँदै आकाशतिर हेरेर रनेम्पाले भन्यो ।
    यति ढिलो त कहिल्यै पनि भएको थिएन । रनेम्पाको आवाज सुन्ने बित्तिकै मन्जितेले पनि आफ्नो भारीलार्इ टेको लाउँदै सहमति जनायो ।
    यसैपटकदेखि आफ्नो जेठो छोरो रनशेरलार्इ भारी बोक्न सिकाउनका लागि उसले कटारी लिएर आएको थियो । रनशेर उमेरले यही फागुनमा मात्र एघार वर्ष पुग्यो । गाउँको स्कूलमा तीन कक्षासम्म पढेपछि ऊ घरको काममा लाग्यो ।
    रनेम्पा ! सानो भए पनि तेरो छोरो निकै कडा छ जस्तो छ । आफूहरूभन्दा निकै अगाडि पुगिसकेको रनशेरपट्टि औंल्याउँदै मन्जितेले रनेम्पालार्इ फुर्क्यायो ।
    रनेम्पाले सुनकोशी किनारको तेर्सो बाटोमा आफ्नो आँखालार्इ परैसम्म ओछ्यायो । छोटो कदको रनशेर कोशीको बगर छेउमा सानो ढाकर बोकेर हिँड्दा चामलको बिस्कनुमा घुनकिरा दौडेजस्तै देखिन्थ्यो । रनशेर पिप्चार्इ फेदिमा देखिएको सिमलको रूखतिर लक्ष्य गरेर दौडिरहेको थियो ।
    बिसाउने ठाउँ पनि आइपुग्यो है माइला । आफ्नो टेकोलार्इ ढाकर माथि सिउरिँदै मन्जिते अघि बढ्यो ।
    के हाम्रो डाँडामाथि पनि मोटर कुद्छ त माइला ? स्वरूङ दोभानमा भरखर कटारीबाट बनाएर ल्याएको फिलिप्स रेडियोबाट बिहान सुनेको समाचारले उकुसमुकुस भएर मनभित्रको गुम्फित पीडालार्इ रनेम्पाले मन्जितेका सामुन्ने पोख्यो । बिहानै सुनेको रेडियोको समाचारले शेरमानको हिँडाइको गतिलार्इ नराम्ररी खुम्च्याइदियो । अलिकति त उसलार्इ आफ्नै रेडियोसँग रिस उठ्यो । आज यसले कस्तो अशुभ समाचार सुनायो ? हाम्रो गाउँको डाँडामा मोटर कुद्यो भने हामीले कहाँको भारी बोक्ने ?
    यही बाटोमा भारी बोकेर उनीहरूले जीवनको सम्पूर्ण जस्तो कालखण्ड बिताए । शेरमान र मन्जिते समवयका, सँगसँगै हुर्केर बढेका । उनीहरू आफ्ना बाबुहरूसँग सानै उमेरदेखि सँगसँगै भारी खेप्न कटारी आउँथे । अर्थात् भारी बोक्न सिक्थे । कटारीबाट सोलुखुम्बुसम्म भारी पुर्याउन करीब नौ दश दिन लाग्थ्यो । यो लामो बाटोमा उनीहरू प्रायः सँगसँगै हुन्थे ।
    सुनकोशीको किनारै किनार हिँड्दा थाकेर यस ठाउँमा आइपुगेपछि ऊ साह्रै आनन्द मान्थ्यो । कटारीबाट भारी बोकेर उसका साथीहरूसँग प्रायः ऊ तेसो दिनमा यहाँ बास बस्न आइपुग्ने गर्थ्यो । हिउँदका कैयौं महिनाहरूमा यही निर्जन ठाउँमा कहिलेकाहीं ऊ एक्लै पनि बास बसेको थियो । घरबाट कटारी जाँदा यही ठाउँमा आएर एकछिन् बसेर थकाइ मार्थ्यो र कोशी नदीको पानीमा कोदोको जाँड घोलेर खान्थ्यो । कोशीको पानीमा जाँड घोलेर खाँदा ऊ बेग्लै र मीठो स्वाद पाएको अनुभव गर्थ्यो ।
    वैशाख महिनाको मध्य घाम, जताततै वातावरण तातो छ । बादलका थेग्लाले घामलार्इ छोपेर ल्याएको शीतलपन कुनै कुनै बेला घुम्दै आइपुग्थ्यो ।


    च्यास्मिटार हाम्रो देशको औसत नेपाली गाउँमध्ये एक हो । आफ्नो खेतीले यहाँका मानिसहरू मुस्किलले तीन महिना खान्छन् । बाँकी महिनाहरू कटारी सोलुखुम्बु, ऐंसेलुखर्क, ओखलढुंगा, रूम्जाटार, दिक्तेलसम्मको भारी बोक्छन् र जीविकोपार्जन गर्छन् । अन्नपात उब्जन उपयुक्त मौसम पर्खनुपर्छ । मकै र कोदो यहाँको मुख्य बाली हो । कहिलेकाहीं त खडेरीले त्यसलार्इ पनि खाइदिन्छ । त्यसपछि गाउँमा अनिकाल पस्छ त्रासद रूप बोकेर । त्यसले बृद्ध, केटाकेटी कोही पनि भन्दैन । त्यसपछि सबै कटारी जान्छन् भारी खोज्न । कति घरमा त मानिस नभएर दैलो नै लाग्छ ।
    उनीहरूका पूर्खा यो ठाउँमा कहिलेदेखि बसेका हुन् सबैले अनुमान मात्रै गरेका छन् । भुङ्जु डाँडाको वरिपरिमात्र तिलुङ्गे रार्इहरूको बस्ती छ । गाउँघरमा पढेका भाइभतिजाहरूले भनेको सुनेको हो उसले । तिलुङ्गे रार्इहरू टाढामा दुर्क्षिम गाउँसम्म फैलिएका छन् । तर उसले आफ्ना पूर्खाहरूलार्इ जति सुन्यो र देख्यो – उसका जिजुबाजेहरूले चिसापानीदेखि ओखलढुंगा दिक्तेलसम्म भारी खेपेको थुप्रै कथा ऊ अहिले पनि सम्झिरहन्छ । उसको बाबुको पालामा कटारीमा बजार बनिसकेको थियो । कटारी बजार बनिसकेपछि मात्र ऊ भारी बोक्न सक्ने भएको थियो । त्यसपछि कटारी बजारदेखि पूर्वी मध्य पहाडका बजारहरू र केही गाउँहरूमा विकासे सामग्री ओसार्नु उसको मुख्य कर्म बन्यो ।
    अलिअलि घुम्रिएको कपाल, पुड्को जीउडाल, अलिक बढ्ता थेप्चिएको नाक, गोरो अनुहार, जुठो भाँडो माझिसकेर कोशी नदीतिर हेरिरहेको आफ्नो छोरो रनशेरलार्इ रनेम्पाले एकटक लाएर हेर्छ । छोरोलार्इ हेर्दाहेर्दै ऊ आफ्नी श्रीमती सम्झन्छ । रनशेर वर्षीको नपुग्दै उसकी श्रीमतीलार्इ ज्वरोको दुर्इदिने व्यथाले लग्यो । त्यो वर्ष कति कहालीलाग्दो थियो । अनिकालले गर्दा जिल्लामा आगै लागेको थियो । भोकको महामारीका कारणले कटारीबाट ल्याएको भारी बाटैमा लुटिन्थ्यो । उसको भारी पनि एकपटक स्वरूङ दोभानमा लुटियो । झण्डै ज्यान नगएको । सम्झँदा पनि डर लाग्छ उसलार्इ त्यो घटना । त्यो अनिकालको मुखमै उसले आफ्नो बाबु गुमायो । बाबुको एक्लो छोरो ऊ । भोकमरीको डरलाग्दो अवस्थामा बाबुको काजकृया गर्न पनि सकेन उसले त्यतिबेलाको घटना सम्झँदा ऊ नराम्ररी छटपटिन्छ । त्यसको तीनै महिनापछि उसकी स्वास्नी मरी । दशाले एकैचोटि घेर्दोरहेछ । उसले यस्तै अनुभव बोकेको छ जीवनमा ।
    यो बाटोमा मोटर कुद्यो भने हामी के गर्ने त माइला ? बिहानै सुनेको समाचारले पारेको पीडालार्इ केही खुकुलो पार्न रनेम्पाले मन्जितेसँग फेरि जिज्ञासा पोख्यो ।
    के कटारीमा कुदेजस्तो मोटर हाम्रा गाउँमा पनि आउँछ त आप्पा ? मन्जितेले केही भन्न नपाउँदै रनशेरले अचम्म मान्दै आफ्नो बाउसँग सोध्यो ।
    आज बिहान सुनिनस् रेडियो ? रनेम्पाले छोरालार्इ झाँट्यो ।
    हाम्रो डाँडापाखामा मोटर कुदे त यो दुःख हामीले गर्नै पर्दैनथ्यो नि । चुनावमा भोट माग्न आउने नेताले हल्ला चलाएका होलान् नि ! अब त चुनाव आउने बेला भा छ क्यार ! यस्तो हल्ला त मैले पञ्चायति राजमै कतिपल्ट सुनिसकेको थिएँ । मन्जितेले निराश भावमा यो कुरालार्इ उडाइदियो ।
    यो डाँडामा मोटर कुद्ने हो भने यो मन्जिते के खाँदो हो ? कहाँबाट भारी खेपेर खान्छ । कटारीबाट भारी बोकेर पो छाक टार्न पाएको छ । नत्र मेरो जस्तै यसको पनि त्यही दुर्इ, तीन हलको पाखो बारी न हो । मन्जितेको कुराले रनेम्पालार्इ अचम्म लाग्यो । यो कुरा उसले बाहिर भन्न नसकेर मनमनै राख्यो ।
    रनेम्पाले मनमनै चिन्ताको सगरमाथा फेरि अग्ल्यायो ।
    हाम्रो गाउँमा पनि मोटर कुदे त कस्तो आनन्द आउँथ्यो हगी । ढुंगामा बसेर रनशेरले उही जिज्ञासा दोहोर्यायो ।
    रनशेरले यसपटक कटारीमा पहिलोपटक मोटर देख्यो । साँच्चै अचम्म लागेको थियो उसलार्इ । घरजस्तै पो हुँदोरहेछ त अप्पा भन्दै गुडिरहेको मोटरलार्इ ढाकर बोकेर पछ्याएको थियो उसले । ऊभित्र आफ्नो बाबुको कुराले आज नयाँ कौतूहलताको सृजना भयो ।
    के त्यस्तो घरजस्तो मोटर पनि हाम्रा गाउँमा आउँछ ? कसरी हिँड्ला यो उकालो ? अनि हामी त्यसैमा चढेर परसम्म जाने हो त ? रनशेरलार्इ भित्रैदेखि विश्वास लागेन ।
    रनशेरलार्इ घर पुगेर यो सबै कुरा आफ्ना साथीहरूलार्इ सुनाउने ठूलो रहर छ । उसका समवयका थुप्रै साथीहरूले मोटर देखेको छैनन् । अझ आप्पाले सुनाएको खबर सुनाउनका लागि घर पुग्न ऊ साह्रै हतारिएको छ ।
    साँच्चै आउँछ त आप्पा ! हाम्रा गाउँमा कटारी जस्तो मोटर । रनशेरले आफ्नो बाबुको कुरालार्इ पछ्याउन छाडेन ।
    यसरी धेरै सवाल जवाफ नगर्ने र धेरै नबोल्ने छोराको यो हठसँगै उसलार्इ भित्रभित्रै नराम्रोसँग रिस उठ्यो । आफ्नो गाउँमा मोटर कुदिदेला र यही भारी बोकेर खाने काम हरिने हो कि भन्ने डरले आज बिहानदेखि उसलार्इ लखेटिरहेको थियो । अझ छोराको प्रश्नले र मन्जितेको भनाइले ऊ भित्रको मन नराम्ररी चिमोटियो ।
    यो गाउँमा मोटर कुदेर साहुको सबै भारी बोक्यो भने के खाँदा हुन् यी मुर्दाहरू । बाहिर व्यक्त गर्ने आँट नगरेपनि रनेम्पाले मनमनै कल्पियो ।
    ओहो ! दिन त ढल्किसकेछ । भित्तैभरि ठोकिएको घामले गोहोरोको छालझैं टल्किएको पिप्चार्इ उकालोतिर हेर्दै रनेम्पाले सम्झायो ।
    रनेम्पाका लागि आजको दिन अरू दिनजस्तो छैन । घाम पनि अरू दिनको भन्दा बढ्तै चर्को छ । सिमलको छहारी पनि अरू दिनको जस्तो शीतल छैन । उसलार्इ कहिले पनि दिन यति नरमाइलो लागेको थिएन ।



मिर्मिरे, वर्ष -३३ अङ्क-९ पूर्णाङ्क-२३२, २०६१ पौष

Segments: 

Comments