Loading

मृगतृष्णा

खेतीबारीमा काम गर्ने जाँगर थिएन । जागिर पाउनु सजिलो थिएन । टोलमा ठिटा, बुढा, शिक्षक, जागिरे सबै जग्गाकै काममा लागेका थिए। उसले पनि जग्गाकै काममा लाग्ने बिचार गर्यो र ग्राहकको खोजीमा बाटो ढुक्न थाल्यो । सौभाग्यवस जग्गा खोज्दै आएको एउटा ग्राहकसँग उसको भेट भयो । ग्राहकलाई उसले एउटा जग्गा दलाललाई भेटाइदियो र आफू पनि उनीहरूकै पछि लाग्यो । जग्गा दलाल गफको पहाड बनाउन खप्पिस थियो ।

ग्राहकलाई फसिहाल्यो । जग्गा देखाउनेदेखि मालपोत र नापीसम्मका सबै काममा पछिपछि लाग्दै पूरा प्रकृया अवलोकन गर्यो । को-कोसँग कस्तो-कस्तो कुरागर्ने, कसलाई कस्तो दाना हाल्ने सबै बुझ्यो ।

काम सम्पन्न भा'को दिनमा जग्गा दलालले मासु चिउरा खुवायो र दश हजारको बिटो उसको हातमा हालिदियो । जिन्दगीमा पहिलो पटक यति ठूलो रकम उसको हातमा परेको थियो । उसको हर्षको सीमा नै रहेन । पिंढीमा बसेर पैसा गन्न थाल्यो- एक पटक, दुई पटक, तीन पटक, अनि पटक-पटक ।
उसले पैसा कसैलाई दिएन र पैसा कहाँबाट आयो भन्ने पनि बताएन । घरका सबै अलमल्ल परे । बाबुलाई झोँक चल्यो र भने, “ए गधा यत्रो पैसा कहाँवाट लेराइस् ? कसले दियो तँलाई यत्रो पैसा ? काम त गर्ने मान्छे होईनस् तँ !” त्यत्रो पैसा हातमा परेकाले उसको तुजुकै बेग्लै भएको थियो । उसलाई लाग्यो, पैसा कमाउन गार्हो रहेनछ । सोच्यो, भान्छाको रुखोसुखो खानाका लागि बुढा बाउसँग किन गल्नु । मुखभरीको जवाफ फर्काइदियो बाबुलाई । बाबु चुप भए ।

कामको क्रम चलिरह्यो । एउटा दुइटा गर्दै उसका ग्राहकहरू बढ्न थाले र साथमा कमिसन रकम पनि । उसको हौसला अझै बढ्यो । अब किन अरुका पछि लाग्ने भन्ने सोच उसको मनमा आयो। दलालीमात्र हैन आफैँ जग्गा खरीदबिक्री गर्नुपर्छ भन्ने उसलाई लाग्यो । दोबाटोमा एउटा अफिस पनि खोल्यो र भएका पैसाले जग्गा किन्न थाल्यो । एकातर्फ उसको नाफाको पहाड झन्-झन् अग्लिन थाल्यो भने अर्कोतर्फ परिवारजनसँगको उसको सम्बन्ध झीण हुँदै गयो। केही समयपछि अौपचारिकरूपमै ऊ छुट्टै बस्न थालिसकेको थियो । मूल सडकको छेवैमा छुट्टै घर बनायो र पुरानो सान्त्रो बेचेर नयाँ पाजेरो किन्यो । बाउ पेन्सनवाला थिए । उनी त्यो घरमा जाँदैनथे । आमा भने सुरुसुरुमा जान खोज्थिन् । तर उसले एकदिन 'बाउको बुद्धि छैन' भनेर के भनेथ्यो आमाका पाइला पनि त्यस घरतर्फ बढ्न छाडे ।

अब उसले आफ्नो पैसा मात्रै होईन बैंकबाट रिन लिएर आम्दानीको शिखर चढ्ने सोच बनायो । च्याउ झैँ उम्रेका बैँकमध्ये केहीले उसको चाहनालाई साथ दिए । हरेक साँझ उसको घरमा विदेशी रक्सी सहितको जमघट जम्न थाल्यो । बैंक कर्मचारी र केही सरकारी कर्मचारीहरुले उसलाई साथ दिन थाले । देशमा आयश्रोत खुलाउन नपर्ने कानुन व्यवस्थाले सबैलाई राम्रै साथ दिएको थियो । आधा रातमा पनि उसको आफ्नै कोठाभित्र सबै सरकारी काम सम्पन्न हुन्थ्यो । सबैका कमिसन कोठाभित्रै बाँडफाँड हुन्थे ।

सबै कुरा एक डेढ बर्ष राम्रैसँग चल्यो । तर बिस्तारै जग्गादलालीको उब्जाउखेतीमा मन्दी आउन थाल्यो । उसँग प्रशस्त जग्गा थियो र कैयौँ जग्गा बैंकमा धितोमा थिए । बैंकले श्रृण भुक्तानीका लागि ताकेता लाउन थाल्यो । जग्गाहरू एकपछि अर्को गर्दै लिलामीको सूचनामा आउन थाले । जग्गा किन्ने ग्राहकहरू पनि भेटिन छाडे । नगद रकम त सून्य झैँ हुँन थाल्यो । साँझमा हुने जमघट पनि खर्चको अभावले पातलिन थाले । पहिले साथ दिने चम्चाहरू एकाएक गायब भए ।

एक साँझ ऊ टोलाउँदै झ्यालबाट सडकको परसम्म हेरिरहेको थियो । सधैँ झैँ आज पनि परबाट एउटा बुढो मान्छे हातमा सानो झोला हल्लाउँदै आईरहेका थिए । ती बुढामान्छे सडकमा भेटिएका हरेक मान्छेसँग हाँस्दैबोल्दै अगाडि बढिरहेका थिए । उनको हिँडाइ बोलाइ पहिरन या भनौँ सबै कुरा उही थिए । ती बुढा मान्छेले उसको घर नगिच पुग्दा अर्कैतिर नजर मोडे । त्यसो त आज उसलाई ती बुढामान्छेले उसको घरतिर एकपटक हेरिदिउन् भन्ने पहिले देखिको चाहना पनि राखेको थिएन । हेर्दा हेर्दै बुढा मान्छे ओझेल परे । उसलाई लाग्यो ती बुढामान्छेको सरल जीवनशैली कति आनन्ददायी छ । आज उसलाई ती बुढामान्छेको जीवनसैलीप्रति ईर्ष्या लाग्यो । आँखाहरू रसाइरहेका थिए ।

हातमा विदेशी रक्सीको गिलास र प्लेटमा सेकुवा बोकेर अगाडि उभिरहेकी उसकी स्वास्नीले सोधी, “बाहिर सडकमा के हेरिरहेको?”
उसले जवाफ दियो, “आफ्नै बाउलाई !”

Segments: 
Author: 

Comments