नेपाली आधुनिक सङ्गीतका शिखर साधक भक्तराज / रवि प्राञ्जल

Bhakta Raj Aacharya२०३९ सालको असार महिनाको एक बिहान, ललितपुरको चक्रपथ क्रस गरेपछि करिब  एक मिनेटको दूरीमा बाटोको बायाँतर्फ रहेको एउटा घरमा म पुग्छु । घरको तल्लो तलाको एउटा कोठाबाट निःसृत हार्मोनियमको मधुर आवाज मिश्रित सुरिलो स्वरसँगै म त्यस कोठाको निकट पुगिसकेको हुन्छु । वाह ! क्या जुहारी खुलेको स्वर । मूलाधारदेखि प्रवाहित स्वरको चमत्कार सुन्दा लाग्थ्यो– भित्र षड्ज साधना चलिरहेछ । म यन्त्रवत् डोरिएर उनको सामु पुग्छु । मेरो उपस्थितिको आभास पाएर हार्मोनियममा चलायमान औंलाहरुसंगै त्यो प्रभावशाली गम्भीर स्वरमा विराम लाग्छ र जिज्ञासु नजरहरु म तर्फ फर्कन्छन् । म अभिवादन गरेर आफ्नो परिचय दिन्छु र मैले सम्पादन गरेको 'मधुमास' साहित्यिक पत्रिकाका केही अङ्कहरु उनलाई उपहार दिन्छु । साथै मैले रचना गरेको गीत सबै बेहोसी नशा पिएरु लाई संङ्गीतवध्द गरी गाइदिनका लागि अनुरोध गर्दै उक्त गीत डायरीबाट सारेर उनलाई दिन्छु । 

यसरी भएको थियो उनी अर्थात यस संस्मरणका नायक भक्तराजसँग मेरो पहिलो भेट । त्यो पहिलो भेट मै म उनीसँग प्रभावित भइसकेको थिएँ । श्यामवर्णको झट्ट हेर्दा सामान्य नेपालीको कद भन्दा केही अग्लो भान हुने । पूर्ण आत्माविश्वास र दृढता झल्किरहेको अनुहार । उनको शारीरिक बनावटमा जुन दृढता झल्कन्थ्यो, उनीसँगको बार्तालाप पश्चात लाग्यो–आन्तरिक रुपमा पनि उनी त्यत्तिकै दृढ छन् । आफ्ना विचार र मान्यतालाई बिना लोलोपोतो स्पष्ट रुपमा राख्ने खरो स्वभावका भक्तराज मेरो मन मस्तिष्कमा पहिलो भेटदेखि नै अमिट रुपमा रहन पुगे । 

मेरो गीत 'सबै बेहोसी नशा पिएरर'  रेडियो नेपालमा रिकर्ड भएको आज पच्चीस वर्ष पुगेकोछ । पच्चीस वर्ष अर्थात नेपालीहरुको सरदर आयुका आधारमा झन्डै आधा जीवनको कालखण्डमा कैयन् परिवर्तनहरु भए । पप,–याप, रिमिक्स जस्ता विविध शैली तथा प्रयोगहरु भए नेपाली सङगीतमा । तर भक्तराजले गाएको यो गीतको शैली तथा उनको गायकीले जुनसुकै नव शैलीका गायक, सङगीतकार तथा श्रोतालाई पनि उत्तिकै आनन्द प्रदान गरिरहेको छ । २०३९ आश्विनमा रिकर्ड भएको यो गीत रेडियोमा प्रसारण हुन लामो समय लागेको थियो । रिकर्ड भएको करिब तीन महिना पश्चात पुष महिनाको कुनै गोधुलिको बेला थियो, जब मैले यो रेकर्डड गीत रेडियो नेपालबाट पहिलो पटक बज्दै गरेको सुनें–गोरखाको मनकामना स्थित एउटा लजमा बसेर । गीत सुनेर म अत्यन्त रोमाञ्चित भएको थिए । त्यो मेरो जीवनको अविस्मरणीय आनन्दको क्षण थियो । म अब कवि र कथाकारमात्र नभै एउटा गीतकारको रुपमा पनि स्थापित भए । मेरो गीतका भाव अनुरुप मेरा अनुभूतिहरुलाई हुबहु फिलिङ्ग्समा उतारेर मेरा सर्वाधिक प्रिय गायकले मेरा शब्दहरुमाथि न्याय गरेका थिए । रेडियोमा यति लामो समयपछि गीत प्रसारण हुनका पछाडि मूलतः एउटै कारण थियो भक्तराजको गायनप्रति नक्कली गायकहरुको ईष्र्या र डाहा । नक्कली शब्द म यसकारण प्रयोग गर्न चाहन्छु कि सक्कली स्रष्टाले कहिल्यै पनि अरु स्रष्टाको विरोध गर्दैन । तर नाभिदेखि प्रवाहित वजनदार र सुरिलो स्वरका धनी भक्तराजको लोकप्रियताबाट आत्तिएको एउटा गिरोह भक्तराज निरुत्साहित तुल्याउने दुष्प्रयासमा सधै लागिरहेको देखिन्थयो । भक्तराजका धेरै गीतका spool हरु बेपत्ता हुनु र उनका गीतका कार्टेजहरु नष्ट भएको पाइनुले पनि यस कुराको पुष्टि हुन्छ । उनका कतिपय गीतहरु सुन्दा उनको आवाजमा अलग अलग स्वर ध्वनित भई आवजमा एकरुपता नपाइनुले रेकर्डिस्टहरुले समेत परोक्ष रुपमा उनको सृजनालाई दबाउने कार्य गरेका हुन कि भन्ने शङका उत्पन्न हुन्छ । 

रेडियोमा गीत रेकर्ड पश्चात मूल रेकर्ड spool बाट गीत सारेर बजाइदिनका लागि पनि सोर्स चाहिन्थ्योस अन्यथा गीत एउटा कुनामा थन्किएर रहन्थ्यो । मेरो गीतमा पनि यही कुरा लागू भएको थियो । एकातिर कसैसँग नझुक्ने स्वाभिमानी स्रष्टाले यो गीत गाएका थिए भने अर्कोतिर म थिएँ अन्तर्मुखी स्वभावको नव गीतकार । अतः स्वतस्फूर्त रुपमा यो गीत बज्ने कुरै थिएन । पुरुषोत्तम पोखरेल नामका एक सहृदयी प्राविधिकले खोजतलास गरेर अत्यन्त हार्दिकताकासाथ मेरो गीत सारिदिएपछि मात्र यो गीत रेडियोमा बज्न थालेको थियो ।  

माथि नै उल्लेख गरियो–भक्तराजका गीतहरुलाई सकेसम्म नष्ट गर्ने दुष्प्रयास  भइरहन्थ्यो । यस सन्दर्भमा सुभाषचन्द्र ढुङ्गेलको रचना 'जति चोट दिन्छौ' को मास्टर कपी नै नष्ट भएपछि भक्तराजले यो गीत दोस्रोपटक रिकर्ड गरेका थिए । यस क्रममा मेरो राष्ट्रिय गीत 'मेचीदेखि कालीसम्म एक शक्ति हौ युवा' पनि दुई पटक रेकर्ड भएको थियो । यो गीतलाई भक्तराज दाई कै आग्रहमा मैले २०४१–४२ सालतिर लेखेको थिए –जसमा तीनवटा अन्तराहरु थिए । तेस्रो अन्तराको अन्तिम पङक्ति थियो– 'घात गर्ने बैरीलाई महाकाल हौ युवा' । गीत रेकर्ड हुनु अगाडि गीतको शब्द पास गराउनुपर्नेमा कहिलेकाहीँ गीत पास गर्ने अधिकारी रेडियोमा उपलब्ध नभएको र तत्काल गीत रेकर्ड गर्नुपर्ने आवस्था सिर्जना भएमा गीतको शब्द पास गर्नका लागि अधिकारीको टेवुलमा छोडि रिकर्ड गर्दै गर्ने चलन रहेछ । यो गीत रेकर्ड हुँदाहुँदै कुनै लाउकेले गीत पास गर्ने अधिकारी (नाम उल्लेख गर्न चाहन्न) लाई के कुरा लाएछ कुन्नि, तेस्रो अन्तराको 'घात गर्ने बैरी' भन्ने शब्दप्रति असहमति जनाई गीतको तेस्रो अन्तरालाई अधिकारीले सेन्सर गरी काटिदिएछन् । उनको लिंडे तर्क थियो– 'नेपाललाई वहुसङ्ख्यक राष्ट्रले शान्ति क्षेत्र घोषित गरिसेको अवस्थामा नेपालको कुनै बैरी (शत्रु) नै छैन ।'  विवाद बढेपछि गीत पास गर्ने अधिकारी र भक्तराज बीच झन्डै हातहालाहालको स्थिति सिर्जना भएछ । अन्नतः त्यो गीत भक्तराजले पुनः रेकर्ड गरेछन्, जसको जानकारी मलाई पछि मात्र भएको थियो ।

भक्तराजका बारेमा केही भ्रमहरु थिए र सायद अझै पनि हुन सक्छन् । नियोजित रुपमा सिर्जित ती भ्रमहरुमा यथार्थता बिलकुल देखिदैन । भक्तराजले बिना पैसा गीत गाउदैनन् भन्ने हल्ला चलाइएको थियो । यसमा केही हदसम्म सत्यता भेटिएला, तर त्यसको कारण अथवा पृष्ठभूमि तर्फ फर्केर हेर्दा भक्तराजको विवशता प्रस्ट रुपमा दृष्टिगोचर हुन्थ्यो । भारतीय भूमिमा आफ्ना प्रतिभाको कदर हुन सक्ने अवस्था छँदाछदै प्रवासबाट आफ्नै देशको माटो सम्झेर स्वदेश फर्केका भक्तराजले आफ्ना सङघर्षका दिनहरुमा रेडियोमा एउटा गीत गाएवापत बढीमा एक दुई सय रुपैयाँसम्म पारिश्रमिक पाउँथे । रेडियो नेपालको जागिरबाट प्राप्त रकमले दुई कलिला छोराहरुसँगै श्रीमतीको पालन पोषण सम्भव थिएन । उनी स्पष्ट शब्दमा आफ्नो अवस्था गीतकारलाई अवगत गराउँथे । उनी कसैसँग मागेर, ढाँटेर वा छलेर रकम लिदैनथे । उनको तत्कालीन अवस्थाप्रति सहानुभूति राख्ने संवेदनशील केही सम्पन्न गीतकारहरुले उनलाई आर्थिक सहयोग गरेका छन् भने त्यसलाई अन्यथा लिनु अत्यन्त दुखद कुरो हो भन्ने मलाई लाग्छ ।

भक्तराजप्रति सिर्जित अर्को भ्रम उनको दुखद दुर्घटनापछि सिर्जना भएको हो । भक्तराजसंग मैले कैयन् साँझ उनको कोठामा, बाहिर सडक–पार्कहरुमा र चिया पसलहरुमा घण्टौसम्म भलाकुसारी गरेर बिताएको छु । म सँग उनले कहिल्यै पनि ड्रिङ्क्स गर्ने इच्छा ब्यक्त गरेनन् । विशेष औपचारिक समारोहहरुमा एक दुई पेग लिनु त सभ्य समाजको चलनभित्रै पर्ने कुरा हो तर उनी  ड्रिङ्क्सको सधै विरोध गर्दथे । तर परिवन्दलाई नबुझ्नेहरु उनको दुर्घटनालाई ड्रिङ्क्ससंग लगेर जोड्ने गर्छन । यो भन्दा ठूलो विडम्बना अर्को के हुन सक्छ ?

जुन दिन भक्तराजलाई निर्घात कुटपिट गरेर घाईते बनाइयो, त्यो दिन नेपाली आधुनिक सङ्गीतको इतिहासमा एउटा कलंङ्कको दिन थियो । यस घटनादेखि नै उनको सङगीत यात्रामा बिराम लाग्न थाल्यो । एउटा विशिष्ट उचाईमा पुगेको राष्ट्रको अमूल्य प्रतिभा, स्वर र सङ्गीतका जादूगर, लाखौ लाख श्रोताहरुका प्रिय गायकको जिभ्रो काटिएपछि त झन् उनको गायन यात्रामा पूर्णविराम नै लाग्यो । उनको नियतिले नेपाली सङगीतजगतले एउटा अपूरणीय क्षति बेर्होर्नु प–यो । यो क्षति, यो खपिनसक्नुको पीडा भक्तराजको मात्र नभएर उनका परिवार, समाज र समग्र राष्ट्रकै पीडा हो । 

भक्तराजको आगमन हुँदा नेपाली सङ्गीताकाशमा नातिकाजी, बच्चुकैलाश, तारादेवी, नारायणगोपाल, माणिकरत्न, गोपाल योञ्जन, अम्वर गुरुङ्ग, अरुण लामा, योगेश वैद्य, दीप श्रेष्ठ जस्ता आधुनिक गायक तथा संङ्गीतकारहरुको उज्यालो छरिरहेको थियो । यस्तो समयमा भक्तराज आफ्नो पृथक स्वर तथा शैली लिएर  देखापरे । थोरै समयमा नै आफ्नो अलग पहिचान राख्न सफल भक्तराजका शास्त्रीय ढङ्गले साधित स्वर मन्द्र सप्तकदेखि तार सप्तकसम्म बिना अवरोध प्रवाहित हुँदै नवीन सृजनाहरु प्रस्तुत हुन थाल्यो । यस क्रममा 'चौतारीमा राजा भेटियो' बोलको राजावादी गीतदेखि लिएर 'जो रामको भेष धरेर रावणको कर्तुत गर्दछु' जस्ता विद्रोही गीत समेत उनले गाएका छन् । आधुनिक गीत होस्, राष्ट्रिय गीत होस् वा भजन हरेक विधामा उनी सशक्त देखिन्छन् । उनका समकालीनहरुमा विशिष्टता एवं लोकप्रियताका आधारमा समेत अग्रपङ्क्तिमा देखा पर्ने कलाकारहरु नारायणगोपाल र भक्तराज नै हुन् । नारायणगोपालले  गाएका गीतहरु साहित्यक पक्ष वा रचनाकारिताका दृष्टिले उत्कृष्ट देखिन्छन् भने  ुटिपिकल आवाजुका धनी भक्तराजका गीतहरुमा भने उच्चारण पक्ष समेत अत्यन्त मजबुत रहेको पाइन्छ । 'ण' र 'न'  'स' र 'श' को उच्चारणको भेदलाई भाषिक बिज्ञानका हिसाबले राम्रोसँग बुझेका भक्तराजका गीतहरुमा शाब्दिक उच्चारण अत्यन्त शुध्द तथा स्पष्ट रुपमा भएको भेटिन्छ ।

भक्तराजलाई 'भजन सम्राट' उपाधि प्रदान गरेर उनको कलाकारिताको सही मूल्याङ्कन भएको छ । तर उपाधि र सम्मान मात्रले उनका समग्र सृजनाहरुको सम्मान नहुने हुँदा उनको प्रतिभाको अझै उच्च मूल्याङ्कन गरिनुपर्छ । यसका लागि प्रायः लोप हुने अवस्थमा पुगेका उनले गाउका गीतहरुलाई उनकै फिलिङ्समा गाउन सक्षम उनका युवा प्रतिभाशाली छोराहरु सत्यराज र स्वरुपराजका स्वरहरुमा पुनः रिमिक्स रेकर्ड गराउने ब्यवस्था राज्यले अविलम्व गर्नुपर्छ । यसबाट जीवनपर्यन्त सङ्गीत मै समर्पित एउटा स्रष्टाको मात्र सम्मान नभई सङ्गीत जगत् नै सम्मानित हुन पुग्नेछ भन्ने मलाई लाग्छ । अन्यथा भक्तराजका ती विशिष्ट सर्वकालिन गीतहरु भावी पुस्ताका लागि मात्र एउटा मिथक बन्न पुग्नेछन् । अस्तु ।        

(सङ्गीत शिखर भक्तराज आचार्य 'प्रथम संस्करण-२०६७' बाट साभार )  

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom