बन्द गर प्रभु ! बन्द गर !! / जगदीश घिमिरे

हे बन्दका प्रभुहरू !

तिमीहरूलाई पनि मलाई जस्तै क्यान्सर होस्
बन्दले गर्दा रगत हाल्न अस्पताल जान नसकेर अकालमा मर्नु परोस् !
किमोथेरापी गर्न जाने दिनहरूमा बन्द हुन्
बेलामा उपचार नपाएर अकाल मृत्यु होस् !

भनौला, हे जनता ! किन एम्बुलेन्समा जान्नौ ?
तिमीहरूले एम्बुलेन्समा गोली हानेर रोगी मारेको हामीले विर्सेका छैनौं
अनि बन्दको दिन एम्बुलेन्सको हाहाकार हुन्छ, तिमीलाई थाह छ।

अनि भनौला, एम्बुलेन्स नपाए किन हेलिकोप्टरमा जान्नौ?
स्याबास् ! कुनै महाराजले भनेथ्यो--
हे जनता, गुन्द्रकढिंडो खान नपाए किन दूधभात खान्नौ ?
किनभने तिमी आजका महाराज मात्र होइनौ,
सर्वशक्तिमान प्रभु हौ।

बन्द गर प्रभु ! बन्द गर !!

मलाई थाह छ तिमीहरु
लूटका हेलिकोप्टर चढेर अस्पताल पुग्न सक्छौ
तिम्रा आफ्ना निजी सेना लगाएर
ब्लड ब्यांकबाट रगत ल्याउन सक्छौ
तर तिमीहरूबाट नै सिमान्तकृत
म जस्ता र मभन्दा पनि निमुखाले के गर्छन् ?
मरेर जान्छन्।

अतः हे बन्दका देउताहरू,
मेरो तिमीलाई शुभकामना आशीर्वाद छ--
जसरी देश र जनतालाई अकालमा मार्दै छौ
तिमीहरू पनि अकालमा मरि जाओ।

बन्द गर प्रभु ! बन्द गर !!

हे बन्दका प्रभुहरू !

बन्दकै दिन तिम्रो अचानक हार्ट अट्याक होस्
तिमीहरूले ओढार-बगरमा बस्न वाध्य पारेका निमुखा जनता जस्तै
तिमी पनि अस्पताल पुग्न नसकेर
अकालमा कालको मुखमा पर्नु परोस् !

हे बन्दका प्रभुहरू !
तिमीलाई चर्को बेथा लागोस्
बेलामा अस्पताल पुग्न नपाएर
तिमीहरूले किनारामा आफलेका निमुखाहरू जस्तै
अकालमा मर्नु परोस् !

बन्द गर प्रभु ! बन्द गर !!

सत्तामा तिमी
सडकमा तिमी
सभा-सदनमा तिमी
न्यायालयमा तिमी
हत्यामा तिमी
लूटमा तिमी
तस्करीमा तिमी
पुलिसमा तिमी
सेनामा तिमी
जनसेनामा तिमी
भारतमा तिमी
नेपालमा तिमी
तिम्रो महिमा अपरम्पार छ

बन्द गर प्रभु ! बन्द गर !!

निहत्था जनताको रगत पिएर पुगेन
घाइते, अपांग, विरामीको रगत पनि पिउ
रोगी-दुखीहरूलाई मारेर मुक्ति दिंदैछौ
जनी गर हामीहरूलाई छिटो मार

मलाई मार !
डाक्टर चित्रप्रसाद शर्मा वाग्लेलाई मार !!
उनी मृत्यु मागिरहेका छन्।
हामी जस्ता सबैलाई मार !!

कवि गोकुल जोशीले उहिल्यै लेखेका थिए‍--

'भोक भोकै मर्न लागे कवि कलाकार
तडपाएर नमारिदेऊ झुन्ड्याएर मार'

जनता कवि कलाकार हुन्
नेपाल आमा र नेपाली जनताको घाँटीमा सुर्कने गाँठो पारिसकेका छौ
अब सगरमाथाको टुप्पोमा लगेर झुन्ड्याइदेऊ
सबैले देख्ने छन् र तिम्रो यश गान गर्ने छन्।

बन्द गर प्रभु ! बन्द गर !!

(प्रकाशनः नागरिक, आइतवार २३ भदौ २०७०)

Segments: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom