Loading

नजरबाटै खसेका छन् तिनै झन् खासमा देख्छु / बूँद राना

नजरबाटै खसेका छन् तिनै झन् खासमा देख्छु
र चर्को राप आगाको सबैको सासमा देख्छु ।

कसोरी ढुक्क भै सुत्नु र मीठो स्वप्नमा डुब्नु
बगालै बाघ ब्वाँसाका सँगै छन् बासमा देख्छु ।

भने झैँ भटियो माली भनेको भै दियो उल्टो
सिँगौरी खेल्छ साँढेले सबै छन् त्रासमा देख्छु ।

नजरका तेज आँखाले नजरअन्दाज के गर्थे
छ त्यान्द्रे कर्कले आशा, निराशा रासमा देख्छु ।

परेवा शान्तिका ढुक्कै उडुन्, उड्ने अवस्था खै ?
खुनी ती बाजका ताँती खुला आकाशमा देख्छु ।

कहाँ यो 'बूँद' छर्की त्यो डढेलो निभ्दथ्यो चर्को
मुलुकै पोखिए हुन्थ्यो म यै उच्छ्वासमा देख्छु ।

खडेरी ज्यानमारा त्यो लखेट्यौँ भन्नु मात्रै भो
यहाँ जो छौँ सबै मौसम बदल्ने आसमा देख्छु ।

Author: 
Segments: 

Comments