Loading

नदी जङ्गल र रातको बाटो / मञ्जु काँचुली

नदीको बाटो 

मैले फेरि कहिले टेकिनँ
त्यो नदीमा
जहाँ जीवन्त मानिसलाई
लास बनाएर
किनासमा फ्याँकिन्थ्यौँ
केवल गोडा चोपलेथेँ
र त्यो केही दिन मात्र
निर्जीव भएथ्यो
नदी मैले सोचेजस्तो
स्थिर, शान्त र एकनास पानी रहेन
नदी मैले तर्नै सकिनँ

जङ्गलको बाटो 

मैले फेरि कहिले टेकिनँ 
त्यो बाटो
जहाँ मेरा च्यान्टा क्षितिजका
लाली चढेका हातहरूलाई 
पाटे बाघको नङ्ग्रे पन्जाले
निर्जनतालाई निलेर
छुनै छुनै खोजेथ्यो
केवल आँखाले
त्यो जङ्गललाई बढारेथेँ
बढार्नु निरर्थक ठानी
आँखा तुरुन्तै
बाटैबाट फर्केथ्यो
जङ्गल मैले बुझे जस्तो
सुरक्षित, एकान्त र मनोरम रहेन
जंगल मैले नाघ्नै सकिनँ 

रातको बाटो

मैले फेरि कहिले टेकिनँ
त्यो सँघार,
डाकू रातको
जसको विकराल दाह्राले
एउटा सूर्ये चपाएपछि
अर्को चन्द्रमा चपाउने क्रम
चल्ने गर्थ्यो
केवल मेरो एउटा बिहानी,
दिनसम्म नजानी नजानी
पुगेथ्यो
र रातको रङ्ग अकस्मात्छ्यापिएर
सर्वाङ्ग तुरुन्त
नीलो साँझ भएथ्यो
रात,
मैले सँझेजस्तो
सुकोमल सपनाको गर्भ बोकेको
न्यानो ओथारो रहेन
रातको कालो तरललाई
मैले रङ्गाउनै सकिनँ

Segments: 

Comments