Loading

मुनामदनः बिक्रीमा सधैँ अगाडि/ भउचप्रसाद यादव

काठमाडौँ, असार ३ गते । 'क्षेत्रीको छोरो यो पाउ छुन्छ, घिनले छुँदैन, मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन !'

जस्ता अनेकौँ युगान्तकारी तथा कालजयी हरफहरू समेटिएका महाकवि लक्ष्मीप्रसाद देवकोटाका अमर कृति 'मुनामदन'ले नेपालका पुस्तक बिक्रीमा नयाँ कीर्तिमान कायम गरेको छ ।

साझा प्रकाशनका प्रकाशन विभागका प्रमुख दामोदर कोइरालाका अनुसार हालसम्म 'मुनामदन'को बिक्री पाँच लाख प्रति नाघिसकेको छ ।

साझा प्रकाशनले पछिल्लोपटक सो खण्डकाव्यको २५औँ संस्करण वि.सं. २०६५ मा एक लाख प्रति छापेको थियो । यसभन्दा अगाडि पनि साझा प्रकाशनले सो पुस्तकको २२औँ -वि.सं. २०५४) र २४औँ -वि.सं. २०५९) संस्करणमा पनि एक/एक लाख प्रति नै प्रकाशित गरेको थियो ।

वि.सं. २०३३ सालदेखि साझा प्रकाशनले 'मुनामदन'को प्रकाशन गर्दै आइरहेको छ ।

आखिर जम्मा ४० पेजको सो खण्डकाव्यमा के छ ? जसले नेपालमा पुस्तक बिक्रीका अहिलेसम्मका सम्पूर्ण रेकर्डलाई उछिनेको छ ?

राष्ट्रकवि माधवप्रसाद घिमिरे भन्नुहुन्छ- "नेपाली साहित्यमा 'मुनामदन'ले रोमान्टिक शैलीमा लोकलयको प्रस्तुतिलाई स्थापित गरेको छ । जसले गर्दा 'मुनामदन' नेपालीहरू माझ अत्यन्त लोकपि्रय भयो । अहिले पनि लोकपि्रय नै रहेको छ ।"

वरिष्ठ साहित्यकार मदनमणि दीक्षित आमनागरिकको भाषा लोकलयमा रचना हुनु तथा रचनामा कवित्व मिठास र सौन्दर्यको ओजपूर्ण प्रस्तुतिका कारण 'मुनामदन' लोकपि्रयताको शिखरमा पुगेको बताउनुहुन्छ ।

सन् १९३२ मा सो कृतिको पटनामा रचना गरिएको प्रसङ्ग उल्लेख गर्दै वरिष्ठ साहित्यकार दीक्षितले कृतिमा 'मुना' र 'मदन' लाई आम नेपाली नारी र पुरुषको प्रतिनिधिको रूपमा उभ्याइएको बताउनुहुन्छ ।

महाकवि देवकोटाकै जीवनीमा विद्यावारिधि गर्नुभएका डा. कुमारबहादुर जोशी 'मुनामदन'लाई नेपाली समाजको निम्नवर्गीय जनजीवनको यथार्थमा आधारित काव्य रचना बताउनुहुन्छ । लोकलय झ्याउरेमा आधारित लोकजीवनमा भिजेको कारुणिक कथाका कारण 'मुनामदन' लोकपि्रय भएको हुनसक्ने डा. जोशीको ठम्याइ छ ।

उहाँले 'मुनामदन'लाई काव्य र नाटकको रूपमा पठनीय र मञ्चनीयसमेत बताउनुहुन्छ ।

सबै तहका पाठकका निम्ति पठनीय सरल भाषाका कारणले पनि 'मुनामदन' आम नेपालीमाझ लोकपि्रय भएको हुनसक्ने डा. जोशीको तर्क छ ।

वरिष्ठ समालोचक प्रा.डा. मोहनराज शर्माका अनुसार 'मुनामदन'मा तत्कालीन नेपाली समाजको दयनीय आर्थिक स्थिति र त्यसको सुधारका लागि विदेशिनुपर्ने बाध्यताको चित्रण भएको हुँदा यसले धेरैलाई आˆनै दुःख र कथा हो भन्ने सम्झना गराउने हुँदा पनि 'मुनामदन' लोकपि्रय भएको हो ।

'मुनामदन'मा प्रेम र विरहको भावना छत्ताछुल्ल भएको हुँदा यसलाई अत्यधिक पाठकहरूले मन पराएको हो भन्ने तर्क प्रा.डा. शर्माको छ । उहाँका अनुसार सबैले बुझ्ने झ्याउरे लय तथा भोटको सन्दर्भबाट जुन प्रकारले मानवताको अभिव्यक्ति भएको छ, त्यसले पनि यसको महìवलाई बढाएको हुनुपर्दछ ।

साझा प्रकाशनका प्रकाशन विभाग प्रमुख कोइरालाका अनुसार सरल र सहज झ्याउरे लयमा रचना गरिएको तथा झोपडीदेखि महलसम्म र साक्षरदेखि विद्वानसम्मका व्यक्तिहरूले सहजै बुझ्ने भएकाले 'मुनामदन'को लोकपि्रयता बढ्दै गएको हो ।

साझाले नेपालीबाहेकका भाषाहरूमा समेत यो कृतिको प्रकाशन गर्ने तयारीमा रहेको जानकारी कोइरालाले दिनुभयो ।

'मुनामदन'को पहिलो र दोस्रो प्रकाशन क्रमशः वि.सं. १९९६ र १९९८ मा हाकिम मास्टर खड्गमान मल्लको प्रबन्धमा भएको थियो । उक्त प्रकाशनहरूमा क्रमशः एक हजार र दुई हजार प्रति छापिएको थियो ।

त्यसैगरी, 'मुनामदन'को तेस्रो प्रकाशन वि.सं. २००२ मा मास्टर सागरमणि आ.दी.को प्रबन्धमा भएको थियो जसमा दुई हजार प्रति छापिएको थियो ।

Segments: 

Comments