प्रेमीहरू प्रेम गरी अजम्मरी पीडा सहिरहन्छन्/ सरुभक्त
प्रेमीहरू प्रेम गरी अजम्मरी पीडा सहिरहन्छन्
ढुङ्गामाटो कणकणमा आत्मा बनी रहिरहन्छन्
चाहे दुनियाँले मानोस वा मान्न इन्कार गरोस्
प्रेमीहरू नबोलिकनै चरित्रले केही कहिरहन्छन् ।
Nepali Muktak मुक्तक
प्रेमीहरू प्रेम गरी अजम्मरी पीडा सहिरहन्छन्
ढुङ्गामाटो कणकणमा आत्मा बनी रहिरहन्छन्
चाहे दुनियाँले मानोस वा मान्न इन्कार गरोस्
प्रेमीहरू नबोलिकनै चरित्रले केही कहिरहन्छन् ।
प्रेम तपस्या हो स्वः परीक्षामा बस्नु पर्छ
कमजोरीहरू आए भने हृदय जम्मै कस्नुपर्छ
घृणाको यो दुनियामा प्रेम गर्छु भनी ठान्छौं भने
अरुका लागि हाँसीहाँसी नर्कमा पनि पस्नुपर्छ ।
तिमीलाई नदेख्दा यस्तो लाग्छ, प्रत्येक क्षण देखेझैँ
मनको अनन्त पानीभरि प्रेमपत्र सधैँ लेखेझैँ
झरीका बादलहरू कति आए अनि कति गए
हिमालझैँ ठडिई मनका विषादहरू सबै छेकेझैँ ।
प्रेमको नाम लिई फोहोरी खेल खेल्ने नगर
घामलाई सानो सम्झी हत्केलाले छेल्ने नगर
प्रेम पवित्र हुन्छ, हिमाली मूलको पानीझैँ
चरित्रले बेदाग मानौँ सुनकेशरी रानीझैँ
शब्दकोशबाट बुझिन्न, आफैंबाट बुझी हेर
प्रेममा घात हुँदैन, कहिल्यै प्रतिघात हुँदैन
ठूलो सानो भन्ने पनि प्रेममा कुनै जात हुँदैन
तिमीलाई माया गर्दा सर्वस्व सबै लुटाइदिन्छु
खुसीका जम्मै अवसरहरू एक-एक गरी छुटाइदिन्छु
तिमी भन मात्र जीवनका कति शिखर चढछ्यौं
तिम्रा लागि मनभित्र असंख्य मन जुटाइदिन्छु ।
प्रेम गरेर केही मागूँ, म भिखारी बन्न चाहन्न
सत्य भन्छु, म जीवनलाई यति तुच्छ भन्न चाहन्न
समर्पणको जीवनमा समर्पण नै गर्न देऊ है
विश्वासलाई चोट पारी आफ्नै दिल खन्न चाहन्न ।
प्रत्येक क्षण मुटुको ढुकढुकीमा तिमी आए जस्तो लाग्छ
सत्य भन्छु प्रत्येक सासमा तिमी छाएजस्तो लाग्छ
प्रेम गरेर मैले जीवनमा जे गुमाए पनि
बेहिसाब-बेहिसाब मैले आफैंलाई पाएजस्तो लाग्छ ।
प्रेम कस्तो हुन्छ, एउटा नमर्ने गीतझैँ
दिनरात साथ नछोडने मनको प्रिय मितझैँ
हृदयको धड्कनलाई सोधे बुझिन्छ प्रेम
हारेर पनि जितिने एउटा महान जितझैँ ।