मान्छेहरू हृदयमा अनन्त सपना सजाइराख्नु/ सरुभक्त
मान्छेहरू हृदयमा अनन्त सपना सजाइराख्नु
कठोर यो धर्तीभरि अस्तित्व आफ्नो कजाइराख्नु
उज्यालो र अँध्यारोको यो महान सृष्टि यात्रामा
जीवनभर प्रेमको अजम्मरी धुन बजाइराख्नु ।
Nepali Muktak मुक्तक
मान्छेहरू हृदयमा अनन्त सपना सजाइराख्नु
कठोर यो धर्तीभरि अस्तित्व आफ्नो कजाइराख्नु
उज्यालो र अँध्यारोको यो महान सृष्टि यात्रामा
जीवनभर प्रेमको अजम्मरी धुन बजाइराख्नु ।
प्रेमीहरू प्रेम गर्छन्, कर्तव्यबाट भाग्दैनन्
हृदयमा जलन भै मलहम केही माग्दैनन
जिन्दगीमा अप्रिय बोझहरू जति खेप्नुपरे पनि
प्रेमीहरू प्रेमास्थाका मर्यादा कहिल्यै नाघ्दैनन् ।
आस्था हराएर कहिल्लै पनि बिहानी खुल्न सक्दिनँ म
समयको क्षणिक बजारमा बेहोसीसाथ घुल्न सक्दिनँ म
विशाल दुनियाँमा तिमीबाट जति टाढा भैगए पनि
आफूलाई भुल्न सक्छु तर तिमीलाई भुल्न सक्दिनँ म ।
खुसीहरू मात्र हुँदैनन् मायामा असङख्य उछवासहरू हुन्छन्
हजार जन्मभन्दा लामो मायामा असङख्य निश्वासहरू हुन्छन्
कोमल तर चट्टान जस्तो मायालु हृदयलाई सोध
स्वार्थको बजारमा हेर, स्वार्थको तानातान छ
नबुझेर होइन, सबै कुरा जानाजान छ
हृदयका तरेलीहरूमा प्रेमका मूल नफुटेर
मान्छेको बस्तीमा आजभोलि सर्वत्र हानाहान छ ।
प्रेमपथका यात्रीहरू हरघडी प्रेम चिताइरहन्छन्
उछ्वासविना जिन्दगीमा हरघडी प्रेम जिताइहरन्छन्
सपनाहरू जति विपना बन्न सके पनि, नसके पनि
प्रेमपथका यात्रीहरू हरघडी प्रेममै बिताइरहन्छन् ।
प्रेम कति गहिरो हुन्छ, नापेर नाप्न सकिँदैन
प्रेममाथि अरु केही खापेर खाप्न सकिँदैन
कसरी भनूँ म कि प्रेमको अनुभूति कस्तो हुन्छ ?
प्रेमलाई शब्दहरूमा पूरै छापेर छाप्न सकिँदैन ।
म कसरी भनूँ माया कि मेरो नाम दिलमा टाँसिदिऊ
दया गरेर भए पनि केही बेर बेमनले हाँसिदिऊ
माया माया हो सर्तबाजीको कुनै खेल होइन
त्यसैले भोग्छु तर भन्दिनँ कि मलाई हरेक क्षण फाँसी देऊ ।
प्रेम प्रेम हो उमेरको कुनै रहर होइन
प्रेम प्रेम हो स्वाष्टिष्ट कुनै जहर होइन
प्रेमलाई वर्जित फल मान्ने अज्ञानीहरू हो !
प्रेम प्रेम हो अभिशापको कुनै कहर होइन ।