Loading

बहर प्रयोगका आधारमा मोतीराम भट्टका गजलहरूको समीक्षण/ डा. घनश्याम ‘परिश्रमी’

Motiram Bhatta१. स्रष्टा परिचय

नेपाली साहित्यिक व्योमका चम्किला तारा मोतीराम भट्ट बहुमुखी प्रतिभासम्पन्न विभूतिका रूपमा अमर छन् । भट्टले नेपाली भाषासाहित्यको उत्थानका लागि गरेको योगदान सदा स्मरणीय छ । मूलतः प्राथमिककालीन नेपाली साहित्यको उत्तर्रार्द्धको भक्तिधारा परम्परापश्चात् साहित्यिक क्षितिजमा यिनको उदय भएको हो । भक्तिधारा परम्पराको प्राचीरलाई भत्काई काव्यिक फाँटमा शृङ्गारिक भावधाराको परिवर्तन गरेर नेपाली साहित्यको धरातलमा युगान्तकारी परिवर्तन ल्याउने कार्य मोतीराम भट्टद्वारा नै भएको हो । नेपाली साहित्यको इतिहासमा जुन युगलाई हामी माध्यमिककाल वा विकासकाल भनेर जान्दछौँ त्यस युगका प्रवर्तक नै मोतीराम भट्ट हुन् । त्यसैले त नेपाली साहित्यको माध्यमिक काललाई मोतीयुग तथा शृङ्गारिक युगसमेत भन्ने गरिन्छ ।

विक्रमाब्द १९२३ साल भाद्र कृष्ण अमावस्या (कुसेऔंसी) का दिन पिता दयाराम तथा माता रिपुमर्दिनीका सुपुत्रका रूपमा काठमाडौँको भोसिको टोलमा सर्वप्रथम जीवनका कलिला आँखा खोलेका मोतीराम भट्टले विक्रमाब्द १९५३ साल, भाद्र कुसेऔँसीकै दिन सदाका लागि आँखा चिम्लेर यस लोकबाट बिदा लिए । यसरी यिनको जीवन ३० वर्षै भर्भराउँदो यौवनावस्थाको खाऊँ-खाऊँ लाऊँ-लाऊँ तथा केही गरूँ र देखाऊँ भन्ने उमेरमा अल्पायुमै टुङ्गियो । झन्डै तेह्र वर्षजति मात्र नेपाली साहित्यिक धरातलमा सक्रियतापूर्वक साधनारत मोतीराम भट्टले दिएको देन वास्तवमा अभूतपूर्व र अतुलनीय रहेको छ भन्दा फरक पर्दैन । अत्यन्त छोटो समयमा पनि यिनले नेपाली साहित्यिक भूमिलाई निकै हराभरा बनाएको  कुरालाई बिर्सन सकिँदैन । 

मोतीराम भट्ट मूलतः नेपाली भाषाका परमभक्त थिए । यिनले गद्य र पद्य दुबै विधालाई समानान्तर रूपमा एकएकओटा काँधमा बोकेर माध्यमिककालीन नेपाली साहित्यको आरम्भ गर्नुका साथै यसको विकासमा सबल नेतृत्व समेत प्रदान गरेका थिए । मोतीराम भट्टलाई नेपाली साहित्यको माध्यमिककालका प्रवर्तक मात्र भनेर पुग्दैन । साहित्यिक गद्य, जीवनी, समालोचनाजस्ता विधाका प्रवर्तकका रूपमा समेत यिनको नै नाम लिइन्छ । यिनी प्रथम नेपाली पत्रकारका रूपमा पनि प्रतिष्ठित छन् । भट्ट एक सफल नाटककार पनि हुन् । छ वर्षीय बालवयमा नै बनारस गई त्यहीँ फारसी स्कुलमा भर्ना भएर औपचारिक शिक्षा आरम्भ गरेका मोतीराम भट्टले फारसी, उर्दू, संस्कृत, हिन्दी र अङ्ग्रेजी भाषाको समेत अध्ययन गरेका  थिए । बनारस बसाइको अवसरमा हिन्दी भाषाका सशक्त कवि भारतेन्दु हरिश्चन्दसँग सङ्गत गर्ने सौभाग्य यिनलाई प्राप्त भएको थियो । भारतेन्दु हरिश्चन्द पनि यिनको कवित्व क्षमताबाट प्रभावित थिए र यिनले उनीबाट प्रेरणा र पुरस्कारसमेत प्राप्त गरेका थिए ।

मोतीराम भट्ट आफू मूलतः शृङ्गारिक कवि भएका र गजल पनि पुरातन मान्यताअनुसार शृङ्गार रसप्रधान तथा प्रणयवस्तुमा आधारित क्लासिकल विधा मानिएकाले उनको यसतर्फ झुकाव भएको अनुमान गर्न सकिन्छ । उनका गजलहरू आफ्ना समकालीन कविहरूका गजलहरूसित वि.सं. १९६९ मा प्रकाशित ‘सङ्गीत चन्द्रोदय’मा सङ्गृहीत छन् । पछि वि. सं. २०३८ सालको मोतीजयन्तीको सन्दर्भ पारेर नेपाली शिक्षा परिषद्, काठमाडौँको प्रकाशकत्वमा उपर्युक्त सङ्गीत चन्द्रोदय मा सङ्कलित मोतीराम भट्टका मात्र बत्तीसवटा गजलहरू समाविष्ट भएको ‘मोतीराम भट्टका गजलहरू’ नामक लघुकलेवरको सङ्ग्रह प्रकाशित भएको छ । यस सङ्ग्रहको प्रकाशनले अधिसङ्ख्यक मोतीका गजलहरूको अध्ययन गर्न इच्छुक जोसुकैलाई पनि सङ्गीत चन्द्रोदयको खोजी गरिरहन नपर्ने भएको छ । यस अर्थमा नेपाली शिक्षा परिषद् काठमाडौंप्रति कृतज्ञ हुनु आवश्यक छ ।

२. कृतित्वको विवेचना

आजसम्मको खोजअनुसन्धानले मोतीराम भट्ट नै नेपाली गजल-विधाका प्रथम प्रयोक्ता हुन् भन्ने कुरालाई पुष्टि गरेको छ । यिनीद्वारा शिलान्यस्त गजल-विधाको उत्थानमा उनकै समकालीन नरदेव पाण्डे ‘सुधा’, लक्ष्मीदत्त पन्त ‘इन्दू’, गोपीनाथ लोहनी ‘नाथ’, रत्नलाल ‘रत्न’, अम्जद हुसेन, गजब तथा पछिल्लो चरणका शम्भुप्रसाद ढुङ्गेल ‘शम्भु’ प्रभृति कविहरूको योगदान पनि निकै उल्लेखनीय रहेको छ । यसको पुष्टिका लागि गोपीनाथ लोहनी र दुर्गादत्त पाण्डेद्वारा सम्पादित १९६९ वि. सं.मा प्रकाशन भएको ‘सङ्गीत चन्द्रोदय’लाई हेर्न सकिन्छ, जसमा मोतीराम भट्टका लगायत उपर्युल्लिखित कविहरूका गजलहरू पनि समाहित छन् । मूलतः यो समीक्षात्मक लेख मोतीराम भट्टकै गजलहरूको विवेचना र मूल्याङ्कनमा केन्द्रित रहने हुँदा यहाँ यिनकै गजलकारिताका विविध पक्षको मात्र चर्चा-परिचर्चा गरिनेछ ।

मोतीराम भट्टद्वारा विरचित गजलहरूको सङ्ख्या यत्ति नै छ भनेर तथ्यात्मक किटानसाथ भन्न गाह्रो छ । ‘सङ्गीत चन्द्रोदय’ (१९६९) वा मोतीराम भट्टका गजलहरू (२०३८) का आधारमा यिनका प्रकाशित गजलहरूको सङ्ख्या जम्मा ३२ छ भने मोतीराम ग्रन्थावली (२०४५) मा एउटा गजल थपिई ३३ पुगेको  देखिन्छ । समग्रमा यिनका यी गजलहरूको अध्ययन गर्दा गजलसंरचनात्मक मान्यताका आधारमा झन्डै २४ वटा गजलहरू रचिएका छन् भने अन्य ९ वटा गजलहरूले नियमलाई अवलम्बन गर्न नसकेको प्रतीत हुन्छ । सफल नेपाली गजलस्रष्टा एवम् गजलव्याख्याताका रूपमा समेत सुपरिचित मनु ब्राजाकीले आफ्नो ‘गजल गाथा’ नामक समीक्षामा लेखेका छन्- ‘नेपाली साहित्यमा गजलका प्रथम प्रयोक्ता मोतीराम भट्टका ३२ वटा गजल ‘सङ्गीत चन्द्रोदय’मा सङ्कलित छन् र यी गजलहरूलाई केलाउँदा के प्रस्टिन्छ भने ३२ गजलहरूमध्ये आधा जतिले मात्र गजलको संरचनात्मक मान्यता, नियम र सौष्ठवलाई ग्रहण गर्न सकेका छन् तर आज उनका गजलमा निहित नियम, विचलन र त्रुटिभन्दा पनि नेपाली काव्यजगत्मा सर्वथा नौलो विधा गजललाई उपस्थित गराइदिनु नै उनको उल्लेख्य र स्तुत्य कार्य ठहरिएको छ ।’’ वस्तुतः ब्राजाकीको उक्त भनाइप्रति मेरो पनि शतप्रतिशत सहमति वा समर्थन छ । कुनै पनि रचनात्मक कार्यका संस्थापकहरूका सानातिना त्रुटि र कमजोरीहरूलाई मूल आधार बनाएर आरोपित गर्नु कदापि राम्रो होइन । संस्थापकहरूले यथार्थतः निर्माण वा सम्पादनहेतु मार्गप्रशस्त गरेका हुन्छन् । यद्यपि मोतीराम भट्ट गजलसंरचनामा पूर्णत: निष्णात् देखिँदैनन् तापनि उनलाई आलोचना गर्नु भनेको मोतीको हारमा दाग वा चन्द्रमामा कलङ्क मात्र देख्नुजस्तै हो ।

मेरो अध्ययन र मूल्याङ्कनका आधारमा मोतीरामका प्रकाशित गजलहरूमध्ये झन्डै ७० प्रतिशत गजलहरू गजलका कोटिमा पर्दछन् भने त्यसपछिका केही गजलहरू अभिव्यञ्जनका दृष्टिले सुष्ठु हुँदाहुँदै पनि काफियाहीन (काफियाबिनाको गजल, गजल मान्न सकिन्न) छन् त केही गजलका काफियामा असमान हिज्जे प्रयोग भएको पाइन्छ । कतै रदिफका पूर्ववर्ती पदहरूमा पनि उस्तै वर्णको पुनरावृत्ति भएका कारण काफिया बन्न नसकी गजलनियमबाट विचलित भएका छन् । यस्ता गजलहरूमा केही सेर उदाहरणार्थ प्रस्तुत छन्-

      यता हेर्यो यतै मेरा नजर्मा राम प्यारा छन्
      उता हेर्यो उतै मेरा नजर्मा राम प्यारा छन्

      यसो भन्छौ त फल्फूल्मा, उसी भन्छौ त जल्थल्मा
      जता हेर्यो उतै मेरा नजर्मा राम प्यारा छन्

      त्रिलोक् चौधै भुवन्माहाँ प्रभू व्यापक् जहाँताहाँ
      कहाँसम्मन् भनूँ याहाँ सबैमा राम प्यारा छन्

-   मोतीराम भट्टका गजलहरू, गजल-१ 

      यतिसम्म प्रीति गरी गरी न यता भयें न उता भयेँ
      न त मन् लियें न त दी दियें न यता भयें न उता भयेँ

      न त होश वासकि राखियो न त फूलको रस चाखियो
      न त याद भो न त स्वाद भो न यता भयें न उता भयें

-   मोतीराम भट्टका गजलहरू, गजल- ६

उपर्युक्त पहिलो भक्तिरसप्रधान र दोस्रो शृङ्गाररसप्रधान गजलका शेरहरूको अभिव्यक्तिकला औधि प्रभावोत्पादक र सौष्ठव देखिन्छ† तर पहिलोको ‘राम प्यारा छन्’ र दोस्रोको ‘न यता भएँ न उता भएँ’ र्सवत्र हुबहु पुनरावृत्ति भएकाले यी दुबै पदावलीलाई रदिफ मान्नुपर्छ । उपर्युल्लिखित युगल गजलमा काफिया छँदै छैनन् । यसरी नै यिनका अन्य नियमच्युत गजलहरूमा गजल १०, गजल १४, गजल २१, गजल २२, गजल २५, गजल २६, गजल ३० आदि   पर्दछन् ।

मोतीराम भट्टका सम्पूर्ण गजलहरू लयबद्ध मात्र होइन कि शास्त्रीय वृत्त (बहरबद्ध) नै छन् । यिनले प्रयोग गरेका बहरहरू अधिकांशतः संस्कृतका शास्त्रीय (वार्णिक र मात्रिक) छन्दसँग सन्निकटस्थ देखिन्छन् । यिनका ३३ वटा गजलहरूमध्ये ३१ वटा गजलहरू वर्ण्र्ाारबद्ध र २ वटा मात्राबहरबद्ध छन् । यिनले प्रयोग गरेका वाणिर्क बहरहरू १३ प्रकारका छन् । ती बहरका सूत्र (गण) र तत्तत् सूत्रमा गजलहरूका मक्ताका एक-एकवटा मिसरा ए-उला प्रस्तुत गरिएका छन्-

सूत्र-१, मफाईलुन x ४

बहर- हजज मुसम्मन सालिम (पिङ्गल छन्द- विधाता)

उक्त सूत्रको बहरमा रचिएका गजलहरू-

      यता हेर्यो यतै मेरा नजर्मा राम प्यारा छन्    (गजल-१)

      गजप्को देखियो त्यो चन्द्रमा ताहाँ उदायेको   (गजल-१२)

      भला सद्धै नआये आउ एकैपल्ट घरसम्मन्    (गजल-१६)

      सुहाउऊँदैन अङ्गले मगाऊ कोट रेन्किन्को    (गजल-३०)

 

सूत्र-२, फऊलुन्  x ४

बहर- मुतकारिब मुसम्मन सालिम (पिङ्गल छन्द- भुजङ्गप्रयात)

उक्त सूत्रको बहरमा आबद्ध गजलहरू-

      यि सानै उमेर्देखि मन् हर्न लागे (गजल-३)

      पयर्मा कडा चोट पायेर आयें    (गजल-५)

      यहाँले मलाई यती गर्नु होला    (गजल-१५)

      म तिम्रा अघी पर्न लायक् कहाँ छु   (गजल-१७)

      मलाई हिजोसम्म क्या क्या छकाये   (गजल-१९)

      जसै बङ्गको रङ्ग छाडेर आये        (गजल-२८)

      सजायेर घरभित्र जाँदै नजाने        (गजल-३२)

 

सूत्र-३, मुतफाइलुन्  x ४

बहर- कामिल मुसम्मन सालिम, (पिङ्गल छन्द- प्रमदानन)

उक्त सूत्रको बहरमा आबद्ध गजलहरू-

      यतिसम्म प्रीति गरीगरी न यता भयेँ न उता भयेँ    (गजल-६)

      दिनको पचास त के हजार पटक् कती समझाउनु    (गजल-९)

      सुनकी चरी, गुनकेसरी, सुनले भरी मन के गरी    (गजल-२७)

      दुइ आँखि भौँ त तयार छन् तरवार पो किन चाहियो (गजल-३१)\

      मउपर् कटाक्ष नजर् गरी किन ताकि हान्नु घरीघरी (गजल-३३)

उपर्युल्लिखत तीनवटै सूत्रका गजलहरू एउटै रुक्नको पुनरावृत्तिबाट निर्मित बहरहरूमा आबद्ध छन् । एतदर्थ यी गजलहरू मुफरद बहर (मूल छन्द) अन्तर्गत पर्दछन् ।

सूत्र-४, फाइलातुन् x ३

उक्त सूत्रको बहरमा आबद्ध गजलहरू-

      यस् बखत्मा प्रीति गर्नू जालमा फस्नू न हो   (गजल-२)

      व्यर्थ तिन्ले आज मेरामाथि रननन रन्कनू (गजल-७)

      हेर काहाँदेखि आयो आज यस्तो जुन्किरी     (गजल-१०)

      प्यारि झ् काहाँसम्म लेखूँ हेर मैले पत्रमा     (गजल-२२)

      प्यारिका आँखा भनी ली हालनू गुन्केशरी (गजल-२३)

      हर् बखत पर्खीरहन्छू लुक् टु मी ओ माइ डियर्    (गजल-२४)

      अप्सरा झैँ र्स्वर्गका यी बर्म्बईका मालिनी     (गजल-२६)

      विन्ति एकैपल्ट भन्द्यौ विन्ति लागोस् सुन्दरी (गजल-२९)

 

सूत्र-५, मफाइलुन्  x २

बहर- हजज मुसद्दस महजुफ सालिम, (पिङ्गल छन्द- सुमेरू)

      विना मन्को भई यो ज्यू जियेको (गजल-१३)

उपर्युल्लिखित सूत्र ४ र ५ का गजलहरूमा पृथक् पृथक् रुक्नहरूको मिश्रण भएकाले यी मुरक्कब बहर (मिश्रित छन्द) अन्तर्गत पर्दछन् ।

सूत्र-६, फऊलुन् x ३ + मफा 

बहर- मुतकारिब मुसम्मन् महजुफ (पिङ्गल छन्द- भुजङ्गी)

      हरे मैसितै लाग खानू कती (गजल-२०)

 

सूत्र-७, मुस्तफ्इलुन् ‌+ मफाइलुन् + मुस्तफ्इलुन् + मफा

बहर- मुजारे अखरव मक्फुफ महजुफ मुसम्मन ।

      जाहाँ म जान्छु देख्तछू झल्झल् सरोजिनी (गजल-२१)

उपर्युल्लिखित सूत्र ६ र ७ का गजलहरूमा खण्डित रुक्नहरू प्रयोग भएका छन् । त्यसैले यी गजलहरू मुजाहिफ बहर (परिवर्तित छन्द) अन्तर्गत पर्दछन् ।

यसरी नै मोतीराम भट्टले बाईस-तेइस मात्रामा आधारित विशेषतः उर्दूमा प्रचलित बहरहरूको प्रयोग गरेर पनि गजल रचना गरेका छन् । यस्ता गजलहरू निम्नानुसार छन् । यथा-

      फाहा घसेर बादरा हज्जार लगाये       (गजल-४) -२३ मात्रा

      निद्रा गयो आराम् गयो होश हरायो   (गजल-८) -२२ मात्रा

      नीको त छैन आज तहाँ जान कसैको       (गजल-१४) -२२ मात्रा

      पैले भने विन्ति गरेर पाउ परौँला    (गजल-११) -२२ मात्रा

      खासा छ सबै रङमा पोशाक वसन्ती     (गजल-१८) -२२ मात्रा

यी गजलहरू पनि मुजाहिफ बहरअन्तर्गत नै पर्दछन् । यिनमा पनि गजलकार मोतीराम भट्टले रुक्न/अर्कानहरूका खण्डित रूपहरूको सन्तुलन मिलाएका छन् ।

मोतीराम भट्टले आफ्ना ३३ वटा गजलहरूमध्ये एउटा मात्र गजल भक्तिरसमा संरचना गरेका छन् । ‘यता हेर्‍यो यतै मेरा नजर्मा राम प्यारा छन्’ यो नै यिनीद्वारा रचित भक्तिभावयुक्त गजलको उदाहरण हो । यिनका अन्य सबैजसो गजल मूलतः शृङ्गार रससंपृक्त छन् भन्दा हुन्छ । शृङ्गारमा संयोग र विप्रलम्भ दुवैको यिनका गजलमा राम्ररी निर्वाह भएको पइन्छ । यिनी आफ्ना गजलहरूमा कतै प्रेमिकासँग प्रेमालाप गर्दछन् त कतै वियोगको विरह अलाप्त छन् । कहीँ प्रेमिकाबाट प्रक्षेपित व्यवहार र वचनका वाणबाट आहत पुगेको प्रेयसीको निनाद प्रतिध्वनित गर्दछन् त कुनै गजलमा प्रेम गर्न खोज्दा असफलता हात लागेको गुनासो सुनाउँछन् । मोतीरामका केही गजलहरूमा नारी (प्रेमिका) पात्र पनि म पात्रको रूपमा उपस्थित छन् । यस्ता नारीपात्रको माध्यमबाट धोकेबाज प्रेमीहरूको चरित्रलाई उदाङ्गो पार्ने काम यिनले गरेका छन् । उदाहरणार्थ-

      मलाई हिजोसम्म क्या क्या छकाये

      यहाँ आज ती कुन्नि के गर्न आये

      मलाई नसोधेर भागेर जाने

      अनी फेरि कुन् नाक लायेर आये । (गजल-१९) 

शृङ्गारिक कवि मोतीराम भट्टका शृङ्गाररसप्रधान पृथक्-पृथक् गजलका सेरहरूको आस्वादन पनि गरौं भन्ने उद्देश्यले केही सेर प्रस्तुत गरेको छु-

      यस् बखत्मा प्रीति गर्नू जालमा फस्नू न हो

      आसमा पर्नू त चोखा धारमा बस्नू न हो

                (गजल-२ को मक्ता र मत्ला)

      फाहा घसेर बादरा हज्जार लगाये

      बिन्ती छ विन्ति सुन्दरी झ् मिस्सी नलगाये

          (गजल-४)

      निद्रा गयो, आराम् गयो होश हरायो

      तिन्का वियोग्ले भने ह्याँसम्म गरायो

      (गजल-८)

      नरक्को वास हो सन्सारमा दुःखी भई बस्नू

      सुनिस् मोती हरीकी नामले आठै प्रहर् सम्मन्

                (गजल-१६ को मक्ता र मत्ला)

      दुइ आँखिभौँ त तयार छन्, तरबार पो किन चाहियो

      तिमि आफु मालिक भैगयौ सरकार पो किन चाहियो

                (गजल-३१)

 

३. मूल्याङ्कन र निष्कर्ष

मोतीराम भट्टका गजलहरूमा बिम्बको राम्रै प्रयोग भएको अनुभूत हुन्छ । कतै लक्षणा र कतै व्यञ्जनाशक्तिको सहाराले उनले आफ्नो अभिव्यक्तिलाई कलात्मक, रसात्मक र भावमय बनाउने सत्प्रयास गरेकाछन् । यिनका गजलका मत्लाहरूमा ‘मोती’ शब्दको कतै पूर्ववर्ती त कतै पश्चवर्ती भएर ‘हरी’ शब्द पनि निकै धेरै ठाउँमा प्रयोग भएको पाइन्छ । यो शब्द उनले प्रायः प्रेमिकाकै रूपमा प्रयोग गरेको बुझिन्छ भने गजल १ मा भगवान् विष्णुको अर्थमा र अरू एक-दुइ ठाउँमा मात्र ‘प्रेमी’ जनाउने सन्दर्भमा प्रयोग भएको स्पष्ट हुन्छ । अतः ‘हरी’ कतै     मोतीरामकै प्रेमिका त होइनन् ? जे होस्, मोतीराम भट्टले ‘हरी’ नाम पदलाई यति बढी महत्त्व दिएर आफ्ना अधिकतम गजलहरूमा प्रयोग गर्नुको तात्पर्य के हो ? यो अवश्य पनि चासोको र खोजीको विषय हो ।

निष्कर्षः नेपाली गजलका आविर्भावक मोतीराम भट्ट शास्त्रीय बहरका ज्ञाता थिए । यिनका सबै गजलहरू कुनै न कुनै शास्त्रीय बहरमा आबद्ध छन् । यिनले प्रमुखतः दशवटा जति बहरहरूको प्रयोग आफ्ना गजलहरूमा गरेको देखिन्छ । बहरहरूमा आबद्ध भएका हुनाले नै भट्टका सबै गजलहरू शास्त्रीय सङ्गीतका आधारमा गेयगुणयुक्त छन् । यसबाट के स्पष्ट हुन्छ भने मोतीराम भट्टले गजलको आविर्भाव मात्र गरेनन्, अपितु यसलाई शास्त्रीय शैली प्रदान गर्ने महत्त्वपूर्ण काम पनि गरे । यसर्थ नेपाली गजलका क्षेत्रमा यिनको स्थान उच्च छ । नेपाली गजलका प्रणेता मात्र नभएर यी कुशल शास्त्रीय गजलकारका रूपमा समेत ख्यातनामा  छन् ।

Comments