Loading

मुक्त अनुभूतिमा नारी स्रष्टा

काठमाडौ, माघ ११ - मोमिला जोशी र विमला तुम्खेबा समकालीन नेपाली साहित्यका सशक्त कवि मानिन्छन्। यी दुई स्रष्टा शनिबार दिउँसो एकसाथ रचना वाचनमा देखिए। मासिक कविता वाचन शृंखला 'मुक्त अनुभूति' को आठौं शृंखलामा यी दुई प्रस्तुत भएका हुन्। अन्तरक्रियासहितको वाचन शृंखलामा धेरैजसो नारी संवेदना, अस्तित्व र प्रेमसित सम्बन्धित कविता प्रस्तुत भए। शृंखलाको सुरुआत मोमिलाले अस्तित्व र विसंगतिजनित कविता 'पीडाको महोत्सव' बाट गरेकी थिइन्। यसपछि यिनले चर्चित चित्रकार भ्यानगगको 'द स्पेरी नाइट' चित्रबाट प्रभावित 'तारा बेलेको रात' सुनाइन्, यसमा पनि उनले अस्तित्वकै प्रश्न उठाएकी थिइन्। यो क्रमलाई उनले 'पुतलीको घर, नोरा र म' कविताले जोडिन्, नर्बेली नाटककार हेनरिक इब्सेनको चर्चित नाटक 'अ डल्स हाउस' बाट प्रभावित यो रचनामा पनि उनले नारी अस्तित्वकै सवाल उठाइन्।

यति हुँदाहुँदै पनि उनले आफ्नो लेखन अभिप्राय भने आत्मिक आनन्दका लागि भएको बताइरहेकी थिइन्। विमलाले चाहिँ कविता लेख्नुको कुनै उद्देश्य नरहेको बताउँदै एउटा कविताका लागि दुई-तीन महिनादेखि ६ महिनासम्म पनि लाग्ने बताइन्। 'जीवन र समाजका अनेकौं पक्ष, घटना या सन्दर्भहरूले त छोइरहेकै हुन्छ, तर तत्काल व्यक्त गर्दिनँ म कवितामा, एउटा समयमा पुगेर मात्रै त्यो कविता बन्छ,' उनले आफ्नो लेखनबारे खुलाइन्। पहिलो चरणमा लेखकहरू विद्रोही चेतका हुन्छन् भन्ने सन्दर्भ बोकेको 'कवि' लगायतका रचना सुनाएका यिनले 'सहरमा बदनाम कथा' शीर्षकको कवितामा नारी अस्मिता र पहिचानको प्रश्न उठाइन्। एउटा यौनकर्मी महिलालाई पात्र बनाएर महिलाप्रति हेर्ने समकालीन समाजको चेतनामाथि व्यंग्य गरिएको यो कवितापछि 'प्राचीन युवती' हुँदै 'मुलाङ जिन्दगी' मा आइपुगेर प्रेममा परेको एक प्रेमीको मनोदशा प्रस्तुत गरिन्।

रोहित खतिवडाले संयोजन गरेको शृंखलामा प्रश्नमा सोधियो- कवितामा सजावट आवश्यक छ? कविताको कोरियोग्राफी सम्बन्धी यो सवालमा मोमिला बोलिन्, 'लेखनमा ताना र बाना चाहिन्छ। पहिले तान लाउने अनि बुन्ने। बुन्ने क्रममा शब्द र विम्बहरू आउने हुन्, यसकै आधारमा कविताको हिस्सी तय हुन्छ। हिस्सी राम्रो भो रचना मज्जाले जम्छ।' विमला भने यसतिर खासै ध्यान नदिने बताइन्। यसपछि मोमिलाले फेरि नारी संवेदनाकै कविता सुनाउन थालिन्। २०५० को एउटै महिनामा साहित्यकार पारिजात र हिमाल आरोही पासाङ ल्हामु शेर्पा गुमाउनुपरेको संवेदनालाई उनले 'एउटा लालीगुराँस हराएको बेला' पोखिन्। 'तिमी र म' कवितामा प्रेम र अहंको सन्दर्भ सुनाएपछि 'प्रेममा जति घृणाको जोखिम अरूमा नहुने' अभिव्यक्ति दिँदै 'दोमनको प्रहरबाट' प्रस्तुत गरिन्।

'विमला तुम्खेवाका कविताहरू', 'नारी, छाल र तरंग' जस्ता कृति दिइसकेकी विमलाले पनि 'मोड' शीर्षकको कवितामा प्रेम भावना साटिन्। यसपछि भने उनले नेपाली नारीको विभेदपूर्ण अवस्था झल्किने कविता 'मेरो कथाको पनि कविता लेख्नुस् है' सुनाइन्। घरगृहस्थीदेखि परिवार चलाउने सम्पूर्ण जिम्मेवारी खेप्दाखेप्दै पनि सधैं परित्यक्त पारिने नारी मनोविज्ञानलाई उनले ग्रामीण पात्रमार्फत सुन्दर ढंगले बुनेकी थिइन् यस रचनामा। फेरि उनी प्रेममै फर्किइन् र सुनाइन्, 'छली मुस्कान।' 'पैंयू फुल्न थालेपछि', 'जुनकिरी ओर्लिरहेछन्', 'दुर्गम उचाइमा फूलको आँधी', 'भीमसेन थापाको सुसाइड नोट' लगायतका कविता कृतिका स्रष्टा मोमिलाले युद्ध र द्वन्द्वका सन्दर्भका रचना पनि सुनाउन भ्याइन्। मोमिलाले 'भीमसेन थापाको सुसाइड नोट' मा मुलुकको राजनीतिक विसंगति र जनताप्रति अनुत्तरदायी नेतृत्वप्रति झँटारो हानिन् भने विमलाले 'आदिवासीको कथा' मार्फत पहिचानको सन्दर्भ उठाइन्। शिल्पी थिएटरले गर्दै आएको शृंखलामा यसअघि दर्जन स्रष्टा प्रस्तुत भइसकेका छन्।

(साभारः कान्तिपुर दैनिक, शब्द तथा तस्वीर)

Segments: