फ्युज गएको ज्यान, बिजुली मन ! / जोतारे धाइबा

हिले मकै र कोदोबारी रहेको थुम्कोमाथि बिजुली चुरोटको फाँकोमा रङमङिदै गर्दा चेतमानसिंहको दिमागी पत्रमा पारिवारिक हिसाबको गोलचक्कर उम्रिरहेछ । चेतमान अर्थात् नेपाली कथासाहित्यका एक खेताला- मनु ब्राजाकी । अमेरिकालाई हाईहाई भन्नुअघि राजधानीस्थित आफ्नै घर भैँसेपाटीमा टोलाइरहेका थिए उनी । अमेरिकामा रहेकी छोरीले बोलाएकी छन्, केही समय बस्छन् र सुस्ताउँछन् 'बाबा' भनेर । उहिले आफूले डोर्‍याउने हातले यतिखेर आफैँलाई डोर्‍याउने बेला आइसकेछ, उनलाई होसै थिएन । हुन पनि उनलाई बेहोसीकै बिरामीले सताएको छ केही समययता । उच्चरक्तचापका कारण मस्तिष्काघातले च्यापेपछि केही वर्षदेखि उनी गुफाबासी झैं बनेका छन् । तर यिनलाई सपनाको त्यो मुलुकतिर जानै मन छैन, यो सोचमा डुब्दाचाहिँ पूरापूर होसमा छन् उनी ।

आफूसँग र आफ्नाहरू जे-जो छन्, यतै छन् स्वदेशमै भन्ने चस्काले उनलाई छोपिरहन्छ । त्यही भावनाको जालले बाँधेर जकड्याउँछ उनलाई नेपाल खाल्डोभरि । तर छोरीको मन राख्न भए पनि एकफेरा गोराहरूको देशमा चक्कर काट्न जानै पर्ला भन्ने पारिवारिक रन्थनीले छातीमा मुक्का हानिरहन्छ । र निश्चित हो, यो अन्तरङ्ग वार्ता प्रकाशनमा आउँदा यी मनु यतैबाट पोक्याएर लगेको बिजुली चुरोट अमेरिकी आकाशमा बुङ्बुङ्ती फुकिरहेका हुनेछन् । मनु, जसले धेरै कथा लेखे नेपाली साहित्यमा, जो अब आफ्नै कथाजस्तै बनेका छन् ।
हिँड्न हत्तपत्त टाढा कतै निस्किँदैनन्, स्वास्थ्यले केशका जराजराबाट साथ छाड्दै गएको अनुभवको कमाइसँगै दिन कटाउन थालेका छन् उनी । विस्मृतिको रोगले झ्याम्टा चखाउँदा खुत्रुक्कै भएका छन् । वेदनाको हिक्का पोखे, 'मस्तिष्कले जोड दिनुपर्ने सिर्जनशील कुराहरू बिर्सिइनेरहेछ यो बिमारीमा ।' सिर्जनशील कुराको क्रमबद्धता र सिलसिला हुन्छ, त्यसलाई मिलाउने कष्ट दिमागले उठाउन नसक्दा भक्कानिन्छ मनुको मन । यसै कारण एक जमानामा हीरो लेखकका रूपमा चर्चाको चुलीमा रहेका कथाकार ब्राजाकी साइड हीरोको भाँतीमा कतै छाडिएका छन् । यस्तोमा ढुङ्गाको जुनी बाँचेझैँ लाग्छ उनलाई- रुन खोज्दा पनि आफैँभित्र गाँठो पर्ने भोगाइ ।
***
हजुरबाले नाति संस्कृत पढोस् भनेर जोड गर्ने, उता बुबाचाहिँ अङ्ग्रेजीमा छोरालाई छुरा पार्ने ध्याउन्नमा एकोहोरिका थिए । हजुरबा र बाको करकर सुन्दै यी चेतमान अध्ययनकै क्रममा १४ वर्षसम्म भारतको बनारसमा बसे । 'तर म निस्किएँ नेपालीमै शब्द कथ्ने भएर', दुई पुस्ते चेपुवामा परे पनि आफैँले रोजेको तेस्रो बाटो जन्मिएको बारे मसिनो लबजमा फुसफुसाउँदै सुनाए । जसरी देशमा अव्यवस्था मडारिएको छ, उसै गरी आफ्नो पूर्ववत् नियमित जीवनमा पनि अस्थिरता आएको अनुभव गर्छन् उनी । लेख्न त सक्दैनन् नै, लेखाइको क्रम टुटेको फलस्वरूप पहिलेको सक्रिय लेखनयात्राताका आसपासमा रहेर साउती गरिरहने समकालीन साथीभाइको साथ पनि पातलिँदै गएको छ ।
'लेखनका क्षेत्रमा आफूलाई असन्तोषले पिरोलिरहन्छ' बिजुली चुरोटको फाँको चुस्दै उनले तीतो पोखे, 'क्षमता भएको भए अझै लेख्ने थिएँ तर लेख्ने कुरो मनमा आए पनि अडिएर बस्दैनन् ।' आफू दिनानुदिन चाल्नोसमान बन्दै गएको भाव सुनाइरहँदा चुरोटे धुँवाले उनको गोल अनुहार रेसादार चाल्नो झल्किरहेथ्यो । नागरिकतामा र साहित्यिक जनमानसमा टक्कर खेल्ने आफ्नै दुई नामिक अस्तित्वबारे प्रस्ट्याउँदै सुनाए, 'चेतमानले व्यावहारिक बन्नु बाध्यता हो, मनुचाहिँ समाज, राष्ट्र, मानवतावाद र सिङ्गो संसारको चिन्ता लिने साझा व्यक्ति हो ।'
पछिल्लोपटक वि. सं. २०६० सालमा साझा प्रकाशनबाट 'पारदर्शी मान्छे' कथाकृति निकालेका ब्राजाकी कृतिकै गहनतामा बगेझैँ खुलस्त बन्दै थिए । अहिले सबैको ध्यान देशको राजनीतिमा केन्द्रित भएकाले त्यसबाहेकका सामाजिक पाटोहरू पाखा पर्दै गएको अनुभव गर्न थालेका छन् उनी । स्वाभाविक हो, साहित्य-संस्कृति पनि यस्तो राजनीतिक रफुचक्करमा घान बन्नबाट अछुतो बचेको छैन । 'तर लेखनकै दुनियाँमा हेलिएकाहरू नै आफ्नो काममा गम्भीर छैनन्', विडम्बनाको सुसेली चुरोटे मुरलीमै सुसेल्दै थिए, आधीसम्म खरानी बनिसकेको ठुटोको आगो मार्दै कुरा जोडे, 'अधिकांशले लेख्नैका लागि मात्र लेखेजस्तो गरेकाले हाम्रो साहित्यमा नयाँपन देखिन सकेको छैन ।'
***
६७ वर्षको 'जोवन'मा मनु मात्तिन्छन्- कहिले मदिराको चस्कामा त कहिले भावनाकै लहरमा । अब जिउने बाटोजस्तै हुन पुगेको छ पिउने रीत पनि । घरपरिवारबाट कुनै छेकबार हुँदैन । पुख्र्यौली थलो पोखरा भए पनि महोत्तरीको औरहीदेखि जनकपुरसम्मको हावापानी चाख्दै उनले उमेर नापेका छन् । उतिबेलाको संघर्षकालमा अन्तरङ्ग मित्रतामा बाँधिएर साथ दिने दुर्गा बराल (वात्स्यायन) र जगदीश घिमिरेलगायतका दौँतरीहरूको मीठो सम्झना नै अचेल उनको साथी बन्ने गरेको छ । 'ती जगदीश त मेरो सहारा र सहयोगी नै थिए', साथीको नाम उच्चारण गर्दा नै रोमाञ्चित बनेका मनुले अझै हार्दिकता पोखे, 'विभिन्न पत्रपत्रिकामा लेखरचना पठाउँदा आफ्नामात्र नभई मेरासमेत पठाइदिन्थे ।'
आख्यानमा रमाउने उनको मनमा गरिब बस्तीको भोक र चित्कारले खुबै असर गरेका छन् । त्यसै कारण उनीरचित अधिकांश कथामा गरिबीको प्रसङ्ग पढ्न पाइन्छ । कारण, आफ्नै भूगोल र टोलको कुरा टिपेर शब्द रङ्ग्याउने उनको रुचि हो । 'हाम्रो देशै गरिब छ, त्यही भएर त्यो गरिबी विभिन्न रूपमा लेखनमा आउनु स्वाभाविक हो', मनुले भने । एकान्तबासको असरले उनीभित्र चिन्तनका ठेली पनि तह बनेर बस्ने गरेका छन् । विसङ्गत समाज र अस्तव्यस्त निजी परिवेश भोग्दै भए पनि कुनै प्राणी आजको समयमा बाँच्छ भने त्यो बचाइमा बाँच्नुको नशाले मात्र काम गरेको होला भन्ने सोचप्रति असहमति जनाउँछन् उनी ।
बाँच्नु र बाँच्दै जानुमा नशामात्र नभई बाँच्ने व्यक्तिभित्र आशा र आकाङ्क्षा पनि निहित रहने उनको बुझाइ छ । 'बाँच्नैका लागि मात्र कोही बाँच्छ भने त ऊ केवल मर्नका लागि बाँचिरहेछ', सुन्दा चिसो लाग्ने सत्य उनले ओकले । उनकै कुरा गर्दा पनि नशाजस्तो जीवन मरुभूमिझैँ सुक्खा बन्दा पनि उनी केही राम्रै भइहाल्ला कि भनेर आँखीभौँमाथि हत्केला छाता ओढाएर पर्खिरहेछन् ।
लेख्न नसक्नुको उकुसमुकुस पहिला असह्य हुन्थ्यो भने अब बानी परिसक्यो उनलाई । तर काव्यात्मक विधा गजल भने उनी हालका दिनमा पनि लेखिरहेछन् । 'लेख्नुको नाममा यही गजल छ, यसैबाट लेख्ने सक्सक् मेटाउँदै आएको छु', मन बुझाउने बाटो पनि बनाएका छन् । छुट्ने बेलामा मैजारोस्वरूप गजल सुनाउनुअघि मनुले अघिको आधा बचेको ठुटे चुरोट फेरि सल्काए, सुनाए- 

"गएपछि आउँदैन कोही फर्केर
नजानू है कसैसित पनि झर्केर"
नभन्दै मुस्कुराउँदै र साटोमा आत्मीयता बटुल्दै उनले भैँसेपाटी थुम्कोबाट विदा गरे ।

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom