अमेरिकामा सगरमाथाभन्दा माथि / मनु ब्राजाकी

कसैसित भेट कहिले, कहाँ र कसरी हुन्छ भन्ने कुरा नितान्त संयोग रहेछ । यस्तै संयोगवश हिरण्य भोजपुरे र मेरो भेट संयुक्तराज्य अमेरिकामा भयो । यो संयोग जुर्यो एउटा गजल क्यासेटको विमोचन कार्यक्रमद्वारा, जसका गजलकार र संयोजक हुनुहुन्थ्यो भूपेन्द्र महत । स्थान थियो एउटा नेपाली रेस्टुरेन्ट 'याक एन्ड यती', राल्सटन रोड, अरवाढा, कोलोराडो ।

हिरण्य भोजपुरेलाई मैले लेकाली समूहका गायकका रूपमा पहिलेदेखि नै चिनेको थिएँ । साथै उहाँका दाँैतरी गायक गणेश रसिकलाई पनि । गणेश रसिकलाई भने नामले चिन्यामात्र होइन, प्रत्यक्ष भेटघाट पनि भएको हो, साझा प्रकाशनमा महाप्रबन्धक छँदा तर दुवैजना लेकाली समूहका गायकमात्र नभई लेखक/साहित्यकार पनि हुनुहुँदोरहेछ । यो कुरा रसिकका सन्दर्भमा काठमाडौँमा छँदै थाहा थियो भने भोजपुरेका सन्दर्भमा अमेरिका आएपछि ज्ञात भयो ।

लोकगीतलाई नयाँ विन्यास दिन र आधुनिक गीतलाई अर्थगाम्भीर्य प्रदान गर्न हिरण्य भोजपुरे र गणेश रसिक अझ भनूँ, लेकाली समूहको योगदान अविस्मरणीय रहेको छ । यो समूह नेपाली साङ्गीतिक क्षेत्रमा नसेलाएको भए आधुनिकताको नाउँमा आज देखापरेका लोकगीतका विकृतिहरूसित जुध्न सक्थ्यो कि । आधुनिकताका नाउँमा हरेक युगमा विकृति र विचलनहरू देखापर्दछन् तर त्यसलाई छान्ने, केलाउने र सङ्ल्याउने कर्तव्य सचेत र सजग सङ्गीतकार, गायक र कलाकारको हो भन्ने कुरा निर्विवाद छ ।

म सङ्गीत मर्मज्ञ होइन, श्रोता मात्र हुँ, यति भन्नु चाहिँ मेरो धृष्टता नठहरिएला ।

हिरण्यसित दोस्रो आकस्मिक भेट पनि संयोगवश उहाँकै निवास स्थान अर्थात् उहाँको अमेरिका निवासी छोरा/बुहारीको बासस्थानमै हुनपुग्यो । त्यहाँ हिरण्य आफ्नी सहधर्मिणी उर्मिला श्रेष्ठ भोजपुरेका साथ रहनु भएको थियो । बृहत् भोजको आयोजना थियो र त्यसमा म पनि आफ्नी श्रीमती तथा छोरी/ज्वाइँसहित आमन्त्रित थिएँ । अमेरिकी भोजको रसास्वादन त भयो नै साथै त्योभन्दा स्वादिष्ट कुरा मैले उहाँबाट पाएँ-त्यो थियो, एउटा उपन्यास ! नेपालबाट यत्रो टाढा आएर नेपाली साहित्य विधाअन्तर्गतको लोकप्रिय विधा उपन्यास पढ्न पाउनु भनेको सौभाग्य नै हो । उहाँद्वारा प्रदत्त उपन्यास यसप्रकार स्वाक्षरित थियो-

'श्री मनु ब्रजाकीज्यूमा

यो स्वल्प-उपहार !

हिरण्य भोजपुरे, २ अक्टोबर,

२०१० ई.सन् ।'

भोजपश्चात् घर लगेर उपहारस्वरूप प्राप्त पुस्तकलाई मनोयोगपूर्वक पढेँ । पुस्तक पढ्न थालेर एकैबसाईंमा सिध्याउनुपर्ने दुईवटा प्रमुख कारण थिए- पहिलो, विषयवस्तु अर्थात् कथानक नितान्त नौलो हुनु र दोस्रो, भाषा/शैली अत्यन्त मीठो, प्रवाहमान र चित्ताकर्षण हुनु ।

हिरण्य भोजपुरेको यस उपन्यासको शीर्षक रहेको छ-'सगरमाथाभन्दा माथि' ।

यस उपन्यासको भाषा/शैलीले मलाई बाँधेको थियो, अझ भनूँ विषयवस्तुको नवीनताले झनै बाँधेको थियो । साथै ज्ञान वृद्धि पनि गरेको थियो । वस्तुतः यो उपन्यास पर्वतारोहणका बारेमा लेखिएको हो र नेपाली भाषामा पर्वतारोण कार्यलाई विषयवस्तु बनाएर लेखिएको यो प्रथम औपन्यासिक कृति हो, मैले पढ्न भ्याएसम्म र जानकारी पाएसम्म । निःसन्देह विषयको नवीनताले पाठकको मनोरञ्जन मात्र गर्दैन ज्ञानवृद्धि पनि गर्छ ।

हिरण्य भोजपुरे पर्यटन मन्त्रालयमा उच्चअधिकृतका रूपमा दीर्घ सेवापश्चात् सेवानिवृत्त हुनुभएका व्यक्ति हुनुहुन्छ । अतएव पर्वतारोहण, पर्यटन व्यवसाय र तत्सम्बन्धी विषयको ज्ञान हुनु स्वाभाविक हो तर के यी कुराहरूसित संलग्न अन्य व्यक्तिले यो विषयमा लेख्न सकेका छन् त ?

पर्वतारोही शेर्पाहरूको जीवन र जनजीवनसित गाँसिएका मार्मिक पीडा र नियतिलाई, व्यथा र कथालाई कलात्मक उच्चतासहित उपन्यासका रूपमा प्रस्तुत गर्नसक्नु हिरण्यको अभिनव उपलब्धि हो । उनी स्वयं पर्वतारोही नभए तापनि, आफँै शेर्पा नभए तापनि एउटा साहित्यकारमा हुनुपर्ने 'अतिरिक्त संवेदनशीलता' ले यो सम्भव हुन गयो । साहित्यकारमा हुनुपर्ने प्रथम र प्रमुख गुण भनेकै 'संवेदनशीलता' हो । 'भावुकता' र 'संवेदना' दुई भिन्न कुरा हुन् । भावुकता स्वार्थजन्य हुन्छ भने संवेदना सह-अनुभूतिजन्य हुन्छ । अरूको वेदनालाई आफ्नो वेदना समान अनुभूत गर्नसक्नु नै

सम-वेदनशीलता हो । साहित्यकारमा निहीत 'अतिरिक्त संवेदनशीलता' प्रतिभाकै एउटा अंश हो । प्रतिभाका अन्य अंशहरू पनि व्याख्येय छन् तर समग्र प्रतिभास्वयं अव्याख्येय छ अहिलेसम्म ।

हामीमध्ये असङ्ख्य स्वनामधन्य पर्वतारोहीहरू भए तर कुनै पर्वतारोही र शेर्पाबाट यस्तो आख्यान कृति पाइएन । अर्को उदाहरण पनि छ- हामीमध्ये असङ्ख्य लाहुरेहरू भए, भिक्टोरिया क्रसधारीहरू भए तर युद्धगाथामा आधारित अविस्मरणीय उपन्यास पाइएन । जनसामान्य अशिक्षित हुनु नै यसको प्रमुख कारण थियो अझै प्रमुख कारण थियो नेपालको सामन्ती संस्कारयुक्त अन्धकारयुग ।

पर्वतारोही हुनु, लाहुरे हुनु र विदेशिनु नेपालीका हिजो पनि नियति थिए र आज पनि छन् । नेपालीका यी नियतिहरूमध्ये पर्वतारोहण कार्यमा संलग्न शेर्पा जातिको दारुण र विसङ्गत अवस्थाको चित्रणयुक्त गाथालाई औपन्यासिक रूप दिन सफल हुनुभएको हिरण्य भोजपुरेको 'अतिरिक्त संवेदनशीलता' र 'अव्याख्येय प्रतिभा' लाई मुरीमुरी धन्यवाद !

उपन्यास लेख्दै नलेखेको म बबुरोले औपन्यासिक शिल्पबारे गनगनाउनु अनधिकार चेष्टा हो । यसबारे आलोचक, समालोचक र विज्ञ समीक्षकहरूले चर्चा गर्ने नै छन् । सचेत पाठकको हैसियतले अर्को यस्तै 'अभिनव' उपन्यासको प्रतीक्षामा छु ।

-वेस्टमिन्सटर, कोलोराडो, अमेरिका

Author: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom