Loading

पोट्रेट/ मञ्जुल

मेरो प्रिय क्यानभास ! तिमीले मेरो पीडाको पोल नखोलिदिनू ।

मेरा ब्रसहरू, रङ्गहरू, मेरो क्यानभासलाई छातीमा बोकेर उभिएको, मेरा हरेक क्रियाकलापहरूलाई आँखा झिमिक्क नगरी नियाँलिरहेको इजेल तिमीले पनि मेरो पीडाको पोल नखोलिदिनू ।

यस्तो होस्, मानौं यो घटना घटेकै थिएन । यस्तो होस्, मानौं यो कसैले देखेकै थिएन ।

म विवाह गरिसकेकी स्वास्नीमान्छे । एउटा बच्चाकी आमा भइसकेकी स्वास्नीमान्छे । सासु, ससुरा, जेठाजु, देवर आमाजू, नन्द र नोकरचाकरको बीचमा बसेकी मान्छे । यिनीहरूले थाहा पाए भने मलाई गर्नु दुर्व्यवहार गर्छन् । मेरो लोग्नेलाई त मलाई जिन्दगीभर दुत्कार्ने एउटा ठूलो निहुँ हुन्छ ।

देख्न त मेरो कोठाका पर्खालहरूले, झयाल र ढोकाहरूले, पर्दाहरूले, यहाँका हरेक सामानहरूले मेरा सब क्रियाकलापलाई छर्लङ्ग देखेका छन् । तर यिनीहरूको हृदयमा पनि माया छ, विशाल माया - तिमीहरू सबैको हृदयमा भए जस्तै ।

मेरो झयाल बाहिर उभिएका रुखहरूले, रुखहरू भन्दा परको आकाशले पनि मेरा कुराहरू देखेको छ । हरेक तनावमा मैले उनीहरू पट्टिनै फर्केर हेरेकी हुनाले मेरा सबै अनुभूतिहरू उनीहरूलाई थाहा छ । तर तिनीहरूले पनि मलाई माया गरेका छन् । गम्लङ्ग अँगालो हालेर मेरो गालामा च्वाप्प म्वाइँ खाएका छन् । मेरो आँसु रोएका छन् - आफ्ना आँखाहरूबाट ।

पहिलो पटक यो घरमा आउँदा, दुलही भएर भित्रिंदा यस्तो होला भनेर मैले कल्पना पनि गरेकी थिइनँ । कति सुन्दर छ यो घर । कति शान्त देखिन्छ बाहिरबाट । भव्य पर्यावरण छ । बगैंचाहरू छन्, फूलहरू छन् - थरीथरीका बास्ना, थरी थरीका रङ्गहरू छन् । चराहरू गाउँछन्, चराहरू उड्छन् । यो घरमा आउन पाउँदा मलाई बेहद आनन्द लागेको थियो ।

म सोच्थें कलाको महत्व सम्पन्न परिवारले नै बुझेको हुन्छ । उनीहरूलाई खाने कुरा, लाउने कुरा, ओत लाग्ने कुराले पिरोलेको हुँदैन । एउटा जीवन बाँच्न उनीहरूलाई समस्या हुँदैन । के बुझेका हुन्छन् गरिबहरूले कलाको महत्व < जसलाई समस्यै समस्याहरूले घेरेको हुन्छ, अभावै अभावहरूले घेरेको हुन्छ - एउटा कला किनेर आफ्नो घरको भित्तामा टाङ्न सक्तैनन् । म यस्तो सोच्थें । तर संसार मैले सोचे जस्तो हुँदो रहेनछ । जीवन मैले सोचे जस्तो हुँदो रहेनछ ।सम्पन्न परिवार पनि फरक-फरक हुँदा रहेछन् ।मेरो आफ्नै सानोबा कति सम्पन्न हुनुहुन्छ । यस्तै राम्रा भवनहरू छन् बगैंचाहरू छन् । घरका तलातलामा कलाकृतिहरूले योग्य ठाउँ पाएका छन् ।सङ्गीतका सि.डी. क्यासेटहरू । एउटा घरको एउटा सिङ्गै तलामा पुस्तकालय छ । लेखक, कलाकार, विद्वान् दोहोर्‍याई तेहेर्‍याई आउन मन गर्छन् । कति सम्मानित छन् तिनीहरू ।

धनी घर पनि फरक फरक हुँदा रहेछन् ।

गरिब घर पनि फरक फरक हुँदा रहेछन् ।

म विवाह गरेर यो घरमा आएँ । प्रेम विवाह पनि भन्न मिल्दैन, पूरै होइन भन्न पनि मिल्दैन । विवाहपहिले नै म मेरो श्रीमान्लाई चिन्दथें, बोल्दथें । सासु ससुरा र बा आमा साथीहरू हुनुहुन्थ्यो । यो घरमा आएर यस्तो जीवन बाँच्नु पर्ला भनेर मैले कल्पनै गरेकी थिइनँ ।

म विवाह गरेर आएँ । हो, म विवाह गरेर आएँ । हुर्के बढेको घर छोडेर अर्को घरमा आएँ । म आएँ - म सँगसँगै मेरा ज्ञानहरू आए, सीपहरू आए । (तिनीहरूलाई छाडेर म कसरी आउन सक्छु <) मेरो इजेल आयो । मेरा पुराना र नयाँ रङ्गहरू ब्रुसहरू आए । केही पुराना चित्रहरू, पुराना र धेरै नयाँ क्यानभासहरू आए । चित्र प्रतिको मेरो रुचि मसँग आयो । (त्यसलाई छोडेर म कसरी आउन सक्छु < नेपालमा मात्र होइन भारतमा पनि कति वर्षलगाएर मैले त्यही कुरा पढें !) त्यसलाई छोडेर म कसरी आउन सक्छु < चित्रकारिता नै मेरो जीवन हो, संघर्ष हो, लक्ष्य हो ।

आशा र एरिनाको जीवन हेर्छु कति रमाइलो छ । दुवै चित्रकार हुन् । श्रीमान् पनि रङ्गसँग खेल्ने, श्रीमती पनि रङ्गसँग खेल्ने । श्रीमान्ले श्रीमतीलाई, श्रीमतीले श्रीमान्लाई अपार माया पनि गर्ने । बच्चा छ; त्यसलाई पनि असीम माया दिन सक्ने । जीवन भनेको त प्रेम पो हो; समझदारी पो हो । तब न यो दुःखमा पनि हाँसी-हाँसी टिक्छ । जीवनलाई, व्यङ्ग्य, असमझदारी र घृणा मात्र बनायो भने कसरी टिक्छ < सुनिता र सुदर्शन कै जीवन हेरौं न । दुवै कलाकार, दुवै तल्लीन आफ्ना सृजनाहरूमा तर एकले अर्कालाई गर्नु माया गरेकै छन् । छोरीलाई दिनु सुख दिएर हुर्काएकै छन् । जीवन त यस्तो पो हुन्छ । मेरो जीवन त के < के ! हो भन्नु कि होइन भन्नु ! किरण दाइ, किरण मानन्धर दाइकै जीवन हेर्छु छक्क पर्छु । कलाकारकी श्रीमती कलाकारै हुनुपर्छ भन्ने छैन । माया हो, एक अर्काप्रति श्रद्धा, विश्वास हो - समर्पण र त्याग हो; प्रेम हो; समझदारी हो । सरिता भाउजूले कस्तो बलियो आड दिएको छ किरण दाइलाई । उहाँको छोरा सागर पनि राम्रो कलाकार भएर निस्कदै छ ।

जे हो प्रेम हो उन्नतिमा बल दिने ; समझदारी हो प्रगतिमा बल दिने ।

आफ्नै साथी सरिता डङ्गोललाई हेर्दा पनि आनन्द लाग्छ मलाई । सुरेश दाइ कलाकार होइन । ट्राभल एजेन्सी चलाएर बस्नु भएको छ । तर कति गतिलो भरथेग दिनुभएको छ सरितालाई ! पतिले पत्नीलाई त्यसरी साथ दिए पो पत्नी अगाडि बढ्न सक्छे । मेरो त के - के ।

'यही हो यिनले माइतबाट दाइजो लिएर आएको । टिनका बट्टाहरू, रङ्गका टयुबहरू, यी ...... बुरुसहरू, कात्रो बनाउन मिल्ने सेतो कपडा, चितामा बाल्न मिल्ने दाउरा ।'

मेरो श्रीमान्ले हाँसी हाँसी, ठट्टै ठट्टामा भनेको उनको साथीलाई । मेरै अगाडि, त्यो दिन त मलाई धर्तीमै भासिन पाए पनि हुन्थ्यो जस्तो लागेको थियो । खुब पछुतो लागेको थियो बिहे गरेकोमा । खुब पछुतो लागेको थियो सुरुसुरुकै दिनमा पारपाचुके गरेर नछुट्टिएकोमा ।

अहिले छुट्टियौं जस्तो लाग्छ तर बच्चाको माया लाग्छ । बाबु आमा नमिलेका र झगडा गरेर छुट्टिएकाहरूका सन्तान साह्रै अभागी हुन्छन् । मलाई आफ्नो बच्चा अभागी बनाउन पनि मन लाग्दैन ।

कस्तो दोधारमा परें म - एकातिर बच्चा छ अर्कोतिर चित्रकारिता ।

उनी मेरो हरेक प्रदर्शनीमा आउँछन् । मेरा चित्रहरूलाई खुब दिल दिएर हेर्छन् । बधाई दिन कहिल्यै बिर्सदैनन् । उत्तरोत्तर प्रगतिको कामना गर्न कहिल्यै बिर्सदैनन् ।

'अश्लेषाजी ! तपाईं हाम्रो देशको तारा हो तारा । मलाई तपाईंले बनाउनुभएका चित्रहरू कस्तो मन पर्छन् ! हुरुक्कै हुन्छु म त ।'

उनी विना सङ्कोच यस्ता कुराहरू मलाई भन्छन् । उनको मनमा कुनै नराम्रो भावना देखिंदैन । उनको प्रशंसामा सतहीपन देखिंदैन । उनले जे भनेका हुन्छन् हृदयबाट भनेका हुन्छन् । एकदमै स्वाभाविकता हुन्छ उनको अभिव्यक्तिमा ।यस्तो मान्छेसँग चाहिँ मेरो जीवन किन गाँसिन पुगेन <

उनले तीन वटा चित्रहरू किनिसके मेरा । घरमा साह्रै सुन्दर ढङ्गले, एकदमै आदर गरेर सजाएका छन् रे ती चित्रहरूलाई ।

'मेरो सबभन्दा मन पर्ने चित्रकारका चित्रहरू हुन् यी ।' उनी अरुहरूलाई भन्छन् रे ।

एक दिन मेरो एउटा चित्र प्रदर्शनीमा मैले मेरो श्रीमान्लाई पनि आदरपूर्वक लगेकी थिएँ । कतै उहाँमा केही परिवर्तन आइहाल्छ कि भनेर । फ्रान्सका राजदूतले मेरो चित्रकला प्रदर्शनीको उद्घाटन गरिसकेपछि चित्रहरू हेर्दै थिए दर्शकहरू । मेरा यी प्रशंसकले मेरो श्रीमान्लाई भने, 'साह्रै भाग्यमानी हुनुहुन्छ तपाईं । कति प्रतिभाशाली श्रीमती पाउनुभएको छ !'

मेरो श्रीमान्ले कलाकारको पक्का श्रीमान् भए जस्तो गरेर एकदमै हार्दिकतापूर्वक भने जस्तो गरी हात मिलाएर कुममा धाप दिदै भनेका थिए, इरष्या लाग्यो कि क्या हो !'

'हो नि !'

गटट्ट हाँसेका थिए । निश्छलतापूर्वक उनी ।

मेरो श्रीमानले इरष्यापूर्वक व्यङ्ग गरे भन्ने उनले कहीं कतै बुझेनन् । यस्ता मानिससँग किन गाँसिएन मेरो जीवन !

उनी विवाहित रहेछन् । पत्नी रहिछिन् उनकी एकदमै सुशील । छोरी पनि रहिछिन् अत्यन्त अत्यन्त सुन्दरी । यो चित्र प्रदर्शनीमा उनीहरू तीनै जना आएका थिए ।

उनले आफ्नी पत्नी र छोरीको परिचय गराए मेरो श्रीमान्सँग । उनकी श्रीमतीले मेरो श्रीमान्लाई यसरी नमस्कार गरिन् मानौं मलाई कलाकार बनाउन मेरो श्रीमान्को सबभन्दा ठूलो योगदान छ । तिनी साँच्चै सुशील थिइन् । तिनको मप्रतिको व्यवहार एकदमै आदरणीय र शालीन थियो ।

उनकी श्रीमतीलाई सम्झदै मनमनै भनें मैले, 'साह्रै भाग्यमानी छयौ तिमी !'

त्यो सानो परिवार साह्रै सुखी देखिन्थ्यो ।

उद्घाटनको दिनको कार्यक्रम सकिएपछि म श्रीमान्सँगै घर फर्किएँ । घरमा आइसकेपछि लुगा फेर्दै गर्दा मेरा श्रीमान्ले मलाई व्यङ्ग वाण प्रहार गरे, 'नाठाहरू पछि लाग्न थाले जस्तो छ नि !'

नेपाली भएर पनि लगालग मेरा चित्रहरू किन्ने तिनै हुन् भन्ने कुरा मैले मेरो श्रीमान्लाई भन्न सकेकी छैन । कसरी भन्न सक्नु मैले ! भनें भने कुन बबाल होला । हरे म त त्यसको कल्पनै गर्न सक्तिनँ ।

तिनै प्रशंसकको पोट्रेट बनाउँदै, रङ्गहरूले पोत्दै मेट्दै गरिरहेकी थिएँ म - झुटो शीर्षक दिंदै 'एक किसान ।

Segments: 
Author: 

Comments