मान्छेको छाउरो/ जगदीश घिमिरे

Your rating: None Average: 4.5 (4 votes)

निस्तब्ध रात कुनै स्वास्नीमान्छेको निर्जीव हृदय हो, जसलाई चिरेर एउटा तीतो स्वर, कुकुरको सानू छाउरोको प्रलाप, बाँसको लिङ्गोजस्तै ठडिन्छ आकाश छुने गरी - क्याइँ क्वँ वाँ वाँ वाँ ईं ईं ईं क्वाँ वाँ वाँ वाँ वाँ ईं ईं ईं ईं ईं ईं...! यो चीत्कार दोहेरिन्छ, तेहरिन्छ, चौहरिन्छ, प्रत्येक पटक अझ सघन, अँ तिखो, अझ अग्लो भएर कराउँछ यो आवाज।

किस्नेलाई यो मन पर्दैन।

ढोकाबाहिर चिसो सडकमा नाङ्गो आकाशमुन्तिर जरुवा पानीझैं यो आवाज भुलुभुलु उम्रेको छ, प्रत्येक पछिल्लो क्षणमा झ्याङ्गिदो छ र किस्ने ढोकाभित्र रेष्टुराँको चिसो छिंडीमा शीताङ्ग छ। विचित्र किसिमको जाडोले ऊ काम्दो छ। उसका पैताला भुइँजति चिसा छन्; औंलाका टुप्पामा ठिही छ। अनि घुँडामा एक किसिमको दुखाइ छ। जति बढी चिसिंदै गयो, त्यो दुखाइ उति बढी हुँदै जान्छ। उसलाई पनि एक पटक त्यै कुकुरको छाउरोजस्तो गी कराउन मन लाग्छ। तर सक्तैन। किनभने ऊ मानिसको छाउरो हो र ऊ ढोकाभित्र छ।

त्यसैले किस्नेलाई त्यस कुकुरको छाउरोको आवाज तीतो लाग्छ। के ढोका खोलिदिऊँ, छाउरो भित्र पसोस्, अँगालेर सुतूँ, उसलाई पनि तातो, आफूलाई पनि तातो, ऊ सोच्छ! विचार बेसै हो, ऊ विचारप्रति विचा गर्छ। तर ऊ ढोका खोल्न उठ्दैन। दुइटा बेन्च जोडेर सुतेको छ। सासको तातोले अनुहार र छाती, काखीको तातोले दुवै हत्केला तातेका छन्। ती जम्मै सेलाउँछन् ढोका खोल्न उठ्यो भने। पैताला हिमाल हुन्छ। अहँ, ऊसँग त्यति जाँगर छैन। छाउरो अझ तीव्रतासाथ उकेल्छ उसको छातीमा नअटाएका तीतो।

रेष्ट्राँ बाह्र बजे बन्द भयो होला। तीनटा ऊजस्ता मसिना भुरा केटाहरु तीनटा लाठे कुकहरूसँगै गए। तिनीहरू कुकहरूकै डेरामा कुकहरूसँगै सुत्छन्। चौथो कुकसँग ऊ सुत्दथ्यो, जसले एक महिनाअगाडि मात्रै एउटी रण्डीसँग बिहा गरेको छ। अत: किस्नेको ठाउँ स्वत: त्यस रण्डीले लिएकी छ। यसरी हाल ऊ रेष्ट्राँमा सुत्ने गर्छ, एक्लै। काठमाडौंमा उसको जाडोको यो दोस्रो अनुभव हो। पोहोरको हिउँद उसले पल र जूलीसँग सुतेर बितायो। पल एउटा फ्रेन्च हिप्पी र जूली एउटी डच हिप्पिनी। उसको पहाडमा यस्तो विधि जाडो हुँदैनथ्यो। पोहोर दशैंताक ऊ यहाँ सडकमा सुतेर बिताउँथ्यो तैपनि यस्तो जाडो लागेको थिएन। कुकुरको छाउरो किन त्यसरी कराएको हँ? भोलि बिहानसम्म पक्कै मर्छ क्यार! कि ढोका खोलिदिने हो?
(अब छाउरो धेरैचोटि क्वाइँ क्वाइँ नगरेर थोरैचोटि तर धेरै लामू समयसम्म र जोडसँग क्वाँ... ईं... क्वाँ... ईं... गर्न लागेको थियो।)

घरबाट भाग्दा ऊ माग्ने हात र खाने मुख मात्रै बोकेर आफ्ना खुट्टामा सवार भएर भागेको थियो, मूलबाटै मूलबाटो। उसलाई थाहा थियो, सुनिरा'को थियो, पढेलेखेका ठिटाहरु नेपाललाई 'काठमाडौं' पनि भन्छन्, खूब बयान गर्छन्। अत: उसले 'तीन सहर नेपाल' जाने मूलबाटो समायो। उसले धुलिखेललाई 'नेपाल' भनिठान्यो, बनेपालाई 'नेपाल' भनिठान्यो, ठिमीलाई 'नेपाल' भनिठान्यो। नयाँसडक आइपुगेपछि चाहिं सक्कली 'नेपाल' आउनै छ भनिठान्यो।

धुलिखेल आइपुग्दा ऊ दुई दिनको भोको थियो र एउटा होटलमा भाँडा माझ्न थाल्यो, अहिले पल्टिरहेको होटेल उसले काम गरेको अठारौं होटेल हो। बीचमा ६ महिनाजति ढाक्रे थियो। दुई महिना माग्ने पेशा अपनायो। वसन्तपुरको पेटीमा सुत्यो। हिप्पी र टुरिस्ट देखेपछि सबै भुराजस्तै ऊ पनि हात फैलाएर पछि लाग्यो -
'नो मामा
नो पापा
नथिङ् टु इट
हँग्री: प्लीज!'

यो त्यहाँ सुत्ने सबै भुरालाई कण्ठै थियो, कुन्नि कसले सिकाइदिएको, सायद कुनै हिप्पीले जुन आफू पनि मागेर हिंड्थ्यो र बेलामौकामा तिनीहरूसँगै त्यहीं सँगै सुत्थ्यो।

किस्ने अझ सेलाउँदै जान्छ। सुत्ने बेलामा उसले आफूलाई रनक्कै तताएको थियो। गाँजा-चरेसको धूवाँले, बिहानदेखि सल्किरहेको हीटरको बाटो साटो काम लिइएका चार-पाँचओटा दमचुलीको मकलले, मान्छेको भीडले पनि कोठा केही तातै थियो। सुत्ने बेलामा उसले जम्मै मकलका गोल निथारपिथार पारेर एउटैमा खन्याएर भुङग्रो चम्काएको थियो र हातखुट्टा सबै तताएको थियो। त्यै रन्कोमा ऊ दुई-तीन घण्टासम्म निदायो पनि तर अहिले ब्यूँझेको छ। ... सायद छैन। उसले यो निधो गर्न सकेको छैन, ऊ निदाएको छ वा ब्यूँझेको छ। बिहान सात बजे मालिक ओर्लन्छ। त्यति बेलादेखि राति बाह्र-एक बजे मात्रै कामको जुवा काँधबाट ओर्लन्छ। त्यस बेला मालिकको, साथी बेराहरुको, कुकहरुको आँखा छलेर उङ्नसम्म पाइन्छ। अनि, कहिल्यै अघाउन्जेल सुत्न नपाएको निद्रा, थकाइ र आलस्यको बोझले गर्दा जति जाडो भए पनि, जति चिसो भए पनि ऊ राम्रै ब्यूँझेको छैन। तर ऊ छाउरो रोएको तीतो स्वर अवस्य सुनिरहेछ र बिथोलिरहेछ। ढोका खोलेर त्यसलाई हुलूँ कि नहुलूँ? दोधारमा छ।

उसलाई थकाइ, निद्रा र आलस्यभन्दा चिसो र ब्यूँझाइले जितेछ क्यार, सिरानमुनिबाट उसले एउटा चरेस भएको चुरोट झिक्छ, जुन आज दिउँसो उसलाई बयाथी भन्ने अङ्ग्रेज हिप्पिनीले दिएकी थिई। सल्काएर सुईसुई तान्न थाल्छ।

पल यो हिउँदमा, नोभेम्बरमै फेरि आउँछु भनेर गएको हो; क्रिसमस भैसक्यो, तर आएन। पलसँग दोस्ती भएपछि ऊ पलसँगै सुत्न लाग्यो। पलसँगै खान। पलसँगै डुल्न।

पलले उसलाई बालगिरीको होन्डामा बारबीसे डुलाउन पनि लगेको थियो। पल नाङ्गै सुत्थ्यो। मागेर हिँड्नेताका गाँजा खान, चरेस खान उसले पनि पलसँगै सिकेको हो। पल भन्थ्यो, "म तँलाई माया गर्छु।"

किस्नेलाई पनि पलको माया लाग्छ। तर यो हिउँदमा, यो चिसोमा ऊ पलको अँगालोमा सुत्न पाएन। पल आएन, न जूली नै आई। जूली त नेपालमा थिई, साथीहरुसँग ट्रेकिङमा गएकी तर फर्किन। साथीहरू पीटर, क्रिस्टी, ओभ, मेडलिन सबै फर्किसके। ऊबारे सोध्दाखेरि 'हू नोज?' भन्छन् जसको ठीक अर्थ किस्नेले बुझ्न सकेको छैन।

जूलीले पनि उसलाई महिनौं आफ्नू कोठामा सुताएकी छ। आफूसँगै; तर जूली नाङ्गै सुत्दिन। एक दिन मध्यरातमा कुन्नि कताबाट बब आइपुगेपछि जूलीले उसलाई निकालिदिएकी थिई, रण्डी!

ऊ त्यै चुरोटसँग जोडेर चरेस भरेको अर्को चुरोट सल्काउँछ। चरेसको मातले उसको टाउको घुमाउन थाल्छ। उसलाई लाग्छ ऊ आफ्नू ओछ्यानबाट केही उचालिंदैछ। बाहिर छाउरो कराउँदैछ। जूलीले भनेकी थिई, चरेसले सोझै स्वर्गमा पुर्याउँछ। धरतीरूपी नर्कमा बस्नु पर्दैन, यो उसले अरूसँग अर्थ लाइमागेर जानेको। उसले जान्ने अङ्ग्रेजी त 'यस' र 'नो' अनि अलि-‍अलि टाकनटुकन मात्रै हो। सोच्यो ऊ स्वर्गतिर जाँदैछ, छाउरो रुँदैछ। उसले आफ्नै आमा सम्झ्यो, जूली पनि उसलाई कता-कता आमाजस्तै लाग्थी। उसलाई मायाले टाँस्थी पनि। एक जोर दोचा किनिदिएकी थिई।

ऊ पन्ध्र सालको अनिकालमा जन्मेको थियो र, जन्मेकै वर्ष बाबु खसेको र पच्चीस सालमा आमा पोइल गएपछि झड्केलो बाबुको कुटाइ खाएको बेहोसीमा, दशैंको मुखमा घर छोडेर भागेको थियो।

चरेसको सुरमा ऊ झड्केलो बाबुको जुँघा सम्झिन्छ। पलमा उसले आफ्नू झड्केलो बाबु देख्न सकेन... अब साँच्चै ऊ केही सम्झन सक्तैन... साँच्चै स्वर्ग जाँदैछ क्यार... ऊ चरेसको धूवाँ निल्दै जान्छ... ऊ त्यो कुकुरको छाउरोको तीतो आवाज सुन्न छाड्छ (यद्यपि त्यो छाउरो अझ बेसरी रुँदै हुन्छ)... ऊ आफ्नू शीताङ्गलाई बिर्सन्छ... भोलि बिहान सात बजेदेखि मेलोमा जोतिनुपर्ने बन्धनलाई बिर्सन्छ ... सात बजे पाइने दुइटा पाउरोटी र एक कप चियाको ब्रेकफास्टलाई बिर्सन्छ... महिना मरेपछि नगद पाउने रु. दशलाई बिर्सन्छ... !

तर भोलि मालिकले गाँजाको गन्ध पायो अर्थात् उसले गाँजा-चरेस खान्छ भन्ने थाहा पायो भने त्यस रेष्ट्राँबाट पाकेको तलब छाडेर निस्कनुपर्छ भन्ने बिर्संदैन, किनभने उसले त्यही अपराधको दण्डस्वरूप हरेक रष्ट्राँबाट निकालिमागेको हो।

ठुटो राम्रोसँग निभाएर फ्याँकिदिन्छ, तर ऊ ठुटो फ्याँक्न झट्कारेको हात फर्काउन सक्ने स्थितिमा हुँदैन चरेसको मातले गर्दा। उसको जिभ्रोमा चरेसको तीतो-तीतो स्वाद आइरहेको हुन्छ। घाँटी सुकेको हुन्छ।

भोलि दिउँसो देख्छ, हिजो राति रुने कुकुरको छाउरो आमाको लाम्टा चुस्दै थियो। यस दृश्यले उसलाई भरेका लागि चरेसदार चुरोटको जोहो गरिराख्न सम्झाइदियो, आमा होइन।

[ 'अभिव्यक्ति'मा प्रकाशित]

Segments: 

Comments

Recent Comments

About Online Sahitya


Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

© Online Sahitya Digital Library, All rights reserved. Online Sahitya is a digital library dedicated to Nepali Art and Nepali Literature.
For further details contact: onlinesahitya@gmail.com.