Loading

महाकविको सम्झना / शङ्कर लामिछाने

Mahakavi Laxmi Prasad Devkota२००७ सालको पुस महिनाको जाडो साँझ । मैतीदेवीको फाँटको बीच खेतमा टायलको एउटा घर । त्यसको ढोकामा म चिच्याउँदै थिएँ- 'देवकोटाजी हुनुहुन्छ ?' माथिबाट कुनै अंग्रेजी ऐतिहासिक किताब जोरसँग घोकेको शब्द आइरहेको थियो । मेरो मनमा लाग्यो सायद हेनरी आदौंका जीवनी पढ्ने यो कुनै मेट्रिकको विद्यार्थीका घरमा म पुगेछु भूलले ।

सेतो पुरानो छिटको धोती लाएकी एकजनाले मेरो नगिच आएर भन्नुभयो- 'माथि ऊ त्यो कोठामा जानुहोस् ।'

जीवनमा पहिलोचोटि देवकोटाजीसित परिचय पाउने उत्साहमा मेरो मन धकमक गरिरहेको थियो । 'सुन्दरीजल' र 'शाकुन्तल महाकाव्य' लेख्ने कविको साक्षात् दर्शन । भर्‍याङको हरेक खुड्किला पहाडझैं लागेपछि २/२ वटा गरेर म कोठामा उप|mेर एक्कासि पुगेँ । देखेँ- कालो कम्बलले गुटुमुटु भएर एउटा मैलो फोहोर ओछ्यानमा पल्टेर घोप्टिई देब्रे हातले चिउँडो अडाएर उच्चस्वरमा एकाग्र चित्त भई पढिरहेछ । एक मन त लगत्तै र्फकूंजस्तो लाग्यो सायद उहाँ त्यो महाकवि होइन होला भन्ठानेर । के छ अनुहारमा कालो फुस्रो मुख छ । कपालका रौं आफूखुसी दस दिशा दौडिरहेछन् । कम्बलबाट निस्केका हातमा झ्याप्प झ्याप्पी रौं कालो फुस्रो हात मसी-मसी लागेको । यस्तो मानिस पनि महाकवि । कोठामा चारैतिर हेरेँ । आँधीझैँ हुरी भर्खरै त्यहाँ नाचेर गएझैँ हरेक दिशामा कागज छन् । सायदै कुनै किताब सद्दे होला, मसी नघोप्टिएको । सुकुलको कुना नराम्रो देखिन्थ्यो- एक कुनामा मात्र उज्यालो भएर होला । कुनै समयमा पोतेको चुन झरिसकेको थियो र आज त्यही भित्तामा एकातिर श्रीकृष्ण, रवीन्द्रनाथ टैगोर, अर्काेतिर अर्काे कुनै दारीवाल बूढो, यिनीहरूका चित्र पेन्सिलले लेखिएका छन् । यत्तिले नपुगेर फुटेको मकल, चारैतिर झरेको खरानी । मेरो उपस्थितिको ज्ञान भए छ क्या त्यो संगीत अकस्मात् बन्द गरेर उहाँ मतिर हेरिरहनुभएको ।

'देवकोटाजी ?' प्रश्नसूचक दृष्टिले हेर्दै मैले सोधें ।

'जी आउनुहोस् ।' उहाँले जबाफ दिनुभयो । सायद होइन भनेको भए म ज्यादा आनन्दित हुने थिएँ होला । त्यस्तो मानिसलाई महाकवि होलान् भन्ने मैले नसोचेकाले पनि त्यसो हुन सक्छ । नगिच गएर बसेँ ।

'तपाईंलाई चिन्दिनँ ?'

'यो पत्रले चिनाउनेछ' भनेर मैले आफ्ना मामाको पत्र उहाँका हातमा राखिदिएँ । कमसेकम तीनचोटि माथिदेखि तलसम्म हेरेर अनि र्फकेर मतिर हेरी उहाँले भन्नुभयो- 'उसो भए उहाँको तपाईं आफ्नै भानिज ?'

'जी'

पत्रमा थियो देवकोटाजीसँग एउटा अनुरोध । उहाँका लघु कथासंग्रह गर्ने साधन एवं अनुमति । श्री ईश्वर बराल सम्पादनमा ।

'मैले लेखेका कथाहरू त कता छन् कता' सम्झेझैं गरेर उहाँले फेरि भन्नुभयो । 'खस्याङखुसुङ लेख्थेँ । बसीबियाँलो गरेर त्यो पनि काशीबाट आएदेखि त स्थिति नै मिलेको छैन । देखिहाल्नुभयो होला त ?' चारैतिर कोठामा औंला नचाइदिनुभयो । यो नग्न सत्यताको सहाराले मेरो मनको मैलोपन जम्मै पखालिदियो ।

'खोजखाज गरेर' ... म भन्दै थिएँ । उहाँ हाँस्नुभयो ।

'कहाँ ? ... प्रकाशकी आमाले लेखेर पैसा आउने होइन भनी अस्ति झन्डै फालिदिएकी । बल्लबल्ल केही उम्काएर छोराले पो राखेको छ । कागज, कलम, मसी जम्मैमा कफ्र्यु पो लागेको छ ।

मलाई खिन्नताका साथ हाँस्नुपर्‍यो किनभने उहाँ आफैं हाँसिरहनुभएको थियो । 'बनारस जाने ?' सोध्नुभयो ।

'मानिस जानेछन् ४/५ दिनमा । उनकै हात पठाउन पाए असल हुने थियो ।' 'ठीक भन्नुभयो ।'

'एउटा चिठी त आजै पठाउँदै छु । तपाईंको पनि केही ... ।'

'हुन्छ ... हुन्छ ...' स्वीकार गरेर उहाँले डसना 

पल्टाउनुभयो । फुलमार चुरोटका ठुटा कमसेकम २७ जति होलान् डसनाका कापमा । एउटा झिकेर मतिर हेर्नुभयो । खल्तीबाट सिंगो चुरोट एवं सलाइ झिकेर मैले उहाँलाई दिएँ । असल चुरोटलाई ओल्टाइपल्टाई हेरिदिँदा मलाई त्यसबखत आफैंमाथि लाज लाग्यो, किन किन ? चुरोट सल्काएर उहाँले आफ्ना अनुसन्धान जारी राख्नुभयो । अन्तमा निराश भएर मतिर हेरी भन्नुभयो- 

'तपाईंसँग कलम छ ?'

बानीले होला दाहिने हात झट्ट माथिल्लो खल्तीमा पुगिहाल्यो तर अपसोचसाथ मैले भनेँ- 'छैन, घरमा छुटेछ ।' थाहा छैन कुन कुनाबाट कान्छी औंलाजत्रो सिसाकलम झिकेर उहाँले अगाडि राख्नुभयो । त्यो पनि नतिखारेको ।

'चक्कु छ ?'

'...' आजकल ठिटा कहाँ खल्तीमा चक्कु हालेर हिँड्छन् र, ओढ्ने छोडेर उहाँ उठ्नुभयो । अनि देखेँ- महाकविको सच्चा रूप । जीउमा सिर्फ एउटा धोती छ । न भोटो, न गन्जी न कमिज ।

कोही नपाएर होला उहाँ त्यसै र्फकनुभयो अनि ईश्वरीय औजारले कलम ताछ्न लाग्नुभयो दाँत एवं नंग्राले । बीचबीचमा कुरा हुँदै थियो । उहाँ आफैं बोलिरहनुभएको थियो । मेरो त घाँटीभित्र आगो जलिरहेको थियो ।

'नरेन्द्रजीकहाँ बनारसमा बडो आनन्दमा थिएँ तर के जन्जालमा आउनु भन्नु लेखेको रहेछ ।'

दाँतको एक झोंकले सिसाकलम भाँचियो । लेख्ने एउटै उपाय थियो त्यो पनि ... । आज चिठी नलेखिने होला भनेर म निराश भएँ तर कविजीले सिसाकलमको काठ झिकेर आखिर एक इन्ची मात्र लामो सिसाले मात्र लेख्न लाग्नुभयो । औंलामा हराउने त्यत्रो सानो सिसाले पनि लेख्न सम्भव हुँदोरहेछ भनेर मैले जीवनमा पहिलोचोटि थाहा पाएँ ।

मेरा आँखामा खपीनसक्नु आँसु भरिए । मैले सोचेँ- नेपालका महाकविको आज यो दशा छ । एउटा बर्नाड श छन् जसका प्रत्येक शब्दको मोल एक रुपैयाँ छ र एउटा देवकोटा छन् जसका ... साँच्ची, नेपालीहरू मानिस चिन्दैनन् । नेपाली कलाको पूजा गर्न जान्दैनन् । आफ्नो गौरव पनि बुझ्दैनन् । थाहा छैन, मेरो मनले कति सराप्यो । कतिको दुःख पायो । आफ्नो सफा लुगासँग मलाई आफसेआफ घृणा लाग्यो । मेरा असल कलम, घडी, बिलायती जुत्ता ... छिः मलाई आफूदेखि घृणा लाग्यो ।

त्यो चिठी त आज मसँग छैन तर त्यो बहुमूल्य चिठीको केही वाक्य म अहिले पनि झलझल सम्झन्छु । 'महाशय, मलाई अहिल्यै माघ-पुस लागेको छ । माघ झरीझैं मेरो जीवन नै कठाङ्गि्ररहेछ । मनमगजमा तुषारो जमेझैं दुःख जमेका छन् । आज मैले लेखेका साहित्य के साहित्य होलान् र ?'

ऐतिहासिक यो पत्र जसको मूल्य सन् १९५२ मा १०,००० भन्दा कम होइन, लिएर मनमनै कठाङ्गि्रँदै म पनि बाहिर निस्केँ ।

मेरो जीवनमा देवकोटाजीसितको यो पहिलो भेट हो । ४/५ दिनपछि एकचोटि आउनु भनेकाले फेरि पुगेँ । स्याना बच्चाबच्ची पिठ्युँमा घोडा चढिरहेका र हाम्रा कविजी एक नयाँ कविताको सिर्जना गरिरहनुभएको । मलाई यो देखेर आश्चर्य लाग्यो ।

मानिस भन्छन्, कविता लेख्न एकदम एकान्त चाहिन्छ कुनै किसिमको खलबल कोलाहल हुनु हुँदैन तर हाम्रा गुरुजीको त्यस्तो परिस्थितिमा समेत लेख्ने विलक्षणता देखेर आश्चर्य लाग्यो ।

'आहा, कहानी लेख्न भुसुक्क बिर्सेछु ।' मनमा ठूलो आशा लिएर आएको थिएँ । एकदम निराश भएँ । गुरुजी भन्दै हुनुहुन्थ्यो 'यो एउटा कवितामा खस्याङखुसुङ अल्मलिएको । सुन्नुहुन्छ ?'

'हवस् ।'

कविता थियो अंग्रेजीमा प्रोमिथिस अन्बाउन्ड । मैले खोक्रो रबाफ नराखेर भनेका खण्डमा यो भन्नु अत्युक्ति होइन कि देवकोटाजीबाहेक अरू कसैको मुखबाट त्यो कविता सुनेको भए, म आफैंले पनि पढेको भए, मैले बुझ्ने थिइनँ । पृथ्वी आएका प्रथम पुरुषको स्वतन्त्रता लिएर रचिएको थियो त्यो कविता । आठ-आठ पंक्तिमै । त्यसमा अनौठो प्रयोग जुन गुरुजीले गर्नुभएको थियो, त्यो हो नेपालीकरण पनि आठै पंक्तिमा । फेरि यो पनि होइन कि एक भर्सलाई लिएर त्यसको सिधा अनुवाद । अंग्रेजीमा आठ लाइन, नेपाली आठ लाइन । अंग्रेजीको जुनसुकै लाइनसँग नेपालीको उही नम्बरको लाइन मिलाउनु उही रूपमा । फेरि कतै कठिन भए पनि एउटा कुरा ।... यदि मैले यहाँ यो भने कसैले पत्याउँदैनन् होला तर त्यो कविता प्रकाशित भएका खण्डमा गुरुजीबाहेक त्यसलाई राम्ररी पढाउन सक्ने र त्यसको पूर्ण मीमांसा दिन सक्ने मानिस विरलै होलान् कमसेकम यो २५ वर्षयता । यो कविता अहिलेको नेपाललाई होइन, २५/५० वर्षपछिको नेपाललाई हो ।

'तपाईंलाई कस्तो लाग्यो ?' गुरुजीले सोध्नुभयो ।

'खै, गुरुजी, मैले पत्ता लगाउन सकिनँ, मलाई कस्तो 

लाग्यो ।' लाग्छ हामीलाई त्यसबेला, जब हामी राम्ररी तहमा पुग्छौं । मलाई कविता त अनौठो लाग्यो तर त्योभन्दा अर्कै कुरा अनौठो लाग्यो, भनूँ ?'

'आम्मै भन्नुस् न ।'

'तपाईं असमयमा जन्मनुभएछ पो भन्ने लाग्यो । तपाईंजस्ता मानिसका लागि नेपाल बनिसकेको छैन ।'

गुरुजी हाँस्न थाल्नुभयो । 'तपाईंले त मलाई मानिसै ठान्नुभएन । मेरो भनाइ कवितामा पो छ ।' म पनि हाँसेँ अनि सम्झेँ- भोलि मानिस बनारस जाँदै छ । भनेँ- 'भोलि पनि कहानी पठाउन पाइएन भने ... ।' बोल्दाबोल्दै रोकिएँ के भनूँ भनेर ।

'कति बज्यो हेर्नुस् त ?'

'छ बज्न लाग्यो ।'

'भोलि कुन बेला मानिस जाँदै छ ?'

'बिहान नौ बजेतिर ।'

'तपाईंलाई कतिवटा कहानी चाहिने ?'

'विभिन्न किसिमका १०/१२ वटा र १२ भयो भने छानेर १० वटा संकलन गर्न सकिन्थ्यो ।'

'१२ कहानी ... १२ घन्टा ...' गुरुजी सोच्न लाग्नुभयो । नबुझेर म आश्चर्य मानिरहेको थिएँ । एकैछिन पछि भन्नुभयो ।

'यसो गरूँ, आज तपाईं यहीँ बस्नोस् । म बोल्दै जान्छु, तपाईं लेख्दै जानोस् । बिहान ६ बजेसम्म कसो नसकिएला । हुन्न ? थाक्नु त हुन्न हगि ? भोलि बिहान कहानी जम्मै पुर्‍याइदिनेछु ।'

यति सजिलोसँग यो कुरा भनिएको थियो कि मैले पहिले यसको माने नै बुझ्न सकिनँ । जब बुझेँ अक्मकाएँ । रातभरि एक थलामा बसेर लेख्नु रे ... न खानु न पिउनु रे ... र फेरि घरमा भाइहरू बिरामी ।

'यसो त कसरी ... ।'

'मकहाँ बस्न तपाईंलाई केही आपत्ति छ ? यहीँ खानुहोला नमिठो भए पनि ।' 

'खान त केही छैन तर रातभरि ... घरमा बिरामी छन् ।'

'उसो भए जुन बेलासम्म सक्नुहुन्छ लेखूँ अनि सकिएको कहानीचाहिँ लैजानुहोला ।' इन्कार गर्न सकिनँ, थालेँ लेख्न ६ देखि १० बजेसम्म । ४ घन्टामा ५ कहानी लेखियो । महाकविको शक्तिको परिचय मैले त्यसबेला थाहा पाएँ । हामीलाई जीवनका आफ्ना घटनाहरू सुनाउँदा बीचबीचमा अड्नुपर्छ, उहाँ भने कल्पनाका आधारमा कसरी नयाँ प्लट, नयाँ शब्द एकदमै नदोहोर्‍याई काटकुट नगरी, नअक्मकाई भन्दै जानुहुन्छ कुनै किताब पढेझैँ । सायद त्यसभन्दा पनि छिटो मैले सर्टह्यान्ड जानेको भए, या रेकर्डिङ गर्न मसिन भएको भए, मलाई आशा छ र विश्वास पनि त्यस ४/५ घन्टाको अवधिमा १२ वटै कहानी लिएर आउने थिएँ ।

त्यस बखतमा बटुलिएका- म यहाँ जानीजानी बटुलिएको भन्ने शब्द भनिरहेछु किनकि भण्डारमा चामल बटुलेझैं लागेको थियो मलाई । त्यसबेला कहानीहरूमा 'मधुराबोडसी' र 'चिनियाँ प्रेमी' उल्लेखनीय छन् ।

र्फकने बेलामा कागजको एक मुठो अगाडि राखेर गुरुजीले भन्नुभयो- 'मकहाँ हराउनेछन् । जो पनि आउँछ, लैजान्छ, हराइदिन्छ । यी अलिकति गद्य र कवितासंग्रह छन्, आफूकहाँ सुरक्षित राखिदिनोस् । तपाईंकाँ भो भने हराउनेछैनन् ।'

घर आएर पोको फुकाएर हेरेँ, पढ्दै गएँ निद्रा मारेर । तिनमा उल्लेखनीय छन्- 'अन स्मोकिङ एक्जिस्टेन्स अफ गुड र इन्डियन समर क्लाउड र कवितामा लर्ड कृष्ण र गड इत्यादि ।

ती सायद अहिले प्रकाशित भएका छैनन् तर जब प्रकाशित हुनेछन् अनि हामीले थाहा पाउनेछौं- अंग्रेजी भाषामा पनि देवकोटाजीको कति प्रवाह छ ।

Comments