Loading

कुचो बेचेर किताब छाप्थे मगर आदिकवि

- दुर्गालाल केसी

दाङ, फाल्गुन १० - ३८ वर्षसम्म मरिसक्यो भनेको मानिस एक्कासि देखा पर्दा जोकोहीले औंलो टोक्न सक्छन् । आफ्नो नाममा सालिक, विद्यालय र प्रतिष्ठानहरू बनेको थाहा पाउनेलाई झन् कस्तो अनुभूति होला ? यस्तो दुर्लभ अनुभव मगर आदिकवि जितबहादुर थापा सिंजालीबाहेक अन्यले सायदै गरेका छन् ।

उनलाई जितबहादुर थापा सिंजाली प्रतिष्ठानले लामो खोजीबाट फेला पारेको हो । २०२४ देखि गाउँ छोडेका उनी २०६२ सम्म परिवार र आफन्तहरूको सम्पर्कबाट टाढा रहे । त्यही वर्ष उनी गुल्मीको लुम्प्याकमा भेटिएका थिए । अहिले पनि उनी हत्तपत्त कसैको सम्पर्कमा आउन चाहँदैनन् । सिंजाली १९९८ जेठ १८ मा गुल्मीको लुम्पेकस्थित मावली गाउँमा जन्मिएका हुन् । उनको स्थायी घर भने स्याङ्जाको तत्कालीन गर्मकोटाकोट-४ आलमदेवीमा पर्छ ।

२०१७ मा काठमाडांैको दरबार हाईस्कुलबाट एसएलसी गरेका सिंजालीले त्यहीँको नेसनल कलेजबाट अंग्रेजी लिएर २०२१ मा आईए पास गरे । आर्थिक अभाव र बिरामीका कारण पढाइ छोड्नुपरेपछि उनले समाजसेवा र राजनीतिमा लामो समय बिताए । पञ्चायती शासनविरुद्ध बोलेको भन्दै उनलाई जेल हालियो । उनले लेखेका किताब जलाइए । त्यस समय उनी नुवाकोटमा ६ महिना जेल पनि परेका थिए ।

पञ्चायती शासनविरोधी अभियानका क्रममा रोल्पा, नुवाकोट, नवलपरासी, प्युठान, लामीडाँडा, अर्घाखाँचीलगायतमा शिक्षण गर्दै उनी २०२६ मा दाङ आए । भारतीय सीमावर्ती क्षेत्र राजपुर-७ खांग्रा नाकामा उनले रोल्पाबाट ८० सुकुम्बासीलाई ल्याएर बसाएका थिए । 'त्यसपछि सीमा क्षेत्रमा बस्ती बस्न थालेको हो,' हालै घोराहीमा भेटिएका उनले कान्तिपुरसँग भने ।

खांग्रामा बस्दा पनि उनले किताब लेखे । किताब छपाउनकै लागि कुचो बोकेर सदरमुकाम घोराही पुग्थे । 'कुचो बेचेर केही खर्च जुटाउँथें,' मगर आदिकविले भने, 'यसले गर्दा एकातिर मानिसहरूले सजिलै चिन्न नसक्ने भए, अर्कोतिर मेरो किताब छपाइको खर्च जुट्थ्यो ।' उनी कुचो बेच्दै दाङदेखि कपिलवस्तु, कृष्णनगरसम्म पनि पुग्थे । 'त्यहाँ मलाई कुचोबाजे भनेर चिन्नेहरू अहिले पनि धेरै छन्,' उनले भने, 'मेरो वास्तविक नामले कसैले थाहा पाएनन् ।'

दाङ बसाइकै क्रममा उनी २०५४ मा राजपुर गाविसको अध्यक्षमा उम्मेदवार बने । २०५६ को संसदीय निर्वाचनमा क्षेत्र नं. १ बाट कांग्रेस नेता खुमबहादुर खड्काका प्रतिद्वन्द्वी भएर स्वतन्त्र सांसदमा उठे ।

'सांसदको उम्मेदवार हुँदा पनि कुचो बेच्न छोडिनँ,' उनले भने, 'तर भोट माग्न कतै हिँडिनँ ।'

२०१७ मा 'मगर भाषाको शुरुऔं किताब' निकालेर मातृभाषामा लेखन सुरु गरेका सिंजालीले अहिलेसम्म १२ पुस्तक निकालिसकेका छन् । '६/७ वटा पुस्तक प्रकाशनको मुखमा छन् । २० भन्दा बढी पाण्डुलिपि तयार छन्,' उनले भने, 'नेताहरूको झैझगडाले मलाई साह्रै चिन्तित बनाएको छ । देशका यिनै विषयलाई समेटेर निरन्तर लेखिरहनेछु ।'

उनी अहिलेसम्म पनि निरन्तर रेडियो सुन्ने, पत्रिका पढ्ने गर्छन् । तर मानिसहरूको सम्पर्कबाट भने टाढै रहन चाहन्छन् । आफू मगर आदिकवि भएको उनले धेरैपछि मात्रै थाहा पाएका थिए रे ।

उनी किन लामो समय भूमिगत रहे र अहिले पनि किन सम्पर्कमा आउन चाहँदैनन् भन्नेबारे भने केही बताउन चाहँदैनन् । लामो समय कसैको सम्पर्कमा नआएका उनको मृत्यु भएको ठानेर स्याङ्जाको आर्कोटमा 'जितबहादुर सिंजाली प्राथमिक विद्यालय' खोलिएको छ । २०५८ मा काठमाडौंमा उनको स्मृतिमा प्रतिष्ठान गठन गरिएको छ । 'कतिले मर्‍यो भनेर लेखेछन् । कतिपय ठाउँमा त सालिक पनि बनाएछन्,' उनले भने, 'पछि थाहा पाउँदा आश्चर्य लाग्यो ।'

उनी फेला परेपछि संजोग लाफा मगरले उनका बारेमा 'जीवित तर मृत' डकुमेन्ट्री तयार पारे । 'प्रतिष्ठान गठनपछि हाम्रो पहिलो काम उहाँको खोजी गर्नु थियो । मृत कि जीवित भन्ने नै थाहा थिएन । सबैले मरिसकेको भने,' लाफाले भने, 'खोज्दै जाँदा २०६२ कात्तिक १२ गते गुल्मीको लुम्प्याकमा चिया खाँदै गरेको अवस्थामा फेला पारियो ।'
(Source: Kantipur Daily)

Segments: 

Comments