नेपाली साहित्यिमा माफियाकरण

दीर्घराज प्रसाईका अनुसार नेपाली साहित्यको लगाम माफियाहरूको आधिनमा छ । उनी लेख्छन्- साहित्यलाई ढाल बनाएर आफ्ना नाममा ठूला ठूला भ्रष्टाचारी, तस्करहरू र ब्यापारीहरूले ठूला ठूला रासीको पुरस्कार गुठी खोलेका छन् । साहित्य क्षेत्रमा कुनै पनि नाम निशान नभएका ब्यापारी, ठेकेदार र राजश्व ठगी गर्ने ठालू तस्कर र भ्रष्टहरूले कालो धनलाई सेतो धनमा परिणत गराउन ठूला साहित्यकार भनौदाहरू समेतलाई पुरस्कार दिएर नेपालका साहित्यकारहरूको चिरहरण गर्ने काम गर्दैआएका छन् ।

तपाईँलाई उनका कुरा कस्ता लागे, लेख्नु होला है !

 नेपालमा राजनीतिभित्र पसेका गद्दार व्यक्तिहरूले राजनीति त बिगारे–बिगारे, साहित्य जस्तो गरिमामय विषयलाई पनि ती माफियाहरूले कब्जामा लिएर मागिखाने भाँडोकोरुपमा परिणत गराउदै छन् । ठूलाठूला भ्रष्ट र तस्करहरूले आयोजना गरेको कथित साहित्यिक कार्यक्रममा ठूलाबडा मंत्री–फन्त्री सबै तँछाड-मछाड गरेर भेला हुन्छन् तर साँच्चैका साहित्यिक प्रेमीहरूले आयोजना गरेको कार्यक्रममा मुस्किलले आयोजकहरूका सम्पर्कका व्यक्तिहरू मात्रै टुप्लुक्क पुगिटोपल्छन् भने नेपाली साहित्यको स्तर कहाँ पुगेको होला नेपालमा ? २००७ सालमा प्रजातन्त्रको उदय हुनुभन्दा पहिलादेखि साहित्यको माध्यमबाट नेपाली समाजलाई चेतनशील बनाउनमा ठूलो योगदान भयो । साहित्य भनेको मनको असंतुष्टी र छट्पटिलाई चित्त बुझाउने मात्र माध्यम् नभएर राष्ट्रलाईनैं उचाल्नसक्ने शस्त्र मानिन्छ । वास्तवमा साहित्य एउटा सिर्जना हो । साहित्य र संगीत राष्ट्रको सम्पत्ति हो । संगीत विश्वको भाषा हो भने साहित्य सिर्जना हो । यी दुई वर्तमान र भविष्यका ऐना हुन् । संगीतले वर्तमानको प्रतिनिधित्व गर्छ भने साहित्यले वर्तमान र भविष्य दुबैलाई हिडाउँदछ । साहित्यको गहिराई र संगीतको भावमा आफ्नै कौतुहल लुकेको हुन्छ । साहित्य र संगीतले युगको प्रतिनिधत्व गर्ने गर्छ । साहित्य बारेमा कालीदासले भनेका छन्–“कवि करोती काब्यानि, रस जानन्ति पंडिता” कविले काव्यको रचना गर्दछन्, त्यसको रस विद्धानहरूले लिन्छन् । यो सत्य हो कि साहित्य भनेको मानवलाई असली पे्रममय रसस्वादन गराउने शास्त्रीय बाटो हो । तर हामी साहित्यकारहरूले कस्तो नेपालको परिकल्पना गरेका हुन्छौं यदि त्यो रचनात्मक छ भने त्यही धारको आधारमा नेपाललाई उचाल्न सकिन्छ । 

साहित्य,संगीत,दर्शन र कलाको कुनै सीमा हुँदैन । यसको विधा नै व्यापकता हो । तर पनि नेपाली साहित्यकारहरूले आफ्नो राष्ट्रियताको स्थितिलाई पनि महसुस् गर्न सक्नु पर्दछ । ‘घाँटी हेरी हाड निल्नु’ भने झैं यस्ता कुरालाई संकृर्ण ठान्नु हुन्न । नेपाली साहित्यका अग्रनी मध्येका लेखनाथ पौडयाल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, सिद्धीचरण श्रेष्ठ, ह्रदयचन्द्र सिंह प्रधान, भवानी भिक्षु, भीमनीधि तिवारी, धरणीधर कोइराला, महानन्द साप्कोटाहरूले कुनै पनि बेला नेपालको राष्ट्रिय एकता बिथोल्ने प्रकारको साहित्यको सिर्जना गर्ने काम गरेनन् । यथार्थ लेखे । देशको स्वाभिमान प्रति आवद्ध भएरैं उनीहरू विश्व साहित्यसंग दाँजिन पुगे । उनीहरूले देखाएको बाटो नराम्रो थियो भनेर कुनै समालोचकहरूले भन्न सकेका छैनन् । तर आज भोलि त साहित्य भनेको भ्रष्ट, माफिया र तस्कर र ठगहरूको चोरीखाने लिस्नो बन्नपुगेको छ । 

मानिसको जीवनमा कुनै न कुनै गहिरो छाप नपरी असल साहित्यको सिर्जना हुन सक्तैन । लिओ टोल्स्टाय, रविन्द्रनाथ ठाकुर, म्याक्सिम गोर्कीहरू आदि यस्ता स्रष्टाहरू छन् जस्लाई समयले जन्मायो । उनीहरूले सामाजिक ढाचालाई परिवर्तन गरेर देखाई दिए । यो एउटा तपस्या हो अनवरत संघर्ष । अहिलेको अवस्थामा साहित्यको माध्यमबाट जीवनलाई धरापमा पारेर हजारौं बर्षदेखि चलिआएको रुढिग्रस्त समाजलाई परिवर्तन गर्नसक्ने खुबी भएको कराहरूलाई सानो मानिदैन । अहिलेको संसारमा सलमान रुस्ती र ब्ांगलादेशकी तसलीमा नसरीनको विद्रोह र उनीहरूले प्रस्तुत गरेका निवन्धात्मक उपन्यासहरूले मानव समाजभित्रका असामाजिक व्यवहार र पद्धतिहरूलाई उजागार गरेर समान न्यायको आधारमा मानव मात्रले बाँच्न पाउने अवस्थाको चित्रण गर्दै भूँईचालो ल्याउने काम गरेकाछन् । उनीहरूले मुस्लिम् धर्मगन्थहरूमा हजारौं बर्षदेखि जीवनपद्धतिकोरुपमा चलेर आएका विसंगतिहरूलाई ऐना जस्तो छलङ्र्ग देखाएर प्रस्तुत गर्ने जुन सहास गरेकाछन् । साहित्यभित्र कविता, निवन्ध, उपन्यास, कथा, गीतहरू पर्दछन् । 

 भारतको राष्ट्रिय गानका रचयिता बंगाली कवि रविन्द्रनाथ ठाकुर हुन् । सन् १९११ मा ब्रिटिस सम्राट जर्ज पञ्चम भारतमा आउँदा उनलाई रिझाउन सम्मानार्थ स्वागत गान लेखिएको थियो । यसरी अतिथिको सम्मान गर्नु राम्रो कुरा हो । तर त्यही स्वागत गान– ‘जन गन मन अधिनायक, जय हे भाग्यविधाता... ’ गीतलाई भारत स्वतन्त्र भएपछि पनि राष्ट्रिय गानमा परिणत गरिनु स्वतन्त्र भारतीय जनताको लागि अभिसप्त भएकोछ । हामी नेपालीहरू अनुरोध गछौं कि अहिले भारत सार्वभौम राष्ट्र भएकाले उपनिवेषकालमा चाकरी गरिएर लेखिएको राष्ट्रिय गानलाई हटाएर नयाँ राष्ट्रिय गान सिर्जना गरिनु अत्यावश्यक छ । भारतीय जनताको लागि यसरी सँधै दासत्वको कुण्ठा बोकाउनु उचित हुन्न । इतिहासका गल्ती बोकेर सँधै अंग्रेजी दासत्वलाई मान्यता गर्ने काम भारतले नगरोस् । स्मरणरहोस्– त्यहीबेला चन्द्र शम्सेरको निमन्त्रणामा सम्राट जर्ज पञ्चम नेपालको तराइमा शिकार खेलेर फर्केका थिए । 

चिकित्साशास्त्रमा डिग्री हासिल गरेकी एक सशक्त क्रान्तिकारी महिला तसलीमा नसरीनले मानव समाजमा आमूल परिवर्तत चाहेर अनेकौं पुस्तकहरूको माध्यमबाट अनेकौं विचारहरू प्रस्तुत गरेकी हुन् । उनका पुस्तकहरू प्रतिबन्धित छन्, उनलाई बंगलादेशमा वारेन्ट छ । उनी भारतको पश्चिम बंगालको नागरिक भएर बस्न चाहेकी छन् । भारत जस्तो प्रजातान्त्रिक देशले उनको माग पूरा गरिदिनु पर्दछ ।  त्यस्तै सल्मान रुस्तीको ‘सटानिक भर्सेस’् पुस्तकको कारणले उनी हदैसम्म असुरक्षित छन् । यस परिस्थितिमा विश्वका मानव अधिकारवादीहरू कहाँ छन् ? विचार स्वतन्त्रताको पक्षधरहरूको लागि एक्काइसौ शताब्दीको मानव मात्रलाई यस्तो चुनौति ? अहिलेको संसारमा कुनै पनि धर्मको कारणले मानिसहरू बन्धक भएर बाँच्न सक्तैन । यद्यपि मुस्लिम धर्म सबै मुसलमानहरूको लागि प्यारो छ । तर पनि यस भित्रका विसंगतिहरूमा सुधार र परिवर्तन गर्ने कुरामा जसरी नसरीनले बाटो देखाउन प्रयत्न गरेकी छन् त्यसलाई मुसलमान धर्मगुरुहरूले सकारात्मकरुपमा लिनसक्नुपर्ने अवस्था छ । यस्तै प्रकारले नेपाली समाज भित्र ब्याप्त कुरीति र अमानवीय यथार्थतालाई प्रस्तुत गर्नसक्ने साहित्यकार नेपाली समाजले खोजेको छ ।

२०४६ को राजनीतिक परिवर्तन पछि राजनीतिक विकृति संघसंगै साहित्यिकक्षेत्र पनि अछुतो हुनसकेन । नेपालमा साहित्यलाई ढाल बनाएर आफ्ना नाममा ठूला ठूला भ्रष्टाचारी, तस्करहरू र ब्यापारीहरूले ठूला ठूला रासीको पुरस्कार गुठी खोल्न पुगे । यसरी नेपाली साहित्यको अस्मितालाई समाप्त पार्न अनेकौं कुचेष्टाहरू अपनाइयो । साहित्य क्षेत्रमा कुनै पनि नाम निशान नभएका ब्यापारी, ठेकेदार र राजश्व ठगी गर्ने ठालू तस्कर र भ्रष्टहरूले कालो धनलाई सेतो धनमा परिणत गराउन साहित्य जस्तो गरिमामय क्षेत्रलाई आफ्नो कब्जामा लिन आफ्नो प्रशन्सा, अर्चना लेख्न लगाउने  त्यस्ता कथीत पुस्तकहरू आफ्नै खर्चले छाप्ने र आफ्नै खर्चमा आफ्नै अभिनन्दन गर्न लगाएर आमन्त्रितहरूलाई मीठो मीठो खान दिएर व्यापक प्रचार गराउने र जस्लाई पुरस्कार दिदा आफूहरू चर्चामा आइन्छ त्यही काम गरेर ठूला ठूला साहित्यकार भनौदाहरू समेतलाई पुरस्कार दिएर नेपालका साहित्यकारहरूको चिरहरण गर्ने काम गर्दैआएका छन् । यसले गर्दा नेपाली साहित्य क्षेत्रनैं अहिले वदनाम हुनपुगेकोछ । यी तस्कर र भ्रष्टहरूले  टि.भी. र पत्रपत्रिकाहरूमा पनि खर्च गरेर राज्यका ठूल्ठूला स्थानहरूमा समेत पकड जमाउन सफल भइसकेकाछन् । नेपालमा साहित्यको यस्तो चीरहरण हुँदा पनि नेपालका समालोचकहरू लुकेर बसेका छन् । हुनसक्छ पुरस्कारको आशामा समालोचकहरू पनि भनसुनमा व्यस्त होलान् । हिजोका तारानाथ शर्मा, आनन्ददेव भट्ट, गोविन्द भट्ट, मोहन हिमांशु थापा लगायत त्यत्तिका समालोचकहरू कहाँ छन् ? अवको जमानामा धृतराष्ट्रको अभिनय गरेर कोही पनि उम्कन सक्तैन ।  

नेपालमा खोलिएका निजी क्षेत्रमा पुरस्कार गुठीहरूमा मदन पुरस्कार गुठी बाहेक अन्य पुरस्कार गुठी खोल्नेहरूको नियत राम्रो भएको भए साहित्य क्षेत्रलाई नछोई कसैले आफ्ना आमा बाबुको स्मृतिमा वा आफ्नो नाममा केही गर्न मन लागेमा त्यस्ता पैसा हुनेहरूले चौतारो, धर्मशाल वा याक्सा बनाएर आफ्नो नाम टाँस्न सक्थे । तर आफू वा आफ्नो बाबु वा आमा वा ठूला नेपालका लेखनाथ, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण समहरूको जस्ताको नाममा आफ्नो जिविकोपार्जन गर्नमा सक्षम भइसकेकाछन् । राष्ट्रको लागि यो सिधै ठगी हो । यस्ता गुठीहरू खोल्न पल्केकाहरूले आफ्नो प्रचार सजिलै पाउनसक्ने भएकाले कालो धनको आडमा दानवीर कहलिएका अनेकौ साहित्यिक पुरस्कार गुठीहरू खोलेर त्यसैको आडमा ठूल्ठूला पद र ठेक्का पडकाएर समाजनै दुषित बनाउने धृष्टता गरेका छन् । त्यसले गर्दा साहित्य क्षेत्र नै बिकाउ र चाकरीवाजको अखडा हुन पुगेको छ । उता मदन पुरस्कार गुठी पवित्र उद्धेश्य लिएर खडा भएका संस्थाहरू पनि त्यहाँका संचालकहरू यत्ति आडम्वरी भएका छन् कि पुरस्कार गुठीको सौदावाजी गर्दै आफ्नो गुनगान गराउनमा मदन पुरस्कारलाई खर्च गर्दैछन् । 

‘स्मशानका सामाग्री, हुँडारहरूले छोडेको शिकार र नरकको पैसा’ स्वाभिमानी साहित्यकार,कवि, कलाकारहरूको प्रसाद हुनसक्तैन भने ‘रछयानका फूलहरूको माला’ कुनै पनि साहित्यकारहरूको इज्जत हुनसक्तैन । तर यस्ता लोभहरूले साँचो साहित्यकारहरूलाई चोख्याउन सकेको छैन । तर हामी सबैले यो ख्याल गर्नु पर्ने हो कि रछयान्मा रहेका किराहरूको स्वतन्त्रतासित मानवीय स्वतन्त्रतालाई दाज्न हुँदैन । त्यस्ता वदनाम पुरस्कार र सम्मानहरू हामीहरू र संचार क्षेत्रले समेत बहिस्कार गर्न सक्यौ भने त्यत्तिनैं त्यस्ता तस्कर र भ्रष्टहरूका पुरस्कार र त्यस्ता तत्वहरू पाखा लाग्दै जानेछन् । वास्तवमा राज्यले अथवा राजकीय प्रज्ञा प्रतिष्ठानले गर्नु पर्ने काम गर्न ब्यापारी, भ्रष्टहरू र ठगहरूलाई किन चासो ? राज्य भित्रका प्रतिभाहरूलाई पुरस्कार बाँढ्ने हैसियत किन जो कोहीलाई ? यी सबै तथ्यहरूको आधारमा विश्लेषण गर्दा नेपालमा जहाँ जे जति साहित्यको नाममा पुरस्कार गुठी र संस्थाहरू खुलेका छन् ती सबैलाई नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले आफ्नो कब्जामा लिई प्रस्तुत गुठीहरूका रकमहरूलाई व्यवस्थित गरेर नेपालको साहित्य क्षेत्रलाई माफिया र भाँडतन्त्रबाट जोगाउन सक्नुपर्ने अवस्थाछ । यदि यसो भएन भने नेपाली साहित्यिक क्षेत्र नैं साहित्यिक ठगहरूबाट उपहास बन्न जानेछ । नेपाली साहित्यलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि भन्नु भएको थियो–“जस्ले समाजको हानी गर्दछ, त्यो जहर हो ‘जहर’ असली साहित्य होइन ।” 

dirgharajprasai@gmail.com