असममा देवकोटा / पर्वत पोर्तेल

Author

असमको राजधानीस्थित डाउन टाउन युनिभर्सिटीको सभाकक्ष खचाखच थियो । प्रायः सेमिनार भइरहने यो सभाकक्षमा शनिबार आयोजित समारोह भने भिन्न थियो । ढाका टोपी र दौरा सुरुवाल लगाएका पुरुष तथा चौबन्दी चोली अनि फरियामा सजिएका महिलाको संख्या निकै थियो । महाकवि लक्ष्मीप्रसाद देवकोटाका सिर्जनामा पाइने मानवतावादबारे चर्चा गर्न नेपाल र भारतका साहित्यिक अगुवा भेला भएका थिए ।

सयपत्री संस्कृत्यकला संगम, गुवाहाटीद्वारा आयोजित समारोह अग्रज साहित्यकार लीलबहादुर क्षेत्री र गीता शर्माले उद्घाटन गरेका थिए । 'देवकोटाका अधिकांश सिर्जनामा मानवतावादी चरित्र भेट्न सकिन्छ', कवि नव सापकोटाले भने । साहित्यकार गीताले थपिन्, 'उनको त्यही मानवतावादी चेतलाई चाहिँ लिएर अघि बढ्दा विश्वमा नेपाली साहित्यलाई राम्ररी चिनाउन सकिन्छ ।'

अधिकांश वक्ताले देवकोटा नेपाल र भारत जोड्न दरिलो पुल बनेको उल्लेख गर्दै उनका कतिपय कृति भारतीय सन्दर्भसँग मिल्ने र भारतीय मिथकमा आधारित रहेको बताए ।

वनारस हिन्दू युनिभर्सिटीका प्रा. दिवाकर प्रधानले 'भारतमा देवकोटाको उपस्थित' विषयमा कार्यपत्र प्रस्तुत गरे । कार्यपत्रमाथि प्रा. वन्टी सेनसोवाले टिप्पणी गरिन् । उनले देवकोटाका केही सिर्जनाले उनको मानवतावादी चेत प्रस्ट हुने जनाइन् । प्रा. गोविन्दराज भट्टराईले 'काव्यिक सिर्जनामा अमर देवकोटा' कार्यपत्र प्रस्तुत गरे । त्यसमाथि असमिया लेखकहरू डा. अनिल बोडो र दिलीप कालिताले टिप्पणी गरे ।

डा. कविता लामा, डा. विन्द्या सुब्बा, प्रा. बलराम अधिकारी, डा. नारायण उपाध्याय, प्रा. गीता उपाध्याय, शिवराज शर्मा, चन्द्र भण्डारीलगायतका साहित्यकारले पनि देवकोटा स्मरण गरे ।

'यतिको साहित्यिक जमघट असममा धेरै वर्षपछि भएको हो,' अग्रज साहित्यकार क्षेत्री भन्दै थिए । 'लामो समयदेखिको निष्क्रियताले असममा नेपाली साहित्य सुस्ताएको पो हो कि भन्ने पनि धेरैलाई भयो,' आयोजकमध्येका कवि कृष्ण भुजेलले भने, 'तर, असममा साहित्य सुस्ताएको छैन ।' देवकोटाबारे यत्तिको बृहत् कार्यक्रम पूर्वोत्तर भारतमै पहिलोपटक भएको साहित्यकार रण काफ्लेले बताए ।

समारोहमा दार्जिलिङका साहित्यकार सीके श्रेष्ठको कविता कृति 'वनमारा' सार्वजनिक पनि गरियो । कालिम्पोङको सांस्कृतिक संस्था 'बसिबियाँलो' का सदस्यहरूले कविता र गीत सुनाए ।

(कान्तिपुर दैनिकमा प्रकाशित)

About Personality
Segments