Loading

भाषाविज्ञानका आँखामा नेपाली भाषाहरू/ डा. माधवप्रसाद पोखरेल

नेपालका भाषा ः नेपालमा जम्मा पाँच महापरिवारका भाषा बोलिन्छन् । कुसुन्डा भाषा संसारको कुनै परिवारसित पनि मिल्दैन । यो भाषा एउटै मझेरीमा बोल्न पाउने रोल्पा, टुनीबोटकी पुनी ठकुरी र उनकी छोरी कमला खत्री मात्र छन् । देउखुरीकी ज्ञानीमैयाँ सेन र दाङका प्रेमबहादुर शाही आफ्नो परिवारमा कसैसित पनि मातृभाषा बोल्न पाउँदैनन् । त्रिवि, भाषाविज्ञान केन्द्रीय विभागमा कुसुन्डा भाषाको अभिलेख भइरहेका वेलामा कीर्तिपुरको एउटै डेरामा बस्ता कमला खत्री, ज्ञानीमैयाँ सेन र प्रेमबहादुर शाहीले मातृभाषामा बोल्ने मौका पाएका थिए । ती तीनजनाबाहेक अर्घाखाँचीमा अरू दुईजनाले कुसुन्डा भाषा बोल्न सक्छन् भन्ने सूचना ज्ञानीमैयाँ सेनले दिएकी छिन् ।

नेपालमा बोलिने भोट-बर्मेली परिवारका धेरै भाषा लोप हुने अवस्थामा छन् । दुरा भाषा बोल्न जान्ने अहिले लमजुङ दुराडाँडाकी बयासी वर्षकी एक्ली सोममाया दुरा मात्र हुन्, तर राष्ट्रिय जनगणनामा दुरा भाषा बोल्नेको संख्या झन्डै साढे तीन हजार देखिन्छ । धनकुटा मुगामा मुगाली राईहरू आफ्नो छुट्टै भाषा जोगाउन सकिरहेका छन् कि छैनन्, मलाई थाहा छैन । संखुवासभातिरको साम भाषा बोल्ने राईहरूमध्ये कतिजनाले आफ्नो मातृभाषा जोगाइरहेका छन्, भन्न गाह्रो छ । लुलाम राई बोल्न सक्ने खोटाङमा कतिजना छन्, म भन्न सक्दिनँ । भाषिक मृत्युको संघारमा पुगेका यस्ता कति राई भाषा छन्, कसैलाई थाहा छैन । अन्तर्भाषिकीय विवाहले गर्दा किराँती भाषामा व्यापक रूपले नेपाली भाषातिर भाषिक अपसरण भइरहेको छ । खोजीपसे यस्ता अनेक भोट-बर्मेली भाषा लगतमा आउन सक्छ ।

भारोपेली आर्यपरिवारका चुरौटे -मियाँ) र माझी र तराईमा अंगिका, बज्जिका, मगहीजस्ता भाषा पनि अनुसन्धान पर्खिरहेका छन् । परम्परागत रूपले नेपाली भाषाका भाषिका भन्ने गरिएका कणर्ाली प्रश्रवण क्षेत्रका डोट्याली, जुम्ली, हुम्ली, बझाङी, दार्चुलाली, अछामी, कालिकोटेजस्ता मातृभाषा फरक चिनारी खोजिरहेका छन् । जनगणना- ०५८ ले त तिनीहरूलाई छुट्टै भाषा मानेको छ । नेपाली नबुझ्ने ती मातृभाषाका केटाकेटीलाई प्राथमिक तहसम्म उनीहरूकै मातृभाषामा शिक्षा दिनु न्यायसंगत होला कि नेपाली भाषामै शिक्षा दिनु न्यायसंगत होला भन्ने शिक्षाशास्त्रीहरूले ठेगान लगाउन बाँकी छ । महेश चौधरीको अनुसन्धानका आधारमा थारू भाषामा ६/७ वटा भाषिक भेद देखिन्छन् । थारू भाषा पूर्वमा मैथिलीबाट, बीचमा भोजपुरीबाट र पश्चिममा अवधीबाट छुट्याउनुपर्ने आवश्यकता पनि छ ।

खोजीपसे वनकरुवा भाषा झापामा भेटिन सक्छ । त्यो भाषा भेटिए नेपालमा आग्नेय परिवारका सन्ताल र खडियाबाहेक तीनवटा भाषा पुग्छन् । त्यो फेलापरे वनकरुवा र मकवानपुरको वनकरिया एउटै हो कि फरक भाषा हो, छुट्याउन पनि सजिलो पर्ने थियो । जनगणना- ०५८ को प्रारम्भिक तथ्यांक ः पछिल्लो जनगणनामा नेपाली भाषा मातृभाषा हुनेहरू झन्डै ५८ प्रतिशत पुगेका थिए, ०४८ मा तिनीहरू ५०.३ प्रतिशत भए भने अहिलेको तथ्यांकमा त्यो संख्या घटेर ४८.९८ प्रतिशत पुगेको देखिन्छ । नेपालमा द्विभाषिकताको स्थिति हेर्दा यो तथ्यांक पत्यारिलो देखिँदैन, त्यसैले नेपाली भाषालाई मातृभाषाका रूपमा बोल्नेहरूको संख्या वा प्रतिशत घटेको देख्दा डेढ दशकयता अरू मातृभाषाको संख्याचाहिँ बढेछ भन्ने ठान्नुहुँदैन । यस जनगणनाकालमा मातृभाषाका सूचकहरूले आफ्नो छुट्टै परिचय दिन खोजेको देखिन्छ । अहिलेसम्म आफ्नो मातृभाषा नेपाली हो भनेर चिनाउनेहरूले यसपाला आफ्नो मातृभाषा डोट्याली, बैतडेली, बझाङी, बाजुरालीआदि भनेर चिनाएको पाइन्छ । अर्कातिर सम्भवतः मातृभाषा नेपाली नै हुने केही सूचकले आफ्नो मातृभाषा विश्वकर्मा, दर्जी, धामी, गाइने, गिरी, खस, वरपच्छिमा र सिक्किमेली भन्ने टिपाएको पनि पाइन्छ ।

परस्पर पटक्कै नबुझिने, फरक-फरक मातृभाषा बोल्ने किराँती भाषालाई पहिलेको जनगणनामा राई-किराँती भन्ने साझेनामभित्र समावेश गरिएको थियो । त्यसमा लिम्बू मात्र छुट्टै थियो । यस जनगणनामा राई किराँतीहरूले आफ्नो मातृभाषाको छुट्टै परिचय दिन खोजेको देखिन्छ । जस्तैः किराँती, बान्तवा, छाङ्छा, चाम्लिङआदि । यिनीहरूमध्ये केही नामले छुट्टै भाषा, केहीले थर, केहीले जात र केहीले स्थानीय भेद मात्र बुझाउँछन् । यीबाहेक किराँतीहरूका अरू अनेक थरको गणना मातृभाषामा गरिएको छ । अर्कातिर मैले नै खोटाङमा भेटेका रकोङ -पुमा) र लुलाम राईको गणना कतै पनि गरिएको देखिँदैन । त्यस्तै, मैले फेला पारेको संखुवासभाका तोम्याङ अथवा चाङखा राई भाषाको उल्लेख मातृभाषामा कतै पनि छैन । त्यस्तै, बेलाहारे, छिन्ताङ र आठपहरिया राई पनि छथरे लिम्बू भाषामा पिएचडी नै भइसके पनि जनगणनाको तथ्यांकमा त्यो प्रतिविम्बित हुँदैन ।

त्रिवि भाषाविज्ञान विभागको स्थलगत अध्ययनका क्रममा हामीले झापामा खडिया भाषा भेटेपछि नेपालमा सतार र खडिया गरी दुई आग्नेय परिवारका भाषा भएका छन्, तर जनगणनामा आग्नेय परिवारका हुन सक्ने निम्नलिखित नाम परेका छन् ः मुण्डा/मुण्डारी/मुनारी, सन्ताली/सन्थाली/सन्तार/सतार/सरदार/सर्ना, करुवा -अथवा कोरुवा), खडिया । स्थलगत सर्वेक्षणका क्रममा झापामा भेटिएका करुवाहरूचाहिँ छुट्टै भाषा बोल्न सक्तैनथे । उनीहरूको भनाइअनुसार वनकरुवाको चाहिँ छुट्टै मातृभाषा छ । जनगणनामा उल्लिखित करुवा छुट्टै मातृभाषा भएको वनकरुवा हो भने नेपालमा आग्नेय परिवारको भाषा सतार, खडिया र करुवा गरी तीन किसिमको हुन सक्छ । आफूलाई 'मुन्डा' भाषाका वक्ता भनेर चिनाउने पनि केही व्यक्तिलाई हामीले झापामा भेट्यौं, तर तिनीहरूको छुट्टै भाषा थिएन । जे भए पनि नेपालमा आग्नेय परिवारको करुवा भाषा भए-नभएको निर्णय जनगणनाका गणकहरूबाट हुँदैन, भाषावैज्ञानिक सर्वेक्षणका आधारमा मात्र हुन्छ । ब्रेटन -१९९७ ई.) ले नेपालमा खेर्बारी -मुण्डारी) भाषा पनि भएको उल्लेख गरेकाले हाम्रो जनगणनाको तथ्य ठीक हुन पनि सक्छ ।

हामीले झापामा सुनेको 'वनकरुवा' र मकवानपुरमा पाइने 'वनकरिया' एउटै भाषा बोल्ने हुन् कि फरक हुन्, त्यो छुट्याउन पनि तुलनात्मक अध्ययन आवश्यक छ । झापाका वनकरुवाचाहिँ आग्नेय परिवारको भाषा बोल्ने र दानराज रेग्मीका अनुसार मकवानपुरका वनकरियाचाहिँ भोटबर्मेली भाषा बोल्ने हुन सक्ने, चेपाङ भाषासँग मिल्ने भाषा हुने सम्भावना छ । हामीले झापामा खडियाहरूलाई झाँगड -उराउँ) गाउँमा भेटेका हौं । त्यहाँ खडियाहरूले आफूलाई पहिले झाँगड भनेर चिनाएका थिए । तिमीहरू झाँगड होइनौं खडिया हौ भनेर हामीले भाषाविश्लेषण गरेपछि उनीहरूले भने, 'हुन त हामी खडिया नै हौं, तर यहाँ सबैले हामीलाई झाँगड नै भन्छन् । जनगणनामा आउनेले पनि हामीलाई झाँगड भनेरै टिप्ने गरेकाले आफूलाई झाँगड भनेर चिनाउन थालेका हौँ ।' जनगणनाको तथ्यांकलाई मिथ्यांक बनाउने यस्तो घटना भविष्यमा दोहोरिन दिनुहुँदैन ।

जनगणनाको हालको तथ्यांकमा किसान भाषा पनि देखिन्छ । तर, झापामा हामीले भेटेका किसानहरू मैथिलीकै भाषिका बोल्थे । त्यसकारण किसान भाषाको तथ्यांक शंकास्पद छ । नेपालमा अहिलेसम्म उत्तरपूर्वी शाखामा पर्ने द्रबिड भाषा झाँगड मात्र पाइएको थियो । अरूले झाँगड भने पनि झाँगडहरू आफूलाई 'कुडुँख' वा उराउँ भन्दछन् । जनगणनाको वर्तमान तथ्यांकमा यस भाषालाई झाँगड (कोसीपूर्व प्रचलित नाम) र धाँगर -कोसीपश्चिम प्रचलित नाम) भनिएको छ र तिनीहरूको छुट्टाछुट्टै गणना गरिएको छ । यसको अर्थ, एउटै भाषा अनेक नाममा गणना गरिने स्थिति पनि प्रारम्भिक तथ्यांकमा देखिन्छ ।

अर्कातिर दक्षिण द्रबिड शाखाको हुन सक्ने 'कोटा' भाषा तथ्यांकमा 'कोठा' भन्ने नाम देखिन्छ भने यसै शाखाको मलयालम भाषाका वक्ता पनि गणनामा परेका देखिन्छन् । यी भाषा नेपालमा पाइएकै भए नेपालमा द्रबिड परिवारका भाषा पनि अनेक हुन सक्छन्, तर जनगणनाबाट भाषाको पत्यारिलो तथ्य पाउन गाह्रो छ । राइन्हार्ट र तोबा -१९७०) को प्रतिवेदनअनुसार नेपालमा कुसुन्डा भाषा बोल्ने एउटा मात्र वक्ता बाँकी थियो । पछि, त्यो पनि मरेपछि कुसुन्डा भाषा लोप भएको सूचना आएको थियो । ०५३ सालमा दाङ गएका बेला प्राध्यापक चूडामणि बन्धुले प्रेमबहादुर शाही भन्ने एकजना कुसुन्डा भाषाका वक्ताकहाँ पुर्‍याउनुभएको थियो, तर तिनले आफ्नो मातृभाषा ६४ प्रतिशत बिर्सिसकेका थिए । पछि, जनजाति प्रतिष्ठानमा बिके रानाले तनहुँबाट राजामामालाई राजधानीमा ल्याएपछि उनलाई आफ्नो मातृभाषाका शब्द २२ प्रतिशत मात्र आउँदोरहेछ भन्ने थाहा भएको थियो । बिके रानाले मलाई रोल्पाली पुनी ठकुरी र देउखुरीकी ज्ञानीमैयाँ सेनको नाम दिएका थिए । आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानमा मैले दिएका तिनै दुइटा नाम भएका कुसुन्डा भाषाका वक्ता खोज्न आदिवासी महिला मञ्चले रोल्पा र दाङ गएर ज्ञानीमैयाँ सेन र पुनी ठकुरीकी छोरी कमला खत्रीलाई खोजेर काठमाडौं ल्यायो । कुसुन्डा भाषाका तिनै दुइटी वक्ता र दाङका प्रेमबहादुर शाहीसमेतलाई कीर्तिपुरको एउटै डेरामा राखेर भाषाविज्ञान विभागमा हामीले कुसुन्डा भाषाको अभिलेखीकरण गर्‍यौं । त्यस अभिलेखीकरणपछि कुसुन्डा भाषाको एउटा शब्दकोश र व्याकरण बनाएर प्रकाशित गरिएको छ । एउटै परिवारमा कुसुन्डा भाषा बोल्न पाउने रोल्पाका आमाछोरी पुनी ठकुरी र कमला खत्री मात्र छन् । कुसुन्डा भाषालाई बृहत् परियोजना बनाएर भेटेसम्म अभिलेख गर्नुपर्छ ।

कुसुन्डा भाषाबारे जनगणनाको तथ्यांक पनि मिथ्यांक नै छ । यहाँ चर्चा गरिएका केही पक्षलाई मात्र ध्यान दिँदा पनि नेपालका मातृभाषा वा मातृभाषाहरूको पत्यारिलो र भरपर्दो सूचना राष्ट्रिय जनगणनाबाट आउन नसक्ने देखिन्छ । अतः नेपालका भाषाहरूको भाषिक सर्वेक्षण जरुरी भएको हो ।
-डा. पोखरेल भाषावैज्ञानिक हुन् ।

॰[साभार: नयाँ पत्रिका दैनिक]

Comments