Loading

पहाडीका आख्यान/ आनन्द राई

Krishna Pahadika Kathaअधिकारकर्मी कृष्ण पहाडी कथाकारको परिचय लिएर आएका छन्। लोकतन्त्र र सामेली समाजका प्रवक्ता यी गेरु बस्त्रधारी अविवाहित चिन्तक आख्यानमा पनि सशक्त छन्भन्ने पुष्टि उनको पहिलो कथा-सङ्ग्रह कृष्ण पहाडीका कथा ले गरेको छ। यसअघि उनका यात्रा संस्मरण, नाटक, निबन्ध र गीति सङ्ग्रहहरू आइसकेका थिए।

ठूला कुरा गर्ने रोगबाट जोगिएका कथाकारले छोटो प्राक्कथनमा १०-१५ वर्षअगाडि नै प्लट सोचिएका कथाहरू काँचा-कटमिरा पनि हुनसक्ने भन्दै छ्यानब्यानको जिम्मा पाठकलाई सुम्पेका छन्। प्रसिद्ध कथाकार परशु प्रधानले लामो भूमिकामा पहाडीको व्यक्तित्व र कृतित्वको लेखाजोखा गरेका छन्। सृष्टि देखि शान्तिसम्मका २६ कथा भाषा-शैली दुवै हिसाबले सरल, सरस छन्। पाठकले तिनमा नीतिकथाहरूको संसार चहारेको अनुभूति गर्छन्। जीवनजगत नियालेका पहाडीका कथाले गृहस्थी, सामाजिक प्रतिष्ठा, अध्यात्म आदिका तानाबुना फुकाउँछन्। मोक्षको खोजीमा लागेका उनका पात्रहरू कानुनी भन्दा मानवीय अलमलमा पर्छन्, भोगको तृष्णालाई जित्न नसक्दा विषादग्रस्त बन्न पुग्छन्।

धैर्य कथामा तथाकथित स्वामीहरूको प्रतिस्पर्धाको नतिजा छभने भक्तमा ईश्वर अनुभूति हो, प्रचारको विषय हैन भन्ने दर्शन। युवापुस्ताप्रति भरोसा झ्ल्काउने आस्थाले चोकमा एउटा दमकल मात्र अटाउने ठाउँ निस्कियो भने पनि भोलिको सङ्कट नसोची हतारपतार मन्दिर बनाउने काठमाडौंको शहरीकरण सम्झ्ाउँछ। मुक्तिले सशस्त्र द्वन्द्व कालमा पन्पिएको हिंसात्मक संस्कृतिको परिणामलाई उतारेको छ। सुन्तली र सिद्धिगोपालले सम्पन्नताको शिखरमा पुग्दा पहिला कहिल्यै अनुभव नगरेको असुरक्षा महसुस गर्छन् (खुसी)। बोधिसत्व पढ्दा अनायासै फुत्केको खित्का कथाको अन्त्यमा पछुतो बन्न पुग्छ। मानवीय जिजीविषाको चित्र दीर्घजीवीको कथाले झ्सङ्ग बनाउँछ। जीवजन्तुको मानवीकरण गरिएको सृष्टि, मान्छे र मेमेको सपना बालबालिकादेखि वृद्ध सबैका लागि रोचक छन्।

कुनै कुरामा चित्त बुझ्ाउन वा त्यसलाई सहज रूपमा लिन मानिसहरूले दिने निचोडलाई पहाडीले कुशलतापूर्वक उतारेका छन्। संयोग कथामा चट्याङबाट आमाछोरीमध्ये छोरी मात्र जोगिँदा गाउँलेहरू भन्छन्― कहिलेकाहीँ यस्तो हुन्छ। कृतघ्नमा संवत्सरको मृत्युमा परमानन्द भन्छन्― लेखोट हो। ढुसीमा छोरा भूराजले चाकडी कलामा भएको प्रगति सुनाउँदा बाबु निधिराज ढुक्क हुँदै भन्छन्― अब यसले उन्नति गर्छ। पवित्रा प्रतिष्ठानमा आफूले बुहारी बनाउन चाहेकी केटीलाई छोराले मन नपराउँदा आमाको दबाब आउँछ― सिन्दुर परेपछि त्यो केटी असाध्य राम्री हुन्छे।

पहाडीका गुरुआमा, छोरी, श्रीमती पात्रहरू विवेक, धैर्य र स्थिरताका प्रतीक हुन् भने मनको माया र तनको आकर्षण सुखद् दाम्पत्य तथा गृहस्थीका स्रोत। नेपाली कथामा बढेको प्रयोगधर्मिताले पाठकको मथिङ्गललाई सकसमा पारिरहेको बेला पहाडीका सिर्जना डेढ-दुई दशकअघिको मिठास र सरलता लिएर आएका छन्। नत्र कश्यप, गौरी, समुन्द्रकेशर, परासरवल्लभ, हेमादेवी जस्ता नामका पात्रहरू पढ्न हिजोआज कहाँ पाइन्छ र!

पहाडीका कथाहरूमा रहस्य पनि छ― ढुसीमा भूराजले गणतन्त्रको विभूषण पाउँदा शहीदको तस्बिरबाट आँसु र्झ्छ, भक्तको अन्त्यमा बालक र वृद्ध अलप हुन्छन्, सत्यवचनका लागि थप्पड खाइरहने बोधिसत्व पनि हराउँछ। दुई बासमै घरबेटीकी छोरी उडाउनु (जोगीको हृदय) र एउटै परिवारका तीन जोडीको नाम शान्तबाट जुर्नुजस्तो अति नाटकीयताले ती कथालाई अलि फितलो बनाएको छ। दयामायालाई रास, साथीसँगिनीलाई सहेली, ठम्याइन्लाई भाँपिन् र श्रीमतीलाई स्वास्नी लेख्नु कथाकार कृष्ण पहाडीको भाषिक असावधानी भन्न सकिन्छ।

कृष्ण पहाडीका कथा
प्रकाशकः मुक्तिनाथ बिकास ब्याँक, पोखरा
मुल्यः रु.२००,
पृष्ठः १४०+३२

[Source: Himal Khabar Patrika]

Segments: 
Author: 

Comments