Loading

किशोर नेपालको 'पाताल'

जेष्ठ ४ काठमाडौं/रास- पछिल्लो सयम पत्रकारले उपन्यास लेख्ने क्रम फस्टाएको छ । पत्रकार नारायण वाग्लेले दुइओटा नेपाली उपन्यास लेखेर मदन पुरस्कारसँगै चर्चा बटुले । यसै क्रममा अग्रज पत्रकार किशोर नेपालले पाठकसामु आफनो नयाँ साहित्यिक कृति पाताल (उपन्यास) ल्याएका छन् ।

भृकुटीमण्डपमा शनिबारदेखि चलिरहेको शैक्षिक मेला तथा पुस्तक पर््रदर्शनीको एक समारोहबीच रंगकर्मी सुनिल पोखरेल र निशा शर्मा पोखरेलले सो उपन्यासको बुधबार विमोचन गरे ।

'हामीले अभिभावक मान्दै आएको किशोर दाइ यो पुस्तक विमोचन गर्न पाउँदा खुसी लाग्यो,' सुनिल पोखरेलले भने ।

उपन्यासकार नेपालले आफूले अभिभावक बनेर सुनिल र निशाको विवाह गरिदिएकाले उनीहरूबाट आफ्नो उपन्यास विमोचन गराएको बताए । आफूले कथा र निबन्ध लेख्दालेख्दै पत्रकारितामा लागे पनि यो उपन्यासमार्फ पुनः साहित्यमा क्रियाशील हुने प्रतिबद्धता सो समारोहमा व्यक्त गरे ।

उपन्यासबारे साहित्यकार अभि सुवेदीले टिप्पणी गर्दै बृहत् परिवेश समेटेको उपन्यासमा निकै प्रवाह भएको बताए ।

पुरानो काठमाडौंको पृष्ठभूमिलाई आधार मानेर लेखिएको यस उपन्यासले प्रमुख प्रतिनिधि पात्र दमयन्तीद्वारा त्यस बेलाको संकुचित समाज, नारी पुरुषको सम्बन्ध र यौन मनोदशालाई उजागर गरेको छ । 

पाताल उपन्यासले ३० को दशकका काठमाडौंका पुराना शैलीका घर, वातावरणलगायत सामाजिक, आर्थिक र राजनीतिक कुराहरूलाई समेटेको छ । उपन्यासले एउटा मध्यम वर्ग कसरी उच्च वर्गमा परिणत भएको छ भन्ने पनि देखाएको छ ।

सांग्रिला बुक्सद्वारा प्रकाशित पाताल उपन्यास मूलतः नयाँ र पुरानो नेपाली सामाजिक घटना र परिवेशको प्रतिविम्ब हो ।

Segments: 

Comments