Loading

किन नगाऊँ हँ म वैशाख ?/ साम्ब ढकाल

मान्छे नजिकैबाट हिँडिरहेको प्रत्येक निमेषले
अविराम एउटा लय गाउदै हिँड्यो
मान्छेको नवगीत
वैशाखको नाममा ।
आइरहृयो मान्छेका यात्रामा उबडखावडको
अन्त्यहीन
पथहीन पथ
गाइरहे त्यसरी नै मान्छेले वैशाखलाई
दुःखमा मिसाएर भित्रैदेखि
टाढाभन्दा टाढा भागिरहेको सुखको पछाडि
दौडिरहेका दुःखीहरू
भेट्टाउन लालायित छन् लक्ष्यको वैशाख ।
चैतको घुर्मैलो आकाश तन्किएको तन्किएकै छ
वैशाख नयाँ आकाशको प्रसवपीडा भोगिरहेको छ
मान्छेका आँखामा टाँगिएको नवयुगको
स्वप्निल आकाश नखुम्चन
गाइरहेछु वैशाखको गीत ।
ओभानो नभएका आँखाका डिलैडिल कुदिरहेका
अधकल्चा सपनाका लर्कनहरू
एकपछि अर्को असफल समयको पटाक्षेप दृश्यांश
पतनोन्मुख संस्कृतिको साक्षी बनिरहेको नागर सभ्यता
र आकण्ठ विषाद् बमन गर्न वैशाख उक्साइरहेछ ।
अमन चयनको शीतल जून बोकेर वैशाख
सँघारमा खुट्टा उचालिरहेछ
मौन संस्कारका संस्करण नदोहोर्‍याउन
ताकेताको सङ्केत घाँटीमा झुण्ड्याएर डाँडाको टुप्पोबाट
वैशाखको मिर्मिरे बोकेर ओर्लिएको छ
सीमाहीन अस्तव्यस्त ध्वंस भएको हेर्न आतुर
वैशाखको वर्तमान
निकास खोल्ने समाहा भत्काउन
समयको आलीमा
तम्तयार छ ।
मलाई यसपटक कहिल्यै, कसैले नगाएको वैशाखको
नाद अलाप्न मन लागेको छ
आऔँ, गाऔँ नयाँ वैशाखलाई एकैसाथ !

[Source: Madhuparka]

Segments: 
Author: 

Comments