Loading

कविजीलाई सम्झिँदा/ माधव घिमिरे

कविवर सिद्धिचरण श्रेष्ठ नेपालीका प्रिय कवि हुनुहुन्छ । साहित्यकारहरूले 'कविजी' भनेर गरिने सम्बोधन उहाँकै निम्ति हुन्थ्यो । फूलमा डुब्ने पुतलीजस्तै बारबार एक ठाउँबाट एकाएक उठेर अर्को ठाउँमा जाने उहाँ अरूसँग असम्पृक्त रहेर नयाँ-नयाँ भावलाई समात्न हिँडिरहे जस्तो लाग्थ्यो । कहिलेकाहीँ गुलाबी ठट्टाको साथ अर्काको विचारलाई खण्डन गर्दै हाँस्ने उहाँ आफ्नै मौलिक चिन्तनमा विश्वस्त हुनुहुन्थ्यो । उहाँ कविताप्रति समर्पित कवि हुनुहुन्थ्यो र जनताका निम्ति कविता लेखेबापत अठार वर्षका निम्ति जेल पर्नुभयो । उहाँको पहिलो विशेषता हो- उहाँ मनमा नलागी कविता नलेख्ने । उहाँ कविताको परिभाषा गरेर त्यस्ौअनुसार सिर्जना गर्नुहुन्नथ्यो, जसरी माता कुनै सुन्दर मूर्ति रचेर त्यस्तै सन्तानको सिर्जना गर्नुहुन्थ्यो । 'कसरी म आज छत्तीस लागेँ' जस्ता उहाँका कविताका पङ्क्तिहरू एक लक्ष्यमा समर्पित प्रत्येक व्यक्तिका मनका भाव हुन् । अर्को विशेषता हो- उहाँ जगत् र जीवनका साना-तिना प्रसङ्गबाट नै सत्यको उद्घाटन गर्नुहुन्थ्यो । कविताको मुखबाट उहाँ यस्तो भन्नुहुन्थ्यो, 'देख्दैनौ ता नजिक मलाई टाढा गै खोज्नुछ व्यर्थ ।' प्रारम्भमा उहाँले रुमानी शैलीमा सौन्दर्यका कविता गाएर नेपालीलाई मुग्ध बनाउनुभयो । पछि मुटुको धुकधुकीलाई कवितामा प्रतिध्वनित गरेर नेपालीलाई मुग्ध बनाउनुभयो । उहाँ जीवनको यथार्थलाई त्यसरी देख्नुहुथ्यो, जसरी एक चित्रकार सूर्यलाई आफ्नै दृष्टिले देख्छ र कलालोकमा सूर्यको चित्र लेख्छ । जीवनको चतुर्थ याममा प्रवेश गरेर आध्यात्मिक भावनाका कविता लेख्तै गएर हामीलाई पनि सत्यको सन्देश दिनुभयो । कविताको आराधनामा जीवन समर्पण गरेका युगकवि सिद्धिचरणका कविता पत्रपत्रिका र पुस्तकाकारमा यत्रतत्र छरिएका छन् । कवि सिद्धिचरण स्रष्टामात्र नभई द्रष्टा पनि हुनुहुन्थ्यो । उहाँ युगद्र्रष्टा हुनुहुन्थ्यो । उहाँका कवितामा एउटा सिङ्गो युग भेटिन्छ । यसर्थ उहाँ युगका प्रतिविम्ब पनि हुनुहुन्छ । युगकविले रचेको साहित्य नेपालको मूर्तिमा हामीले एकछिन मात्र चलाएका छौं । मलाई नेपालीका लेखनाथ देवकोटा र सिद्धिचरण मनपर्ने कवि हुन् र सबैभन्दा बढी प्रिय कवि सिद्धिचरण नै हुन् । राष्ट्रभक्ति र क्रान्तिकारी चेतना उहाँको कवित्वका महत्त्वपूर्ण पक्ष हुन् । उहाँले नेवारी साहित्यमा पनि विशिष्ट योगदान पुर्‍याउनुभएको छ । समयले उहाँको मूल्याङ्कन गर्दै जानेछ । उहाँसँगका धेरै सम्झना छन् । २०१९ सालतिरको कुरा हो- कवि सिद्धिचरण र म कालीगण्डकीमा पुगेर रानीघाटबाट तानसेनतिर उक्लँदै गरेको समयको याद आइरहन्छ । कवि सिद्धिचरणले कालीगण्डकीमा डुङ्गा चढ्दा मेरो 'तरूँ भने रिडिघाट' भन्ने गीत सम्झनुभएछ र कविजीले मलाई तपाईं ठीक बाटोमा हिँड्नुभएछ भन्नुभएको थियो । मैले किन र कविजी भनेर प्रश्न गर्दा उहाँले छाया रिङाएको कुरा खोल्नुभयो । नेपाल र नेपाली रहेसम्म सिद्धिचरण नेपालीको मनमन्दिरमा रहिरहनु हुनेछ ।

हाम्रो समयमा कवि प्रशस्तै थिए, तर एउटैलाई मात्र हामी 'कविजी' भनेर सम्बोधन गर्थ्याै र  उहाँ सिद्धिचरण हुनुहुन्थ्यो । कविका निम्ति जीवन नै कविता हो र कविता नै जीवन हो । कविताकै निम्ति जीवन अर्पण गर्ने हाम्रा युगकवि सिद्धिचरण विश्वकै महान कविहरूमध्ये पर्नुहुन्छ । कविजीले जवानीका दिनमा सौन्दर्यले झलमल्ल र भावनाले उज्ज्वल अमर कविता लेख्नुभयो । ती कवितालाई हामी रुमानी प्रवृत्तिका कविता भन्न सक्छौं । कविहरू कहिलेकाहीँ मन्त्र बोल्छन् । कविजीले पनि यस्तै एक मन्त्र बोल्नुभयो, 'क्रान्तिबिना थन दैमखु स्वच्छ शान्ति' (क्रान्तिबिना यहाँ स्वच्छ शान्ति हुँदैन) । यसरी आफ्नो सम्पूर्ण जीवनलाई कवितामा समर्पण गर्नुभयो । उहाँ अब आफ्ना कवितामा अजर र अमर हुनुहुन्छ । मैले बेला-बेलामा टाढातिर टोलाइरहने कविजीका आँखामा भावनाको तरलता र दृष्टिको उज्ज्वलता पनि देखेको छु र उहाँका रचनामा पनि जताजतै त्यही छरिएको देखिरहेको छु ।

हामी गङ्गाजीलाई जल चढाएर अर्घ दिन्छौँ । सूर्यलाई बत्ती बालेर आरती गर्छौं । यसरी नै कविलाई कविता लेखेर अनि उनका कविता कृतिको अध्ययन अनुसन्धान गरेर सम्मान गर्छौं । पूर्णप्रकाश नेपाल 'यात्री'ले 'सिद्धिचरण सञ्चरण' महाकाव्य लेखेर कविप्रति श्रद्धा व्यक्त गरे । नारायण गोदारेले 'सिद्धिचरण एक र अनेक' नामक नव्यकाव्य लेखेर कविजीप्रति श्रद्धाका फूलहरू च्ाढाए । उहाँका बारेमा लघु अनुसन्धानदेखि लिएर विद्यावारिधी तहसम्मका शोधार्थीले समेत अध्ययन-अनुसन्धान गरेका छन् । विभिन्न विद्वानले उहाँका कविताका बारेमा व्यापक चर्चा गरेका छन् । माधवप्रसाद सापकोटाले उहाँका समग्र खण्डकाव्यको अध्ययन गर्दैछन् । सिद्धिचरण श्रेष्ठको खण्डकाव्यकारिता शीर्षकको विद्यावारिधी तहको यस अनुसन्धानले उहाँका खण्डकाव्यका बारेमा गहिरिएर बुझ्न सहयोग पुर्‍याउनेछ । पत्रपत्रिकाले विशेषाङ्क प्रकाशन गरी श्रद्धा व्यक्त गरे । उहाँको प्रतिभा स्थापना, उहाँका नामबाट क्याम्पस, स्कुल, सडक आदिको नामकरण गरिएको  छ । यस्ता महान कविलाई जति श्रद्धा गरे पनि पुग्दैन । यस्ता कविको नाममा स्थापित युगकवि सिद्विचरण पुरस्कार- २०६५ बाट मलाई सम्मान गरिएकोमा म गौरवान्वित छु र म कविजीको शतवाषिर्कीको अवसरमा उहाँप्रति हृदयदेखि नै श्रद्धा व्यक्त गर्छु ।

[Source: Kantipur Dainik]

Comments