Loading

कहिले यस्तो पनि / नीरज भट्टराई

कहिले यस्तो पनि होस्
कि हामी सबथोक भुलौँ
कसैसँग कुनै वाचा नगरौँ
भित्तामा टाँगिएको तस्वीरसँग बोलौँ
चिट्ठी लेखौं गुमनाम ठेगानालाई
पुरानै चुट्किला माथि हाँसौ
दिनभर तलाउमा पैताला डुबाएर बसौँ
बाटो बिराउँदै–बिराउँदै साँझमा फर्कौं
कहिले यस्तो पनि होस्
कि बुझेको तलबलाई दोहोर्याएर नगनौँ
रटाइएको सरगम नगाऔँ
एकपल्ट आफैँलाई जन्माऔं
कहिले यस्तो पनि होस्
कि हामीले सिकौँ खुशी रहने कला
जो दुनियाँमा कसैले सिकाउन सक्दैन ।

Segments: 

Comments