Loading

जून रोएको बाटो/ कृष्ण शाह यात्री

जून रोएको बाटो
पहाड ओछ्याएर
लमतन्न सुतिरहेको थियो

,

समय निद्रामै रोइरहेको थियो
र उसको रुवाइ
नीला सङ्गीतकारहरूको
प्यालामा ठोक्किएर
आदर्श–गीत बनीरहेको थियो,

हिरा रसाइली
चुडिएको सारङ्गीको तारबाट
नयाँ युगको गीतमा
श्याम–श्वेत सङ्गीत भर्ने
सपना देखिरहेको थियो,
र उसका औँलाहरू
हिउँफूलमा अडिएर
कोलाज–सपना बाँचिरहेको थियो,

मसानहरू डेरा बदल्ने तरखरमा थिए
कालो इतिहास
बाग्मतीमा चोखिएर
घाटेहरूलाई
नयाँ उर्दि जारी गरिरहेका थिए,

जून रोएको बाटो
अझै पनि
तारेभीरमा
बेवारिसे अवस्थामा थियो,

नयाँ मानिसहरू आउँथे
बाटोको डिलमा उभिएर
नयाँ शताब्दीको तस्बीर खिच्थे
र जान्थे,
परदेशी चराहरू आउँथे
र साइवेरियाका
विराना लोकगीतहरू सुनाउँथे
र जान्थे,
नयाँ भरियाहरू आउँथे
बाटोको न्वारान गर्थे
र जान्थे,

बाटोले कहिल्यै भनेन
मानिसलाई
भो, नखिच मेरो तस्बीर र
नछाड मलाई एक्लै
यो रक्तिम काँडाघारीमा,

बाटोले कहिल्यै सोधेन
चराहरूलाई
कस्तो लाग्छ तिमीलाई कर्णालीको कथा ?
कस्तो लाग्छ तिमीलाई
हिरा रसाइलीको चुडिएको सारङ्गीको धून ?
कस्तो लाग्छ तिमीलाई
मसान जागेको साँझ ?

बाटोले कहिल्यै सोधेन
भरियाहरूलाई
किन खिइदैछन् तिम्रा भारी बिसाउथे तोक्माहरू ?
किन फेरिदैनन् तिम्रा फित्ते चप्पलहरू ?
किन फेरिदैनन् तिम्रा पसिनाको गन्ध ?

जून रोएको बाटो
आज एकोहोरो
क्षितिजमा खस्न लागेको
हिमाललाई हेरिरहेको छ,
जून रोएको बाटो
आज एकोहोरो
पदयात्रीको पाइलाहरू
गनीरहेको छ,
उसलाई अब लाग्न थालेको छ –

जून किन रोयो ?
मानिस किन जुन जस्तै हुन सकेन
चरा किन जुन जस्तै हुन सकेन
म किन जुन जस्तै हुन सकिन ?
कहाँ चुकेँ
म बाटो
के म
फेरि जून हाँसेको बाटो बन्न सक्दिनँ ?

Segments: 

Comments