Loading

जीवन / लक्ष्मीप्रसाद देवकोटा

बिउँझी रोदनमा कलिलो

   मधुरो उषाको मोहनीमा ।

      बैंस-वसन्त विहार सपना

         कुसुमाकरको ध्वनिमा ।।

 

प्रेम चकोर, जुनेली जादू,

   शराब नशामा, चमक नजरमा ।

      सुन्दरमा सब, विशाल विलासी

         सुखमा, कोमल स्पन्दनमा ।।

 

नव नव झल्का, देश बिराना

   अभिलाषाका उच्च उडान ।

      अौपन्यासिक रङ्ग र लहरी

         हलुका मुटुको हलुका गान ।।

 

कर्म-क्षेत्रको जोश नवीन

   वस्तुहरूको जोख र तौल ।

      पयर दुवैका भरमा निर्भर

         चौडा जगत स्वतन्त्र मोल ।।

 

रङ्ग उडेको कटुता, फोस्रा

   आशाहरूको छारो चोर।

      चिन्ता, शोक, वियोग, बढेका

         नहुँदो शिरमा तर्क अघोर ।।

 

सिर्जनाको जाल विलासी

   आफैं जेली आफैं हार ।

      फुल्दो शिरमा हिउँद, तुषारो

         थिचीरहेको जगव्यवहार ।।

 

बढ्दो चेत अकेलापनको

   बिर्सिसकेका सपना साज ।

      उदासपनाको छाना नभ नै

         शोक, विषाद, बिराना आवाज ।।

 

जपमालाको आखिर भरमा

   धरमर पयर जराको कम्पन ।

      आँसुभरी नजर निमीलन

         विचित्र नै छस् हे जीवन ।

Segments: 

Comments