Loading

कान अर्थात् दुःख सुन्ने अंग / रविन गिरी

२१ जनवरी दिउँसो भावनामा चुर्लुम्म भीएस नयपाल रोए । त्यो रात र भोलिपल्ट बिहानभरि पानी पर्‍यो । आँसु र पानीको अनौठो संयोग शायद समयसँग जोडिएको थियो । अघिल्लो दिन जावेद अख्तरले वक्त अर्थात् समयबारे नै लेखिएको कविताको पंक्ति सुनाएका थिए:

‘वक्त !

ये वक्त क्या है

ये क्या है आखिर जो मसल्सल गुजर रहा है

ये जब न गुजरा था तब कहाँ था ?

कहीं तो होगा !

गुजर गया है तो अब कहाँ है ?

कहीं तो होगा !

कहाँ से आया, किधर गया है ?

ये कब से कब तक का सिलसिला है ?

ये वक्त क्या है ?…’

भारतको राजस्थान राज्यस्थित जयपुर जिल्लामा गएको २१ जनवरीदेखि पाँच दिनसम्म जी जयपुर लिटरेचर फेस्टिभल चल्यो । डिग्गी प्यालेस, सवाई मानसिंह रोड । ठाउँ उही हो जहाँ सन् २००५ मा यही फेस्टिभलले १४ जना मात्र दर्शक पाएको थियो ।

२००७ मा यो फेस्टिभलमा चार सय दर्शक थिए । अघिल्लो वर्ष यही ठाउँमा झन्डै दुई लाख मानिस ओइरिए । आयोजकका अनुसार यो वर्ष सहभागीको संख्या दुई लाख ४५ हजार नाघ्यो ।

एउटा साहित्यिक उत्सवमा यति मान्छे आए त के उत्पात भयो ? मेलामा मान्छे आउँछन्, जान्छन् । साहित्यलाई अनुत्पादक भन्दै बहस चलाउन नछाडेको पंक्तिका लागि यो कुरा सामान्य नै लाग्न सक्छ ।

तर, उत्सवका बेला जयपुर पुग्नेहरू फरक अनुभूत गर्न बाध्य हुन्छन् । जब अटोचालक ‘के तपाइँ पनि लेखक हुनुहुन्छ ?’ भनी प्रश्न गर्छन् । ट्याक्सीचालकलाई दोहोर्‍याएर डिग्गी प्यालेस भन्नै पर्दैन, ‘थाहा छ, त्यही साहित्यकारको ठाउँ हैन ?’ भन्दै फिस्स हाँस्छन् ।

होटलवाला ‘यो बेला सकेसम्म साहित्य मेलामै आएका मान्छेलाई प्राथमिकता दिने कुरा गर्छ । लाग्छ, बापु बजारदेखि मिर्जा इस्माइल (एमआई) रोडमा सवारीभन्दा बढी शब्द हिंडिरहेका छन् ।

त्यसो त कछवाई शासक जयसिंह द्वितीयले झन्डै तीनसय वर्षअघि अर्थात् सन् १७२७ मा योजनाबद्ध ढंगले बनाएको जयपुर आफैंमा सभ्यता र सांस्कृतिक सम्पदामा कहलिएको शहर हो ।

सन् १८७६ मा बेलायती प्रिन्स अफ वेल्स युवराज अल्बर्ट आउँदा शहर पूरै गुलाबी रंगले रंगाइएपछि जयपुर गुलाबी शहरका उपनामले प्रसिद्ध पनि छ । तर, विश्वभरका साहित्यकारहरूलाई सत्कार गर्न थालेपछि यो शहर शब्दको शहर बन्ने पथमा लागेको छ ।

आयोजकद्वय जयपुर विरासत फाउन्डेसन र टीमवर्क फेस्टिभललाई साहित्यको ‘वैश्विक महाकुम्भ’ भनाउन मन पराउँछन् । नभनुन् पनि कसरी, यस वर्ष पनि फेस्टिभलमा ५० देशका ३०० भन्दा बढी लेखक आए ।

१० वटा स्थानमा दुईसय नौवटा सेसन भए । एक करोड भारुको पुस्तक नै बिक्री भयो । त्यसो त भन्दा साहित्यिक भनिए पनि यो संगीत उत्सव पनि हो, जहाँ यस वर्ष पनि १४० संगीतकर्मीले आफूलाई सुनाए । फेस्टिभलको मुख्य प्रायोजक जी इन्टरटेन्मेन्ट र सहप्रायोजक रजनीगन्धा रहेका थिए । कार्यक्रम स्थलमा रजनीगन्धा विज्ञापन गर्न युवतीहरू खटिएका देखिन्थे ।

नयपाल, कलाम र नसिरुद्दीन

आयोजकका लागि यस वर्षका विशेष अतिथि थिए, नोबेल पुरस्कार विजेता भारतीय मूलका साहित्यकार भीएस नयपाल र भारतका पूर्व राष्ट्रपति एपीजे अब्दुल कलाम । तर, अभिनेता नसिरुद्दीन शाह स्वयंमा विशेष बने ।

४४ वर्षअघि नयपालले लेखेको ‘अ हाउस अफ मिस्टर विश्वास’ उपन्यासबारे छलफल गर्न मञ्चमा बसेका हस्तीहरू पल थेरो, हनिफ कुरैसी, अमित चौधरी र फारुख ढोन्दीले यसरी उनको प्रशंसा गरिदिए कि नयपालले उनीहरूलाई ‘धन्यवाद’ मात्र भन्न सके ।

पत्नी नादिरासँगै ह्वीलचेयरमा मञ्च उक्लेका यी ८२ वर्षीय महान् साहित्यकार चूपचाप रोइरहे । दर्शकलाई उनको मौनता काफी थिएन तर शायद रोएरै उनी धेरै कुरा भनिरहेका थिए ।

अर्को सेसनमा भने उनी केही बोले, ५० वर्षअघि लेखक बुबा त्रिनिदाद बसाइँ सरेपछि आफूमा पनि लेख्ने रहर जागेको तर के लेख्ने थाहै नपाई लेख्न थालेको उनले बताए । भारतीय सभ्यताकै आलोचक नयपाललाई अन्ततः यो पुस्ताले सगर्व अतिथि बनाए ।

रकस्टारको शैलीमा आएका कलामले विद्यार्थी छँदा छनोटमा नपरेका कारण राष्ट्रपति छँदै ६ महिने पाइलट तालिम लिएर एयरक्राफ्ट चलाएको रोचक घटना सुनाए ।

आयोजकले सिट बालबालिकालाई छाडिदिनु भन्दाभन्दै पनि अभिभावकले सिट छाडेनन् । मानौं, उनीहरू आफ्ना सन्तानको कान लिएर त्यहाँ आइपुगेका हुन् ।

कलामले सपनाको उडानका लागि तयार रहन बालबालिकालाई आह्वान गरे । सानो सपना देख्नु अपराध भएको भन्दै उनले समस्यालाई आफ्नो क्याप्टेन बन्न नदिन बरु समस्याकै क्याप्टेन बनेर उसलाई झुकाउन सल्लाह पनि दिए ।

“म राम्रो काम गर्नका लागि धर्तीमा आएको हुँ, महान् बन्न आएको हुँ भन्ने सोच्नुपर्छ किनकि पंखा हामीसँगै छ, विश्वासले उडाउँछ”, कलाम भन्दैथिए ।

संस्मरणात्मक पुस्तक ‘एन्ड देन वान डे’ लेखेर चर्चामा आएका नसिरुद्दिन शाहले आफ्नो नराम्रो अनुहारका कारण प्रेमिकाले छाडेको गुनासो गर्न छाडेनन् ।

“मलाई पनि सुपरस्टार बनेर भ्याईनभ्याई अटोग्राफ दिने मन त कहाँ नभएको हो र तर म त्यस्तो अभिनेता हुन सकिनँ” उनले भने ।

पुणेस्थित फिल्म इन्ष्टिच्युटका आफ्ना गुरु गिरिश कर्नाडसँगको संवादलाई धेरैले निजी पनि ठाने । तैपनि दर्शक हलचल गर्न मानिरहेका थिएनन् ।

“एकदिन विद्यार्थीको नेता भएर मेरै विरुद्ध नसिरले ठूलाठूला स्वरमा नारा लगायो, त्यस दिन मैले सोचें, यो केटो राम्रो कलाकार बन्न सक्छ”, कर्नाडले आफ्ना कुरा पनि राख्न पाए । अर्को प्रसंगमा कर्नाडले रक्सी खाएर दिउँसोसम्म सुतेकै कारण निर्देशकले आफ्नो भूमिका नसिरलाई दिएको प्रसंग सुनाउँदै भने, “त्यसदिन मैले एउटा श्लोक सम्झें, जसको भाव थियो, ‘चेलासँगको हार, हार होइन जीत हो’ ।”

वहिदा रहमान अर्की अतिथि थिइन् जसले सत्यजित रेदेखि गुरुदत्त हुँदै अहिलेका चलचित्रमा पनि अभिनय गर्न भ्याइन् । उनले सुनाएको यो प्रसंग मन हर्ने थियो, जसले उनको समयलाई वर्तमानसँग जोड्दथ्यो ।

“सबैसँग ठूलो ठूलो ऐना हुन्थ्यो तर मसँग एउटा सानो ऐना थियो । यश चोपडाले सोधे, ‘तपाइँं यसमा के मात्रै हेर्नुहुन्छ ?’ मैले भने, ‘पहिले एउटा आँखा, त्यसपछि अर्को, अनि ओठ, र अरु ।’ मेरो कुरा सुनेपछि उनले भने, “त्यसो भए वहिदाजी तपाइँको ऐना मलाई दिनुहोला, म यसलाई संग्रहालयमा राख्न चाहन्छु ।”

ठट्टा, कठपुतली र सत्य 

गीतकार जावेद अख्तरलाई बलिउडका अहिलेका गीतबारे एक दर्शकले प्रश्न सोधे । तर, उनको जवाफले पनि धेरैलाई चूप लगायो । “चोली के पिछे क्या है ? जस्ता गीत किन हिट भए ?” उनले उल्टो प्रश्न गरे ।

एउटा फिल्मी गीत बनाउन मुश्किलले १२ जना सहभागी हुने तर ‘हिट’ गराउने दर्शक नै भएको बताउँदै उनले बजारले पनि यस्तै गीतलाई खोजीखोजी प्रचार गर्ने गरेकोमा कहाली लाग्ने गरेको बताए ।

“धर्मबारे दुई शब्द बोल्यो भने चेतावनी दिइन्छ तर किन खुला यस्ता अश्लील गीतलाई बढावा दिइन्छ बुझ्न सकेको छैन”, उनको प्रतिप्रश्न थियो ।

‘मुन्नी बदनाम हुई, गन्दी गन्दी बात, चार बोतल भोड्का’ जस्ता गीत छोराछोरीलाई सुनाउने अभिभावक प्रति पनि उनले आक्रोश व्यक्त गरे । “अभिभावक कविता पढिरहेको छोराछोरीले देख्नै पाउँदैनन् भने चिन्ता गरेर मात्र केही हुँदैन”, उनको चेतावनी थियो ।

तारे जमीं पर … जस्ता गीतका रचयिता प्रशुन जोशीले गीतमा धेरै बाबुले आफ्नो छवि बिगारेको गुनासो गरेपछि सोही गीतलाई बुबाको दृष्टिले पनि लेखेको बताए । पाठकलाई पनि रोजाइको स्वतन्त्रता हुनुपर्छ भन्दाभन्दै पनि उनले बजारले राम्रो गीतलाई उचित स्थान नदिएको भन्न भ्याए ।

‘हमारे समय के शब्द’ शीर्षकको छलफलमा हिन्दी भाषाप्रति चिन्ता व्यक्त गरियो । प्रा. पुष्पेश पन्तले हिन्दी भाषा ‘धोबीका कुत्ता’ बनाइएकोमा रिस पोखे ।

visitorsदैनिक भाष्कर पत्रिकामा त फेस्टिभलमा हिन्दी र उर्दू भाषालाई पात्र बनाई रोचक संवाद नै छापिएको थियो । जहाँ आफूलाई मातृभाषा भनिए पनि कसैले उच्चारण नगरेको देखेर रोइरहेकी हिन्दूलाई उर्दूले आफूलाई हेरेर चित्त बुझाउन आग्रह गर्छिन् ।

इन्फोसिसकी प्रमुख एवं लेखिका सुधा मूर्तिले महिलाको कान हीरा लगाउन नभई कसैको दुःख सुन्न प्रयोग हुनुपर्ने बताइरहँदा धेरैले उनको समर्थन जनाए ।

“कसैलाई लाग्ला धेरै पैसा हुनु र त्यो दान दिनु सबथोक हो तर होइन, कसैको पीडा सुन्नु र सल्लाह दिनु वास्तविक परोपकार हो”, उनले भनिरहिन् ।

उनका पति एवं इन्फोसिसका संस्थापक प्रमुख नारायणन् मूर्तिले भने भारतमा विकासको बाधक कर्मचारीतन्त्र रहेको आरोप लगाए । नेतालाई काम गर्न नदिने कर्मचारीतन्त्र रहेसम्म देश अघि नबढ्ने उनको निष्कर्ष थियो ।

फेस्टिभलमा कठपुतली कलामाथि पनि छलफल चल्यो । जहाँ कठपुतली कलाका विज्ञ पुरन भाटले ‘मान्छे मर्ने तर कठपुतली कहिल्यै नमर्ने’ जिकिर गरे । “यो बिक्री हुने पपेट होइन, यो त हाम्रो आत्मा हो । ध्यान हो । सोच हो । समझ हो । देखिने कठपुतली मात्र हो तर त्यहाँ हामी हुन्छौं जुन जोकसैले देख्दैनन्”, कठपुतली कला मर्न लागेको प्रश्नमा उनी यसरी जंगिए ।

यता शार्ली हेब्दोमाथिको आक्रमणकारीमाथि पनि साहित्यकारहरूले शाब्दिक आक्रमण गरे । चर्चित साहित्यकार विल सेल्फले ठट्टालाई बुझ्न नसक्नेहरू मान्छे नै नभएको टिप्पणी गरे । ठट्टाले शासन प्रणालीमाथि आक्रमण गर्छ, ह्युमरले सिर्जनशीलता बढाउँछ भन्दै उनले सिर्जनामा निश्चित पागलपन हुनैपर्ने तर्क प्रस्तुत गरे ।

‘द मिडियम एन्ड द मेसेज’ शीर्षकको छलफलमा दैनिक भाष्करका ग्रुप एडिटर कल्पेश याग्निकले मिडियाले दिएको कुरा सत्य नै हुन्छ भन्ने नभएको बताए । सत्यको खोजी अब मिडियाको मात्र नभएर जनताको पनि भएको बताउँदै उनले माध्यमले दिएको सन्देश पत्याउनु भनेको स्कूलमा शिक्षा सप्ताह मनाउनु जस्तै भएको टिप्पणी गरे ।

‘कल्चर एज द न्यु पोलिटिक्स’ शीर्षकको छलफलमा भर्खरै आम आद्मी पार्टीबाट भारतीय जनता पार्टी प्रवेश गरेकी शाजिया इल्मी शिकार बनिन् । उनलाई धेरैले अवसरवादी आरोप लगाए ।

तर, विवादचाहिं कर्पोरेट लबिइष्ट सोहिल सेठ र प्राध्यापक राजीव मल्होत्राबीच भयो । सेठले मूर्ख राजनीतिकर्मीले संस्कृतिमा विष घोलिरहेको आरोप लगाए भने मल्होत्राले यसका लागि बुद्धिजीवी र मिडियालाई दोष दिए । स्वतन्त्र भारतमा भन्दा पहिले नै भारतीय संस्कृति सुरक्षित रहेको उनको टिप्पणीमा मल्होत्राले आपत्ति जनाए ।

हैदर चलचित्रका पटकथाकार बशारत पीर, निर्देशक विशाल भारद्वाजसहितको छलफलमा मृत शेक्सपियर हावी देखिए ।

तर, कश्मीरको समस्यामा हलिउडका निर्देशकले दुई सयभन्दा बढी चलचित्र बनाइसक्ने तर बलिउडले चासो नदिएको भारद्वाजको तर्कमा भने सहमत नहुने कमै देखिए । ‘मोदी नेम चेञ्जर मात्र हुन्, गेम चेञ्जर होइनन्’, प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रशंसा गरेको आरोपमा कांग्रेस पार्टीको प्रवक्ता पद गुमाएका शशि थरुरको फेस्टिभल विचारले उनी बल्ल प्रतिपक्षी जस्ता देखिए ।

भीड हेर्दा डिग्गी प्यालेस अब साँघुरो लाग्न थालेको थियो । मान्छे ठोक्किने बाटा, जहींतहीं रेस्टुरेन्ट र कुबेलाका संगीतको ध्वनि प्रदूषणले साहित्यको शान्ति महसूस गर्न खोज्नेहरूले झर्को मानेको पनि देखियो । पटकपटक उत्सवमा आएका उही साहित्यकारका वासी कुरा सुनिरहनु पर्दाको आपत्ति स्थानीय पत्रिकाहरूमा पढ्न पाइयो ।

यस वर्षको फेस्टिभलको मुख्य प्रायोजक जी इन्टरटेन्मेन्ट र सहप्रायोजक रजनी गन्धा रहेका थिए । कार्यक्रमस्थलमा रजनीगन्धा विज्ञापन गर्न युवतीहरू खटिएका देखिन्थे । यस्ता उत्सवमा कर्पोरेट क्षेत्रको प्रवेशबारे नेपालमा पनि यदाकदा प्रश्न उठ्ने गरेको छ । तर, साहित्यलाई सहयोग गर्न सरकार तयार नहुँदासम्म रजनीगन्धा जस्ताको सौहार्दता स्वीकार गर्नुको विकल्प देखिंदैन ।

नेपाल ‘कनेक्सन’

खोजिएको नेपाली साहित्यकार थियो तर भेटिए व्यापारी । चौधरी ग्रुपका प्रमुख विनोद चौधरी एकाएक डिग्गी प्यालेसको फ्रन्ट लनमा देखिए ।

“मेरो वायोग्राफीको अंग्रेजी संस्करण आउँदो वर्ष जयपुरमै विमोचन गराउने तयारीको लागि म यहाँ आएको हुँ”, उनले भने । उनी छोराको विवाहको सिलसिलामा जयपुर आएको भन्ने सुनियो ।

जयपुरमा यसपटक भारतमै कर्मथलो बनाएका पत्रकार/लेखक प्रशान्त झा र प्रकाशन संस्था फाइन प्रिन्टका अजित बराल नेपालका प्रतिनिधि बने ।

प्राध्यापक पुष्पेश पन्तका साथमा ‘नेपाल: इन सर्च अफ कन्स्टिट्युसन’ विषयमा झा र पुलित्जर विजेता काइ बर्डले छलफल गरे । फेस्टिभलकै शाखा जयपुर बुकमार्कमा प्रकाशनको भविष्यमाथिको छलफलमा बरालले नेपालमा अहिल्यै इ बुकको फेसन नआइसकेकाले आफू चिन्तित नभएको बताए । ‘पुस्तकको सुरुआती छपाइ नै एकहजार प्रतिबाट पाँच हजार पुगेको छ’, उनको तर्क थियो ।

अमेरिकी राष्ट्रपति बाराक ओबामा भारत किन आए ? यसबारे अनेकौं मन्थन भइरहेका छन् । तर, शायद कवि जहिल्यै प्रतिपक्षी हुन्छ । पुलित्जर पुरस्कार विजेता भारतीय मूलका अमेरिकी कवि विजय शेषाद्रीले जयपुरमा भनिदिए, “म यहाँ साहित्य सेलिब्रेट गर्न आएको छु र मेरा राष्ट्रपति हतियार बेच्न”, अनि हलमा हाँसो र थपडी बराबरी गुञ्जियो ।

(हिमाल खबरपत्रिकामा प्रथम पटक प्रकाशित)

Author: 

Comments