Loading

अध्ययन, चिन्तन, मनन नभईकन लेखक हुन सकिँदैन / जगदीश घिमिरे

Jagadish Ghimireसाहित्यकार जगदीश घिमिरे राजधानीको चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएका बेला पारस नेपालले गरेको कुराकानी । (स्रोत: कान्तिपुर)

नेपाली साहित्य लेखन अहिले कस्तो छ ?

पपुलर हुँदै छ । किताबहरू बिक्री हुन थाल्या छन् । पाठक बढया छन् । चर्चा-परिचर्चा पनि हुन थाल्या छ । पत्रपत्रिकाले स्थान दिन थाल्या छन् । यस कारण नेपाली साहित्यको भविष्य म राम्रो देख्दछु ।

 

गुणात्मकता ?  

गुणात्मकता भन्ने कुरा कसैमा हुन्छ, कसैमा हुँदैन । गम्भीर पुस्तकका पाठक अलि थोरै हुन्छन् । टिनएजरलाई मन पर्ने खालको, अलिअलि रोमान्स भएको किताब बढी बिक्छ । यो हिसाबले नयनराज पाण्डेको 'घामकिरी' निकै चल्नुपर्छ जस्तो लाग्छ मलाई । यद्यपि मैले यसलाई पुस्तकाकारमा पढ्न पाएको छैन । पाण्डुलिपि पढया थिएँ । यसको विषयवस्तुले आकषिर्त गर्छ मान्छेलाई । पुस्तक सबै थरी मान्छेलाई सबै थरी चाहिन्छ, वनमा थरीथरीका वनस्पति भए जस्तै, आकाशमा थरीथरीका चरा भए जस्तै । साहित्य ज्ञान, बुद्धि, विवेक जेजेको कुरा भए पनि मनोरञ्जनको साधन पनि हो । त्यसैले रमाइलो नलाग्ने कुरा पढिँदैन, गम्भीर वा हल्का जुनसुकै विषयको भए पनि । दुःख गरीगरी, कनीकनी कसैले कसैको पुस्तक पढिदिनैपर्छ भन्ने छैन । तान्नुपर्‍यो नि । 'कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो...' कविताले मान्छेलाई तान्यो अनि सबैले पढे । सरलता, गहनता र भावना कम्बाइन्ड भएको सिर्जना गतिलो बन्दछ, पाठकहरूमा पि्रय बन्दछ । लेखकले त्यो कुरा दिन सक्नुपर्दछ । हैन भने, 'मेरो किताब पढेनन्, राम्रो लेखेको थिएँ' भनेर कम्प्लेन गर्नुको मतलब छैन । राम्रो लेखेको भए पढिहाल्छन् नि, चर्चित भइहाल्छ नि ।

 

लेखकलाई त्यो सीमासम्म उचाल्नमा भूमिकालेखकको अहं भूमिका हुन्छ नि ?

अब, भूमिका लेख्ने भनेकै पछारेर हैन उचालेरै लेख्ने कुरा हो । तर कति उचाल्ने ? आकाशैमा पुर्‍याउने हो कि ? एक बाँस वा दुई बाँस उचाल्ने हो कि ? भँगेरालाई हात्ती भन्ने कि नभन्ने ? भँगेरालाई कालिज भन्ने कि नभन्ने ? भँगेरालाई सारौं (रुप्पी) सम्म भन्न त मिल्छ होला नि ? त्यस कारण भूमिका लेखिदिने मान्छेले पनि विवेक पुर्‍याउनुपर्दछ । वास्तवमा, किताबहरूमा भूमिका हुनु हुँदैन भन्छु म त ।

 

तर, यहाँले नै लेख्नुभएको एउटा उपन्यासको भूमिकाले केहीअघि खैलाबैला मच्चाएको थियो ?

हो हो । 'खेलौना' उपन्यासमा मैले लेखेको भूमिकालाई लिएर खगेन्द्र संग्रौलाले निकै कटु आलोचना गरे । ठीक छ, नराम्रो किताब पनि हुन्छ, नराम्रो भूमिका पनि हुन्छ, तर यो व्यक्तिगत आलोचनाको विषय हैन । जगदीश घिमिरेले बाटो बिराएछ त बिराएछ, के भो त ? बाटो बिराइन्छ (हाँसो) । तर मैले कुनै किताबको भूमिकामा, 'खेलौना' मा पनि, 'यो विश्व साहित्यको श्रेष्ठ किताब हो, यो पढेन भने मान्छेको जुनी बिगि्रन्छ' भनेर लेख्या छैन । मलाई आफूलाई मन लाग्या कुरा लेख्या छु । साहित्य पोर्न पनि हुन्छ, त्यसको पनि भूमिका हुन्छ । इटालीमा पोर्न स्टारलाई संसदमा चुनेर पठाएका छन् बाबा । पोर्न भन्ने कुरा जीवनको यथार्थ हो । अश्लील साहित्य सबैले पढ्छन् । कोही लुकीलुकी पढ्छन्, कोही देखाईदेखाई पढ्छन् । 'म जस्तो चाहन्छु, यो संसार त्यस्तै हुनुपर्छ' भन्नु हुँदैन । 'म प्रगतिशील छु, त्यसैले संसार प्रगतिशील हुनुपर्छ' भन्ने पनि हुँदैन । आआफ्नो हिसाबले सबै साहित्य, सबै विचार प्रगतिशील हुन्छन् । प्रजातन्त्र, लोकतन्त्र जस्ता सबै विचारलाई समावेश गरेर अघि बढ्नु प्रगतिशीलता हो । कम्युनिस्ट तानाशाही मात्र मान्नुपर्दछ भनिन्छ भने म त्यसलाई प्रगतिशील मान्दिनँ । तिनीहरू अधोगतिशील हुन् । कम्युनिस्टहरूलाई म प्रगतिशील मान्दिनँ । प्रगतिशीलताको ठेक्का लिने कम्युनिस्टहरू प्रतिगामी हुन् । संसारकै कम्युनिस्टहरू प्रतिगामी हुन् । डेढ-दुई सय वर्षअगाडिको कुरा बदल्नै नसक्ने मान्छे गतिशील हुन्छ ? प्रगतिशील हुन्छ ?

(यसै सन्दर्भमा साहित्यकार घिमिरेले लेखेको लेख: युद्ध भूिममा मुर्कुट्टा किन नाच्छ ? )


कुनै बेला यहाँ आफैं पनि कम्युनिस्ट हुनुहुन्थ्यो ।

समय अनुसार म बदलिएँ नि त । मनु ब्राजाकीले 'म कुनै बेला बालक पनि थिएँ' भनेका छन्, त्यस्तै त्यति बेला म पनि बालकै थिएँ । बालकले ओछ्यान भिजाउँछ, त्यो ठीक थियो भनेर बूढो हुन्जेल उसले ओछ्यान भिजाउनैपर्छ भन्ने सिद्धान्त बनायो भने खत्तम भएन ? मान्छेले त परिवर्तित हुनुपर्छ ।

 

यहाँ परिवर्तन भएरै दरबारको जाँचबुझ केन्द्रमा पनि लाग्नुभएको थियो ?

त्यो बेलाको परिस्थिति मैल लेख्या छु । पञ्चायती व्यवस्थाको समर्थन गर्न हैन, किताब लेख्न हामीलाई त्यहाँ बोलाइएको थियो । त्यो किताब लेखिसकेर राजारानीले छाप्नू भनिसकेपछि एउटा प्रगतिशीलले 'यसमा राजारानीको स्तुति पुग्या छैन, यो छाप्नु हुँदैन' भनिदियो । मलाई संशोधन गर्न भने, मैले 'गर्न सक्दिनँ, संशोधन गर्ने हो भने मेरो नाम झिकिदिनू' भनें । कम से कम त्यहाँनेर त मैले विद्रोह गरें । आखिर त्यो किताब छापिएन । त्यो दुईवर्षे कामले मेरो लेखन भुत्याएको थियो । म साँच्चै राजावादी भएको भए त्यो किताब उनीहरूले भने जस्तो संशोधन गरेर छापिएको हुन्थ्यो ।

 

लेखन विगत नभएका धनाढ्यहरूले पनि पछिल्लो समय धमाधम किताब निकाल्न थालेका छन् । यसलाई कुन रूपमा हेर्नुहुन्छ ?  

नामको लागि होला । अहिले किताब लेख्ने क्रेज पनि बढ्या छ । लेखन क्षेत्र भन्या एउटा आकाश हो, रहर भएका सबै उडून् । यो बार्‍हवर्षे कुम्भ मेला हो, जसमा सबैले प्रवेश गरून् । ठूलो जोगीले धेरै चेला पाउला (हाँसो) । तिनका आआफ्ना योग्यता सिद्ध होलान्, बजारमा टेस्टेड होलान् । लेखन भन्या ठूलो साधनाको कुरो हो । धेरै ठूलो अध्ययन, चिन्तन, मनन नभईकन लेखक हुन सकिँदैन । हेर्नुस्, लेख्न जीवनी सबैभन्दा सजिलो हुँदो रहेछ । सुखदुःखका पाटाहरू लेखिदियो, मान्छेलाई रमाइलै लाग्छ । जीवनी-किताब साथीले लेख्या पनि किन्छन् । दुस्मनले लेख्या पनि किन्छन्, यो दुस्मन कसरी यस्तो धनी वा नामी भयो भन्ने थाहा पाउन ।

 

नयाँ पुस्तक कुन-कुन पढ्नुभएको छ ?

घरमा चाङ छन्, खासै पढ्न सक्या छैन । कसैकसैले पुस्तक वार्तामा 'महिनाको पन्ध्रबीस हजारको किताब किन्छु' भन्ने गर्‍या पढ्न पाइन्छ । पन्ध्रबीस हजारका किताब कहिले पढिसक्नु ? म त किताब खासै किन्दिनँ । नेपाली किताबहरू म धेरै पाउँदछु । सारै चर्चित, सारै प्रशंसित नेपाली वा विदेशी किताब किनेर पनि राख्या छु । तीमध्ये कति वटा पढ्या छु, कति वटा पढ्न भ्याएको छैन । नयाँमा हरिवंश आचार्यको 'चिना हराएको मान्छे' पढें । अरू एकदुइटा पढें होला । सुधीर शर्माको 'प्रयोगशाला' पढ्न बाँकी छ । विजय कुमारको किताब निस्किँदै छ रे, त्यो पनि पढ्छु । यी दुवै पत्रकार हुन्, अप टु डेट छन्, यिनले लेखेका कुरा मेरो जानकारीमा आओस् भन्ने लाग्छ ।

 

यहाँलाई अझ कुनै किताब लेख्न पाए हुन्थ्यो भन्ने छ कि ?

एउटा फन्टासी लेख्या छु, चालीस-पचास पेजको । त्यसलाई कथा भने पनि हुन्छ, उपन्यास भने पनि हुन्छ । मैले आख्यान भन्या छु । त्यसमा एउटा प्रसंग सिद्धिएको छ, त्यसलाई तन्काएर, लामो बनाएर पनि फाइदा छैन । किनभने, किताब स्वाभाविक रूपमा जहाँ टुंगिनुपर्ने हो, त्यहाँ टुंग्याउनुपर्छ । लामो हैन, गहकिलो हुनुपर्छ । त्यो फन्टासी आख्यानको गहकिलोपनमा म सन्तुष्ट भएपछि एकदुई जना साथीहरूलाई देखाएर छाप्ने विचारमा छु ।

Comments