Loading

जगदीश दाइ, कहाँ हराएको ? / नयनराज पाण्डे

Jagdish Ghimireम जीवनको बारेमा लेख्नुपर्छ भन्ने सोच राख्छु । जीवनबोध नै त हो हामीलाई बाँच्न उत्प्रेरित गरिरहने । यही एउटा माध्यम हो, जसले हाम्रा किताबका चरित्रहरूलाई जीवनमुखी बनाएर सिर्जनाको राजमार्गमा लड्दैपड्दै भए पनि निरन्तर हिँडिरहन बाध्य बनाउँछौं हामी । हामी कलमजीवीले यसो गर्‍यौं भने हाम्रो लेखनी पलायनवादी हुँदैन रे । यसो भन्छन्, किताबका जानकार र समालोचकहरू । तर मैले मेरा आख्यानहरूमा चरित्रहरूलाई निकै मारेको छु । म मेरा चरित्रहरूको हत्यारा हुँ । क्रूर हत्यारा । 'लू' र 'घामकिरी'ले यस मानेमा मलाई कुख्यात बनाएको छ । 

'कति मार्नु हुन्छ हउ आफ्ना पात्रहरूलाई ?' एकदिन जगदीश दाइले पनि मसित गुनासो गर्नुभएको थियो । म झल्याँस्स भएको थिएँ । त्यसपछि त अरू केही साथीहरूले पनि यसै भन्नुभयो । उफ्, आत्तिएँ म आफैं । हो रहेछ, जीवनको कथा लेख्न खोज्दाखोज्दै म मृत्युलाई कति धेरै लेख्दोरहेछु । म आत्तिएँ गजबले । तर मैले आफ्नो मनलाई आध्यात्मिक पाराले सम्झाएँ, 'चिन्ता नगर् भैया, मृत्यु त जीवनसँगै गाँसिएरै आउने कुरा हो । यो उपेक्षा गर्न सकिने कुरै हैन । तैंले जे गरिस्, अच्छा गरिस् ।' 

मलाई जीवन र मृत्युको प्रसंग कोट्याएर झस्काउने मान्छे हो जगदीश दाइ । अर्थात् जगदीश घिमिरे । तर विडम्बना हेर्नुस्, भर्खर म आर्यघाटबाट फर्किएको छु । जगदीश दाइको शवमा एक अँजुली फूल चढाएर । खुब गफ गर्न रुचाउनुहुन्थ्यो जगदीश दाइ । फोन गरेरै पनि कहिलेकाहीं बोलाउनुहुन्थ्यो, गफै गर्नका लागि । तर यसपालि पहिलोपटक म जगदीश दाइसित गफ नगरेर खुसुक्क फर्किएको छु । उहाँ धूवाँमा क्रमशः विलीन हुँदै गर्दा म क्रमशः आफ्नो घरतिर र्फकंदै थिएँ । यसरी र्फकंदा म खुसी थिइनँ । 

'जगदीश दाइ, हेर्नुस् त । मेरो अनुहार कति मलीन छ । कति मैलिएको छ मेरो अनुहार । तपाईंको मृत्युले यति मैलो बनाएको छ मेरो अनुहार । घर आएर मज्जाले पखालें मैले आफ्नो अनुहार तर म अहँ, पानीले सबै मैलो कहाँ पखाल्दोरहेछ र ? जगदीश दाइ, एउटा बात भनूँ ? जबजब मैले तपाईंलाई सम्भिmनेछु, मेरो अनुहार सधैं यसरी नै मैलिनेछ । म जीवनपर्यन्त यो मैलो आफ्नो अनुहारमा बोकिरहन अभिशप्त छु । पत्याउनुहुन्छ दाइ ?'

पत्याउनुहुन्छ । जगदीश दाइले अवश्य पत्याउनुहुन्छ । कतिलाई मेरा यी शब्दहरूमा अतिरञ्जित भावुकता देखिएला । भन्लान् केहीले, यो 'घाटे वैराग्य' हो । घाट पुगेर आएपछि मान्छेमा केहीबेर यस्तै चेतनाले हस्तक्षेप गरिरहन्छ । फेरि जगदीश दाइ एउटा लेखक हो । लेखकको मृत्युमा अर्को लेखक दुःखित हुनु उति नौलो कुरा होइन । 

तर जगदीश दाइ मेरा लागि लेखक मात्र हुनुहुन्थेन । हाम्रो सम्बन्ध लेखनको स्तरबाट अलिक माथि उठेर कसोकसो दाजु र भाइजस्तो पनि भइदिएको थियो । अंश लिनु र दिनु नपर्ने, कुनै किसिमको हकदाबी र मुद्दामामिला गर्नु नपर्ने दाजुभाइ जस्तो । त्यसैले यो सम्बन्धमा कति हो कति आत्मीयता थियो । त्यही आत्मीयताका कारण उहाँले मेरो उपन्यास 'लू'को पाण्डुलिपि दुईपटक पढ्नुभयो । त्यही आत्मीयताका कारण मैले पनि दुई-तीनपटक पढें 'सकस'को पाण्डुलिपि । पाण्डुलिपि पढेर उहाँले केही सल्लाह दिनुभयो, मैले केही मानें, केही मानिनँ । 'सकस'को पाण्डुलिपि पढेर मैले पनि केही सल्लाह दिएँ र उहाँले केही मान्नुभयो, केही मान्नुभएन । ढकतराजु राखेर, नापतौल गरेर कुनै लेनदेन त गरिएको थिइएन नि । त्यसैले सल्लाह लेनदेनको हिसाब किताबमा पनि असमझदारी उत्पन्न भएन । हामीले आआफ्नो विवेकअनुसार गर्‍यौं, तर अर्काको विवेकलाई सम्मान भने गरिरह्यौं । अहँ, हामीबीच पुस्तान्तरको समस्या आउँदै आएन । कहिले पनि आएन । त्यसैले त मैले जगदीश घिमिरेलाई 'जगदीश दाइ' भन्न सकेको । नत्र साइनो गाँस्न म पनि कहाँ उतिसारो उत्साहित हुन्छु र ।

करिब २०५३ सालतिरको कुरा हुनुपर्छ । साल गन्तीमा त्रुटि भएको पनि हुनसक्छ । म त्यतिबेला नेपाल टेलिभिजनमा एउटा साहित्यिक कार्यक्रम सञ्चालन गर्थें । त्यसैका लागि अन्तर्वार्ता लिन म जगदीश दाइको निवासस्थान चोभार पुगेको थिएँ । मलाई सम्झना छ, त्यतिबेला मेरो मिर्गौलामा स्टोन थियो र त्यसले छिनछिनमा मलाई अग्घोर पीडा दिइरहेको थियो । तर टेलिभिजनको ग्ल्यामर अति भयानक थियो कि मलाई साप्ताहिक रूपमा प्रसारित हुने त्यो कार्यक्रम टुटाउन मन लागेन । 

टेलिभिजनका हाकिमसित कुनै पुरानो कार्यक्रम रिपिट टेलिकास्ट गरिदिनुस् भनेर एक हप्ताको विश्राम पनि लिन मन लागेन । एक हातले असहनीय दुखिरहेको देब्रे कोखा र अर्को हातले क्यामेराको बुम माइक समातेर म जगदीश दाइको अन्तर्वार्ता लिइरहेको थिएँ । जगदीश दाइले त्यतिखेर पनि कम्प्युटर प्रयोग गर्नुहुन्थ्यो । तर म उहाँको घरको एउटा तलामा रहेको उहाँको कार्यालयको कम्प्युटर देखेर छक्क परेको थिइनँ, म त जगदीश दाइको साहित्यिक चेत, आफ्नो समयको समाज र त्यो समाजलाई प्रभावित पारिरहेको तत्कालीन राजनीतिप्रतिको उहाँको खरो टिप्पणी सुनेर दंग परेको थिएँ । उहाँको व्यक्तित्वमा एकखालको आक्रामक तेवर थियो त्यतिबेला । 'बर्दी'जस्ता मुटु हल्लाउने कथा र 'लिलाम'जस्ता भुइँमान्छेको आख्यान लेख्ने जगदीश घिमिरेभित्र मैले त्यतिबेला एक खालको राप अनुभव गरेको थिएँ । बीचमा विविध कारणले सेलाएको त्यही राप फेरि आगो भएर बलेको हो 'अन्तर्मनको यात्रा'को लेखनसँगै । त्यसपछि अझ प्रखर देखिएको हो नेपाली साहित्यमा उहाँको उपस्थिति । 

मैले २०५३ सालताका, त्यसअघि र त्यसपछि निर्माण गरेका करिब सयवटा टेलिभिजन कार्यक्रममध्ये त्यो पहिलो कार्यक्रम थियो, जसको सेन्सर टेलिभिजनका तत्कालीन महाप्रबन्धक आफैंले गरेका थिए । तत्कालीन राजनीति र त्यसका तत्कालीन खेलाडीहरूप्रति गरिएको तिखो कटाक्ष सुनेर आत्तिएका ती महाप्रबन्धकले 'आपत्तिजनक र उग्र प्रतिक्रिया' भन्दै अन्तर्वार्ताको आधा हिस्सा काटिदिएका थिए । देशमा छयालीस सालपछि प्रजातन्त्र आयो भनिएको थियो । तर त्यतिबेला पनि नेपाल टेलिभिजनमा प्रजातन्त्र आएको थिएन । त्यसैबेला मैले परशु प्रधानको 'डल्ले खोला' शीर्षकको कथामा बनाएको टेलिफिल्म पनि सेन्सरको कोपभाजन भएर प्रसारणै हुन पाएको थिएन ।

त्यसपछि बीचबीचमा टुक्राटाक्री भेट भइरहे जगदीश दाइसँग । कनिका टाइपका कुराकानी त्यसपछि पनि भइरहे । चानचुन र खुद्रा वार्तालाप त्यसपछि पनि भइरहे । त्यसपछि एक्कासि उहाँलाई मल्टिपल माइलोमा क्यान्सर भएको सुनें । तर भेट गर्न पाइनँ । उहाँले क्यान्सर अवधिमै लेखेको 'अन्तर्मनको यात्रा' प्रकाशित भयो । चर्चामा आयो । म संलग्न रहेको 'उत्तमशान्ति पुरस्कार' पायो यो कृतिले । पुरस्कार समर्पण कार्यक्रमको सञ्चालन मैले नै गरेको थिएँ । लामो समयपछि त्यसै दिन जगदीश दाइसित मेरो भेट भएको थियो । उहाँले कार्यक्रममै भन्नुभयो, 'उलार' उपन्यासका लेखक यो कार्यक्रमको सञ्चालक हुनुभएको देखेर गद्गद छु आज ।'

मदन पुरस्कार पाएपछि 'अन्तर्मनको यात्रा' अझ चर्चामा आयो । जगदीश दाइको प्रशंसा गर्ने र खोइरो खन्ने दुवैथरी त्यसपछि निकै बढे । सम्भवतः 'अन्तर्मनको यात्रा' नै त्यस्तो कृति हो, जसपछि मदन पुरस्कार पाएका कृतिहरूको बजार बिक्री ह्वात्तै बढ्न थाल्यो । त्यसपछि एक दिन मित्र राजेन्द्र पराजुलीले क्यापिटल एफएममा 'अन्तर्मनको यात्रा' बारे एउटा छलफल कार्यक्रमको आयोजना गर्नुभयो । धु्रवचन्द्र गौतम र जगदीश दाइसँगै मैले पनि आफ्ना विचार राख्ने मौका पाएँ । मैले कार्यक्रममा 'अन्तर्मनको यात्रा'बारे हुनसम्म तारिफ गरें । यसबारे थप कुरा यो लेखको अन्त्यमा भन्ने नै छु ।

त्यसपछि कसोकसो क्यान्सरपीडित जगदीश दाइ र त्यसपछिको उहाँको सक्रीयता र उपलब्धिलाई विषय बनाएर एउटा डकुमेन्ट्री बनाउने हुटहुटी चल्यो । बनाएँ । निकैपटक सुटिङ र रिसुटिङ गरे पनि डकुमेन्ट्री चित्त बुझ्दो बनाउन सकिनँ । पटकपटक एडिटिङ गरिरहें । करिब चार वर्ष यसैयसै बित्यो । दुई तीन महिनाअघिको कुनै तातो दिनमा जगदीश दाइले फोन गरेर भन्नुभयो, 'कुन दिन मर्छु थाहा छैन । डक्युमेन्ट्री नदेखाउने मलाई ?'

मैले जगदीश दाइको वचन राखें । हतारहतार एडिटिङ गरें । चित्त अझै बुझेको थिएन । तैपनि कमल दीक्षित, राप्रउ पोखरेल, नगेन्द्रराज शर्मा, डकुमेन्ट्री निर्माणका मेरा सहयोगी क्रन्दन चापागाई र जगदीश दाइसँगै बसेर हेर्‍यौं । जगदीश दाइको अनुहार त्यो दिन कति उज्यालो देखिएको थियो ।

अनुहार त आर्यघाटमा पनि उज्यालै थियो जगदीश दाइको । तर त्यो उज्यालो अबिरहरूले छोपिएको थियो । 

'धरोधर्म जगदीश दाइ, यसपटक अबिर पोतिएको तपाईंको अनुहार देखेपछि नै मेरो अनुहार कुनै साबुन पानीले पखाल्न नसकिने गरी मैलिएको हो । मलाई त्यो दिन पनि अबिरबिनाको तपाईंको सुकिलो र आत्मविश्वासपूर्ण मुहार हेर्ने रहर थियो ।' अब कहिले दृश्यमा नदेखिने जगदीश दाइसित यतिखेर यस्तै बातचित गर्न मन लागेको छ मलाई ।

रहरको कुरो आइसकेपछि मलाई जगदीश दाइको जीवनप्रतिको रहरको कुरा भनिहाल्न मन लाग्यो । डकुमेन्ट्रीको एउटा क्षणमा दाइले भन्नुभएको छ, 'मलाई बाँच्ने रहर छ । तर सक्रिय भएर । अशक्त भएर, अस्पतालको बेडमा, चारैतिर इन्जेक्सन पाइपहरू झुन्ड्याएर लामो बाँच्ने रहर अलिकति पनि छैन ।'

जगदीश दाइले आफ्नो रहर पूरा गर्नुभयो । उहाँ भरपूर बाँच्नुभयो  । सक्रिय भएर बाँच्नुभयो । र, लगभग भनेजस्तै मृत्युलाई सर्लक्क स्विकार्नुभयो । आजभन्दा झन्डै चार दशकअघि नै 'लिलाम' र 'साविती'जस्ता शक्तिशाली उपन्यास लेखेर नेपाली साहित्यमा जोडदार हस्तक्षेप गर्नुभएका जगदीश दाइले मृत्युसित लामो समयसम्म पौठेजोरी खेलिरहनुभयो । लडिरहनुभयो । अन्ततः मृत्युवरण गर्नुभयो । तर आज मैले मृत्युको अन्तर्वार्ता लिन पाएको भए मृत्युले अनुहार अमिलो बनाएर भन्ने थियो, 'यो लडाइँ मैले हारेकै हो । यो जितमा मलाई कुनै गर्व छैन ।'

दसैंअघि अस्पतालमा भेट्दा जगदीश दाइले मलाई आफूले लेखिसकेको तर परिमार्जन गर्न बाँकी रहेको लामो कथाको सारसंक्षेप सुनाउनुभएको थियो । त्यो कथामा प्रयुक्त मिथकहरूका बारेमा मजाले बयान गर्नुभएको थियो । वर्तमान राजनीतिका नायक-खलनायकहरू नै त्यस कथामा चरित्र बनेर उभिएका थिए । हाम्रो समयको कुरूप राजनीति उहाँको साहित्यको सबैभन्दा पि्रय र सुन्दर विषय रह्यो सधैं । त्यो कथामा पनि राजनीतिको त्यही कुरूप छवि प्रकट भएको अनुभूत भएको थियो मलाई । त्यसपछि सिरानमा राखेको 'घामकिरी' देखाउँदै भन्नुभएको थियो, 'अब अलिक सन्चो भएपछि पढ्छु । पाण्डुलिपि पढेर मैले दिएको सुझाव कति मान्नुभएको छ त्यो पनि हेर्छु र कमेन्ट दिन्छु ।'

कमेन्ट आएन जगदीश दाइबाट 'घामकिरी'को । तर मलाई थाहा छ, उहाँ यसै भन्नुहुन्थ्यो, 'बेइमानी गर्नुभएछ तपाईंले । त्यति धेरै सुझाव दिएको थिएँ । थोरैमात्र मान्नुभएछ ।'

'हो बेइमानी गरेकै हुँ मैले । जीवनमा धेरैपटक यस्तो बेइमानी गरेको छु । त्यो दिन, जब क्यापिटल एफएमको स्टुडियोमा म तपाईंको अगाडि उभिएर तपाईंकै 'अन्तर्मनको यात्रा'को बारेमा कुरा गरिरहेको थिएँ, बेइमानी त मैले त्यो दिन पनि गरेको थिएँ । त्यो बेलासम्म मैले 'अन्तर्मनको यात्रा' पढेकै थिइनँ दाइ । त्यो दिन त मैले हावा हावामा 'अन्तर्मनको यात्रा'को प्रशंसा गरेको थिएँ ।' 

एकदिन जगदीश दाइको बैठकमा बसेर मैले यसै गरी भनिदिएको थियो यो यथार्थ । जगदीश दाइ मुस्कुराउनुभएको थियो । अनि मैले भनें, 'गल्ती गरेछु दाइ । पढेको भए त्यो दिन अझ खुलेर अन्तर्मनको यात्राको प्रशंसा गर्न सक्ने थिएँ । त्यो दिन अलिक कम प्रशंसा गरिएछ ।' त्यसपछि उहाँ झनै मुस्कुराउनुभएको थियो । भन्नुभयो, 'केही छैन । जीवनमा धेरै ठाममा धेरै खालका बेइमानीहरू गरिन्छन् । तर तपाईं हामी लेखनमा भने सधैं इमानदार भइरहनुपर्छ ।' त्यसपछि उहाँको उज्यालो अनुहार झनै उज्यालो भएको थियो र मुस्कुराउँदै अनि मेरो पिठ्युँमा धाप मार्दै भन्नुभएको थियो, 'हावा मान्छे ।'

आज जगदीश दाइसित सोध्न मन छ, 'तपाईंचाहिँ किन हावामा हराएको नि आज ?' तर मलाई थाहा छ, यो मेरो गलत प्रश्न हो । लेखक मर्दैन । लेखक हावामा हराउँदैन । बरु हावामा उसका किताबका पानाहरू फर्फराइरहन्छन् । त्यही हावामा सास फेरेर ती किताबका अक्षरहरू सधैं ताजा भइरहन्छन् । तिनी ताजा अक्षरहरूमा जीवित रहन्छ लेखक । तिनै अक्षरलाई ताजा बनाइराख्ने हावामा सधैं बाँचिरहन्छ लेखक । त्यसैले त लेखकले बेलाबेलामा हावाहुरी ल्याइरहन्छ ।

'बिनासूचना यसरी सुटुक्क हामीलाई छाडेर जाने ? जगदीश दाइ, मान्छे त तपाईं पनि हावा नै हो ।' यही गुनासो गर्नेछु आज राति जगदीश दाइसित । सपनामा । 

र, आज रातभरि हावा चलिरहनेछ । 

(Source: Kantipur)

Comments