ईश्वर गाथा/ निर्मल कुमार थापा

कवि मञ्जुल पछिल्ला नियमित भेटहरूमा सम्झाइ रहनुहुन्थ्यो - "ईश्वर दाइले सम्झनु भएको थियो एकपटक भेटिहाल्नुस् ...." सर्जक सीता पाण्डेले कुनै एउटा कथामा आफ्नो पिताको मृत्यु शोकमा लेख्नु भएको छ - "जीवन सधै व्यस्तताहरूले अल्झाइरह्रयो । केही सभामा जानु थियो । कुनै सम्मेलनमा जानु थियो । प्रत्येक दिनका उत्सव महोत्सवहरूले यसरी अल्झाइराखे कि त्यसतर्फध्यान नै गएन । शुष्क पश्चातापले रङ्ग पाएको सीताको कथासार, यति भावुकताले भरिएको छ कि म अहिले पल प्रतिपल ईश्वर बल्लभलाई समझिरहेको छु ।

ईश्वर बल्लभ दाजु लगायत अन्य केही सर्जकहरूलाई समेटेर भर्खर मात्र हामीले एउटा वृत्तचित्रको छायाङ्कन सकेका थियौं । वृत्तचित्रको सम्पादन कार्यमा लोडसेडिङ्ग र प्राविधिकको आपसी मेल नहुँदा निश्चित अवधिमा काम सकिएन । सायद यही बिषय थियो - कवि मञ्जुल मार्फ ईश्वर दाजुले मलाई सम्झना पठाइरहुन हुन्थ्यो । सीताको आवाजले मलाई प्रतिध्वनित गराइ रहेको छ । हामी अन्तरङ्ग त्यसबेला देखि भएका थियौं सीताको अमेरिकी बसाई सहज बनाउनलाई लेखकीय सिफारिसको आवश्यकता थियो । त्यसै सिलसिलामा ईश्वर दाजुकोमा पुगेको थियो । लामो कुराकानी भयो, नेपाली प्रवासी साहित्य बारे । बबरमहलको बाटो हुँदै जाँदै गर्दा हमेशा ईश्वरदाजुको स्मृति तरोताजा आइरहन्थ्यो । लाग्थ्यो उहाँ आफ्नै निवासमा उही सौम्य भावपूर्ण अनुहार लिएर बार्दलीमा अखबार पढिरहनु भएको छ । युवा लेखकहरू र अन्य साहित्य सिर्जकहरूलाई साथमा लिएर म प्रायः निवासमा गइरहन्थे । हामी लामो छलफलमा समय बिताउँथ्यौं । थाहा छैन हामीले ईश्वरदाजुको कति समय लेखन अध्ययनदेखि वञ्चित गराइदियौँ । हामी क्षतिपूर्तिको कुरा गर्दा उहाँ गम्भिर भएर अघि बढ्न सुझाव दिनु हुन्थ्यो र मुसुक्क हाँस्नु हुन्थ्यो ।

एउटा प्रसंग छ, कविता कार्यक्रमको जुन गुरुकुलमा भएको थियो । कर्तव्यबोध अभियान २००७ को क्रियाशिलता शिखरमा पुग्दै गर्दा हामीले देशका प्रतिष्ठित, सिर्जित, कविहरूलाई गुरुकुलमा भेला गरेका थियौं । मैले आजसम्म हेरेका भेटेका कविता कार्यक्रमहरू मध्ये साहित्य शुभेच्छुक, अधिकांश युवाहरू सम्मिलित कार्यक्रम त्यही थियो । सःशुल्क कविता श्रवणका लागि आएका ती युवाहरूमाझ कवि बल्लभले आफैले आफैसँग भन्नु भयो - मैले सुनाउन चाहेको कविता त अर्कै थियो, त्यो पुस्तक मसँग छैन, अब म अर्कै सुनाउँछु" सो कार्यक्रम बारे भोलिपल्ट एउटा राष्ट्रिय दैनिक पत्रिकाले बल्लभदाजुको सो प्रसङ्गलाई छोएर समाचार प्रकाशित गरेको थियो ।

वल्लभ दाजुको गमन मेरो निम्ति ठूलो शोकको कुरा हो, तर यो देशका दुषित राजनीतिज्ञहरूले कहिल्यै सम्झन सकेनन्, एउटा रुग्ण, आर्थिक विपन्नतामा भिजिरहेको शब्दको जादुगरले उनीहरूको क्रुद्र, भ्रष्ट, हृदयलाई पगाल्न सकेन । वा उनीहरू बुझने छैनन् । जीवनको गीत, जसलाई आफ्नो जीवनकालसम्म कवि गीत गाएर हराउनेछ उनीहरू भ्रष्ट, दुषित, पश्चातापको ताज लगाई जानेछन् । मृत्यु पश्चात्को सम्मान स-शरिर नहोला तर गतिलो अर्थयुक्त संस्कृति बन्न सक्छ, तर यहाँ लेखकहरूको कृति छापिदिने भन्दै लुकाउने र लेखकको मृत्यु पर्खने कुपोषणयुक्त साहित्यिक माफियाहरूको दलदल हाम्रो समाजमा ब्याप्त छ । देशको सरकार सधैं प्रगतिशिल, व्यग्य र समानताको कुरा गर्छ- एउटा कविको कविता पढेर प्रधानमन्त्री हुने नेता-राजनेता बन्छ, उसले पढेको कविको अवस्था उही हुन्छ । एउटा नेता जो आफ्नो पार्टीको घोषणापत्रमा रङ्गदार शब्द भर्नलाई लेखकको सहारा लिन्छ र विजयपछि हराउँछ । एउटा लेखकले लेखेको सुन्दर लेखलाई पढेर भाषण बनाउँछ, नेता तर बिर्सन्छ - लेखकको भोको पेटको मर्म, उसको चेतनाको उचाइलाई सम्मान गर्न हच्किन्छ । 

थाहा छैन हाम्रो देशमा कति विद्वान महारथीहरूले यो कालखण्डमा दुष्टनेताहरूको हल्लामा आफुहरूलाई चुपचाप पूर्णविराम दिनुपर्ने हो ! मलाई यी कथित नेताहरूको अध्ययनको प्रमाणपत्र हेरनु छ, यिनीहरूको मष्तिष्कको बनावट हेर्नुछ । मलाई असहृय भइरहेको छ यो समाजका नेतृत्वहरूले समाजलाई डोर्‍याएको शैली देखेर लेखक, सर्जक, संस्कृतिका योद्धाहरूप्रति गरेको उपहार देखेर मभित्र मलिनता बढिरहेको छ । म प्रष्ट देखि रहेछु - डि.पी. भण्डारी, रत्न शमशेर थापा, माधव घिमिरे, अभि सुवेदी आदि अनुहारमा अजिवको ईश्वरगाथा क्रमशः भिज्दै गइरहेको छ । सेतो कपासमा क्रमशः रुझदै गएको पानी जस्तै ... ईश्वर अर्थात् ... जो थियो, जो छ, जो हुनेछ, ऊ नहुँदा पनि हामी सँगै छ, हामी नहुँदा पनि उ यही हुनेछ । 

धूँवाको जङ्गलमा हराए ईश्वर

माथी आकाश हेर्नु छ 
क्षितिज छुनु छ 
ए जनालाई फूलको थुंगा दिनु छ 
नजिकमा कोही छ कि छैन !
यदि छ भने उसलाई बोलाउनु छ 
फेरि एउटा लहर र लस्कर बनाएर पर पुग्नु छ 
साँझको रक्तिम कलिलो घाम
सायद कतै हराएछ
बिहानको सखार पनि देखिएन
उकालो पनि छैन 
ओराली पनि छैन 
कता गए ती बस्तीहरू ?
यहीं धूवाँको जङ्गलमा सबैलाई खोज्नु छ । 

उहाँले त पहिल्यै भनि सक्नु भएको थियो, ति आफन्तहरूको खोजमा, अञ्जान बस्तीहरूको बाटो हुँदै धूवाँको जङ्गलमा पुगेर खोज्नु भयो ... खै यि आफन्तहरू, आत्मीयताको रङ्गथपेर अजिव अजिव प्रकारान्तरले सजिव भाव दिएर जान्छन् । मान्छेहरूको जङ्गलमा जब धुवा पस्छ, श्वास रोके रोके जस्तो लाग्छ, धूवाको जङ्गलमा जब मानिस पस्छ, फेरी कहिले र्फकन्छ जस्तो लाग्छ । संसारको रितमा नअटाउनेहरू शायद सर्जक हुन्छन् । शब्द पस्कन्छन्, कला पस्कन्छन्, आफूभित्रको प्रिय रङ्गलमा जब मानिस पस्छ, फेरी कहिले र्फकन्छ जस्तो लाग्छ । संसारको रितमा नअटाउनेहरू शायद सर्जक हुन्छन् । शब्द पस्कन्छन्, कला पस्कन्छन्, आफूभित्रको प्रिय रङ्गलाई घोलेर सांसारिक श्वेत क्यानभाषमा पोत्छन् र लाग्छन् महायात्रामा, जो हामी सबैको नियति हो । छोडेर जानेहरूप्रतिको मोह कता-कता हृदय रुझाउँदै आउँछ, कता-कहिले गला अबरुद्ध गराएर आउँछ, केवल नि-शब्दमा आफ्नोपन खोज्नु हामी बाँचेकाहरूको नियति हो ।

म भित्र भयको मूल फुटेको छ, श्रद्धेय कवि ईश्वर बल्लभलाई म स्वर्गिय लेख्न भन्न सक्ने छैन । आफूभित्रको रङ्गलाई निकालेर सारा समाजलाई रङ्गाउने विलक्षण आलोकको गुञ्जनले भरिएका उहाँका प्रत्येक शब्दहरू उहाँ जस्तै सुस्त र मायालु छन् । चिन्तन दर्शनले तङ्गिएको जस्तो लाग्ने बल्लभ दाजुको भौतिक आभा कम्प्याक्ट तवरले हृदयमा हस्ताक्षरित छ । मनौं यो तस्विर हो, दलिनको घरमा कोही परदेशीको छ, ऊ छैन ... केवल तस्विर छ, दर्पण छ, उसको आभाष छ, त्यो भन्दा पनि विश्वास छ ... ऊ अर्झै यही कहिँ छ । सुलुत्त परेका ओभाना आँखाहरू विस्तारै हात हल्लाउँदै आवाजको बुलंदनादमा लहरिरहेका छन् । झरनाको सेतो फिजले मलाई सधैं भ्रान्ती पैदा गराइ रहन्छ कि त्यो पुरानो पहिलो पल्ट हाम फाल्ने भरना त्यहि तल कहि लुकेको छ, बल्लभदाजुका शब्दहरूले मिथकीयता प्रदान गरे जस्तो लाग्छ - जस सम्झन्छ त्यो भावनाको कुरा व्यक्तित्वको आभा मण्डल तरोताजा भएर आउँछ । 

आफ्नो कविता जस्तै उहाँ भन्नुहुन्थ्यो- "तपाई र म पनि मिथक हौ, यहा अहिलेसँगै कुरा गरिरहेका छों र छैनों पनि" - यो टेबल पनि भ्रान्ती हो । मान्यौ भने टेबल अन्यथा, जब हामी यसको प्रत्येक भागलाई अलग्याउँछौं तब शेष केही रहदैंन एक-अर्कोमा जोडिएर आकार बन्छ, बिषय बन्छ, नत्र हामी एक्ला एक्लै हुन्छौं । फरक-फरक अस्तित्व बोकेका हामी म हुन्छौं, तब केही रहँदैन ।" तपाई-हामी यो जगत सबै मिथकीय परम्परामा अडिरहेको छ ।" हालसम्म मैले पढेका भेटेका प्रिय लेखकहरूको साँघुरो् घेरामा ईश्वर बल्लभ दाजु हुनुहुन्छ । जुन कुरा मैले अहिलेसम्म कसैलाई भनेको छैन । महाकविको एउटा 'पागल' कविता र निबन्धको पुस्तक बाहेक मलाई केही थाहा छैन, हुन सक्छ म महाकविका गाँठ की गाठ पुस्तकहरूभित्र छिर्न सकिन तर बल्लभदाजुलाई सम्झदा स्मृति उहाँको सिंगो व्यक्तित्व, व्यवहार, अर्कोतिर सृजनाक्रम -गीत, कविता, कथा) सबै एउटै लाग्छ । चाहे मन्तव्य भनुँ वा भूमिका लेखन, कुराकानी सबै सधैं एकनासको पाउँछु । जुन लक्षण र स्वभाव अन्य नेपाली लेखकहरूको प्रसङ्ग जोड्दा भेट्न कठिन हुन्छ औपचारिकता कुण्ठा, चाकडी कर्म देखि सधैं अछुतो रहेको उहाँको जीवन गाथा भोगाइक्रममा एउटा वृत्तकार फैलिएको छ । देवकोटा, शंकर लामिछाने, भूपि शेरचन, ईश्वर वल्लभ, दर्ुगा भण्डारी, ईश्वर बल्लभ, रत्न शमशेर थापा लगायत थोरै अन्य नामहरूको सिलसिलामा सृजनाक्रम र अनुभवगत प्रक्षेपणका दमदार स्वभाव समानताले जोडिएको पाउँछु । म मेरो अनुभवमा । लाग्छ - उल्लेखित लेखकहरू लेखक हुनका लागि चुनिनु भएको थियो र उहाँहरू उपर अस्तित्वको कथा थियो । बिन्दासको जीवनगंगामा लहरिंदै जाँदा क्षितिज पारी पुगेर पनि आफ्ना प्रिय पाठकहरूलाई सलाम गर्न नर्बिसने, श्रद्धये बल्लभदाजुको शान्त प्रस्थान नेपाली साहित्यको लागि निरन्तर गुञ्जीरहने एउटा शक्तिशाली गुञ्जन बनी आकाशमा घुमि रहने छ । शरिर जलाई आकाश गोलचक्कर मारिरहेको अमूर्त धुँवा जस्तै घुमिरहेको छ - ईश्वर वल्लभ दाजुको "ईश्वर गाथा जहाँ म जोडिन आउनेछु, मेरो जब वृताकार अबरुद्ध हुनेछ र अस्तित्वले बोलाउनेछ - सत्य यहाँ रहिरहनु छैन ,आफु हराएर आफ्नो अस्तित्व खोज्नु त्यो नै वास्तविक सत्य हो, किनकि यहाँ हामी सबै भ्रान्ति हौं, केवल बिम्ब हौं, जीवन भोगका फरक-फरक नाम हौं, सो मा दिनका लागि प्रयोग गरिने प्रसाधन जस्तो, रुपक हौं, जो सत्य हैन " ।

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom