स्वप्नहरू / ईश्वरबल्लभ

Author

त्यसो त एउटा स्वप्नजस्तो
रङ्गी-विरङ्गी
अनेकौं विम्बहरू
कति परीहरू उड्छन्,

पुतली र चराहरू
माथि, कहिले आकाशको नीलोमा
र गहिरोमा समावेश हुन्छन्
फेरि विस्तारै-विस्तारै फूल बन्दै
विस्तारै-विस्तारै झिनो पर्दा बन्दै,
पारदर्शी समायोजनको उत्सव
ओर्लिन्छन्,
उक्लिन्छन् ।
पर कतै पर्वतको फेदीमा,
जवाकुसुमको वासना
अरून्धतीको दुःख र पीडाको
उत्सव,
दुःखको वासना कि
पीडाको वासना,
र्स्पर्शको मोहसित विस्तारै, अल्झिन्छन्
त्यसो त
स्वप्नमा
बिहान हुन्छ,
साँझ पर्छ
रात पर्छ
क्षितिज र आकाशका गुम्बजले
वास बस्छन्
ती बिहान र साँझसित स्वप्नमा
ती दिन र रातसित स्वप्नमा
सूर्य उदाउँछ,
सूर्य थाक्छ र
फेरि अस्ताउँछ पनि,
यात्रा सतत् र चिन्ता भइरहन्छ
उसले उदाउने र उसले अस्ताउने
उदयाचल छुने,
अस्ताचल छुने क्रम निरन्तर
भइरहन्छ
पानीको विम्बमा सर्वाङ्ग हेर्ने क्रम,
आफूलाई ऐनामा हेर्ने र
माया गर्ने क्रम,
सधैँ भइरहन्छ
तलसम्म लत्रेर झरेको,
भुइँ नै छुन खोजेको,
उज्यालोको मजेत्रो हो कि,
अथवा अहिल्याको दुःख, अँध्यारो
प्रस्तर नै हुन परेको
अवसादले ढुङ्गा बनेको,
श्रापको मिथक र कथाले
निस्तार खोजिरहेको
त्यसो त,
एउटा असत्य जस्तो भ्रान्ति र
भ्रमहरू
अझै कति कठिन र क्रूर स्वप्नहरू ।

Segments