Poetry Recitation in 42 Languages

Author
प्राय: सबैलाई मातृभाषाप्रति माया र सम्मान हुन्छ। जहाँ गएपनि, जे काम गरे पनि आफ्नो मातृभाषालाई भुल्न कसैले सक्दैनन्।

त्यसको संरक्षणका लागि उनीहरुले सक्दो प्रयास गरिरहेका हुन्छन्। उदाहरणकारुपमा बिहीबार राजधानीमा नेपाल प्रज्ञा प्रतिष्ठानद्धारा आयोजित राष्ट्रिय मातृभाषा कविता महोत्सवलाई लिन सकिन्छ।

प्रज्ञा प्रतिष्ठानको ठुलो हल मातृभाषा प्रेमीहरुले खचाँखच भरिएको थियो। त्यो जमात हेर्दा यस्तो लाग्थ्यो त्यहाँ कुनै ठूलै उत्सव भइरहेको छ।

विभिन्न जातजातिहरुको समूह आफ्नो पहिचान झल्काउने भेषभुषा र बाजागाजाकासाथ एकपछि अर्को गर्दै झुल्किए। एउटा सिंगो नेपाल झल्किएको थियो त्यो दृश्यमा।

मुलुकका विभिन्न जिल्लामा बसोबास गर्ने विभिन्न १३ समुदायले आफ्नो मौलिक संस्कृति प्रदर्शन गरे छोटो समयमा।

सुदूरपश्चिमको पहिचान झल्काउने छलिया झाँकी बाजागाजासहित प्रसिद्धि कला समुहले प्रस्तुत गर्‍यो। शैपाल सांस्कृतिक कला केन्द्रले खस भाषाको प्रतिनिधित्व गर्दै देउडा झाँकी प्रस्तुत गर्‍यो।

एकैछिनमा घले समाजबाट झाँकी प्रस्तुत भयो भने, सुनुवार समुदायले सादरशिल झाँकी प्रस्तुत गरे। यस्तै भोजपुरी प्रज्ञा प्रतिष्ठानले बाजा बजाउँदै र होली खेलेर झाँकी देखाए।

त्यस्तै धिमाल जातिय विकास केन्द्रको नेतृत्वमा धिमाल समुदायको पहिचान झल्किने मौलिक बाजा सहित झाँकीको प्रस्तुती रह्यो। थारु समुदायको पहिचान बोकेको सखी नाच पनि प्रस्तुत गरियो।

उक्त दृश्य कम लोभ लाग्दो थिएन । त्यो भन्दा बढी उनीहरुले आफ्नो मातृभाषामा प्रस्तुत गरेको कविता रोचक थियो। कार्यक्रममा ४२ कविहरुले मातृ भाषामा कविता वाचन गर्दै गर्दा प्रज्ञा प्रतिष्ठानको हल तालीले गुञ्जिएको थियो।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालीको भाषा प्रेम र यसको संरक्षणबारे अझ प्रष्ट्याउने कोशिस गरे। उनले भने, ‘कुनै पनि राष्ट्रका दृस्य र अदृस्य भाषा, संस्कृति र मौलिक सम्पदाहरु विकासका लागि आफुमानै शक्तिशाली उपकरण हो।’

उनले थपे, ‘अब मौलिक भाषाहरुमा पनि पठनपाठन गराउने व्यवस्था हुनुपर्छ। सरकारी कामकाजका हरेक क्षेत्रमा समेत समावेश हुनुपर्छ। हाम्रो मौलिक भाषा संस्कृति हाम्रो गौरव मात्र होइन विश्वसामु चिनाउने चिनारी पनि हो।’

त्यस्तै प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपालको मौलिक भाषा र संस्कृति बहुरङरगी भएको बताए।

उनले भने,‘नेपालको मौलिक भाषाको प्रवद्धनका लागि राज्यले काम गर्नुपर्ने छ। हरेक जातजातिको पहिचान उसको संस्कृति, भेषभुषा र कला सँग छ। त्यसैले यस्ता संस्कुतिलाई बढि पहिचानमा ल्याउन यस्ता कार्यक्रम गर्न जरुरी छ।’

पछिल्लो समय आफ्नो भाषा बोल्न लजाउनेहरुको संख्या बढेको तर्फ इंगित गर्दै उनले अफ्नो भाषाको संरक्षणको विकल्प नभएको बताए ।

उनले भने, ‘धेरै जसोको नेपाली बोल्दै गर्दा हिन्दी मिसाएर बोल्ने चलन छ। यस्तो प्रवृतीले हाम्रो भाषा लोप नहोला भन्न सकिन्न।’

First appeared in Deshsanchar