Author
नेपाल देख्दा कतै देखेको झैँ / भीमदर्शन रोका
नेपाल देख्दा कतै देखेको झैँ,
बिहान कतै आँगन टेकेको झैँ,
यस्तो लाग्यो हृदयमा मेरो,
सपनामा कतै भेटेको झैँ,
नेपाल देख्दा कतै...।
टाढा टाकुराबाट गाएको झैँ,
पहराबाट गोरेटो आएको झैँ,
यस्तो लाग्यो हृदयमा मेरो,
चिर प्रवासको पसिना मेटेको झैँ,
नेपाल देख्दा कतै...।
हिँड्दाहिँड्दै अन्त पाएको झैँ,
बिहान निस्की घर आएको झैँ,
अब फर्कूँ कसरी लाग्दछ यस्तो !
यो हिमालले मलाई छेकेको झैँ,
नेपाल देख्दा कतै...।
Segments
Language
- 60 views