Author
मनभरि बुढिया / भीमदर्शन रोका
बौद्ध मन्दिरको विशेषता
सन्तुलित, खँदिलो, बेजोड सीप कलाको
मन्दिरभित्र मन्दिरैमन्दिर
पत्रैपत्र चट्टान
टन्न बजिरहेको धातु
टम्म बसेको इँटहरुको बनोट
सधैँ अडिरहने अठोट ।
देखेँ–आँखाभरि लिएर
मनभरि बसालेर
हातैहातमा उठाएर
कलाकार उभिरहेको इतिहास लिएर
दगुरिरहेका म्यागजिन र
टुरिष्टहरुको क्यामरामा
नतमस्तक, मन्दिरको अघि उभिई
देखेँ–कसिङ्गर बढारी वर्षौँ थुपारिएको
झुत्रैझुत्राको पुतला
भेलले बगाई
बगर छेउ हुत्याई
वर्षौँ खङ्गरङ्ग सुकेका जरा–
एउटी बूढी गुडुल्की पल्टिरहेकी
कसैले केहीनदिई
कसैसँग केही नलिई
एकटक मन्दिर मात्र हेरिरहेकी
आफू र मन्दिर दाँजिरहेकी
कलासँग उभिई
दगुर्न खोजिरहेकी म्यागजिन र
टुरिष्टहरुको क्यामरामा
आँखाभरि बुढिया बसालेर
शहरतिर आउँदा
देखेँ–बाटोको अघि अघि
तिनी हिँडिरहेकी
मलाई डोर्याइरहेकी
फर्केर हेर्छु
मन्दिर ओझेल ओझेल परिसकेछ ।
Segments
Language
- 40 views