सन्त्रस्त आँखाहरू
उनीहरू पिप्चाइ फेदीको सुनकोशी किनारनेर आइपुग्दा दिउँसोको करीब १२ बजेको थियो । पश्चिम उत्तरपट्टि रहेको भुङ्जु डाँडामाथिको आकाशमा बादलको सानो थेग्लो स्थिर भएर बसेको देखिन्थ्यो । यही ठाउँबाट उनीहरू सुनकोशीको गड्तिर छाडेर उकालो चढ्छन् । दशैं तिहारको मुखमा यो बाटोमा ढाकर बोक्नेहरूको ताँती जुलुस हिँडेजस्तै देखिन्छ । हिउँदका अरू महिनाहरू पनि यो बाटोमा ढाक्रेहरूको बाक्लै लाम भेटिन्छ । वर्षा लागेपछि यो बाटोमा मान्छेहरूको चाप स्वाट्टै घट्छ । बाटो हिँड्ने मान्छेहरू घटेपछि कोशी किनारका गाउँहरू स्वरूङ दोभान, निवुवाटार र कुनाइका मान्छेहरूको आयस्रोत पनि घट्छ । यही बाटोका कारण यी गाउँहरू