आफ्नो घर / लक्ष्मीप्रसाद देवकोटा

विचार ! घुस तेजिला, हृदयमा उज्यालो भर

अँधेरि निशिमा परें किरण छाउ हे सुन्दर ।

दिनोदय समानको मधुर दृश्य देखाउन

हजारमा मृदुभावका सुकल बोल ब्यूँझाउन ।

 

उठोस् सिरिसिरी गरी पवन प्रातको शीतल

समान शुभ-कामना प्रिय सुवासले मञ्जुल ।

उडाउ खग-कल्पना गगन दिव्यमा पूर्वको,

जहाँ, उदय मोहनी सुख छ सत्य-सौन्दर्यको ।

 

जवाकुसुममा हुने तुहिन-विन्दु झैं निर्मल

सुगोल, रसिला खुला हृदय-पत्रका हुन् जल ।

सुवर्ण रङ झल्किऊन् जलन पग्लिने बादल

नबोल्न सकिने, फिका, लघु विचार झैं कोमल ।

 

फुलून् फुल मिठा मिठा, हृदय-बागमा सुन्दर,

सहर्ष बसि हेरने नचिनि नाम यौटा तर ।

हिलून् मृदुल पालुवा शिसु-समान सौन्दर्यका,

म देखुँ रङ खूब यो हृदयकै घुमी वाटिका ।

 

मलाइ जति चाहिने सफल हुन् त्यहीं सुन्दर

म ध्यानसरि भक्तको, प्रकृति हुन् ठुलो मन्दिर ।

प्रभात हिम-शैलको धवल काँधमा मिर्मिर

म माग्छु दिलभित्रका चिनि टहल्न आफ्नै घर ।

Segments