हेमराजबारे परिचर्चा

काठमाडौ, वैशाख ११/
केहीअघि दुर्घटनामा परी निधन भएका साहित्यकार हेमराज पहारीलाई शनिबार स्रष्टाहरूले राजधानीमा सम्झे । हालै प्रकाशित उनको स्मृतिग्रन्थ सार्वजनिक र साहित्यिक योगदानबारे चर्चा गर्न नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा उनकै सम्झनामा कविता वाचन समेत गरियो ।

डा. दीनबन्धु शर्मा र देवी नेपालले स्मृतिग्रन्थमाथि टिप्पणी गर्दै 'ग्रन्थले हेमराजको साहित्यिकसँगै सामाजिक पाटो समेत उजागर गरेको' बताए । प्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेतीले हरेक स्रष्टाका कामलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न यस्ता कार्यले सघाउने बताए । रामबाबु सुवेदीले हेमराजको सम्झनामा कविता वाचन गरे ।

हेमराजको जीवनी, अन्तर्वार्ता, समीक्षा, संस्मरण, कविता संग्रह, अप्रकाशित रचनाहरू र अंग्रेजी गरी ग्रन्थ सात खण्डमा विभाजित छ । ग्रन्थमा डा. कृष्णराज अधिकारीले व्यक्तित्वबारे खोजी गरेका छन् भने अनिल पौडेलले अन्तरवार्ता । डा. हृषीकेश उपाध्याय, कुलपसाद खनाल, डा. जीवेन्द्रदेव गिरी लगायतले पनि ग्रन्थमा समीक्षा गरेका छन् । हेमराजको साहित्यिक योगदानलाई जीवन्त तुल्याउन कार्यक्रम गरिएको प्रतिष्ठानकी अध्यक्ष (हेमराजकी पत्नी) रीता पहारीले बताइन् । प्रतिष्ठानले केही अघि एक लाख रुपैयाँ बराबरको पुरस्कार पनि घोषणा गरेको थियो ।

[Source: Kantipur]

Segments