हाटा जाने अघिल्लो रात/ राजन मुकारुङ

भोलि त हाटा जानु छ

बेच्नु छ एक पेरुङ्गो बैँस ।

 

सुँगुरको पाठोमा पनि छ सपना

कहिल्यै बदल्न नसकेको जिन्दगी छ

एक सिल माछामा पनि साट्नु छ यो मनलाई ।

 

क्याम्पस रोडदेखि भाउ सुरू हुनेछ मेरो सपनाको

जिरो प्वाइन्टमै उचाल्नेछन् विनोद साहुले

हेमलता साहुनीले तर्नेछिन् आँखा मतिर

किनभने

विनोद साहुका आँखा मेरो छातीभरि घुरिरहेका हुनेछन् ।

 

एक डोको आल्चामा बेचेको त्यो दोबाटो

सशस्त्रको भाइ त्यहीँ आइपुग्नेछ

खैनी माड्दै सोध्नेछ उसले मेरो सञ्चोबिसञ्चो

मङ्ग्राती दाजुको जुत्ता-पसलमा

मेरो खुट्टाको नाप दिनेछ उसले ।

 

सिडिओ सापको ढाका टोपी ढल्किँदै जानेछ सोनाली ब्युटिपार्लरतिर

पछिपछि हल्लिँदै जानेछ एलडिओ सापको रातो कपाल

सुबानी मेमको घरसम्म पठाइएको

सेतो घोडा दौडिनेछ डिएसपी कार्यालयबाट

मलाई के वास्ता ?

मैले त बेच्नु छ निगुरो र च्याउ ।

 

मलाई चुरा लाउनु छैन

लाउनु छैन फुटिजान्छ त्यो नाथे काँचको न हो

पोहोरकै डबलीमा हात थुतेको हुँ

कम्ता सुम्सुमाएको हैन लिम्बू काकाले

पात्तेको बूढो !

जिन्दगीभर छोड्दिनँ पो भन्दो रै'छ ।

 

एक बटुको आलुदम खान्छु, भन्दा

गोरखगणबाट झरेको सिपाहीँले

चारभञ्ज्याङमै खुवाउनेछ दुई प्लेट मःमः

मैले पनि सुन्तला दिम्ला रे !

मस्तमस्त ढेसिँदै

कुर्ता-सुरुवाल किन्दिन्छु भन्नेछ उसले

अहँ ! मान्ने छैन म

यो मनले मान्ने छैन

किनभने

बाबाले सोध्नुभयो भने मैले के भन्नु ?

 

बरबोटे नपुग्दै अकबरे सकिनेछ

खोर्साने बाजेले खन्खन्ती गन्नेछन् रुपियाँ

चार माना बेलौती पनि बज्यैले त्यहीँ उठाउनेछिन्

म फुरुङ्ग भइहाल्नेछु त्यसबेला ।

 

दश पाथी कोदो न हो

सहजै बिक्री भइहाल्नेछ

थैली कसेर म जानेछु कपडा पसल

ढिकमाथि असरल्ल झुण्डाइएका

'पेन्टी' र 'ब्रा'मा मेरा आँखा अकस्मात पर्नेछन्

खिस्स हाँस्नेछन् पसले दाइ

म राती न पिरी हुनेछु

तर सम्हाल्नै छ

किन्नै छ मैले यी दुवै ।

 

नयाँ चौबन्दी फेर्नै छ यो पालाको साकेवामा

म हानिनेछु पोखरे लाइन

सियोमा धागो छिराउन नसकिरहेका दलसिं बाजे

एकाएक अघि सर्नेछन् मेरो शरीरको नापजाप गर्न

सर्पिल ! सर्पिल !

नापिमाग्नै पर्नेछ मैले ।

 

टुँडिखेलमुनिको तेर्सो लाग्दै गर्दा

खिचिक्क पार्नेछ किशोर दाजुले

पत्रकार हुँ, भन्थे

पत्रिकामा छापिन्छ, भन्थे

छापिँदो त होला क्यारे !

गोधुली होटलमा बास बस्न कर गर्नेछन् उनले ।

 

छेवैबाट

मोबाइलमा हिन्दी गीत बजाउँदै जानेछ कुमार भाइ

उसको झ्याप्ले कपाल

खुस्किनै लागेको जिन्स पेन्ट

मोराले त्यति पनि टाल्दैन

घुँडाघुँडा फाटेको हुन्छ

कम्ता माया लागेर आउँदैन बिचराको !

 

कालो कोटमा ठाँटिएर मुसुक्क मुस्कुराउनेछन् राई वकिल

छातीमा कालो चस्मा झुण्डाएर तर्नेछन् आँखा डोजर दाजुले

पोहोर गाउँमै हैरान पारेका छन् यिनले

डाँडागाउँमा क्यारेमबोर्ड खेल्दै गरेका भाइहरूभन्दा

कमको छैन ट्याक्टरे साइँला पनि

मुखै बैरी बजियाको !

 

पोहोर बर्खामा यसकी आमालाई झण्डै स्यालले तानेको

नौ सिरे यो भाले

बेच्नु छ एक पेरुङ्गो बैँसभरि

सौदाबाजी गर्नै छ जिन्दगीको

भोलि त शनिबार

खिकामाछाकी छोरी

म हाङदिमा किराती

उफ् ! जानै छ हाटा सदरमुकामको ।

 


 

* खिकामाछा- भोजपुरलाई पहिले खिकामाछा भनिन्थ्यो ।

 (२२ जेठ २०६८, भोजपुर बजार)

Segments: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom