Loading

हामीलाई कवितामा के चाहिन्छ ? / लक्ष्मीप्रसाद देवकोटा

कवि खालि केमेरा होइन, त कविता फोटो। यद्यपि हामी फोटोलाई कला भन्ने मान्छे पाउँछौँ । चित्रण यान्त्रिक नभए आजसम्म यथार्थवादी कविता संसारले सहेकै छ । मजा लाग्ने उदाहरण पनि पाइन्छन्। तर जहाँ यथार्थवादी कविताले रुलाउँछ, त्यहाँ बाहृय प्रकृतिको फुस्रो चित्रण छोडेर आभ्यन्तरिक हृदयानुभूतितिर डुबेको देखिन्छ । हृदयको रङ राम्ररी नदेखिने कवितालाई हामी ठूलो दर्जा दिन सक्तैनौँ । शब्दले फूल उतार्नु-रङ र रुप साथमा, केही कला हो। तर 'अहा । क्या फूल उतार्नु- रङ र रुप साथमा, केही कला हो। तर 'अहा । क्या फूल ।' यति सौन्दर्यको आनन्द उद्गारित गराउनुमा ज्यादा विशेषता छैन । मानवकलाले प्रकृतिलाई जित्नैपर्छ, बोक्रोभन्दा गहिरो हुनैपर्छ, रुपद्वारा सूचना, रङद्वारा भावना, सुगन्धद्वारा हृदयकेन्द्रको तत्वतिर पुगेको हुनैपर्छ । कविको नजर काँचको आँखा होइन । काँचले पनि आफ्नो तवरले रङगाउँछ । प्रकृतिलाई प्रकृति देख्नु, गुलाफलाई गुलाफै देख्नु, बादललाई बादलै। यो हाम्रो बोक्रे यथार्थता हो । वैदिक कालका मनुष्य हामीभन्दा गहिरा थिए । उनमा ज्यादा भावुकता, ज्यादा जिज्ञासा, ज्यादा रहस्यान्वेषण, सौन्दर्यानुभूति, सत्यचेत पाइन्छन् । उनीहरू सच्चा कवि थिए । हाम्रो आजकलको वस्तुवादी वैज्ञानिकतामा जीवनको स्पन्दन छैन । अत्तरछालाजस्तो खुइलिँदै जान्छ, काँचुली जस्तो बाहिरी शृङ्गारझैँ मालुम हुन्छ । हामी बाहिरी रेखाको लचक विचार गर्छौं, बाहिरी रङ । तर जीवन छ हृदयमा । वैवेदिक ठण्डा चित्रण, वैज्ञानिक परीक्षा नलीमा मिलाइएका रङ, कृत्रिम चमत्कार, शब्दभिमान, विद्वता र बाहिरी चातुरी कविता होइनन् । त्यो कला कला हो जसको वैज्ञानिक विश्लेषण नै छैन, जो हृदयमा चुम्दछ, जो संसारलाई एकछिन सिरिङ्ग पार्दछ, जहाँ मानवकल्पना झुल्किन्छ, जहाँ अपूर्णले पूर्णको चेत पाउँदछ । छोटकरीमा जहाँ सत्यको छाया सुन्दरताको मोहनीसाथ प्रकृतितिर जीवनको पर्दामा पर्दछ ।

म हिमालै हेर्ने थिएँ, कविता हेर्ने थिइनँ । हिमालय हेर्दा मलाई पहाडको महिमा आश्चर्यकारी महत्त्व, रोमाञ्चकारी विशालता इत्यादि सबै आँखा अगाडि हुन्छन् । कवितामा ती सब चीज आउन्नन् । यदि यथार्थकै वर्णन मात्र कविता हो भने वस्तुवर्णन पनि शब्दको पहिलो प्रयास हो । तर आत्मा नभएको चित्र, भाव नभएको गाना, हृदय नभएको कवितामा केही सार रहन्न । कोही भन्दछन् कि पटको फूल प्रकृतिको फूलभन्दा धेरै टाढा पुगेको हुन्छ । यस भनाइमा केही सत्यता जरुर छ तर त्यो फूलको आत्मा उद्घाटन गर्ने चित्र भए कस्तो होला ? जहाँ सिर्जन फुल्न लागेझैँ, जहाँ दिव्यकल्पले रङ पाएझैँ, स्वर्गको किरणपथमा अविदित सार झरेर सुगन्धको प्रथम स्पन्दन पाएझैँ, सत्य सुन्दरताको मोहनी लिन, रङीन तल ओर्लेझैँ, समय र अवकाशमाथि छिनो लागेझैँ, अधर लागेका मूकभाषाले छाती खोल्न खोजेझैँ, स्वर्गको उज्यालो र पृथ्वीको रस मिसिएर एउटा आश्चर्यको झिल्का झिल्किएझैँ, बीजहरूका सपना फुलेझैँ, प्रकाशभावना निक्लिएझैँ भावसूचना सङ्केतहरू प्रकृततवरले हार्दिक काल्पनिक अनुभूतिसँग मिसिँदै फुल्दै, रङ्गिँदै सुगन्धिँदै, आभासित रहून् ।

यहाँ छ छायावादको महत्त्व । अस्पष्टता छायावाद हो भन्ने भूलमा परेको व्यक्ति हुन् । अस्पष्टलाई स्पष्ट गराउनु, अव्यक्तलाई व्यक्त गराउनु, अविदितलाई विदित गराउनु, यी चेष्टा सच्चा छायावादी चेष्टा हुन् । नबुझिने कवितालाई मात्र हामी छायावादी भन्दैनौँ । विवेकको अन्धकारभित्र घुसेका जीवलाई अलिअलि माथितिर कल्पना या भावना चढ्दा झल्किएको उज्यालोद्वारा छायावादको निर्माण भएको हो विज्ञानको अन्धविश्वासले जकडिएका व्यक्ति छायावादी हुन सक्तैनन्, न त अव्यक्तको राज्य अस्वीकार गर्नेहरू, न त अविदितको शासन छैन भन्ने स्पष्टवादीहरू, न त रहस्यको टुना अनुभव गर्न असमर्थ पुरुषहरू, न त ईश्वर विरोधीहरू सच्चा छायावादी हुन सक्तछन् । वैज्ञानिक युगमा छायावाद नबुझ्ने मगज धेरै हुन सक्तछन्, छायाभाव ग्रहण गर्न नसक्ने हृदयको कमी हुँदैन । छायावाद एक किसिमले विज्ञानको बलवा हो, प्रकृतिवादीहरूको खण्डन हो । विज्ञान सतहमा चल्दछ, बोक्रो पढ्दछ, नुन र अमिलो मिसिएको क्रिया जाँच्दछ, बाहिरी प्रभाव र मिसौटहरू उपर आलोचना गर्दछ, विनातेल र धागोको बत्ती झलमलाइरहेको आधुनिक दुनियाँ देखेर चकित, पाखे प्रवृत्ति त्यहाँ रहस्यको भाव आरोपण गर्दै चाँडै नै विज्ञानको पुजारी बन्दछ र विज्ञानको पछि दौडेका धेरैजसो मान्छेहरू त्यहीँ रग्मगिएर भुल्भुलैयामा घुमिरहेका छन् । प्रकृति भन्ने नाममा नै केही अर्थ छैन जस्तो छ । कपालमा लिखाले टोक्यो, कन्याउनु प्रकृति । औंलाले जुँगा तह लायो-प्रकृति । अब के हो यो प्रकृति भनेको ? सबै चीज प्रकृति । लोटाले हृवाइटवेका क्याटलगमा मीमसाहेबको पोसाक देखेर छक्क परेजस्तो छ । जहाँ जीवन छैन, जेमा जीवन छैन, त्यो चीज, त्यही सबै कुराको मूल कारण । हिँड्ने हिँडाउने भाङ्रो, हाउगुजी कान्छामामा, बोल्ने जिब्रो, देख्ने आँखा । यस्तो बोक्रे वैज्ञानिक सारशून्य सत्तारहित अन्धविश्वासको नासमझको न्वारानमा पुरोहितहरू गद्गद् छन् । यही नासमझ, बोक्रे अन्धविश्वास, खँदिलोसिवाय दुनियाँ छैन भन्ने ढुङ्गे ढोँग, मनोविज्ञानको नफुक्ने उलझन र सङ्कुचित अध्ययनका पूजा फुस्रा सार र छोटा ताक र सस्तो नाफाको दुनियाँलाई जीवन स्पन्दन दिन छायावादको जन्म स्वाभाविक तवरले भयो । तर यो खालि मुर्दापनबाट जीवनतिर हातको लम्काइ मात्र हो । हामी वेदको युगतिर पुग्न चाहन्छौँ- जड्ता उछल्न, साहित्यलाई उघारिएको देख्न चाहन्छौँ, नवीन प्रकाश चाहन्नौँ, नवीन स्वर्गान्वेषण ।

कोही अनुकरणमा छन्- सेक्सपियर, कालिदास इत्यादिका । आफ्नो तत्व ज्यादा डुबेकै देखिन्छ । सत्यले सोझो ध्वनि पाउँदैन, कसैको धर्मरिन्छ, कोही सिँगार्छन् र कविताको तादात्म्य समर्थन गर्छन् । बाहृय अलङ्कारको निमित्त लेख्ने पनि धेरै नै छन् । कोही बोक्रे वस्तुवादी छन्, फूलको फूलमै छन् । कविताको मुटु रसा ज्यादाजसो नपुगेकै देखिन्छन् । चर्मचक्षु खोलने कविको कमी छैन, मनको आँखामा तर धेरैले पट्टल बाँधेकै देखिन्छ । खँदिलोसिवाय धेरैको दुनियाँ छैन । हामी चाहन्छौँ- कवितामा भावुकता, सूचनात्मकता, हृदयस्पर्शिता, नवीनआविस्कार, माधुर्य र प्रकाश, सजीव अनुभूति र हृदयस्पन्दन अब दाँज्नोस्-

झर्ना तेरो कलकल नाद
मनमा भर्दछ क्या आल्हाद ।

तेरो स्वच्छ सुशीतल जल
कस्तो चल्दछ झल झल झल ।

अहो । पहाडी पुत्र महान्
हामी गर्छाैं मनले स्नान ।

कहाँ छ तेरो तीर्थस्थान ?
कुन सरिताको तेरो ध्यान ?

धन्य । धन्य छस् हे निर्झर
बहिरहेछस् नि त झर्झर

यत्तिको कविता पनि शारदामा सबै हुँदैनन् । तर यहाँ के आएको छ ? न त ढङ्गमा नवीनता, न रङमा सौष्ठव । न विशेष मौलिकता, न कलात्मकता । यो जसबाट पनि लेखिन सक्तछ । न यहाँ हृदय उम्लिन्छ, न सूचनाले पङ्ख फिजार्दछ, न केही नवीन प्राप्ति छ ।

अब हेर्नोस् रवीन्द्र-

आज यो प्रभातमा रविको कर
कसरी र पसिगो प्राणको पर
कसरी पसिगो गुफाको अँधेरी
प्रभाव पङ्खीको गान ।
जागेर उठिगो प्राण ।
अरे उछली उठ्दछ बारि,
अरे । प्राणको वासना, प्रणको आवेग
रोकिई राखिन्न रि ।
थरथर गरी काँप्दछ भूधर,
शिला राशि राशि झर्दै छ खसी
फुलेर फुलेर फेनिल सलिल
गरजी उठ्दछ दारुण रोप
भाच् रे हृदय भाच् रे बन्धन
साध् रे आजको प्राणको साधन
लहरीउपर लहरी उठाई
अघातउपर आघात गर् ।
मतवाला जब उठ्दछ प्राण
कहाँको अँध्यारो कहाँको पाषाण ।
उछली जब है उठ्दछ वासना
जगत्मा तब त कसको डर ?
ढाक्दछु म है करुणाधारा
भाँच्दछु म है पाषाणकारा ।
जगत् प्लावी जाउँला गाएर
आकुल पागलको पार ।
रविको किरणमा हास्य छटाई
दिउँला प्राण ढाली
हाँसी कल कल गाई कल कल
ताल ताल दिँदै ताली ।

यो कविता कति भावप्रधान छ, मानस निर्झर छ पार्थिव निर्झर छैन । कवि प्रखर र वेगशील प्रभातमा नवयुगको नव प्रबोधनमा झल्किन्छ । 'रवि'-रवीन्द्रको मानस-निर्झरलाई कुन रविको किरणतिर प्रेरणा भयो विदितै छ । 'पस्दछ प्राणको पर' । निदि्रत हृदय गहृवारको अँँध्यारोमा प्रवेश गर्दछ, प्राण जाग्छ, जल उछलिन्छ, त्यो निदि्रत सौन्दर्य सलिल, जो स्वर्गबाट झरेर पहाडभित्र घुसेको थियो-भारतमा रवीन्द्र कविताका रुपमा भुल्भुलाउन । प्रकृत कविको सिर्जनप्रेरणा 'प्राणको वासना प्राणको वेग रोकिई राखिन्न रे ।' यस्तो दिव्य प्रेरणाको जोड नभई सच्चा कविता, निक्लँदैन आभ्यन्तरिक जोडले पहाड थर्थराउँछ, जीवन कम्पायमान हुन्छ, बाधाको बाँध टुट्दछन्, जडता फुट्दछन्, हुत्तिन्छन्, इन्द्रेणीले रङदार कल्पना- फेनिल कविता सलिल, चम्केर गर्जेर उठ्दछ । जोसमा कवि भन्दछन्- 'भाँच्रे हृदय भाँच्रे बन्धन, साध्रे आज प्राणको साधन' लहरीउपर लहरीको आघातउपर आघात गर् । कत्रो जोस । कहाँको अँध्यारो कहाँको पाषाण । भावुक प्रेरणा अज्ञानको सीमा नाघ्छ, बाधाका बाँध टुटाउँछ । प्राण मतबाला भए, वासना उछलिए, तब जगत्मा कसको डर ? पागल सदृश जगत् प्लावित गरेर, गाएर, कविको हृदय जान्न खोज्छ, सङ्गीतमय करुणाधाराको स्वरुपमा फोरेर पाषाणकारा । कवि नवयुग निर्माण गर्ने सबैले यस्तै कारा छिचोलेथे । 'हास्य छटाई' - भावोन्मत्त वेगमा, स्वर्गिक आभासका किरणमा झल्झलाउँदै हाँसी, कलकल तालतालमा ताल दिँदै कविहृदय निर्झरीको प्रस्फुटन र गति कमना कति स्पष्ट सङ्केतमा जोसिलो वेगसँग झल्काइएको छ ।

म यसलाई छायावादी कविता भन्दछु, विवेचना गर्न सक्ने सबै भन्लान् । के यहाँ केही कुरा लुकाउन छिपाउन खोजिएको छ ? के यहाँ नभनिएका कुरा स्पष्टसँग भनिँदैनन् ? के यो झर्ना पहाडी जलको झरझरभन्दा वेगशील, प्रेरणोन्मत, छटादार, काराभीरु, स्वर्णावभासी देखिन्न ? भाव तीव्र नभईकन झरझर कलकलको घाँसमन्टे वर्णन, प्रेरणाविना कवि बन्ने मधुराकाङ्क्षाका यान्त्रिक चातुर्यहरूउपर यो कविता कति टाढा पुग्दछ । हामी चाहन्छौँ सच्चा भावको मर्मोदगार ।

हामी छायावादी कविता यस किसिमका चाहन्छौं- जसमा भावसङ्केत स्पष्टतवर झल्किन्योस्, हृदयस्पर्शिता होस्, कला होस्, केही दिव्य प्रेरणा होस्, जहाँ सत्य नछिपाइयोस्, उद्घाटिन गर्न खोजेझैँ होस् । 'मलाई यस्तो कविताको प्रेरणा यस्तो सिर्जनको ऐडी आयो' भनेर यथार्थवादी या वस्तुवादी ढङ्गले जति प्रवल शब्द राखेर बनाए पनि रवीन्द्रको जस्तो जोसिलो वेगको कविता

बन्न सक्तैन । छायावादी कवितामा सच्चा कविको हृदय र कला छ भने अरू कविता जूनकीरीझैँ सूर्यका अगाडि देखिन्छन्, अरू कविता सारहीन देखिन्छन्, मुर्दाझै मालुम हुन्छन् । छायावादी कविताले परमेश्वरसम्म पुर्याउन सक्तछ । हृदय शुद्ध राखेर उच्च सौन्दर्यमय भावनाहरूले उद्वेत पवित्र कल्पनालाई दिव्य महिमाका सृजनातर्फ लगाएर चित्रमय रङ्गदार सच्चिदानन्दको झलकमा राखेर, बोलाएर, गीत गाउँदै आफ्ना उच्चउच्च भावआदर्श दिव्य चेतहरू झल्काउँदै अझ प्रकृति र जीवनका कार्यमा झल्किएका पाउँदै भावोद्वेग कण्ठमुक्त हुनु छायावाद हो ।

सच्चा छायावादी हुन गाहारो छ, एक शब्दाडम्बरले तीनहजार हानी हुन्छन् । एक कृतिमताले कविताको छाती चकनाचुर हुन्छ । एक निकृष्ट भावले कवि ओह्रालो लाग्छ आफ्नो हार्दिक सत्यसँग एक दिन झूटो बोल, स्वर्गको उज्यालो सुनौलिँदैन । यो महा कठिन साधन छ, जीवनमा तपस्या चाहिन्छ, प्रकृतिका दाना ठीक तवरले मिल्नुपर्छ, जीवन सीतारका नसातारमा आत्मविरोध हुन हुँदैन ।

प्रख्यातिको आकाङ्क्षा प्रधान हुनासाथ सुर खित्रिक्क भइहाल्छ । मुटुको चाल अप्राकृत हुनासाथ ठूलठूला (पन्त जस्ता पनि) ठाउँ ठाउँमा घाँसलेट बन्दछन् । हृदयका दानामा चुम्बकीय रेखा सङ्लिनु पर्दछ । बेस देशको छायावाद हुँदैन । जीवनसँग गाँसिनुपर्दछ । प्रकृतिको अध्ययन हृदयको आत्मशिक्षा, पदपदमा चालु रहनुपर्दछ । भित्रीसार नभै छाया बन्न सक्तैन, भावुकता चाहिन्छ- विश्वानुभूति । छायावादी हुन सबैलाई दिइएको छैन भन्ने मेरो राय छ ।

यद्यपि उद्योगसम्म सबैबाट हुन सक्तछ । नेपाली साहित्यबाट हामी छायाबाद उखाड्न चाहँदैनौँ । यसलाई पनि आश्वासन र संवर्द्धन दिन चाहन्छौं । हामी सच्चा छायावादी कविहरुको प्रतीक्षा गर्दैछौँ ।

Segments: 

Comments