Loading

नौ वर्षसम्म नबोल्दा / ज्ञानुवाकर पौड्याल

ज्ञानुवाकर पौड्याल गजलकार हुनुहुन्छ । उहाँको साहित्यिक नाम ‘ज्ञानेश कान्तिपुरे’ हो । उहाँलाई ज्ञानुप्रसाद पौड्याल भनेर पनि चिनिन्छ । उहाँको जन्म वि.स. २००९ जेठमा काठमाडौंको गौशालामा भएको हो । उहाँका पिता डोलकिशोर र माता जगतकुमारी हुनुहुन्थ्यो । उहाँहरू दुई दाजुभाइ र दुई दिदीबहिनी जन्मनुभएको हो । ज्ञानुवाकर कान्छो छोरा हो । साहित्यिक पत्रकारितामा लागेका पौड्यालले राजनीतिशास्त्रमा बी.ए. गर्नुभएको छ । उहाँलाई गजलबाहेक कथा र मुक्तकका क्षेत्रमा पनि चिनिन्छ । पौड्याल नेपाल साहित्यकार संघका सचिव, नेपाल-रूस साहित्य समाजका महासचिव, नेपाल-बंगलादेश साहित्य समाजका सदस्य, पेन इन्टरनेसनल नेपालका सदस्य, पहलमानसिंह स्वाँर स्मृति प्रतिष्ठानका संस्थापक-सदस्य आदि हुनुहुन्छ । उहाँको पहिलो रचना वि.स. ०३५ मा ‘रुपरेखा’ मा रचना प्रकाशित भएको थियो । उहाँका मौलिक कृतिः ‘निर्वासित मन’ (मुक्तकसंग्रह, ०४८), ‘खण्डहर- नयाँ नयाँ’ (गजलसंग्रह, ०४९), ‘अवतार विघटन’ (संयुक्त उपन्यास, ०४५) हुन् । उहाँका सम्पादित, अनुदित र फुटकर कृति : समष्टि (द्वैमासिक, सम्पादन), मुकुट (त्रैमासिक, सम्पादन), गरिमा (मासिक, सम्पादन), झंकार (सम्पादन), मञ्जुषा (सम्पादन) आदि हुन् । उहाँकै सम्पादनमा गत वर्ष ‘छानिएका बालगजल संग्रह’ प्रकाशित भएको छ । यसबाहेक विभिन्न पत्रपत्रिकामा उहाँका कथा, गजल, कविता, मुक्तक, अन्तर्वार्ता आदि प्रकाशित छन् । उहाँले जिल्ला अदालत, रेडियो नेपाल, सिप्रदी ट्रेडिङ, सोल्टी होटल, साझा प्रकाशन आदिमा काम गर्नुभएको छ । उहाँले पाएका पुरस्कार, मान-सम्मान, पदक : शुभ राज्यभिषेक पदक (२०३१), पत्रकारिता पुरस्कार र गरिमा सम्मान पुरस्कार, मेदिनी त्रैमासिकबाट सम्मान, पर्वत साहित्य संगमबाट सम्मान, देवकोटा स्मृति सभाबाट सम्मान र सरस्वती युवा क्लबबाट सम्मान हुन् । उहाँले अलेक्जेन्डर पुस्किन सम्मान पनि पाउनुभएको छ । यसपटक पौड्याल सानो छँदाका केही सम्झना :

म नौ वर्षसम्मको हुँदा दोहोरो बोल्न सकिनँ । यही कारणले मेरो पढाइ राम्रो हुन सकेन । स्कुलमा भर्ना हुन्थें । छाड्थें । दाइ र मामाले मलाई अक्षर चिनाउनु त भयो । तर मलाई बोली नहुनाले पढाइमा बाधा भइरह्यो ।

म कक्षा १ मा शारदा स्कुलमा भर्ना भएँ । त्यहाँ एक महिना पनि पढिनँ । पशुपति क्षेत्रको देवपत्तन स्कुलमा कक्षा ३ मा भर्ना भएँ । त्यहाँ त दुई महिना पढें । अर्को साल चाबहिलको पशुपति स्कुल पुगें । त्यसबेला म आठ वर्षको थिएँ । यस्ता धेरै प्रयास असफल भए । स्कुल जाने काम रोकियो । पछि एकैचोटी कक्षा ८ मा भर्ना भएर पढ्न थालें । दरबार हाइस्कुलमा २०२७ सालमा भर्ना भएँ । त्यहाँ रात्रिकक्षा पढ्थें । एसएलसी दिएँ । दुईपटक बिग्रेर तेस्रोपटकमा पास गरें । त्यो पनि थर्ड डिभिजनमा । त्यसबेला ऐन श्रेस्ता, हिसाब, वन्डर बुक, पोयट्री कलेक्सन, ग्रामर, रत्नकेशर आदि पढ्नुपर्थ्यो । एसएलसी पनि दुईपटक बिग्रेर तेस्रोपटक पास गरेको हुँ ।

सानैदेखि बाहिरका पुस्तक भने प्रशस्त पढ्थें । नेपाली साहित्यमा बालकृष्ण सम, बीपी कोइराला, गोपालप्रसाद रिमाल आदिका कृति पढ्थें । हिन्दी उत्तिकै पढ्थें । मलाई गजलतिर लाने पनि तीनै हिन्दी पुस्तक हुन् । भाषाप्रतिको रुचिले होला, नेपालीमा धेरै नम्बर आउँथ्यो । हिसाबमा कम हुन्थ्यो । एसएलसीमा हिसाबमा ११ र ऐनश्रेस्तामा २३ नम्बर आयो । दुवै जोडेर ३४ पुगेकाले मात्र म पास भएँ ।

स्कुलमा म पढ्नभन्दा सांस्कृतिक कार्यक्रममा बढी ध्यान दिन्थें । साथी त्यति थिएनन्, म एकलकाटे थिएँ । मेरो साथी मदन हमालमात्र थिए । कविता लेख्दा म कहिल्यै पहिलो वा दोस्रो भइनँ । तर लेख्ने काम नछाडेकाले गजलकारका रूपमा अहिले चिनिन पुगेको हुँ । त्यसैले मलाई लाग्छ एउटै काममा निरन्तर लागिरहँदा सफल हुन सकिन्छ।

गौशालामा आफू बस्ने भएकाले पशुपति आउने जोगी र भारतीय तीर्थयात्रीसँग मेरो संगत थियो । धेरै जोगीको अघिपछि लागेको देखेर मलाई पनि जोगी हुन्छ भन्थे । म जोगी भएर हिँडिनँ । जोगीकै संगत देखेर घरमा मासु खान कर गरिन्थ्यो ।

सानो छँदा २०१५ सालदेखि म हुलाक टिकट संकलन गर्थें । साहित्यमा बढी रुचि भएपछि त्यो छाडेर साहित्यकारका तस्बिर संकलन गर्न थालें । अन्धवेग, प्रेमपिण्ड पढेपछि म बालकृष्ण समलाई भेट्न गएँ । उहाँको हस्ताक्षर मागेर आएँ । त्यो अझै मसँग छँदैछ ।

मेरो मामाघर ललितपुर, बाँडेगाउँमा छ । मामा सुवेदी हुनुहुन्छ । दसैंमा मामाघर जाइन्थ्यो । दसैं-तिहार दुवै रमाइलो हुन्थ्यो । पशुपतिमा लाग्ने मेला टाढैबाट हेर्थें । सानोमा पौडी खेल्न नजानेर म बागमतीमा डुबें । मलाई पटकपटक दाजुले बचाउनुभएको थियो । पानी सफा हुन्थ्यो । हामी गम्छा थापेर असला माछा मार्थ्यौं । माछा भनेर नचिनेर कतिपटक सर्प पनि समातेको थिएँ ।

सानोमा म धेरै हिन्दी सिनेमा हेर्थें । यति धेरै हेर्थें कि गेटमा बस्ने मान्छेले पनि चिनेको थियो । कहिलेकाहीं पैसा नहुँदा त्यसै छिराइदिन्थ्यो । सबैभन्दा अगाडि बसेर सिनेमा हेरिन्थ्यो । रञ्जना र अशोक हलमा ४३ पैसा थियो । अरूमा २५ पैसामा सिनेमा हेर्न पाइन्थ्यो । हिन्दी सिनेमाले हिन्दी किताब पढ्न सिकायो । हिन्दी साहित्य पढेपछि नेपाली साहित्यमा आएँ । अरूले मान्छे ठानेनन् । एक्लो भएँ । सधैं साहित्यमा लागें र यहाँ आइपुगे ।

(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६५ फागुन ३० मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Comments