Loading

गजलका माली : ज्ञानुवाकर पौडेल / खगेन्द्र गिरि 'कोपिला'

नेपाली साहित्यको फाँटमा युवा कवि भनेर चिनिने मोतिराम भट्टलाई नेपाली भाषाका आदि गजलकार भनेर पनि चिनिन्छ । मोतिराम भट्टले आजभन्दा १२५ वर्ष अघि १९४०-४१ सालतिर बनारसमा रहँदा त्यहाँका उर्दू र हिन्दी गजलकारहरको प्रभावले सबैभन्दा पहिले नेपाली भाषामा गजल लेखेर नेपाली भाषामा गजल विधालाई भित्राएका थिए । त्यसपछि करिब ५०-५५ वर्षजति नेपाली साहित्यमा शम्भुप्रसाद ढुङ्गेल भीमनिधि तिवारी र उपेन्द्रबहादुर जिगरजस्ता केही सीमित स्रष्टाहरुले अलिअलि गजल लेखेको देखिन्छ । तर १९९६-९७ सालतिर आएर नेपाली गजलको गति रोकिन पुग्यो । यसको प्रमुख कारण नेपाली गजललाई संरचनाको नाममा केवल शास्त्रियताको बन्धनमै बाँधेर राख्नु र भाव पक्षको कुरा गर्दा केवल श्रुङ्गारिक विषयवस्तुमा मात्र साँगुर् याएर राख्नु नै थियो । त्यतिखेरका गजलकारहरुले कविताको मर्मलाई गजलमा उतार्न पनि सकेनन् र साहित्यको गतिसित गजललाई दौडाउन पनि सकेनन् । त्यसैको फलस्वरुप गजल नेपाली साहित्यबाट हराउन पुग्यो । त्यसपछि एकैचोटी २०३०-३५ सालको कालखण्डमा आएर गजल विधा नेपाली साहित्यभित्र फेरि ब्युँझियो । मृतप्राय भएको गजललाई ब्युझ्याउने काम गरे ज्ञानुवाकर पौडेलले । यसरी ब्युँझिएको नेपाली गजलमा संरचना र विषयवस्तुका पुराना परम्परागत मान्यताहरुलाई तोडेर नयाँ शैली नयाँ सील्प नयाँ ढङ्ग नयाँ तौरतरिका नयाँ विचार र नयाँ विषयवस्तुहरुको प्रवेश गराउने काम पनि ज्ञानुवाकर पौडेलले नै गरेका हुन् । आजको गजल संरचनाका दृष्टिकोणले छन्द र लयका पुराना मान्यताहरुलाई तोडेर स्वनिर्मित लय र नेपाली संगीतको धरातलमा प्रवेश भएका आधुनिक लयहरुमा लेखिन्छ । त्यस्तै आजको गजलले आफूलाई माया प्रेम र युवायुवतिका प्रणयकामनाका अभिव्यक्तिहरुमा मात्र सीमित नराखी मानव समाजका हरेक विषयवस्तुहरु र युग सुहाँउँदो बिचार र चिन्तनको ढोका उघार्ने काम पनि गरेको छ । यसरी गजललाई नेपाली साहित्यमा नयाँ किसिमले स्थापित र लोकपि्रय बनाउने कामको सम्पूर्ण श्रेय ज्ञानुवाकरलाई नै जान्छ । आज राजेन्द्र थापा, खगेन्द्र गिरि 'कोपिला', रुपक वनवासी, ईश्वरी कार्की 'वर्षा' र कृसु क्षेत्रीजस्ता स्रष्टाहरु यही गति र धारलाई अगाडी बढाइरहेका छन् ।

शुरुशुरुमा गजललाई नयाँ स्वरुपमा ढाल्ने प्रयास गरेको हुनाले गजलका शास्त्रियताबादी र परम्पराबादीहरुले ज्ञानुवाकरको चर्को विरोध पनि गरेका हुन् । तर आजका साहित्यका पाठकहरु साहित्यमा हरदम नयाँनयाँ स्वाद र नयाँनयाँ सौन्दर्य को खोजीरहेका हुन्छन् । अन्ततः शास्त्रियताबादी र परम्पराबादीहरुको चर्को विरोधका वावजुद आज गजलको यही बदलिएको रुपलाई सबैले रुचाइदिएका हुनाले गजलको लोकपि्रयता अचम्मसित बृद्धि भएको छ । आफूले पुनर्जिवित गरेको गजल तीस वर्ष पुग्दा नपुग्दै यसरी लोकपि्रयताको शिखरमा पुग्ला भनेर २०३५ सालमा आफ्नो पहिलो गजल रुपरेखा भन्ने पत्रिकामा छाप्दा सायद ज्ञानुवाकरले पनि कल्पना गरेका थिएनन् होला । आज उनलाई कसैले गजल सम्राट भनेर आदर गर्दछन् भने कसैले गजलका माली र कसैले गजलका पुर्नजागरणकर्ता भनेर सम्मान गर्दछन् । आधुनिक नेपाली गजलका वास्तविक अगुवा गजलकारको रुपमा आफ्नो पहिचान बनाएर स्थापित र बहुचर्चित भइसकेका ज्ञानुवाकर पौडेलको जन्म २००९ साल बैसाख २२ गते बुद्धपुर्णिमाको भोलिपल्ट पिता डोलकिशोर पौडेल र माता जगतकुमारी पौडेलको कोखबाट काठमाडौंको गौशालामा भएको थियो । नौ वर्षको उमेरसम्म बोली नफुटेका ज्ञानुवाकरको अध्ययन ढिलो शुरु भयो । उनले स्नातक तहसम्मको औपचारिक पढाई सम्पन्न गरि धेरै वर्षसम्म रेडियो नेपालमा कार्यक्रम संयोजकको रुपमा काम गरेका थिए । समकालिन कवि र कविता, सौरभ, समष्टि, मुकुटु, गरिमा, झङ्कार, रचना, र मंजुषा जस्ता बौद्धिक स्तरका विभिन्न साहित्यिक पत्रिकाको सम्पादन गरिसकेका ज्ञानुवाकरका हालसम्म 'खण्डहर नयाँनयाँ' गजलसङ्ग्रह, 'अवतार विघटन' उपन्यास र 'निर्वासित मनु' मुक्तकसङ्ग्रह गरी तीन ओटा साहित्यिक कृतिहरु प्रकाशित भइसकेको छन् । 

ज्ञानुवाकरलाई देश र विदेशका विभिन्न स्थानहरुबाट साहित्यिक सेवा र साधनाका लागि अनेक पटक सम्मानित र पुरस्कृत गरिसकिएको छ । मध्यपश्चिमााचल गजल प्रतिष्ठान नेपालगाजले पनि आफ्नो प्रथम वार्षिकोत्सवको अवसरमा नेपालगाज बोलाएर २०६३ साल मंसिर महिनामा उनको सम्मान गरिसकेको छ । 'भावनालाई विचारमा, विचारलाई चिन्तनमा र चिन्तनलाई गजलमा रुपान्तरण गर्न सक्ने कला नै गजल हो' भनेर गजलको परिभाषा दिन रुचाउने अग्रज गजलकार ज्ञानुवाकर पौडेल हाल जागिरे जीवनबाट अवकास पाई काठमाडौंको गौशाला चोक चक्रपथस्थित आफ्नै निवासमा बसेर गजल र मुक्तक साहित्यको उन्नयनमा लागिरहेका छन् ।

Comments